योएल 2:18-32
योएल 2:18-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभु आफ्नो देशको निम्ति डाही हुनुहुनेछ र उहाँले आफ्नो प्रजालाई टिठ्याउनुहुनेछ। परमप्रभुले आफ्नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्पूर्ण तृप्त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्यै म तिमीहरूलाई गिल्लाको पात्र हुन दिनेछैनँ। “म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्यसको अगिल्लो पङ्क्तिलाई पूर्वको समुद्रमा र त्यसको पछिल्लो पङ्क्तिलाई चाहिँ पश्चिमको समुद्रमा हटाइदिनेछु, अनि त्यसको गन्ध, त्यसको सड़ेको दुर्गन्ध माथि उठ्नेछ।” निश्चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ। ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्। निश्चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ। ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्त फलहरू दिन्छन्। ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्त झरी ल्याइदिनुहुन्छ— शरद् र बसन्त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्छ। तब खलाहरू अन्नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्। “म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात् मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो। तिमीहरू अघाउञ्जेल प्रशस्त खान पाउनेछौ, र तिमीहरूका निम्ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लज्जित हुनेछैन। “त्यसपछि म मेरा आत्मा सबै मानिसमाथि खन्याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्। तिमीहरूका बूढ़ा मानिसहरू स्वप्नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन्। ती दिनमा मेरा सेवकहरू पुरुष र स्त्रीहरू दुवैमाथि म आफ्ना आत्मा खन्याउनेछु। आकाश र पृथ्वीमा म अचम्मका कामहरू देखाउनेछु, अर्थात् रगत, आगो र धूवाँका मुस्लाहरू। परमप्रभुको त्यो महान् र भयङ्कर दिन आउनुभन्दा अघि सूर्य अँध्यारोमा र चन्द्र रक्तमा परिवर्तन हुनेछन्। परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”
योएल 2:18-32 पवित्र बाइबल (NERV)
तब परमप्रभु आफ्नो भूमिको निम्ति अत्यन्तै जोशिलो हुनुभयो। उहाँ आफ्ना मानिसहरूमाथि करूणामय हुनुभयो। परमप्रभुले आफ्ना मानिसहरूलाई उत्तर दिनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूका निम्ति अन्नहरू, नयाँ दाखरस र तेल पठाउनेछु। जो तिमिहरूका निन्ति प्रशस्त हुनेछ। म तिमीहरूलाई अन्य जातिहरूको बिचमा हाँसोको पात्र बनिन दिने छैन। त्यहाँ आएका उत्तरवासीहरूलाई तिमीहरूको देशबाट हटाइदिनेछु। उनिहरूलाई बाँझो र उजाड देशमा पठाइदिनेछु, त्यसमध्ये आधिलाई पूर्वको समुद्रपट्टि पठाई दिनेछु, अनि फेरि आधिलाई पश्चिमको समुद्रतर्फ पठाईदिनेछु। उनीहरूले यस्तो घृणित कर्म गरेका छन्, उनीहरूसडेको दुर्गन्धमाथि उठ्नेछन्। तिनीहरूको नराम्रो गन्ध उँभो जानेछ। तिनीहरूले धेरै घिनलाग्दा कामहरू गरेका छन्।” हे देश नडरा! तँ खुशि भएर रमाइलो गर, किनकि परमप्रभुले ठूला-ठूला काम गर्नु हुनेछ। हे जङ्गलका पशुहरू! नडराऊ, बनको उजाड खर्कमा हरियाली आउनेछ। रूखहरूले फलदिन थाल्नेछन्। नेभाराको बोटहरू र दाखको बोटहरूले प्रशस्त फल दिनेछ। हे सियोनका मानिसहरू! खुशीहोऊ। परमप्रभु, तिमीहरूका परमेश्वरसँग रमाऊ। किनभने उहाँले तिमीहरूलाई राम्रो गर्नुहुनेछ। उहाँले तिमीहरूलाई अघिल्लो र पछिल्लो दुबै झरी, पहिला झैं पठाई दिनुहुन्छ। अब खलाहरू गहुँले भरिपूर्ण हुनेछन्। अनि दाख-कुण्डहरू नयाँ दाखरस र तेलले भरिनेछन्। “म परमप्रभुले मेरो शक्तिशाली सेना तिमीहरूको बिरुद्धमा पठाएको थिएँ। ती काट्ने सलहहरू, ती बगाले सलहहरू अनि उफ्रने सलहहरूले तिम्रा सबै अन्नहरू खाइदिए। तर म परमप्रभु ती सबै नोक्सान भएको फेरि भरपूर गरिदिनेछु। तिमीहरू फेरि भरिभराऊ हुनेछौ। फेरि तिमीहरूसँग प्रशस्त खानेकुरा हुनेछ। तिमीहरू सन्तुष्ट हुनेछौ र तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको प्रशंसाको गीत गाउनेछौ। उहाँले तिम्रा निम्ति आश्चर्यचकित काम गर्नु भएकोछ। अब मेरो मानिसहरू कहिल्यै लज्जित हुनेछैनन्। अनि तिमीले थाहापाउनेछौ म इस्राएलको बीचमा छु। अनि फेरि तिमीले जन्नेछौ म परमप्रभु तिमीहरूको परमेश्वर हुँ, र म वाहेक अर्को कुनै परमेश्वर छैन। मेरा प्रजाहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्।” “त्यसपछि, म तिमीहरू सबै माथि मेरो आत्मा खन्याउँनेछु। तिमीहरूका छोरा-छोरीहरूले अगमवाणी गर्नेछन्। तिमीहरूका बूढा मानिसहरू सपना-दर्शी हुनेछन्। तिनीहरूका जवानले दर्शन देख्नेछन्। त्यस समय म आफ्ना आत्मा मेरा दास र दासीहरूमाथि खन्याउनेछु। पृथ्वी अनि आकाशमा म अद्भूत चिन्ह देखाउनेछु। त्यहाँ रगत, आगो र धुवाँको खम्बाहरू हुनेछन्। सूर्य अँध्यारोमा बद्लनेछ। चन्द्रमाको रंग रगतमा बद्लनेछ। अनि परमप्रभुको महान् र डरलाग्दो दिन आउनेछ। अनि हरेक मानिस जसले परमप्रभुको नाउँ पुकर्छ उसलाई बचाइनेछ। किनकि परमप्रभुले भन्नु भए अनुसार त्यहाँ बाँचेकाहरू सियोन डाँडा र यरूशलेममा हुनेछन्। यो ठिक परमप्रभुले भन्नु भए जस्तै हुनेछ। बाँचेहरूको बिचमा तिनीहरू हुनेछन् जसलाई परमेश्वरले बोलाउनु हुनेछ।
योएल 2:18-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यसपछि परमप्रभुले आफ्नो देशप्रति वास्ता देखाउनुभयो, उहाँले आफ्ना प्रजालाई कृपा गर्नुभयो। उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “अब म तिमीहरूलाई अन्न, दाखमद्य र जैतुनको तेल दिनेछु र तिमीहरू तृप्त हुनेछौ। अन्यजातिहरूले अब तिमीहरूको हाँसो गर्नेछैनन्। उत्तरबाट आएका सलहहरूका सेनालाई म हटाउनेछु र तीबाट केहीलाई मरुभूमितिर धपाउनेछु। तिनीहरूका अघिल्ला पङ्क्तिहरूलाई मृत सागरमा र पछिल्ला पङ्क्तिहरूलाई भूमध्य सागरमा धपाईदिनेछु। तिनीहरू मरेर सड्नेछन् र दुर्गन्ध फैलनेछ। तिनीहरूले तिमीहरूलाई गरेका खतिको निम्ति म तिनीहरूलाई नाश पार्नेछु। “ए भूमि, नडरा तर आनन्द र रमाहट गर् किनभने परमप्रभुले तेरो लागि महान् काम गर्नुभएको छ। ए जन्तुहरू हो, नडराओ। चरनहरू हरिया छन्, रूखहरूमा फल लाग्दै छन् र नेभारा र दाख प्रशस्तै फल्दै छन्। “हे सियोनका बासिन्दाहरू हो, आनन्द मनाओ। परमप्रभु तिमीहरूका परमेश्वरले गर्नुभएको कामको निम्ति रमाहट गर। उहाँले शरद ऋतुमा ठिक्क चाहिने वर्षा दिनुभएको छ। उहाँले हिउँद र बसन्तका झरी अघिझैँ बर्साउनुभएको छ। खलाहरू अन्नले भरिएका हुनेछन्। दाखमद्य र जैतुनको तेल रसकुण्डहरूमा भरिएर बाहिर पोखिनेछन्। सलहका हुलहरूले तिमीहरूका अन्नबाली खाएर नाश पारेका वर्षहरूमा तिमीहरूको जति नोक्सान भएथ्यो, त्यो म पूरा गरी फर्काइदिनेछु। सलहहरूका सेना तिमीहरूको विरुद्धमा पठाउने म नै थिएँ। अब तिमीहरूले प्रशस्त खानेकुरा पाउनेछौ र तृप्त हुनेछौ। तिमीहरूको निम्ति अचम्मका काम गर्नुहुने परमप्रभु आफ्ना परमेश्वरको तिमीहरूले प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन। तब ए इस्राएलीहरू हो, म तिमीहरूका माझमा छु र म परमप्रभु तिमीहरूका परमेश्वर हुँ र मबाहेक अर्को परमेश्वर छैन भनी तिमीहरू बुझ्नेछौ। मेरो प्रजा फेरि कहिल्यै लाजमापर्नेछैन। “त्यसपछि म सबै मानिसहरूमाथि मेरो आत्मा खन्याउनेछु, तिमीहरूका छोरा-छोरीहरूले मेरो वचनको घोषणा गर्नेछन्, तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन् र तिमीहरूका युवाहरूले दर्शन देख्नेछन्। त्यस बेला म मेरो आत्मा नोकर-नोकर्नीहरू दुवैमाथि पनि खन्याउनेछु। “आकाश र पृथ्वीमा म त्यस दिनको बारेमा चेतावनी दिनेछु। रक्तपात, आगलागी र धूवाँको बादल फैलनेछ। परमप्रभुको त्यो महान् र डरलाग्दो दिन आउनुअघि सूर्य अँध्यारो हुनेछ र चन्द्रमा रगतझैँ रातो हुनेछ। तर ज-जसले परमप्रभुसँग सहायताको निम्ति पुकारा गर्नेछन्, तिनीहरू बचाइनेछन्। परमप्रभुले भन्नुभएअनुसार सियोन डाँडामा र यरूशलेममा कोही-कोही उम्कनेछन् र उहाँले चुन्नुभएका जतिचाहिँ बाँच्नेछन्।”