यूहन्ना 18:1-8
यूहन्ना 18:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो। उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो। तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो। तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।” येशूले तिनीहरूलाई भन्नुभयो, “म उही हुँ।” अब उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। जब उहाँले तिनीहरूलाई “म उही हुँ” भन्नुभयो, तब तिनीहरू पछि हटे, अनि भूइँमा लोटे। फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” तिनीहरूले भने, “नासरतका येशूलाई।” येशूले जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिहालें, म उही हुँ। यसकारण यदि तिमीहरू मलाई खोज्दैछौ भने यी मानिसहरूलाई चाहिँ जान देओ।”
यूहन्ना 18:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। पारिपट्टि एउटा बगैँचा थियो, र उहाँ आफ्ना चेलाहरूसँग त्यहाँ जानुभयो। उहाँलाई धोका दिने यहूदालाई पनि त्यो ठाउँ थाहा थियो; किनकि येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रायजसो भेटघाट गर्नुहुन्थ्यो। मुख्य पुजारीहरू र फरिसीहरूका दलबाट केही रोमी सिपाहीहरू र केही हाकिमहरू लिएर यहूदा त्यहाँ आयो। तिनीहरूले आफूसँग राँको, लालटिन र हातहतियार ल्याएका थिए। तब आफूमाथि आइपर्न लागेका सबै घटनाहरू थाहा पाएर येशू बाहिर जानुभयो र सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई,” तिनीहरूले उत्तर दिए। “म उही नै हुँ,” येशूले जवाफ दिनुभयो। (उहाँलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो।) उहाँले “म उही नै हुँ,” भन्नसाथ तिनीहरू सबै पछि हटे, र भुइँमा लोटे। फेरि एक पल्ट उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दैछौ?” “नासरतका येशूलाई” तिनीहरूले फेरि उत्तर दिए। येशूले भन्नुभयो, “मैले भनिहालेँ, म उही नै हुँ। यसकारण मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ जान देओ।”
यूहन्ना 18:1-8 पवित्र बाइबल (NERV)
जब येशूले प्रार्थना सिध्याउनु भयो, उहाँले आफ्ना चेलाहरू लिएर जानुभयो। तिनीहरू किद्रोन खोल्सा पारि ऊ बेंसी गए। अर्कोपट्टि त्यहाँ जैतुन रूखहरूको बगैंचा थियो। येशू र उहाँका चेलाहरू त्यहाँ गए। यहूदा, उहाँको विश्वासघातकले पनि त्यो ठाउँ चिन्दथ्यो, किनभने आफ्ना चेलाहरूसँग त्यहाँ उसलाई भेट्नु हुन्थ्यो। यहूदाले एकदल सेनाहरू लगेर त्यसै बगैंचातिर गयो। यहूदाले मुख्य पूजाहारीहरू र फरिसीहरूबाट पनि केही सिपाहीहरू ल्याएको थियो। तिनीहरूले मशाल, बत्ती र हतियारहरू बोकेर आएका थिए। येशू यी सबै घट्नाहरू उहाँमाथि हुनेछ भनेर जान्नु हुन्थ्यो। येशूले बाहिर आएर सोध्नु भयो, “तिमीहरू कसलाई खोजी रहेकाछौ?” ती मानिसहरूले भने, “नासरतको येशूलाई।” येशूले भन्नुभयो, “म येशू हुँ।” यहूदा जो येशूका विश्वाघातक त्यहीं उभिरहेको थियो। जब येशूले भन्नुभयो, “म येशू हुँ,” तब मानिसहरू पछि पछि हटे अनि भूइँमा लोटे। येशूले तिनीहरूलाई फेरि सोध्नु भयो, “तिमीहरू कसलाई खोजिरहेको छौ?” मानिसहरूले भने, “नासरतको येशूलाई।” येशूले भन्नुभयो, “मैले तिमीहरूलाई भने म येशू हुँ। यसर्थ तिमीहरूले मलाई नै खोजिरहेका हौ भने, यी अरू मानिसहरूलाई जानदेऊ।”
यूहन्ना 18:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यो प्रार्थना गरिसक्नुभएपछि येशू आफ्ना चेलाहरूसँग किद्रोन भन्ने खोल्सापारिको बगैँचामा जानुभयो। त्यो ठाउँ येशूलाई पक्राइदिने यहूदालाई पनि थाहा थियो किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ जाने गर्नुहुन्थ्यो। त्यति बेला केही सिपाहीहरू, फरिसीहरू र मुख्य पूजाहारीहरूले पठाएका मन्दिरका पहरेदारहरूलाई लिएर यहूदा त्यस बगैँचाभित्र पस्यो। तिनीहरूले हातहतियार, बत्ती र राँकाहरू बोकेका थिए। आफूमाथि आइपर्न आँटेका सबै कुरा येशूलाई थाहा नै थियो। त्यसैकारण अगाडि गएर उहाँले ती मानिसहरूलाई सोध्नुभयो, “तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले जवाफ दिए। येशूले भन्नुभयो, “म उही हुँ।” येशूलाई पक्राइदिने यहूदा पनि तिनीहरूसँगै उभिरहेको थियो। ‘म उही हुँ’ भनेको सुन्नेबित्तिकै तिनीहरू सबै पछि हटेर पछारिए। येशूले फेरि सोध्नुभयो, “होइन, तिमीहरू कसलाई खोज्दै छौ?” “नासरतका येशूलाई!” तिनीहरूले फेरि भने। येशूले भन्नुभयो, “मैले अघि नै मै हुँ भनिहालें नि! साँच्चै मलाई नै खोजेका हौ भने यिनीहरूलाई चाहिँ छोडिदेओ।”