यूहन्ना 14:1-14
यूहन्ना 14:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“तिमीहरूको हृदय व्याकुल नहोस्। तिमीहरू परमेश्वरमाथि विश्वास गर्दछौ, ममाथि पनि विश्वास गर। मेरा पिताको घरमा बस्ने ठाउँहरू धेरै छन्। त्यसो नभए, के म तिमीहरूलाई भन्नेथिएँ र, कि तिमीहरूका निम्ति ठाउँ तयार पार्न म गइरहेछु? अनि गएर मैले तिमीहरूका निम्ति ठाउँ तयार पारेपछि म फेरि आउनेछु, र तिमीहरूलाई मकहाँ लैजानेछु, र जहाँ म छु, त्यहाँ तिमीहरू पनि हुनेछौ। जहाँ म गइरहेछु, तिमीहरू त्यहाँ जाने बाटो चिन्छौ।” थोमाले उहाँलाई भने, “हे प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ, हामी जान्दैनौं, तब हामीले बाटो कसरी चिन्ने?” येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन। तिमीहरूले मलाई चिनेका भए, मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि उसो उहाँलाई चिन्दछौ, र उहाँलाई देखेका छौ।” फिलिपले उहाँलाई भने, “हे प्रभु, हामीलाई पिता देखाइदिनुहोस्। त्यति भए हामीलाई पुग्छ।” येशूले तिनलाई भन्नुभयो, “फिलिप, यतिको समयसम्म म तिमीहरूसँग छु, तैपनि तिमीले मलाई चिन्दैनौ? जसले मलाई देखेको छ, त्यसले पितालाई देखेको छ। तिमी कसरी भन्न सक्छौ, ‘हामीलाई पिता देखाइदिनुहोस्?’ म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर के तिमी विश्वास गर्दैनौ? जुन वाणी म तिमीहरूलाई भन्दछु, त्यो मैले मेरो आफ्नै अधिकारमा बोलेको होइनँ तर ममा वास गर्नुहुने पिताले आफ्नो काम गर्नुहुन्छ। मलाई विश्वास गर, कि म पितामा छु, र पिता ममा हुनुहुन्छ। नत्रभने यी कामहरूकै खातिर विश्वास गर। “साँच्चै, म तिमीहरूलाई भन्दछु, जसले मलाई विश्वास गर्दछ, त्यसले मैले गरेका काम पनि गर्नेछ, र तीभन्दा ठूला काम गर्नेछ, किनभने म पिताकहाँ गइरहेछु। तिमीहरूले मेरो नाउँमा जेसुकै मागे तापनि पुत्रमा पिताको महिमा होस् भनेर म त्यो गर्नेछु। तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने म गरिदिनेछु।
यूहन्ना 14:1-14 नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरूको हृदय व्याकुल नहोस्। परमेश्वरमाथि विश्वास राख, ममाथि पनि विश्वास राख। मेरा पिताका घरमा धेरै ठाउँहरू छन्, यो कुरा सत्य नहुँदो होताम त्यहाँ तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदैछु भनेर तिमीहरूलाई भन्नेथिइनँ। म गएर ठाउँ तयार पारेपछि फेरि आउनेछु; र म जहाँ छु त्यहाँ तिमीहरू पनि सधैं मसँग रहन सक भनेर तिमीहरूलाई त्यहाँ लैजानेछु। म जहाँ जाँदैछु त्यहाँ पुग्ने बाटो तिमीहरू जान्दछौ।” थोमाले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदैहुनुहुन्छ भन्ने हामीलाई केही थाहा छैन। तब कसरी हामीले त्यो बाटो चिन्न सक्छौं?” येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ; मद्वारा बाहेक कोही पिताकहाँ आउन सक्दैन। यदि तिमीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले उहाँलाई चिन्छौ, अनि उहाँलाई देखेका पनि छौ।” फिलिपले भने, “गुरुज्यू, हामीलाई पिता देखाइदिनुहोस्, तब यही नै हामीलाई पर्याप्त हुनेछ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीसँग बसेर पनि तिमीले मलाई चिनेनौ? जतिले मलाई देखेका छन्, तिनीहरूले पितालाई पनि देखेका हुन्छन्। तब तिमीले ‘हामीलाई पिता देखाइदिनुहोस्’ भनेर कसरी भन्दछौ? के तिमीलाई म पितामा छु, र पिता ममा हुनुहुन्छ भनेर विश्वास छैन? मैले तिमीहरूलाई भनेका यी वचनहरू मेरा आफ्नै अधिकारले होइनन्। वास्तवमा ममा हुनुहुने मेरा पिताले आफ्नो काम गर्दै हुनुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भनी मैले भनेकोमा विश्वास गर; नत्र भने कमसेकम मैले गरेका महान् आश्चर्य कर्महरूका कारणले त विश्वास गर। म तिमीहरूलाई साँच्चै भन्दछु, ममाथि विश्वास गर्ने जसले पनि मैले गरिरहेका यी कामहरू गर्नेछ, अनि उसले यीभन्दा अझ ठूला-ठूला कार्य पनि गर्नेछ; किनकि म पिताकहाँ जाँदैछु। मेरो नाउँमा तिमीहरूले जेसुकै मागे पनि म त्यो पूरा गर्नेछु, ताकि पुत्रद्वारा पितालाई महिमा होस्। तिमीहरूले मसँग मेरो नाउँमा जे मागे पनि म त्यो पूरा गर्नेछु।
यूहन्ना 14:1-14 पवित्र बाइबल (NERV)
येशूले भन्नुभयो, “आफ्ना हृदयलाई दुःखी हुन नदेऊ। परमेश्वरमा भरोसा गर। अनि ममा भरोसा गर। त्यहाँ मेरा पिताको घरमा धेरै कोठाहरू छन्। यदि यो सत्य नभएको भए म तिमीहरूलाई भन्ने थिईनँ। म त्यहाँ तिमीहरूको व्यवस्था मिलाउन गइरहेछु। म गए पछि तिमीहरूको लागि सबै व्यवस्था मिलाइसके पछि म फर्की आउनेछु। तब म तिमीहरूलाई त्यहाँ लानेछु। तब तिमीहरू म जहाँ छु त्यहीं हुनेछौ। म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?” येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ। यदि तिमीहरूले मलाई चिनेको भए तब मेरो पितालाई पनि चिन्ने थियौ। तर अब तिमीहरू पितालाई जान्नेछौ। तिमीहरूले उहाँलाई देखेकाछौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनु होस्। त्यही हामीलाई पर्याप्त हुनेछ।” येशूले जवाफ दिनु भयो, “फिलिप धेरै समयदेखि म तिमीहरूसँगै छु र पनि मलाई चिन्दिन भन्छौ? जसले मलाई देखेकोछ उसले मेरो पितालाई पनि देखेकोछ। यसर्थ तिमी कसरी भन्छौ, ‘हामीलाई पिता देखाउनु होस्?’ के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता मभित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको होइन। पिता मभित्र बाँच्नु हुन्छ अनि उहाँले आफ्नो काम आफैं गर्नुहुन्छ। मैले पहिल्यै भनि सकें कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु। अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। “म तिमीहरूलाई सत्य भन्छु। जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ। किनभने म पिताकहाँ गइरहेछु। अनि मेरो नाममा केही पनि माग्यो भने, म त्यो तिमीहरूको लागी गरिदिनेछु। तब पिताको महिमा पुत्रको माध्यमाबाट देखिनेछ। यदि तिमीहरूले मेरो नाममा केही माग्यौ भने, म दिनेछु।
यूहन्ना 14:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरू दु:ख नमान। तिमीहरूले आफ्नो भरोसा परमेश्वरमाथि राख र ममाथि पनि राख। मेरा पिताको घरमा धेरै बस्ने ठाउँहरू छन् र म तिमीहरूको लागि ठाउँ तयार पार्न जाँदै छु। त्यस्तो नभए मैले तिमीहरूलाई यस्तो कुरा भन्ने नै थिइनँ। तिमीहरूको लागि ठाउँ तयार पारिसकेपछि म फर्केर आउनेछु र तिमीहरूलाई म भएकै ठाउँमा लैजानेछु अनि तिमीहरू मसँगै रहनेछौ। म जान लागेको ठाउँको बाटो त तिमीहरूलाई थाहै छ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, त्यो हामीलाई थाहा छैन अनि तपाईं जाने ठाउँको बाटो हामीलाई झन् कसरी थाहा हुन्छ र?” येशूले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ। मद्वारा बाहेक कुनै मानिस पनि पिताकहाँ पुग्न सक्दैन। तिमीहरूले मलाई साँचो रूपमा चिनेको भए मेरा पितालाई पनि चिन्नेथियौ। अबदेखि तिमीहरूले मेरा पितालाई चिन्नेछौ किनभने तिमीहरूले उहाँलाई देखिसकेका छौ।” फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाइदिनुहोस्, त्यति भए हामीलाई पुग्छ।” येशूले जवाफ दिनुभयो, “फिलिप! यतिका दिनसम्म म तिमीहरूसँगै छु र पनि तिमीले मलाई चिन्दैनौ? मलाई देख्नेले पितालाई देखिसकेको छ। मलाई देखेर पनि तिमीले मलाई किन पिता देखाइदिनुहोस् भन्छौ? के तिमी ‘म पितामा छु र पिता ममा हुनुहुन्छ’ भन्ने कुरालाई विश्वास गर्दैनौ? तिमीहरूलाई भनेका कुरा मैले आफ्नै तर्फबाट भनेको होइनँ। ममा हुनुहुने पिताले नै आफ्नो काम मबाट गर्दै हुनुहुन्छ। म पितामा छु र पिता ममा हुनुहुन्छ भन्ने कुरालाई विश्वास गर। नभए मैले गरेका काम हेरेर ममा विश्वास गर। “साँच्चै म तिमीहरूलाई भन्छु, ममा विश्वास गर्नेले मैले गरेका जस्ता कामहरू गर्नेछ र अझै त्योभन्दा ठूला-ठूला कामहरू पनि गर्नेछ किनभने म पिताकहाँ जाँदै छु। तिमीहरूले मेरो नाउँमा जे मागे पनि मबाट पिताको महिमा होस् भनेर म तिमीहरूले मागेको कुरा पूरा गरिदिनेछु। तिमीहरूले कुनै कुरो मेरो नाउँमा माग्यौ भने म त्यो दिनेछु।