योना 2:2-9
योना 2:2-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “मैले आफ्नो सङ्कष्टमा परमप्रभुमा पुकारा गरें, र उहाँले मलाई जवाफ दिनुभयो। चिहानको गहिराइबाट सहायताको निम्ति मैले पुकारें, र तपाईंले मेरो क्रन्दन ध्यानसित सुन्नुभयो। तपाईंले मलाई समुद्रको गहिराइभित्र, समुद्रको मुटुभित्रै फालिदिनुभयो, र प्रवाहहरू मेरा चारैतिर घुमे। तपाईंका सबै छालहरू र लहरहरूले मलाई डुबाए। मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु, तैपनि म फेरि तपाईंको पवित्र मन्दिरतिर हेर्नेछु’। डुबाउने पानीले मलाई तर्सायो, समुद्रको गहिराइ मेरो चारैतिर थियो, समुद्रका झ्याउहरू मेरो टाउकोभरि बेहेरिएका थिए। म त डाँड़ाहरूका फेदीसम्मै तल डुबें, पृथ्वीले मलाई सदाको निम्ति थुनिदियो। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मेरो ज्यानलाई खाल्डोबाट उठाएर ल्याउनुभयो। “जब मेरो प्राण गलिसकेको थियो, तब मैले, हे परमप्रभु, तपाईंलाई सम्झें, र मेरो प्रार्थना तपाईंकहाँ उठ्यो, तपाईंको पवित्र मन्दिरभित्रै पुग्यो। “जस-जसले व्यर्थका मूर्तिहरूतिर मन लगाउँछन्, तिनीहरूले पाउनुपर्ने अनुग्रहबाट तिनीहरू वञ्चित हुन्छन्। तर म त धन्यवादको स्तुतिसहित तपाईंमा बलिदान चढ़ाउनेछु। मैले जे भाकल गरेको छु, सो म पूरा गर्नेछु। उद्धार परमप्रभुबाटै हुन्छ।”
योना 2:2-9 पवित्र बाइबल (NERV)
“मेरो कष्टको कारणले मैले परमप्रभुलाई प्रार्थना गरें अनि उहाँले मलाई उत्तर दिनुभयो। मृत्युको संसारदेखि म कराएँ, र तपाईंले मेरो बिन्ति सुन्नुभयो। “तपाईंले मलाई गहिरो भित्र, समुद्रको मुटुमै फालिदिनुभएको थियो, र मेरो चारैतिर छालहरू थिए। तपाईंका भयंकर छालहरूले मलाई डुबायो। तब मैले भनें, ‘म त तपाईंको दृष्टिबाट निकालिएको छु,’ तैपनि म फेरि तपाईंको पबित्र मन्दिरतिर हेर्नेछु। “पानीले मलाई मेरो प्राण सम्मै घेर्यो, गहिरो सगर मेरो चारैतिर थियो, मेरो टाउको भरि समुद्रका झ्याउहरू बेहेरिएका थिए। म त समुद्रको फेद सम्मै पुगें। पृथ्वीले मलाई सदाका निम्ति थुनिदियो। तैपनि हे परमप्रभु! मेरा परमेश्वर, तपाईंले खाडलबाट उठाएर मलाई जीवन दिनुभयो। “मेरो प्राणले सबै आशा गुमायो। तब मैले परमप्रभुको सम्झना गरें। परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें अनि तपाईंले मेरो प्रार्थना, तपाईंको पवित्र मन्दिरबाट सुन्नु भयो। “ज-जसले ब्यार्थका मुर्तिहरूतिर मन लगाउँछन् तिनीहरूले गर्नु पर्ने साँच्चो भक्तिलाई त्याग्द छन्। तर म धन्यवादको स्तुति सहित तपाईंमा बलिदान चढाउने छु, मैले जेकुराको भाकल गरेको छु सो पुरा गर्नेछु।” उद्धार परमप्रभुबाटै हुन्छ!
योना 2:2-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“हे परमप्रभु, मेरो कष्टमा मैले तपाईंलाई पुकारें र तपाईंले मलाई उत्तर दिनुभयो। मैले पातालको गहिराइबाट सहायताको निम्ति कराएँ र तपाईंले मेरा पुकारा सुन्नुभयो। तपाईंले मलाई समुद्रको गहिराइमा, त्यसको भित्री तहमा नै फालिदिनुभयो, त्यहाँ मलाई पानीले चारैतिरबाट घेर्यो, र तपाईंका शक्तिशाली छालहरू ममाथि उर्ले। मैले सोचें कि आफ्नो सामुन्नेबाट तपाईंले मलाई धपाउनुभयो, र फेरि कहिल्यै तपाईंको पवित्र मन्दिर देख्न पाउनेछैन। ममाथि पानी उर्लेर मेरो सास थुनिदियो, समुद्रले मलाई पूरै ढाक्यो, मेरो टाउकोमा समुद्रका झारहरू बेहेरिए। म पर्वतहरूको फेदीसम्मै पुगें पृथ्वीमुनि पुगें, जसका ढोकाहरू सदाकालको निम्ति थुनिएका हुन्छन्। तर हे परमप्रभु मेरा परमेश्वर, तपाईंले मलाई ती गहिरा ठाउँहरूबाट जिउँदै फर्काई ल्याउनुभयो। जब मेरो प्राण जाँदै थियो तब हे परमप्रभु मैले तपाईंलाई प्रार्थना गरें र तपाईंको पवित्र मन्दिरमा मेरो बिन्ती तपाईंले सुन्नुभयो। ज-जसले व्यर्थका मूर्तिहरू पुज्दछन्, तिनीहरूले तपाईंको भक्ति गर्न छोडेका छन्। तर म तपाईंको प्रशंसा गाउनेछु, तपाईंलाई बलिदान चढाउनेछु र आफ्नो प्रतिज्ञा पूरा गर्नेछु। उद्धार परमप्रभुबाट आउँछ।”