यहोशू 2:8-16
यहोशू 2:8-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती जासूसहरू सुत्न अघि माथि कौसीमा त्यो स्त्री उक्लेर आई, र त्यसले ती मानिसहरूलाई भनी, “मलाई थाहा छ, यो देश परमप्रभुले तपाईंहरूलाई दिनुभएको छ, र हामीहरूका बीच तपाईंहरूको कारण आतङ्क फैलिएको छ, र यहाँका बासिन्दाहरू तपाईंहरूको भयले काम्न थालेका छन्। तपाईंहरू मिश्रदेशबाट निस्केर आउनुहुँदा तपाईंहरूका सामुन्ने परमेश्वरले लाल समुद्रको पानी सुकाइदिनुभएको र यर्दन पारिका एमोरीहरूका दुवै राजा, सीहोन र ओगलाई तपाईंहरूले नाश गर्नुभएको पनि हामीहरूले सुनेका छौं। यो सुन्ने बित्तिकै हामी ब्याकुल बन्यौं र तपाईंहरूको कारण हामीहरू कसैमा साहस रहेन, किनकि परमप्रभु तपाईंहरूका परमेश्वर नै माथि स्वर्गमा र तल पृथ्वीमा परमेश्वर हुनुहुन्छ। यसकारण अब म तपाईंहरूलाई बिन्ती गर्दछु, कि मैले तपाईंहरूमाथि दया देखाएकी हुनाले मसँग परमप्रभुको शपथ खानुहोस्, मेरा परिवारप्रति पनि दया देखाउनुहोस्। मलाई एउटा निश्चित चिन्ह दिनुहोस्, कि तपाईंहरूले मेरा आमा र बुबा, मेरा दाजुभाइ, र तिनीहरूका जो-जति छन्, सबैलाई जीवित राखेर हाम्रा जीवनलाई मृत्युबाट बचाउनुहुनेछ।” ती मानिसहरूले त्यसलाई आश्वासन दिए, “तिमीहरूका प्राणको सट्टा हाम्रा प्राण। हाम्रो यो काम कसैलाई भनिनौ भने परमप्रभुले हामीलाई यो देश दिनुभएपछि तिमीसँग हामी दया र विश्वासपूर्वक व्यवहार गर्नेछौं।” तब त्यसले तिनीहरूलाई झ्यालबाट डोरीको भरले तल ओह्राली, किनभने त्यो बसेकी घर सहरको पर्खालमै थियो। त्यसले तिनीहरूलाई भनी, “तपाईंहरू डाँड़ातिर जानुहोस्, नत्रता खेद्नेहरूले भेट्टाउलान्। खेद्नेहरू नफर्कुञ्जेल तीन दिन त्यहीँ लुक्नुहोस्, अनि त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्नुहोला।”
यहोशू 2:8-16 पवित्र बाइबल (NERV)
दुइ मानिसहरू राती सुत्न तयार थिए। तर राहाब छतमा गइन् अनि तिनीहरूसित बात गरिन्। राहाबले भनिन्, “म जान्दछु कि परमप्रभुले यो भूमि तपाईंहरूको मानिसहरूलाई दिनु भएको छ। तिमीहरूले हामीलाई भयभीत तुल्याउँछौ। यो देशमा बस्ने समस्त मानिसहरू तिमीहरूसित भयभीत छन्। हामीहरू भयभीत भएका छौं किनभने हामीले सुनेका छौं कि परमप्रभुले तिमीहरूलाई कुन प्रकारले सहायता प्रदान गर्नु भयो। हामीले सुन्यौं कि उहाँले लाल समुद्रको पानी सुकाई दिनु भयो जब तिमीहरू मिश्रदेशबाट बाहिर आयौं। तिमीहरूले ती दुइ एमोरी राजाहरू सीहोन अनि ओगलाई के गर्यौ, हामीले त्यो पनि सुन्यौ अनि कसरी तिमीहरूले ती दुइ राजाहरूलाई जो यर्दन नदीको पूर्वमा बस्दथे विनाश गर्यो। हामीले ती कुराहरू सुन्यौं अनि हामी अत्यन्त भयभीत भयौं। अनि जब हामी मध्ये कोही पनि यस्तो साहसी मानिस छैन जो तिमीहरूसित युद्ध गर्न सकुन्। किनभने परमप्रभु तिमीहरूका परमेश्वरले माथि स्वर्ग अनि तल पृथ्वीमा शासन गर्नुहुन्छ। यसकारण अब म चाहन्छु कि तिमीहरूले मलाई एक वचन देऊ। म तिमीहरू प्रति दयालु थिएँ अनि तिमीहरूलाई सहायता गरें। यसर्थ परमप्रभु समक्ष वचन देऊ कि तिमीहरू मेरो परिवार प्रति दयालु हुनेछौ। कृपया मलाइ भन कि तिमीहरू यसो गर्नेछौं। मलाई भन कि तिमीहरूले मेरो परिवारलाई जीवित रहन दिनेछौ। मेरो माता-पिता, दाज्यू-भाइहरू, दिदी बहिनीहरू अनि तिनीहरूका सबै परिवारहरूको लागि वचन देऊ कि तिमीहरूले हामीलाई मृत्युबाट बचाँउने छौ।” ती मानिसहरू सहमत भएर तिनीहरूले भने, “तिमीहरूको जीवनका निम्ति हामी हाम्रो जीवन दिनेछौं। कसैलाई न भन हामीहरूले के गरिरहेछौ। जब परमप्रभुले हामीलाई हाम्रो देश दिनु हुनेछ, तब हामी तिमी प्रति दयालु रहनेछौं। तिमीले हामीलाई विश्वास गर्न सक्छौ।” त्यो स्त्रीको घर शहरको पर्खालमाथि बनाइएको थियो। यो पर्खालकै एउटा भाग थियो यसकारण त्यो स्त्रीले डोरी प्रयोग गरेर ती मानिसहरूलाई शहरको बाहिरा झ्यालबाट तल झारी दिइन्। तब त्यस स्त्रीले तिनीहरूलाई भनिन्, “पहाडको पश्चिम तिर जाऊ जसमा कि राजाका मानिसहरूले अचानक तिमीहरूलाई भेट्ने छैनन्। त्यहाँ तीन दिन सम्म लुकेर बस। राजाका मानिसहरू फर्केर आएपछि तिमीहरू तिमीहरूको बाटो जान सक्नेछौं।”
यहोशू 2:8-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
राती तिनीहरू सुत्नुअघि राहाब कौसीमा गई र जासूसहरूलाई भनी, “म जान्दछु कि परमप्रभुले यो देश तपाईंहरूलाई दिनुभएको छ। देशका सबै जना तपाईंहरूसित डराएका छन्। तपाईंहरू मिश्र छोडिआउँदा कसरी परमप्रभुले लाल-समुद्र तपाईंहरूको अघि सुकाइदिनुभयो, त्यो हामीले सुनेका छौं। यर्दनका पूर्वमा दुई जना एमोरी राजा सीहोन र ओगलाई तपाईंहरूले कसरी मार्नुभयो त्यो पनि सुनेका छौं। त्यो सुन्नेबित्तिकै हामी डरायौं। तपाईंहरूको कारणले हामी सबैको साहस हराएको छ। परमप्रभु तपाईंका परमेश्वर स्वर्ग र पृथ्वीका परमेश्वर हुनुहुन्छ। अब मैले तपाईंहरूसित व्यवहार गरेझैँ तपाईंहरूले मेरा परिवारसित पनि दयासाथ व्यवहार गर्नुहुनेछ भनी उहाँको नाममा किरिया खानुहोस् र म तपाईंहरूलाई विश्वास गर्न सक्छु भनी बुझाउने केही चिनो दिनुहोस्। मेरा आमा-बुबा, भाइ-बहिनी र तिनका परिवार पनि बचाउनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्। हामीलाई मृत्युबाट बचाउनुहोस्!” ती मानिसहरूले त्यसलाई भने, “हामीले आफूले भनेझैँ गरेनौं भने परमेश्वरले हाम्रा प्राण लेऊन्। हामी के गर्दै छौं, सो तिमीले कसैलाई भनिनौ भनेदेखि हामी यो प्रतिज्ञा गर्दछौं कि जब परमप्रभुले यो देश हामीलाई दिनुहुन्छ, हामी तिमीसित ठीक व्यवहार गर्नेछौं।” सहरको पर्खालसित टाँसेर बनेको एउटा घरमा राहाब बस्थी। त्यसले ती मानिसहरूलाई डोरीले झ्यालबाट तल ओह्रालिदिई। त्यसले भनी, “डाँडातिर गइहाल्नुस् नत्र राजाका मानिसहरूले तपाईंहरूलाई भेट्टाउलान्। तिनीहरू यता फर्की नआउन्जेल तीन दिनसम्म त्यहीँ लुकिबस्नोस्। त्यसपछि तपाईंहरू आफ्नो बाटो लाग्न सक्नुहुन्छ।”