यूहन्ना 14:28-31
यूहन्ना 14:28-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ। अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक। म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्यसको ममाथि केही शक्ति छैन। तर म पितालाई प्रेम गर्दछु, र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्। उठ, हामी यहाँबाट जाऔं।”
यूहन्ना 14:28-31 नेपाली समकालीन संस्करण (NCV)
“मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्ने कुरामा तिमीहरू आनन्दित हुनेछौ; किनकि पिता मभन्दा महान् हुनुहुन्छ। अनि यी कुराहरू हुन आउनु अघि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु; किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्वास गर्नेछौ। म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन, तर म पितालाई प्रेम गर्छु र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठीकसँग पालन गर्छु भनी संसारले जान्नुपर्छ। “उठ, हामी यहाँबाट जाऔं।”
यूहन्ना 14:28-31 पवित्र बाइबल (NERV)
म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ। “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ। तर ममाथि उसको अधिकार चल्दैन। तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो। “आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊँ।”
यूहन्ना 14:28-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ। यी सबै कुरा हुनुभन्दा अघि नै मैले तिमीहरूलाई भनिसकेको छु र यी कुरा पूरा हुँदा तिमीहरूले विश्वास गर्नेछौ। अब त मैले तिमीहरूसँग अरू धेरै कुरा गर्न पाउँदिनँ किनभने यस संसारको राजा आउँदै छ। वास्तवमा त्यसले मलाई केही गर्न सक्दैन। तर सबै मानिसहरूले म पितालाई प्रेम गर्छु भनी जान्न सकून् भनेर म पिताको आज्ञालाई पालन गर्दै छु। उठ, अब हामी यस ठाउँबाट जाऔं।”