YouVersion लोगो
खोज आइकन

यहोशू 24:14-18

यहोशू 24:14-18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“यसकारण अब परमप्रभुको भय मान, र सारा विश्‍वस्‍ततासाथ उहाँको सेवा गर। तिमीहरूका पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि र मिश्रदेशमा पुजेका देवताहरूलाई फ्‍याँक, र परमप्रभुको सेवा गर। तर यदि परमप्रभुको सेवा गर्न तिमीहरूलाई मन पर्दैन भनेता तिमीहरूले कसको सेवा गर्ने आजै तिमीहरूले रोज— कि तिम्रा पिता-पुर्खाहरूले यूफ्रेटिस नदी पारि पुजेका देवताहरू कि तिमीहरू अहिले बसेको देशका एमोरीहरूका देवताहरू। तर म र मेरो घरानाले परमप्रभुकै सेवा गर्नेछौं।” तब मानिसहरूले भने, “हामीले परमप्रभुलाई त्‍यागेर अरू देवताहरूको पूजा गर्न नपरोस्‌। किनभने परमप्रभु हाम्रा परमेश्‍वरले नै हामीलाई र हाम्रा पिता-पुर्खाहरूलाई मिश्रदेश, दासत्‍वको घरबाट मुक्त गराएर ल्‍याउनुभएको हो, र हाम्रा आँखाकै सामु त्‍यस्‍ता ठूला आश्‍चर्य कामहरू गर्नुभयो। अनि हामी जहाँ गए तापनि, जुन जातिहरूका बीचबाट हामी आए तापनि उहाँले हामीलाई रक्षा गर्नुभयो। परमप्रभुले हाम्रा सामुन्‍नेबाट सबै जातिहरू, यस देशमा बस्‍ने एमोरीहरूलाई समेत धपाउनुभयो। यसकारण हामीहरू पनि परमप्रभुको सेवा गर्नेछौं, किनभने उहाँ नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:14-18 पवित्र बाइबल (NERV)

तब यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुका बचनहरू सुन्यौ, यसर्थ तिमीहरूले परमप्रभुको सम्मान गर्नु पर्छ अनि साँचो भागमा उहाँको सेवा गर्नु पर्छ। ती अपवित्र देवताहरूलाई फ्याँकि देऊ, जुन तिमीहरूका पिता-पुर्खाहरूले मिश्रमा र यूफ्रेटिस नदीको पारिपट्टि पूज्ने गर्थे। अब तिनीहरूले परमप्रभुलाई मात्र आराधना गर्नु पर्छ। “तर हुन सक्छ, तिमीहरू परमप्रभुको सेवा गर्न चाहँदैनौ। कसलाई सेवा गर्छौ त्यो तिमीहरूले निर्णय लिनु पर्छ। के तिमीहरू, तिमीहरूका अगुवाहरूले यूफ्रेटिस नदीको पारिपट्टि बस्दा पूजेका झूटा देवताहरूको सेवा गर्छौ? अथवा, यो भूमिमा बस्ने एमोरी मानिसहरूका देवताको सेवा गर्छौ? तिमीहरू आफैंले चुन्नु पर्छ। तर म अनि मेरो घरनाले भने परमप्रभुकै सेवा गर्ने छौं।” तब मानिसहरूले उत्तर दिए, “हामीहरू परमप्रभुको अनुशरण गर्न कहिल्यै पनि छाड्ने छैनौं। हामी अन्य देवताहरूको सेवा कहिले पनि गर्ने छैनौं। हामी जान्दछौं कि परमप्रभु नै परमेश्वर हुनुहुन्थ्यो, जसले हाम्रा मानिसहरूलाई मिश्रबाट बाहिर निकाल्नु भयो। त्यस देशमा हामी दास थियौं। तर परमप्रभुले हाम्रा निम्ति त्यहाँ महान् काम गर्नु भयो। उहाँले हामीलाई त्यो देशबाट बाहिर ल्याउनु भयो, अनि अन्य भूमिहरूबाट यात्रा गर्दा हामीलाई सुरक्षा प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई यी भूमिहरूमा बस्ने मानिसहरूलाई परास्त गर्नमा सहयोग प्रदान गर्नु भयो। परमप्रभुले हामीलाई जो एमोरी मानिसहरू यो देशमा बस्थे त्यहाँ अहिले हामी छौं, यो परास्त गर्नमा हामीलाई सहायता गर्नुभयो। यसर्थ हामी परमप्रभुको सेवा गरिरहनेछौं। किनभने उहाँ नै हाम्रो परमेश्वर हुनुहुन्छ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:14-18 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“यसकारण अब,” यहोशूले भन्‍दै गए, “परमप्रभुलाई आदर गर अनि विश्‍वासयोग्‍य र इमानदारीसाथ उहाँको सेवा गर। तिम्रा पुर्खाहरूले मेसोपोटामिया र मिश्रमा पुज्‍ने गरेका देव-देवताहरू हटाओ र केवल परमप्रभुको मात्र सेवा गर। तिमीहरू परमप्रभुको सेवा गर्न राजी छैनौ भने कसको सेवा गर्ने– मेसोपोटामियामा तिम्रा पुर्खाहरूले भजेका देव-देवताहरूको कि अहिले तिमीहरूले बास गर्दैगरेका एमोरी देशका देव-देवताहरूको? आजै निश्‍चय गर। म र मेरा परिवारले चाहिँ परमप्रभुकै सेवा गर्नेछौं।” मानिसहरूले जवाफ दिए, “अरू देव-देवता भज्‍न भनी हामी परमप्रभुलाई कहिल्‍यै त्‍याग्‍नेछैनौं परमप्रभु हाम्रा परमेश्‍वरले हामी र हाम्रा बुबा-बाजेलाई मिश्रको दासत्‍वबाट निकाली ल्‍याउनुभयो। हामीले उहाँले गर्नुभएको उदेकका कामहरू देख्‍यौं। हामीले पार गरी आएका भिन्‍न-भिन्‍न जातिहरूका देशमा जहाँ हामी गयौं उहाँले हामीलाई कुशल राख्‍नुभयो। हामी यस देशभित्र पसेर आउँदा परमप्रभुले यहाँ बास गर्ने सबै एमोरीहरूलाई धपाउनुभयो। यसकारण हामी पनि परमप्रभुको सेवा गर्नेछौं, उहाँ हाम्रा परमेश्‍वर हुनुहुन्‍छ।”

शेयर गर्नुहोस्
यहोशू 24 पढ्नुहोस्

यहोशू 24:14-18

यहोशू 24:14-18 NNRV
शेयर गर्नुहोस्
पुरै अध्याय पढ्नुहोस्