यूहन्ना 4:16-24
यूहन्ना 4:16-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
येशूले त्यसलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाएर ल्याऊ।” त्यस स्त्रीले भनी, “मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिम्रो पति छैन भनी तिमीले ठीकै भन्यौ, किनभने तिम्रा पाँच जना पति भइसकेका छन्, र जो अहिले तिमीसँग छ, त्यो तिम्रो पति होइन। तिमीले यो साँचो भनेकी हौ।” त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु। हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।” येशूले तिनलाई भन्नुभयो, “ए नारी, मलाई विश्वास गर, त्यो बेला आउँदैछ, जब तिमीहरू न त यस डाँड़ामा, न यरूशलेममा पिताको आराधना गर्नेछौ। तिमीहरू जे आराधना गर्दछौ सो जान्दैनौ। हामी जे आराधना गर्दछौं सो जान्दछौं, किनभने मुक्तिचाहिँ यहूदीहरूबाट आउँछ। तर बेला आइरहेछ, र त्यो बेला अहिल्यै हो, जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै पिताले खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।”
यूहन्ना 4:16-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले त्यसलाई भन्नुभयो, “जाऊ तिम्रो पतिलाई बोलाएर ल्याऊ।” त्यसले जवाफ दिई, “मेरो पति छैन।” येशूले त्यसलाई भन्नुभयो, “तिम्रो पति छैन भनेर तिमीले ठिकै भन्यौ। वास्तवमा तिम्रा पाँच जना पतिहरू भइसकेका छन्। अनि अहिले तिमीसँग भएको मानिस पनि तिम्रो पति होइन। तिमीले अहिले जे भन्यौ, त्यो साँचो हो।” त्यस स्त्रीले भनी, “हजुर, तपाईं एक अगमवक्ता हुनुपर्छ। हाम्रा पितापुर्खाहरूले यस डाँडामा आराधना गरे, तर तपाईं यहूदीहरूले भने हामीले आराधना गर्नुपर्ने स्थान त यरूशलेममा छ भनी दाबी गर्नुहुन्छ।” येशूले भन्नुभयो, “ए नारी, मलाई विश्वास गर। त्यो समय आउँदैछ, जब तिमीहरूले पितालाई न त यस डाँडामा आराधना गर्नेछौ, न त यरूशलेममा नै गर्नेछौ। तिमी सामरीहरूले जे आराधना गर्दछौ, सो जान्दैनौ; हामीले जे आराधना गर्दछौँ, सो जान्दछौँ। किनकि मुक्ति यहूदीहरूद्वारा नै आउँछ। तर बेला आइरहेको छ, र त्यो बेला अहिले नै हो। साँचो आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्। किनकि पिताले यस्तै आराधकहरूलाई खोज्नुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। त्यसकारण उहाँका आराधकहरूले आत्मा र सत्यतामा नै आराधना गर्नुपर्छ।”
यूहन्ना 4:16-24 पवित्र बाइबल (NERV)
येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिम्रो पतिलाई बोलाऊ अनि यहाँ फर्केर आऊ।” त्यस स्त्रीले भनी, “तर मेरो पति छैन।” येशूले तिनलाई भन्नुभयो, “तिमीले सही भन्यौ कि तिम्रो पति छैन। तिम्रो पाँच जना पतिहरू थिए, अनि तिमीसित जुन पुरूष अहिले बसिरहेको छ त्यो तिम्रो पति होइनन्। तिमीले जे भन्यौ साँच्चो हो।” त्यस स्त्रीले भनी, “महोदय, अब म जान्न सक्छु कि तपाईं अगमवक्ता हुनुहुन्छ। हाम्रो पुर्खाहरूले यो पर्वतमा उपासना गर्थे। तर तपाईं यहूदीहरू भन्नुहुन्छ कि यरूसलेम नै त्यो स्थान जहाँ हामीले परमेश्वरको उपासना गर्नु पर्छ।” येशूले भन्नुभयो, “मलाई विश्वास गर, नारी! एक समय आइरहेकोछ जब तिमीले पितालाई यो पहाडमा अथवा यरूशलेमा आराधाना गर्ने छैनौ। तिमी सामरीहरू जे आराधना गर्दछौं। त्यो जान्दैनौ। हामी यहूदीहरू के आराधना गर्दछौं त्यो जान्दछौं। मुक्ति यहूदीहरूबाटै आउँदछ। समय आइरहेछ जब सत्य आराधकहरू आफ्ना पितालाई आत्मा र सत्यतामा आराधाना गर्नेछन्। अनि त्यो समय आइसकेको छ। यस किसिमका आराधकहरूलाई नै पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ। यसैले जसले परमेश्वरलाई पुज्दछ उहाँलाई आत्मा र सत्यतामा नै आराधाना गर्नु पर्छ।”
यूहन्ना 4:16-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले भन्नुभयो, “जाऊ र तिम्रो लोग्नेलाई बोलाएर यहाँ ल्याऊ।” सामरी स्त्रीले भनिन्, “मेरो त लोग्ने नै छैन।” येशूले भन्नुभयो, “मेरो लोग्ने छैन भनेर तिमीले ठीकै भन्यौ। तिम्रा पाँच जना लोग्ने भइसकेका छन्। तर अहिले जोसँग तिमी बसेकी छौ, ऊ पनि तिम्रो खास लोग्ने होइन। तिमीले भनेको कुरा साँचो हो।” सामरी स्त्रीले भनिन्, “हजुर, तपाईं त अगमवक्ता पो हुनुहुँदो रहेछ। हाम्रा सामरी पुर्खाहरूले त यस डाँडामा परमेश्वरको पूजा गर्थे। तर तपाईं यहूदीहरूचाहिँ परमेश्वरको पूजा गर्ने ठाउँ यरूशलेम नै हो भनेर भन्नुहुन्छ।” येशूले तिनलाई भन्नुभयो, “मलाई विश्वास गर, त्यो बेला आउँदै छ, जब मानिसहरू परमेश्वर पिताको पूजा गर्न नता यस डाँडामा नता यरूशलेममा जानेछन्। तिमी सामरीहरू परमेश्वरलाई चिन्दैनौ र पनि पुज्दछौ। हामीले परमेश्वरलाई चिनेर पुज्दछौं कारण मानिसको मुक्तिचाहिँ यहूदीहरूबाट नै आउँछ। तर समय आउँदै छ र अहिले नै आइसकेको छ, साँचो पूजा गर्नेहरूले पितालाई सत्य र आत्माले पुज्नेछन्। यसरी पुज्ने मानिसहरूलाई परमेश्वर पिताले चाहनुहुन्छ। परमेश्वर आत्मा हुनुहुन्छ र उहाँलाई पुज्नेहरूले आत्मा र सत्यतामा पुज्नुपर्छ।”