यूहन्‍ना 6:54-63

यूहन्‍ना 6:54-63 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्‍त जीवन छ, र अन्‍त्‍यको दिनमा म त्‍यसलाई जीवित पार्नेछु। किनभने मेरो देह साँच्‍चै खानेकुरो हो, र मेरो रगत साँच्‍चै पिउने कुरो हो। मेरो देह खाने, र मेरो रगत पिउनेचाहिँ ममा रहन्‍छ, र म त्‍यसमा रहन्‍छु। जसरी जीवित पिताले मलाई पठाउनुभयो, र म पिताको कारणले जिउँछु, त्‍यसै गरी मलाई खाने पनि मेरो कारणले जिउनेछ। स्‍वर्गबाट आएको यो रोटी त्‍यस्‍तो होइन, जो पिता-पुर्खाहरूले खाए तापनि मरेर गए। यो रोटी खानेचाहिँ सधैँभरि जिउनेछ।” उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको हो। यो सुनेपछि उहाँका चेलाहरूमध्‍ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्‍न सक्‍तछ र?” तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन्‌ भनी जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यी कुरा तिमीहरूका निम्‍ति ठोकरको कारण भइरहेछ? तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ अघि थियो त्‍यहाँ उक्‍लँदैगरेको देख्‍यौ भने नि कसो? जीवन दिनुहुने आत्‍मा हुनुहुन्‍छ, शरीरबाट केही फाइदा हुँदैन। जुन वचन मैले तिमीहरूसँग बोलेको छु, ती आत्‍मा र जीवन हुन्‌।

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:54-63 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, ऊसँग अनन्त जीवन छ। अनि अन्त्यको दिनमा म उसलाई जीवित पार्नेछु। किनकि मेरो मासु साँच्‍चै खानेकुरा र मेरो रगत साँच्‍चै पिउने कुरा हो। जसले मेरो मासु खान्छ र मेरो रगत पिउँछ, त्यो ममा रहन्छ, र म उसमा रहन्छु। जसरी जीवित पिताले मलाई पठाउनुभएको छ, र म पिताको कारणले जिउँछु, त्यसै गरी जसले मलाई खान्छ, त्यो मेरो कारणले जिउनेछ। स्वर्गबाट ओर्लिआएको रोटी यही नै हो। तिमीहरूका पुर्खाहरूले मन्‍न खाए अनि मरे। तर जसले यो रोटी खान्छ, त्यो सधैँभरि जिउनेछ।” उहाँले यी कुराहरू कफर्नहुममा सभाघरमा शिक्षा दिनुहुँदा भन्‍नुभएको हो। यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो त कठोर शिक्षा हो। कसले यो ग्रहण गर्न सक्छ र?” यस विषयमा आफ्ना चेलाहरू गनगन गर्दैछन् भन्‍ने येशू आफूले थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई ठेस पुर्‍यायो? यदि तिमीहरूले मानिसको पुत्रलाई ऊ पहिले जहाँ थियो त्यहीँ उक्लँदैगरेको देख्यौ भने के होला! आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:54-63 पवित्र बाइबल (NERV)

तर जसले मेरो शरीर खान्छ र रगत पिउँछ उसको जीवन अनन्त हुन्छ। अन्त्यको दिनमा म उसलाई उठाउनेछु। मेरो शरीर साँच्चो भोजन हो। मेरो रगत साँच्चो पिउने कुरा हो। जसले मेरो शरीर खान्छ र रगत पिउँदछ तब त्यो मानिस मभित्र र म ऊभित्र हुनेछ। “जीवित पिताले मलाई पठाएका हुन्। उहाँको कारणले म बाँच्छु। यसर्थ जसले मलाई खाँदछ मेरो कारणले पनि ऊ बाँच्नेछ। म त्यो रोटी जस्तो होइन जुन हाम्रा पिताहरूले मरूभूमिमा खाए औ अन्य मानिसहरू सरह मरे। म स्वर्गबाट आएको त्यो रोटी हुँ। ऊ जसले यो रोटी खाँदछ, अनन्त बाँच्ने छ।” येशूले ती कुराहरू त्यतिबेला गर्नुभयो जब उहाँ कफर्नहुम शहरको यहूदीहरूको सभा-घरमा सिकाउनु हुँदैथ्यो। धेरै येशूका चेलाहरूले यस्तो सुनेपछि भने, “यो शिक्षा बुझ्न गाह्रो छ। कसले यो शिक्षा ग्रहण गर्न सक्छ?” येशूले चेलाहरू गनगनाउँदैछन् भन्ने थाहा पाउनु भयो। तिमीहरूलाई भन्नुभयो, “के यस शिक्षाले तिमीहरूलाई ठेस लाग्छ? तब तिमीहरूले मानिसको पुत्रलाई जहाँ ऊ पहिले थियो, त्यहाँ जाँदै गरेको देख्यौ भने के हुन्छ? त्यो आत्मा हो जसले मानिसलाई जीवन दिन्छ। शरीरबाट केही फाईदा छैन। म जो चीज तिमीहरूलाई भन्छु त्यो आत्मा हो तिनहरूले जीवन दिन्छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्

यूहन्‍ना 6:54-63 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तर मेरो शरीर खाने र मेरो रगत पिउनेसँग चाहिँ अनन्त जीवन हुन्‍छ र आखिरी दिनमा म उसलाई मरेकोबाट बिउँताउनेछु किनभने मेरो शरीर साँचो खानेकुरा हो र मेरो रगत साँचो पिउने कुरा हो। मेरो शरीर खाने र रगत पिउनेचाहिँ ममा रहन्‍छ र म उसमा रहन्‍छु। जिउँदो परमेश्‍वर पिताले मलाई पठाउनुभयो र उहाँद्वारा म जिउँदछु। त्‍यसै गरी मलाई खानेचाहिँ मद्वारा जिउनेछ। स्‍वर्गबाट आएको रोटी यही हो। यो तिमीहरूको पुर्खाहरूले खाएको रोटीजस्‍तो होइन। तिनीहरूले त्‍यो खाए अनि मरे। तर मैले दिने रोटी खाने मानिसचाहिँ अनन्त जीवन पाएर सधैँभरि जिउनेछ।” यी कुराहरू येशूले कफर्नहुम सहरको सभाघरमा शिक्षा दिँदा भन्‍नुभएको थियो। यी कुराहरू सुनेर येशूका चेलाहरूमध्‍ये धेरैले भने, “यो शिक्षा त साह्रै अप्‍ठ्यारो छ, यो कसले सुन्‍न सक्‍छ र?” चेलाहरूले आपसमा यसको बारेमा गनगनाउँदै छन् भन्‍ने जानेर येशूले तिनीहरूलाई भन्‍नुभयो, “के यस कुराले तिमीहरूलाई बाधा पार्छ? त्‍यसो हो भने म मानव पुत्रलाई पहिले आफू भएकै ठाउँमा फर्किएको देख्‍यौ भने के गर्छौ? जीवन दिनुहुनेचाहिँ परमेश्‍वरका आत्‍मा नै हुनुहुन्‍छ। यो काम त मानिसको शक्तिले हुनै नसक्‍ने कुरा हो। मैले तिमीहरूलाई भनेका कुराहरूचाहिँ आत्‍मा र जीवन हुन्।

शेयर गर्नुहोस्
यूहन्‍ना 6 पढ्नुहोस्