YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:3-17

यूहन्‍ना 3:3-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो। मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान। बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ? स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन। जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ। “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:3-17 नेपाली समकालीन संस्करण (NCV)

येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।” निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान। बतास जता मन लाग्यो त्यतै बहन्छ, तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्‍ति पनि त्यस्तै हुन्छ।” निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?” येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौं, त्यो भन्दछौं, र हामीले जे देखेका छौं, त्यसको गवाही दिन्छौं, तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु र पनि तिमीहरू विश्‍वास गर्दैनौ, तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? स्वर्गबाट ओर्लिआएका मानिसका पुत्र कोही पनि स्वर्गमा गएका छैनन्। जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनैपर्छ, तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:3-17 पवित्र बाइबल (NERV)

येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।” निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?” तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।” निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?” येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो। “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।” हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:3-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो। तिमीहरू नयाँ गरी जन्‍मिनुपर्छ भन्‍ने कुरा सुनेर छक्‍क नपर। हावा जता मन लाग्‍यो, त्‍यतै बहन्‍छ। हावाको आवाज त तिमीहरू सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ अनि कहाँ जान्‍छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्‍माबाट जन्‍मिएको मानिस पनि त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले भने, “यस्‍तो कसरी हुन सक्‍छ र?” येशूले भन्‍नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै म तिमीलाई भन्‍छु, हामीले जानेका कुराको बारेमा बोल्‍छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्‍याउँदैनौ। मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र? स्‍वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्‍वर्गमा गएको छैन। इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्‍तै मानव पुत्र पनि उचालिनुपर्छ। यसरी उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्