यूहन्ना 4:4-15
यूहन्ना 4:4-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँलाई सामरिया भएर जानुपर्थ्यो। र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो। त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो। एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए। तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “तिमीले परमेश्वरको वरदान र तिमीसँग पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले उसलाई माग्नेथियौ, र उसले तिमीलाई जिउँदो पानी दिनेथियो।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।” येशूले त्यसलाई भन्नुभयो, “यो पानी पिउने प्रत्येक फेरि तिर्खाउनेछ, तर जस-जसले मैले दिने पानी पिउँछ त्यो कहिल्यै तिर्खाउनेछैन। जुन पानी म त्यसलाई दिनेछु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मूल बन्नेछ!” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
यूहन्ना 4:4-15 नेपाली समकालीन संस्करण (NCV)
उहाँलाई सामरियाबाट भएर जानुपर्थ्यो। त्यसकारण उहाँ सामरियाको सुखार भन्ने शहर नजिकै आइपुग्नुभयो, जुन याकोबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो। त्यहाँ याकोबको इनार थियो, अनि येशू यात्राबाट आउनुभएको कारण थाक्नुभएको हुनाले इनारको छेउमा बस्नुभयो। त्यस बेला प्रायः मध्यान्ह भएको थियो। जब एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई, तब येशूले त्यसलाई भन्नुभयो, “मलाई पानी पिउन दिन्छ्यौ कि?” (उहाँका चेलाहरू खानेकुरा किन्न शहरमा गएका थिए।) त्यस सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी हुनुहुन्छ, अनि म एक सामरी स्त्री हुँ। तपाईंले कसरी मेरो हातबाट पानी पिउनुहुन्छ?” (किनकि यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।) येशूले त्यसलाई भन्नुभयो, “यदि तिमीले परमेश्वरका वरदानलाई तिमीसँग पानी माग्ने व्यक्ति को हुन् भनी चिनेकी भए, तिमीले उनीसँग पो माग्ने थियौ, र उनले तिमीलाई जीवित पानी दिनेथिए।” त्यस स्त्रीले भनी, “हजुर, तपाईंसँग त पानी उघाउने भाँडो केही पनि छैन, अनि इनार गहिरो छ; तब तपाईंले त्यो जीवित पानी कहाँबाट ल्याउनुहुन्छ? के तपाईं हाम्रा पुर्खा याकोबभन्दा महान् हुनुहुन्छ, जसले हामीलाई यो इनार दिए, र उनी आफूले यसै इनारबाट पिए, अनि उनका सन्तान र उनका गाईवस्तुले पनि यही इनारको पानी पिए?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने हरेक फेरि तिर्खाउनेछ, तर जसले मैले दिने पानी पिउँछ, त्यो कहिल्यै तिर्खाउनेछैन। वास्तवमा जुन पानी म त्यसलाई दिन्छु, त्यो त्यसमा अनन्त जीवनको निम्ति उम्रिरहने पानीको मुहान बन्नेछ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजुर, मलाई त्यही पानी दिनुहोस्, र म नतिर्खाऊँ, अनि यहाँ पानी लिन आइरहन नपरोस्।”
यूहन्ना 4:4-15 पवित्र बाइबल (NERV)
गालील जाँदा येशूलाई सामरिया देश भएर जानु पर्थ्यो। सामरिया अन्तर्गत सिचार भन्ने शहरमा येशू आइपुग्नु भयो। यो शहर याकूबले आफ्ना छोरो यूसुफलाई दिएको जमीनको नजीक पर्थ्यो। याकूबको कुवा त्यहाँ थियो। येशू आफ्नो लामो यात्राबाट थाकेपछि त्यही कुवाकै छेउमा विश्राम गर्न बस्नुभयो। त्यसबेला प्रायः मध्यान्हको समय थियो। एउटी सामरी स्त्री कुवामा पानी भर्नु आई। येशूले तिनलाई भन्नुभयो, “दया गरेर मलाई पिउने पानी देऊ।” त्यस समय येशूका चेलाहरू शहरमा खानेकुरा किन्न गएका थिए। सामरी स्त्रीले उत्तर दिई, “तपाईंले पानी मागेको देखेर म छक्क परे। तपाईं यहूदी हुनुहुन्छ अनि म एउटी सामरी स्त्री!” यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्। येशूले उत्तर दिनुभयो, “यदि परमेश्वरले के प्रदान गर्नु हुन्छ अनि ऊ जसले पानी माग्दैछ, तिमीले जानेको भए, तिमी मलाई माग्ने थियौ र म तिमीलाई जिउँदो पानी दिनेथिएँ।” त्यस स्त्रीले भनी, “महोदय! त्यस्तो जिउँदो पानी कहाँ पाउनुहुन्छ? यो कुवा निकै गहिरो छ, पानी निकाल्न तपाईंसँग केही छैन। तपाईं हाम्रो पुर्खा याकूब भन्दा पनि महान हुनुहुन्छ? याकूबले यो कुवा हामीलाई दिनुभयो। उहाँले यसैबाट पानी पिउनु भयो। उहाँका छोराहरू र उहाँका गाई-बस्तुहरूले यही कुवाबाट पानी पिए।” येशूले उत्तरमा भन्नुभयो, “प्रत्येक मानिस ज-जसले यसको पानी पिउँदछ तिनीहरू पुनः तिर्खाउनेछन्। तर त्यस मानिस जसले, मैले दिएको पानी पिउँदछ ऊ फेरि तिर्खाउनेछैन। मैले जुन पानी उसलाई दिन्छु, त्यो मानिस उम्रिरहने पानीको मूल बनिनेछ। जुन पानीले अनन्त जीवन दिन्छ त्यही स्रोतबाट बहनेछ।” त्यस स्त्रीले येशूलाई भनी, “महोदय, मलाई त्यो पानी दिनुहोस् ताकि म कहिल्यै तिर्खाउने छैन अनि म अझ बेसी पानी भर्न यहाँ आइरहनु पर्दैन।”
यूहन्ना 4:4-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
गालील जाँदा सामरिया क्षेत्रको बाटो भएर जानुपर्थ्यो। येशू सामरिया क्षेत्रको सुखार भन्ने गाउँमा आइपुग्नुभयो। त्यस गाउँको छेवैमा इस्राएली जातिहरूका एक पुर्खा याकूबले आफ्नो छोरा योसेफलाई दिएको जमिन थियो। त्यहीँ नै याकूबको इनार थियो। हिँड्दा-हिँड्दा थाकेर येशू त्यही इनारको छेउमा बस्नुभयो। त्यति बेला मध्यान्हको समय हुनै लागेको थियो। त्यति नै खेर एउटी सामरी स्त्री पानी लिन त्यहाँ आइपुगिन्। येशूले तिनलाई भन्नुभयो, “मलाई पानी पिउन देऊ।” त्यति बेला उहाँका चेलाहरूचाहिँ खानेकुरा किन्न सहरमा गएका थिए। सामरी स्त्रीले भनिन्, “तपाईं यहूदी भएर पनि कसरी म सामरी स्त्रीसँग पिउने पानी माग्नुहुन्छ?” किनकि यहूदीहरूले सामरीहरूसँग कुनै सम्बन्ध राख्दैनथे। येशूले जवाफ दिनुभयो, “परमेश्वरको दान र तिमीसँग अहिले पानी माग्ने व्यक्तिलाई चिनेकी भए तिमीले पो उसित माग्नेथियौ अनि उसले तिमीलाई जीवित पानी दिनेथियो।” सामरी स्त्रीले भनिन्, “हजुर, तपाईंसित पानी भर्ने भाँडो पनि छैन, इनार पनि निकै गहिरो छ, तब कहाँबाट तपाईंले जीवित पानी ल्याउनुहुन्छ? यो इनार त हाम्रा पुर्खा याकूबले बनाउनुभएको हो। उहाँका छोरा-छोरी र भेडा-बाख्राहरू यही इनारको पानी पिउने गर्दथे। तपाईं हाम्रा पुर्खा याकूबभन्दा पनि महान् हुनुहुन्छ र?” येशूले जवाफ दिनुभयो, “यो पानी पिउने फेरि तिर्खाउँछ। तर मैले दिएको पानी पिउनेचाहिँ फेरि कहिल्यै पनि तिर्खाउनेछैन किनभने मैले दिने पानीचाहिँ ऊभित्र उम्रिरहने पानीको मूल हुनेछ र यसले उसलाई अजम्मरी जीवन दिनेछ।” सामरी स्त्रीले भनिन्, “हजुर, त्यसो भए मलाई त्यही पानी दिनुहोस् अनि म फेरि कहिल्यै तिर्खाउनेछैनँ र यहाँ पानी लिन पनि आइरहनुपर्नेछैनँ।”