YouVersion लोगो
खोज आइकन

योना 1:1-17

योना 1:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो: “त्‍यस ठूलो सहर निनवेमा जा, र त्‍यसको विरुद्धमा प्रचार गर्, किनभने त्‍यसको दुष्‍ट्याइँ मेरो सामु आएको छ।” तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्‍पा सहर गए, र त्‍यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्‍न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े। तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्‍तो प्रचण्‍ड आँधी चल्‍यो कि त्‍यसले जहाजलाई नष्‍ट गर्लाजस्‍तै भयो। सबै नावीकहरू डराए, र प्रत्‍येकले आफ्‍नो देवताको पुकारा गर्‍यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्‍यापारका मालहरू समुद्रमा फाले। तर योनाचाहिँ जहाजको तल्‍लो तलामा गएका थिए, र त्‍यहाँ तिनी भुसुक्‍क निदाए। जहाजका कप्‍तान तिनीकहाँ आएर भने, “कसरी सुत्‍न सकेको! उठेर तिम्रा परमेश्‍वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्‍याल राख्‍नुहुनेछ र हामी नष्‍ट हुनेछैनौं।” तब नावीकहरूले आपसमा भन्‍न लागे, “आओ, यस आपत्तिको जिम्‍मावार को रहेछ, सो जान्‍नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्‍यो। तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत्‌ ल्‍याउन को जिम्‍मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?” तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्‍वर्गका परमेश्‍वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।” यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्‍नेबाट भागेका रहेछन्‌ भन्‍ने तिनीहरूलाई थाहा थियो।) समुद्रका छालहरू झन्‌-झन्‌ प्रचण्‍ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्‍ति शान्‍त होला?” तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्‍त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्‍ड आँधी चलेको हो भन्‍ने म जान्‍दछु।” तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्‍म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्‌-झन्‌ खराब हुँदैगयो। यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्‍ती छ, हे परमप्रभु, यस मानिसको ज्‍यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्‍याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्‍तो इच्‍छा लागेको थियो सो गर्नुभएको छ।” तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्‍त भइहाल्‍यो। यो देखेर ती मानिसहरूले परमप्रभुको अत्‍यन्‍तै भय माने, र तिनीहरूले परमप्रभुको निम्‍ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे। तर योनालाई निल्‍न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्‍म योना त्‍यस माछाको पेटभित्र रहे।

शेयर गर्नुहोस्
योना 1 पढ्नुहोस्

योना 1:1-17 पवित्र बाइबल (NERV)

परमप्रभु अमित्तैको छोरा योनासँग बोल्नुभयो। परमप्रभु भन्नुहुन्छ, “निनवे एउटा ठुलो शहर हो, त्यहाँका मानिसहरूले दुष्ट कर्महरू गरिरहेको बिषयमा मैले सुनेकोछु। यसकारण, तिमी त्यो शहरमा जाऊ, अनि त्यहाँका मानिसहरूलाई ती नराम्रा कामहरू छोडिदेऊ भनी भन।” योनाले परमेश्वर को कुरा मानेनन्। यसकारण योना परमप्रभुबाट टाढा कतै भाग्ने प्रयास गरे। त्यसैले उनी यापो तिर गए। योना एउटा जहाजमा चढे जुन तर्शिशतिर जाँदै थियो। योनाले आफ्नो यात्राको निम्ति पैसा दियो अनि जहाजभित्र गएर बस्यो। योनाको इच्छा थियो कि उनी त्यो जहाजमा अरू मानिसहरूसितै तर्शिश जाने अनि परमप्रभुबाट कतै टाढा भाग्ने। तर परमप्रभुले समुद्रमा भयानक तूफान उठाउनु भयो, समुद्रमा प्रचन्ड आँधी उठेर जहाजलाई त्यसले नाश गर्ला जस्तो भयो। मानिसहरू चाहन्थे कि त्यो जहाज बचाउनको निम्ति त्यसलाई हलुका बनाउँ, त्यसैले जहाजको सबै सामानहरू उठाएर समुद्रमा फ्याँक्न थाले। मल्लाहरू धेरै डराएका थिए, प्रत्येक मानिसहरूले आ-आफ्नो देवताहरूलाई प्रार्थना गर्न थाले। योना जहाजको भित्रि भागमा गएर सुतिरहेका थिए। त्यसैले जहाजका कप्तानहरू तिनीकहाँ आएर भने, “ए सुतुवा, तिमी के गर्दैछौ? उठेर तिम्रा परमेश्वरलाई पुकार, सायद परमेश्वले तिम्रो प्रार्थना सुन्नु हुन्छ र हामी नष्ट हुनेछैनौं।” अनि तिनीहरू आपस मा भन्नलागे, “कसको कारणले गर्दा यो आपद हामीमाथि आइपर्न लागेको होला त्यो चिठ्ठा हालेर हेरौं।” यसो भनेर तिनीहरूले चिठ्ठाहालेर हेरे, चिठ्ठा योनाको नाउँमा पर्यो। मानिसहरूले योनालाई भने, “तिम्रो कारणले गर्दा यस्तो ठुलो आपद् हामीमाथि आयो! यसकारण हामीले के गर्यौं? तिम्रो काम केहो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? अनि तिमी कुन जातिका हौ?” अनि योनाले मानिसहरूलाई भने, “म हिब्रू हुँ। स्वर्गका परमप्रभु परमेश्वरको आरधना गर्दछु। उहाँ परमेश्वर हुनुहुन्छ जसले समुद्र अनि पृथ्वी सृष्टि गर्नुभयो।” योनाले मानिसहरूसँग भने, मानिसहरूले यो कुरा थाहा पाए कि तिनी परमप्रभुबाट टाढा भाग्दैछन्। तब तिनीहरू अत्यन्तै डराए। अनि मानिसहरूले योनालाई सोधे, “तिमिले आफ्नो परमेश्वरको बिरुद्धमा किन नराम्रो काम गर्यौ?” उता आँधी तुफान र समुद्रको छाल झन्-झन् बढ्दै थियो। त्यसैकारण योनालाई मानिसहरूले भने, “हामीले आफ्नो सुरक्षाको निम्ति के गर्नु पर्छ? समुद्रलाई शान्तगर्न को निम्ति हामीले तिमीसँग के गर्नु पर्छ?” योनाले मानिसहरूलाई भने, “म जान्दछु मेरो कारणले नै समुद्रमा तुफान आएको हो, यसकारण तिमीहरूले मलाई समुद्रमा फ्याँकिदेऊ अनि तूफान शान्त भइहाल्छ।” तर मानिसहरूले योनालाई समुद्रमा फ्याँकन चाँहदैन थिए। उनीहरूले जहाजलाई किनारामा ल्याउन खुबै कोसिस गरे तर त्यो हुन सकेन। आँधी तूफान र समुद्रको छाल अझ बढ्दै गयो। यसकारण, मानिलहरूले परमप्रभुलाई पुकारे, “बिन्ती छ, हे परमप्रभु बिन्ति छ, यस मानिसको ज्यानको सट्टा हामी नष्ट हुन नपरोस्, र हामी निर्दोषमाथि हत्याको दोष नलागोस्, किनकि हे परमप्रभु! तपाईंलाई जस्तो इच्छा लागेको थियो, सो गर्नु भएको छ।” तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए र समुद्र शान्त भयो। तब ती मानिसहरूले परमप्रभुको अत्यन्तै डर मान्न थाले र परमप्रभुको निम्ति भाकल गरे अनि बलिदान चढाए। अनि योनालाई निल्न परमप्रभुले एउटा ठुलो माछालाई खटाउनु भयो, र तिन दिन र तिन रात योना त्यस माछाको पेटभित्र रहे।

शेयर गर्नुहोस्
योना 1 पढ्नुहोस्

योना 1:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक दिन अमित्तैको छोरो योनासित परमप्रभु बोल्‍नुभयो। उहाँले भन्‍नुभयो, “त्‍यो ठूलो सहर निनवेमा जा र त्‍यसको विरुद्धमा बोल्। त्‍यहाँका मानिसहरू कति दुष्‍ट छन्, त्यो म जान्‍दछु।” तर योना परमप्रभुदेखि भाग्‍न विपरीत दिशातिर लागे। उनी योप्‍पा सहरमा पुगे र त्‍यहाँ तर्शीशमा जाने एउटा जहाज भेट्टाए। तर्शीश जानलाई भाडा तिरेर तिनी जहाजमा चढे। तर्शीशमा परमप्रभुदेखि टाढा हुनेछु भन्‍ने उनको विचार थियो। तर परमप्रभुले समुद्रमा ठूलो बतास चलाउनुभयो। समुद्रमा प्रचण्‍ड आँधी चल्‍यो र जहाज भत्‍किने डर भयो। नाविकहरू डराए र मद्दतको लागि आ-आफ्‍ना देवताहरूलाई पुकार्न थाले। त्‍यसपछि जहाज नडुबोस् भनी त्‍यसमा भएका मालमत्ता तिनीहरूले समुद्रमा फाल्‍न थाले। योनाचाहिँ जहाजको मालसामान राख्‍ने मुनिको भागमा मस्‍त निद्रामा थिए। जहाजको कप्‍तानले तिनलाई त्‍यहाँ भेटे र भने, “तिमी सुतेर के गर्दै छौ? उठ र आफ्‍ना परमेश्‍वरसँग मद्दतको लागि बिन्‍ती गर। सायद उहाँले हामीलाई टिठ्याउनुहुनेछ र हाम्रो ज्‍यान बचाइदिनुहुनेछ।” नाविकहरूले आपसमा भने, “हामी चिट्ठा हाली हेरौं कि कसको दोषले गर्दा हामीमाथि यो आपद् आइपर्‍यो।” तिनीहरूले चिट्ठा हाले र योनाको नाममा चिट्ठा पर्‍यो। तिनीहरूले उनलाई भने, “लौ, अब हामीलाई भन कसको दोषले गर्दा यो आपद् आएको हो? तिमी के काम गर्छौ? कहाँबाट आयौ? तिमी कुन देशको मानिस हौ? तिमी कुन जातिका हौ?” योनाले जवाफ दिए, “म हिब्रू हुँ। जल र स्‍थल दुवै बनाउनुहुने स्‍वर्गका परमेश्‍वर परमप्रभुलाई म पुज्‍दछु।” योनाले आफू परमप्रभुदेखि भागेको कुरा तिनीहरूलाई बताए। नाविकहरू डराए र उनलाई भने, “तिमीले त डरलाग्‍दो काम पो गरेछौ।” आँधी एकोहोरो बढिरहेको थियो। यसकारण नाविकहरूले उनलाई सोधे, “आँधी रोक्‍नलाई हामीले अब तिमीलाई के गर्नुपर्ने हो?” योनाले जवाफ दिए, “मलाई समुद्रमा फालिदेओ र समुद्र शान्‍त हुनेछ। म जान्‍दछु, मेरो कसुरले गर्दा तिमीहरू यो घोर आँधीमा पर्‍यौ।” तापनि किनार लाउनलाई माझीहरूले जोडसित जहाज खियाए। तर आँधी झन्-झन् बढिरहेको थियो र तिनीहरूको केही सीप लागेन। यसकारण तिनीहरूले परमप्रभुलाई पुकार्दै कराए, “हे परमप्रभु! हामी बिन्‍ती गर्दछौं, यस मानिसको ज्‍यानको सट्टामा हाम्रो ज्‍यान नलिनुहोस्। हे परमप्रभु! यी सबैका लागि तपाईं नै जिम्‍मेवार हुनुहुन्‍छ। यी सबै तपाईंले गराउनुभएको हो।” त्‍यसपछि तिनीहरूले योनालाई उठाएर उर्लंदो समुद्रमा फालिदिए र तुरुन्‍तै समुद्र शान्‍त भयो। त्‍यसो हुँदा ती नाविकहरूले परमप्रभुको साह्रै डर माने र उहाँलाई बलिदान चढाए र उहाँको सेवा गर्ने प्रतिज्ञा गरे। परमप्रभुको आज्ञाअनुसार एउटा ठूलो माछाले योनालाई निल्‍यो र तिनी त्‍यसको पेटभित्र तीन दिन र तीन रात रहे।

शेयर गर्नुहोस्
योना 1 पढ्नुहोस्