यूहन्ना 2:13-22
यूहन्ना 2:13-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो। उहाँले मन्दिरमा गोरु, भेड़ा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो। तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो। ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो, “यहाँबाट यी सब थोक लैजाओ। मेरा पिताको भवनलाई व्यापारको घर नतुल्याओ।” उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ।” यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्छ, त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म तीन दिनमा यसलाई खड़ा गर्नेछु।” तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र?” तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो। जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो, र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
यूहन्ना 2:13-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यहूदी निस्तार चाडको बेला आउनलागेपछि येशू यरूशलेम जानुभयो। उहाँले मन्दिरको चोकमा गोरु, भेडा र ढुकुर बेच्नेहरू, र अरूहरूलाई बसेर पैसा साट्दै गरिरहेका भेट्टाउनुभयो। तब उहाँले डोरीको एउटा कोर्रा बनाउनुभयो र सबैलाई, तिनका भेडा र गोरुहरूलाई पनि, मन्दिरको क्षेत्रबाट बाहिर लखेट्नुभयो। अनि पैसा साट्नेहरूका सिक्काहरू छरपस्ट पारिदिनुभयो, र टेबुलहरू पल्टाइदिनुभयो। उहाँले ढुकुर बेच्नेहरूलाई भन्नुभयो, “यी सबैलाई यहाँबाट हटाओ! मेरा पिताको घरलाई यसरी किनबेच गर्ने एउटा बजारजस्तो नबनाओ!” उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो वचन सम्झे: “तपाईंको घरप्रतिको जोशले मलाई जलाएर भस्म पार्नेछ।” त्यसपछि यहूदी अगुवाहरूले उहाँलाई सोधे, “यी सबै कामहरू गर्ने तिमीलाई अधिकार छ भनी प्रमाणित गर्न, के तिमीले हामीलाई कुनै अलौकिक चिन्ह देखाउन सक्छौ?” येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “यस मन्दिरलाई भत्काइदेओ, र म फेरि यसलाई तीन दिनमा खडा गर्नेछु।” तब यहूदी अगुवाहरूले जवाफ दिए, “यो मन्दिर बनाउन छयालीस वर्ष लागेको थियो। अनि के तिमी यसलाई तीन दिनमा खडा गर्न सक्छौ?” तर उहाँले भन्नुभएको मन्दिरचाहिँ उहाँको शरीर थियो। उहाँ मृतकहरूबाट पुनः जीवित हुनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। त्यसपछि तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
यूहन्ना 2:13-22 पवित्र बाइबल (NERV)
यहूदीहरूको निस्तार चाड़ अति नजिक थियो। अतः येशू यरूशलेमतर्फ जानु भयो। यरूशलेममा येशू मन्दिर तर्फ जानु भयो। उहाँले मन्दिरमा मानिसहरूले गाई-गोरू, भेंडा़ अनि परेवाहरू बेच्दै गरेको देख्नु भयो। अन्य मानिसहरू टेबलमाथि बसिरहेको देख्नु भयो। तिनीहरू लेनदेन र मानिसको पैसाको व्यपार गरिरहेका थिए। येशूले केही डोरीका टुक्राहरूलिएर कोर्रा बनाउनुभयो। तब जम्मै ती मानिसहरूलाई भेंडा़ र गाई सहित मन्दिर बाहिर क्षेत्रवाट लघार्नु भयो। येशूले लेनदेन गरिएको पैसा छरपष्ट पार्दै टेबल उल्टाई दिनुभयो। येशूले ती ढुकुरहरू बेच्नेहरूलाई भन्नुभयो, “यी चीजहरू यहाँबाट लगेर गइहाल। मेरा पिताको घरलाई किनबेचको बजार जस्तो नबनाऊ।” यो भइसके पछि येशूका चेलाहरूले धर्माशास्त्रमा के लिखिएको थियो त्यसको सम्झना गरेः “तपाईंको घरको व्यग्रताले मलाई मार्नेछ।” यहूदीहरूले येशूलाई भने, “यी चीजहरू गर्ने तपाईंको अधिकारको प्रमाणको लागि चमत्कार देखाउनु होस्।” येशूले भन्नुभयो, “यो मन्दिरलाई ध्वंश पार र फेरि म यसलाई तीन दिनमा बनाई दिनेछु।” यहूदीहरूले भने, “यो मन्दिर निर्माण गर्नेलाई मानिसहरूलाई छयालीस वर्ष लागेको थियो। यसकारण यसलाई तीन दिन भित्रमा फेरि बनाउन सक्छु भनेर कसरी घोषणा गर्न सक्छौ?” वास्तवमा मन्दिरको संदर्भ येशूलाई आफ्नो शरीरसँग थियो। मृत्युबाट उहाँ बौरी उठी सकेपछि उहाँले त्यसो भनेको कुरा उनका चेलाहरूले सम्झे। तब येशूले भन्नुभएको वचन र धर्मशास्त्रमा तिनीहरूले विश्वास गरे।
यूहन्ना 2:13-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यहूदीहरूको निस्तार भन्ने चाड आउन लागेको थियो। त्यस बेला येशू यरूशलेममा जानुभयो। उहाँले मानिसहरूलाई मन्दिरमा परेवा, भेडा, गाईवस्तुहरू बेचिरहेको र पैसा साटी रहेको देख्नुभयो। यो देखेर येशूले कोर्रा लिएर त्यहाँ भएका गाईवस्तु, भेडा, बाख्रा सबै लखेट्नुभयो, पैसा साट्नेहरूको पैसा छरिदिनुभयो र टेबिलहरू पल्टाइदिनुभयो। उहाँले परेवा बेच्नेहरूलाई हकारेर भन्नुभयो, “तिमीहरूको चीजबीज यहाँबाट लैजाओ। मेरो पिताको घरलाई तिमीहरूले किनबेच गर्ने बजार बनाउन पाउँदैनौ!” त्यति बेला उहाँका चेलाहरूले धर्मशास्त्रमा लेखिएको यो कुरा सम्झे, “हे परमेश्वर! तपाईंको घरको निम्ति मेरो जोश मभित्रै आगोजस्तै बल्दछ।” तर यहूदी अगुवाहरूले येशूलाई रोक्न खोज्दै भने, “के तपाईंलाई यसो गर्ने अधिकार छ? छ भने के हामीलाई कुनै अचम्मको चिन्ह देखाउन सक्नुहुन्छ?” येशूले भन्नुभयो, “यस मन्दिरलाई भत्काओ अनि म यसलाई तीन दिनमा फेरि बनाउनेछु।” उनीहरूले भने, “के तपाईंले तीनै दिनमा बनाउनुहुन्छ त? यो मन्दिर बनाउन त छयालीस वर्ष लागेको थियो!” तर येशूले भन्नुभएको मन्दिरचाहिँ उहाँको आफ्नै शरीर थियो। येशू मरेकोबाट बिउँतनुभएपछि उहाँका चेलाहरूले येशूले भन्नुभएको यो कुरा सम्झे। तिनीहरूले धर्मशास्त्र र येशूले भन्नुभएको कुरामा विश्वास गरे।