YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 14:12-17

यूहन्‍ना 14:12-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, जसले मलाई विश्‍वास गर्दछ, त्‍यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्‍दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस्‌ भनेर म त्‍यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्‍यौ भने म गरिदिनेछु। “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरा आज्ञाहरू पालन गर्नेछौ। र म पितासँग बिन्‍ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ, र उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ। यिनी सत्‍यका आत्‍मा हुनुहुन्‍छ, जसलाई संसारले ग्रहण गर्न सक्‍दैन, किनभने संसारले उहाँलाई न त देख्‍छ न चिन्‍छ। तिमीहरू उहाँलाई चिन्‍छौ, किनभने उहाँ तिमीहरूसँग वास गर्नुहुन्‍छ, र उहाँ तिमीहरूमा रहनुहुनेछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:12-17 नेपाली समकालीन संस्करण (NCV)

म तिमीहरूलाई साँच्‍चै भन्दछु, ममाथि विश्‍वास गर्ने जसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ, अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्य पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। मेरो नाउँमा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु, ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाउँमा जे मागे पनि म त्यो पूरा गर्नेछु। “तिमीहरूले मलाई प्रेम गर्छौ भने मेरो आज्ञाहरू मान्‍नेछौ। म पितासँग विन्ती गर्नेछु, र उहाँले तिमीहरूलाई अर्को सल्‍लाहकार दिनुहुनेछ। उहाँ सधैं तिमीहरूसँग हुनुहुनेछ। उहाँ सत्यका आत्मा हुनुहुन्छ। संसारले उहाँलाई ग्रहण गर्न सक्दैन; किनकि संसारले उहाँलाई देख्दैन, अनि चिन्दैन पनि, तर तिमीहरूले उहाँलाई चिन्दछौ; किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र उहाँ तिमीहरूभित्र हुनुहुनेछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:12-17 पवित्र बाइबल (NERV)

“म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु। “यदि तिमीहरूले मलाई प्रेम गर्यौ भने, तब तिमीहरूले मेरो आज्ञा पालन गर्नेछौ। म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन। तर तिमीहरू उहाँलाई जान्दछौ। उहाँ तिमीहरूसँग बाँच्नु हुन्छ र उहाँ तिमीहरूभित्र नै हुनु हुनेछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्

यूहन्‍ना 14:12-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“साँच्‍चै म तिमीहरूलाई भन्‍छु, ममा विश्‍वास गर्नेले मैले गरेका जस्‍ता कामहरू गर्नेछ र अझै त्‍योभन्दा ठूला-ठूला कामहरू पनि गर्नेछ किनभने म पिताकहाँ जाँदै छु। तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्‍यौ भने म त्‍यो दिनेछु। “यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने मैले दिएको आज्ञा मान्‍छौ। म पितासँग माग्‍नेछु र उहाँले तिमीहरूलाई मेरो सट्टामा अर्का एक जना सहायक पठाइदिनुहुनेछ र उहाँचाहिँ सधैँभरि तिमीहरूसँगै रहिरहनुहुनेछ। उहाँ सत्‍यका आत्‍मा हुनुहुन्‍छ। तर संसारले उहाँलाई पाउन सक्‍दैन किनभने संसारले उहाँलाई न देख्‍छ नता चिन्‍छ। तर तिमीहरूले उहाँलाई चिन्‍छौ किनभने उहाँ तिमीहरूसँगै रहनुहुन्‍छ र उहाँ तिमीहरूमा बास गर्नुहुनेछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 14 पढ्नुहोस्