यहोशू 1:1-6
यहोशू 1:1-6 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुको सेवक मोशाको मृत्यु भएपछि उनका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो सेवक मोशा मर्यो। तँ र सारा इस्राएल अब तयार होओ र यर्दन तरेर मैले तिनीहरूलाई दिन लागेको देशमा जाओ। मैले मोशालाई भनेझैँ तिमीहरूका पैतालाले कुल्चिने पूरा देश मैले तँलाई र मेरा सबै मानिसहरूलाई दिएको छु। तिमीहरूका देशका सिमाना दक्षिणमा भएका मरुभूमिदेखि उत्तरमा लेबनानका पर्वतहरूसम्म, पूर्वमा महानदी यूफ्रेटिसदेखि हित्तीहरूका देश लिएर पश्चिममा भूमध्य सागरसम्म पुग्नेछ। यहोशू, तेरो जीवनकालमा कसैले पनि तँलाई हराउन सक्नेछैन। मोशासित झैँ म तँसित रहनेछु। म सधैँ तँसित रहनेछु, म तँलाई कहिल्यै त्याग्नेछैनँ। भरोसा राख् र साहस गर् किनभने यी मानिसहरूले मैले तिनका पुर्खाहरूलाई प्रतिज्ञा गरेको देश अधीन गर्दा तैँले तिनीहरूका अगुवाइ गर्नेछस्।
यहोशू 1:1-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका दास मोशाको मृत्युपछि, मोशाका सहायक नूनका छोरा यहोशूलाई परमप्रभुले यसो भन्नुभयो, “मेरो दास मोशा मर्यो। यसकारण उठ्, तँ यी सबै मानिसहरूलाई लिएर यर्दन पारि मैले इस्राएलीहरूलाई दिन आँटेको देशमा जा। मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चिने सबै जग्गा म तँलाई दिनेछु। मरुभूमिदेखि लेबनानसम्म लिएर महानदी, अर्थात् यूफ्रेटिस नदीदेखि— हित्तीहरूको जम्मै देश— पश्चिमतिर महासागरसम्मै तिमीहरूको सिमाना हुनेछ। तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खड़ा हुन सक्नेछैन। जसरी म मोशासँग रहें, त्यसरी नै म तँसँग रहनेछु। म तँलाई छोड्ने, अनि तँलाई त्याग्नेछैनँ। “बलियो र खूब साहसी बन्, किनकि मैले तिनीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देश तिनीहरूको अधिकारमा गराउन तैंले तिनीहरूलाई अगुवाइ गर्नेछस्।
यहोशू 1:1-6 पवित्र बाइबल (NERV)
मोशा परमप्रभुका दास थिए। नूनका छोरा यहोशू मोशाका सहायक थिए। मोशाको मृत्यु भए पछि, परमप्रभु यहोशूसित बात गर्नुभयो। परमप्रभुले भन्नुभयो, “मेरो दास मोशाको मृत्यु भयो। अब तिमी अनि यी मानिसहरू यर्दन नदी पार गरी जानु पर्छ। तिमीहरू त्यो भूमिमा अवश्यै जानु पर्छ जुन चाहि तिमीहरू इस्राएलका मानिसहरूलाई दिदैछु। मैले मोशालाई प्रतिज्ञा दिएको थिए कि म यो भूमि तँलाई दिनेछु। यसर्थ तँ जहाँ कही जानेछस् म तँलाई त्यो भूमि दिनेछु। हित्तीहरूको सम्पूर्ण भूमि, मरुभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ। कुनै पनि मानिसले तँलाई सम्पूर्ण जीवन भरी रोक्न सक्ने छैन। म जसरी मोशासित रहेको थिएँ, त्यसरी नै म तँसित रहनेछु। म तँलाई त्याग्ने छैन। म तँलाई कहिले छाड्ने छैन। “यहोशू, तँ दृढ़ अनि साहसी हुनुपर्छ। तैंले यी मानिसहरूको अगुवाइ गर्नुपर्छ जसद्वारा तिनीहरूले आफ्ना भूमि लिन सकुन्। मैले तिनीहरूका पिता-पुर्खाहरूलाई प्रतिज्ञा दिएको थिएँ कि म तिनीहरूलाई यो भूमि दिनेछु।