यूहन्ना 11:33-43
यूहन्ना 11:33-43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्नुभयो, तब उहाँ आत्मामा ज्यादै व्याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो।” तर कुनै-कुनैले भने, “के अन्धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” तब येशू फेरि ज्यादै व्याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्म त त्यो गन्हाउन लागिसक्यो होला, किनकि त्यो मरेको चार दिन भइसक्यो।” येशूले तिनलाई भन्नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्वास गर्यौ भने परमेश्वरको महिमा देख्नेछौ’?” तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्तिर नजर उठाएर भन्नुभयो, “हे पिता, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि तपाईंले मेरो बिन्ती सुन्नुभयो। मलाई थाहा छ, कि तपाईंले मेरो बिन्ती सधैँ सुन्नुहुन्छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरून्।” अनि यो कुरा भन्नुभएपछि उहाँ उच्च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्की आऊ।”
यूहन्ना 11:33-43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!” तर कतिले भने, “दृष्टिविहीनलाई दृष्टि दिने यी मानिसले लाजरसलाई पनि मर्नदेखि बचाउन सक्नेथिएनन् र?” येशू फेरि ज्यादै दुःखित भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओडारमा थियो। अनि यसको मुखमा ठूलो ढुङ्गा राखिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “ढुङ्गा हटाओ।” मर्नेकी दिदी मार्थाले भनिन्, “तर प्रभु, यस बेलासम्म त लास पनि गन्हाउन थाल्यो होला। किनकि उनी त्यहाँ रहेको चार दिन भइसक्यो।” येशूले भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महिमा देख्नेछौ भनी मैले तिमीलाई भनेको थिइनँ र?” त्यसकारण तिनीहरूले ढुङ्गा एकातिर हटाइदिए। त्यसपछि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “पिता! मेरो बिन्ती सुनिदिनुभएको लागि धन्यवाद। तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ भनी मलाई थाहा थियो। तर मलाई तपाईंले नै पठाउनुभएको हो भनी यिनीहरूले विश्वास गरून् भनेर यी वरिपरि उभिरहेका मानिसहरूका कारण मैले यसो भनेको हुँ।” यो कुरा भन्नुभएपछि येशू चर्को सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्केर आऊ!”
यूहन्ना 11:33-43 पवित्र बाइबल (NERV)
येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।” येशू रुनुभयो। अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।” तर कोही यहूदीहरूले भने, “येशूले अन्धा मान्छेको आँखा निको पारिदिनु भयो। के उहाँले उसलाई बचाँउन केही गर्न सक्नु हुने थिएन उसलाई मर्नुबाट रोक्न हुने थिएन?” येशू फेरि हृदयभित्रबाट अति शोकित हुनुभयो। येशू चिहानमा जानु भयो जहाँ लाजरसलाई राखिएको थियो। चिहान ओडार जस्तो बनाइएको थियो जो ढुङ्गाले ढाकिएको थियो। येशूले भन्नुभयो, “ढुङ्गा हटाऊ।” मार्थाले भनिन्, “तर प्रभु लाजरस मरेको चार दिन भइसक्यो तपाईंलाई नराम्रो गन्ध आउनेछ।” मार्था लाजरसको बहिनी थी। तब येशूले मार्थालाई भन्नुभयो, “के मैले तिमीलाई भनेको थिइन? कि यदि तिमाले विश्वास गरयौ भने परमेश्वरको महिमा देख्नेछौ?” तब तिनीहरूले प्रवेशद्वारको ढुङ्गा हटाई दिए। तब यशूले आफ्ना आँखा उठाउनु भयो र भन्नुभयो, “पिता, तपाईंले मलाई सुन्नु भएकोमा म धन्यवाद प्रकट गर्छु। म जान्दछु कि तपाईंले सधैँ मलाई सुन्नुहुन्छ। तर मैले यो कुराहरू भनें किनभने मानिसहरू मेरो वरिपरि छन्। म तिनीहरूलाई विश्वास दिलाउन चाहन्छु। कि तपाईंले मलाईं पठाउनु भएको हो।” येशूले यति भनिसकेपछि उहाँले जोड आवाजमा डाक्नुभयो, “लाजरस निस्क, बाहिर आऊ!”
यूहन्ना 11:33-43 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्यति बेला येशू पनि रुनुभयो। यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्थ्यो!” तर कसै-कसैले भने, “के अन्धालाई आँखा देख्ने बनाउने यिनै होइनन् र? के यिनले लाजरसलाई मर्नदेखि बचाउन सक्दैनथे र?” येशू फेरि हृदयदेखि नै दु:खी हुनुभयो र चिहानतिर जानुभयो। त्यो एउटा गुफा थियो र त्यसको मुख ठूलो ढुङ्गाले ढाकिएको थियो। “येशूले भन्नुभयो, त्यस ढुङ्गालाई हटाइदेओ।” लाजरसकी दिदी मार्थाले भनिन्, “प्रभु, उसलाई चिहानमा राखेको त आज चार दिन भयो, यति बेलासम्म त गनाइसक्यो होला।” येशूले तिनलाई भन्नुभयो, “विश्वास गर्यौ भने तिमीले परमेश्वरको महान् शक्ति देख्नेछ्यौ भनेर मैले भनेको होइनँ र?” तिनीहरूले चिहानको मुखबाट ढुङ्गा हटाए अनि येशूले स्वर्गतिर हेरेर भन्नुभयो, “धन्यवाद छ पिता, तपाईंले मेरो बिन्ती सुन्नुभयो। तपाईंले मेरो कुरा सधैँ सुन्नुहुन्छ, त्यो मलाई थाहा छ। तपाईंले मलाई संसारमा पठाउनुभएको हो भन्ने कुरा यहाँ भएका मानिसहरूले विश्वास गरून् भनेर म तपाईंलाई यो बिन्ती चढाउँदै छु।” यति भनिसकेपछि येशूले ठूलो सोरमा बोलाउनुभयो, “हे लाजरस, बाहिर आऊ।”