यूहन्ना 14:15-31
यूहन्ना 14:15-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। र म पितासँग बिन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ, जसलाई संसारले ग्रहण गर्न सक्दैन, किनभने संसारले उहाँलाई न त देख्छ न चिन्छ। तिमीहरू उहाँलाई चिन्छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ। “म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ। म तिमीहरूकहाँ आउनेछु। अब केही समयपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएको हुनाले, तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन तिमीहरूले जान्नेछौ, कि म मेरा पितामा छु, र तिमीहरू ममा, र म तिमीहरूमा छु। मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ। अनि मलाई प्रेम गर्नेलाई मेरा पिताले प्रेम गर्नुहुन्छ। म त्यसलाई प्रेम गर्नेछु, र म आफैलाई त्यसकहाँ प्रकट गर्नेछु।” यहूदाले (इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “प्रभु, तपाईंले के भन्नुभएको, तपाईं आफैलाई हामीमा प्रकट गर्नुहुन्छ, र संसारलाई चाहिँ होइन?” येशूले तिनलाई जवाफ दिई भन्नुभयो, “जसले मलाई प्रेम गर्छ, त्यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्यसकहाँ आउनेछौं, र त्यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्छौ, त्यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो। “यी कुरा तिमीहरूसँग रहँदै मैले तिमीहरूलाई भनेको हुँ। तर सल्लाहकार, अर्थात् पवित्र आत्मा, जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ, उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ। शान्ति म तिमीहरूसँग छोडिराख्छु। म आफ्नो शान्ति तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो म तिमीहरूलाई दिँदिनँ। तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। “मैले तिमीहरूलाई ‘म गइरहेछु, र तिमीहरूकहाँ आउँछु’ भनेको तिमीहरूले सुन्यौ। तिमीहरूले मलाई प्रेम गरेका भए म पिताकहाँ जाँदैछु भनेको सुनेर तिमीहरू रमाउनेथियौ, किनकि पिता मभन्दा महान् हुनुहुन्छ। अब यो हुन अघि नै मैले तिमीहरूलाई भनिदिएको छु, र जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक। म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनभने यस संसारको शासक आइरहेछ। त्यसको ममाथि केही शक्ति छैन। तर म पितालाई प्रेम गर्दछु, र जस्तो पिताले मलाई आज्ञा गर्नुभएको छ सोहीबमोजिम गर्दछु भनी संसारले जानोस्। उठ, हामी यहाँबाट जाऔं।”
यूहन्ना 14:15-31 नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू मान्नेछौ। म पितासँग विन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ। उहाँ सधैं तिमीहरूसँग हुनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, अनि चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ; किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ। म तिमीहरूलाई टुहुरा छोड्नेछैनँ, म तिमीहरूकहाँ आउनेछु। केही बेरपछि संसारले मलाई कहिल्यै देख्नेछैन, तर तिमीहरूले मलाई देख्नेछौ। म जीवित भएकोले तिमीहरू पनि जीवित रहनेछौ। त्यस दिन म मेरा पितामा छु, तिमीहरू ममा छौ, अनि म तिमीहरूमा छु भनी तिमीहरूले बुझ्नेछौ। जोसँग मेरा आज्ञाहरू छन् र ती पालन गर्दछन्, तिनीहरूले नै मलाई प्रेम गर्छन्। अनि मलाई प्रेम गर्नेहरूलाई पिताले प्रेम गर्नुहुन्छ, अनि म पनि उनीहरूलाई प्रेम गर्नेछु र आफूलाई तिनीहरूकहाँ प्रकट गरिदिनेछु।” यहूदाले (यहूदा इस्करियोतचाहिँ होइन) उहाँलाई भने, “गुरुज्यू, तपाईंले किन हामीकहाँ मात्र आफूलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “जसले मलाई प्रेम गर्छ, उसले मेरा शिक्षाहरू मान्नेछ। मेरा पिताले तिनीहरूलाई पनि प्रेम गर्नुहुनेछ; अनि हामी तिनीहरूकहाँ आउनेछौं र तिनीहरूसँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेहरूले मेरा शिक्षाहरू पालन गर्दैनन्। तिमीहरूले सुनेका यी वचनहरू मेरा आफ्नै होइनन्, तर मलाई पठाउनुहुने पिताका हुन्। “म अहिले तिमीहरूसँग छँदै तिमीहरूलाई यो भनेको छु। पिताले मेरो नाउँमा पठाइदिनुहुने सल्लाहकार अर्थात् पवित्र आत्माले तिमीहरूलाई सबै कुराहरू सिकाउनुहुनेछ, र मैले तिमीहरूलाई भनेको प्रत्येक कुरा पनि सम्झना गराइदिनुहुनेछ। शान्ति म तिमीहरूसँग छोड्छु, मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु। संसारले दिएजस्तो ता म तिमीहरूलाई दिनेछैनँ।” तिमीहरूको हृदय व्याकुल नहोस् र भयभीत नहोस्। “मैले भनेको यो कुरा तिमीहरूले सुनेका छौ, ‘म गइरहेको छु, तर फेरि म तिमीहरूकहाँ फर्किआउनेछु।’ तिमीहरूले मलाई साँच्चै प्रेम गर्छौ भने म मेरा पिताकहाँ जाँदैछु भन्ने कुरामा तिमीहरू आनन्दित हुनेछौ; किनकि पिता मभन्दा महान् हुनुहुन्छ। अनि यी कुराहरू हुन आउनु अघि नै मैले तिमीहरूलाई सबै भनिदिएको छु; किनकि जब यी कुराहरू पूरा हुनेछन्, तब तिमीहरूले विश्वास गर्नेछौ। म तिमीहरूसँग अब धेरै बोल्नेछैनँ, किनकि यस संसारको शासक आउँदैछ। त्यसको ममाथि केही अधिकार छैन, तर म पितालाई प्रेम गर्छु र उहाँले मलाई दिनुभएका आज्ञाहरू मैले ठीकसँग पालन गर्छु भनी संसारले जान्नुपर्छ। “उठ, हामी यहाँबाट जाऔं।”
यूहन्ना 14:15-31 पवित्र बाइबल (NERV)
“यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ। “म तिमीहरूलाई आफ्ना आमा-बाबुले अनाथहरू छोडे जस्तो एक्लै छाड्नेछैन। म तिमीहरूकहाँ फर्की आउने छु। केही समय पछि बाटै मलाई संसारमा मान्छेहरूले फेरि देख्नेछैन। तर तिमीहरूले मलाई देख्नेछौं। तिमीहरू बाँच्नेछौं किनभने म बाँच्छु। त्यस दिनमा तिमीहरूले जान्नेछौं कि म पितामा छु। तिमाहरूले जान्नेछौ कि तिमीहरू ममा र म तिमीहरूमा हुनेछु। यदि कसैले मेरो आज्ञाहरू ग्रहण गर्छ र यसलाई पालन गर्दछ, त्यस मानिसले मलाई प्रेम गर्दछ। अनि मेरा पिताले तिनलाई प्रेम गर्दछन्। जसले मलाई प्रेम गर्दछ। अनि म त्यस मानिसलाई प्रेम गर्छु। म उमाथि प्रकट हुनेछु।” तब यहूदाले (इस्करियोत यहूदा होइन) भन्यो, “तर प्रभु किन तपाईंले आफूलाई हामी समक्ष प्रकट गर्नुहुन्छ र संसार समक्ष किन गर्नुहुन्न?” येशूले भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, उसले मेरो शिक्षा पालन गर्दछ। अनि मेरो पिताले पनि तिनलाई प्रेम गर्नुहुन्छ। म र मेरा पिता तिनीकहाँ आउनेछौं र तिनीसँगै बस्नेछौं। तर जसले मलाई प्रेम गर्दैन उसेल मेरो शिक्षाहरू पालन गर्दैन। यो शिक्षाहरू जुन तिमीले सुन्दैछौ वस्तवमा मेरो होइन। यो पिताबाट आएको हो जसले मलाई पठाउनु भयो। “मैले यी सबै कुराहारू भनिसकेकोछु तिमीहरूसँग रहँदा नै। तर सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो जसलाई पिताले मेरो नाममा पठाउनु हुनेछ। “म तिमीहरूलाई मेरो शान्ति छोड्दछु, यो मेरो आफ्नै शान्ति तिमीहरूलाई दिंदछु। म तिमीहरूलाई शान्ति दिन्छु, यो त्यो शान्ति होइन जुन संसारले दिन्छ। यसकारण तिमीहरूको हृदय विचलित नहोस् अनि कुनै विषयमा पनि नडराऊ। म गइरहेछु भनेको तिमीले सुन्यौ, तर फेरि तिमीहरूकहाँ आउनेछु। यदि तिमीहरूले मलाई प्रेम गरेको भए तिमीहरू खुशी हुने थियौ कि म पिताकहाँ गइरहेछु। किनभने पिता म भन्दा महान हुनुहुन्छ। यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ। “तिमीहरूसँग कुरा गर्ने समय छैन। यो संसारको शासक आइरेहछ। तर ममाथि उसको अधिकार चल्दैन। तर संसारले जान्नै पर्छ कि मैले मेरा पितालाई प्रेम गर्छु। यसैले म त्यही जस्ताको तस्तै गर्दछु, जुन उहाँले मलाई गर्नु भन्नु भयो। “आऊ अब, हामी यस ठाऊँलाई छोडी जाऊँ।”
यूहन्ना 14:15-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्छौ। म पितासँग माग्नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। तर संसारले उहाँलाई पाउन सक्दैन किनभने संसारले उहाँलाई न देख्छ नता चिन्छ। तर तिमीहरूले उहाँलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ। म तिमीहरूलाई टुहुराजस्तै पारेर छोड्दिनँ, म फेरि तिमीहरूकहाँ आउनेछु। अलि बेरपछि संसारले मलाई फेरि देख्नेछैन, तर तिमीहरूले भने मलाई देख्नेछौ। म फेरि जिउँदो भएको हुनाले तिमीहरू पनि जिउनेछौ। त्यस दिन ‘म मेरा पितामा छु अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु’ भन्ने कुरा तिमीहरूले बुझ्नेछौ। मेरो आज्ञालाई सुनेर पालन गर्ने नै मलाई प्रेम गर्ने मानिस हो। मलाई प्रेम गर्नेलाई पिताले पनि प्रेम गर्नुहुनेछ र म पनि उसलाई प्रेम गर्नेछु र उसकहाँ देखापर्नेछु।” यहूदा इस्करियोतचाहिँ होइन, तर अर्कै यहूदा भन्ने चेलाले येशूलाई भने, “प्रभु, किन तपाईं हामीकहाँ मात्र आफैंलाई प्रकट गर्नुहुन्छ, तर संसारकहाँ चाहिँ गर्नुहुन्न?” येशूले जवाफ दिनुभयो, “मलाई प्रेम गर्नेहरूले मैले भनेका कुरा मान्दछन्। मेरा पिताले उनीहरूलाई प्रेम गर्नुहुनेछ अनि पिता र म उनीहरूकहाँ आएर उनीहरूसँगै बस्नेछौं। तर मलाई प्रेम नगर्नेहरूले मैले भनेका कुरा मान्दैनन्। तिमीहरूले सुनेका यो वचन मेरो तर्फबाट आएको होइन, तर मलाई पठाउनुहुने पिताको तर्फबाट नै आएको हो। “तिमीहरूसँगै रहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु। पिताले मेरो नाउँमा सहायता गर्न पठाउनुहुने पवित्र आत्माले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले भनेका सबै कुराको सम्झना गराउनुहुनेछ। “म तिमीहरूलाई शान्ति दिएर जान्छु। मेरो आफ्नै शान्ति म तिमीहरूलाई दिन्छु र यो संसारले दिनेजस्तो शान्ति होइन। आफ्नो मनलाई विचलित हुन नदेओ र नडराओ। ‘म यहाँबाट जाँदै छु र फेरि तिमीहरूकहाँ फर्केर आउनेछु’ भनेर मैले भनेको कुरा त तिमीहरूले सुनिहाल्यौ। तिमीहरूले मलाई साँचो रूपले प्रेम गरेको भए त म पिताकहाँ जान लाग्दा तिमीहरू खुसी हुनेथियौ किनभने मभन्दा त पिता नै ठूलो हुनुहुन्छ। यी सबै कुरा हुनुभन्दा अघि नै मैले तिमीहरूलाई भनिसकेको छु र यी कुरा पूरा हुँदा तिमीहरूले विश्वास गर्नेछौ। अब त मैले तिमीहरूसँग अरू धेरै कुरा गर्न पाउँदिनँ किनभने यस संसारको राजा आउँदै छ। वास्तवमा त्यसले मलाई केही गर्न सक्दैन। तर सबै मानिसहरूले म पितालाई प्रेम गर्छु भनी जान्न सकून् भनेर म पिताको आज्ञालाई पालन गर्दै छु। उठ, अब हामी यस ठाउँबाट जाऔं।”