YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 11:30-36

यूहन्‍ना 11:30-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यस बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन, तर उहाँ त्‍यही ठाउँमा हुनुहुन्‍थ्‍यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्‌। घरमा तिनलाई सान्‍त्‍वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्‍यो चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर, तिनको पछि लागे। जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌ र उहाँलाई देखिन्, तब यसो भन्‍दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।” जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्‍मामा ज्‍यादै व्‍याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो। उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्‌।” येशू रुनुभयो। यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्‍थ्‍यो।”

शेयर गर्नुहोस्
यूहन्‍ना 11 पढ्नुहोस्

यूहन्‍ना 11:30-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशू अझै पनि त्यस गाउँमा पसिसक्नुभएको थिएन। उहाँ मार्थासँग भेट भएको ठाउँमा नै हुनुहुन्थ्यो। मरियम झट्टै उठेर गएको देखेपछि तिनलाई सान्त्वना दिन आएका यहूदीहरूले तिनी लाजरसको चिहानमा रुन गएकी हुन् भनी ठानेर तिनीहरू मरियमको पछि लागे। जब येशू हुनुभएको ठाउँमा मरियम आइपुगिन्, तब उहाँलाई देखेपछि पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुभएको भए मेरो भाइ मर्नेथिएन।” मरियम रोइरहेकी र तिनीसँगै आएका अरू यहूदीहरूलाई पनि तिनीसँग रोइरहेका देख्नुभएर येशू आत्मामा दुःखित र अति विचलित हुनुभयो। “लाजरसलाई तिमीहरूले कहाँ राखेका छौ?” उहाँले तिनीहरूलाई सोध्नुभयो। तिनीहरूले उहाँलाई भने, “गुरुज्यू, आएर हेर्नुहोस्।” येशू रुनुभयो। यो देखेर यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्थ्यो!”

शेयर गर्नुहोस्
यूहन्‍ना 11 पढ्नुहोस्

यूहन्‍ना 11:30-36 पवित्र बाइबल (NERV)

येशू गाँउ भित्र आइसक्नु भएको थिएन। उहाँ अझ सम्म त्यही ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थासँग भेट भएको थियो। यहूदीहरू मरियमसँग घरमा थिए। तिनीहरूले उनलाई सान्त्वना दिइरहेका थिए। तिनीहरूले मरियमलाई छिट्टै उठेर गएको देखे। तिनीहरूले सोचे कि तिनी लाजरसको चिहानमा गएकी हुन्। तिनीहरूले सोचे कि उनी त्यहाँ रून गएकी हुन्। तिनीहरूले उनलाई पछ्याए। मरियम त्यस ठाउँमा गइन् जहाँ येशू हुनुहुथ्यो। जब उनले येशूलाई देखिन् उनले झुकेर चरणमा ढोगिन्। मरियमले भनिन्, “हे प्रभु, यदि तपाईं त्यहाँ हुनु भएको भए, मेरा भाइ मर्ने थिएन।” येशूले मरियमलाई रोएकी देख्नु भयो। येशूले उनको पछि यहूदीहरू आइरहेको देख्नु भयो। तिनीहरू पनि रोई रहेका थिए। येशू एकदम उदास अनि विचलित हुनु भयो। येशूले सोध्नुभयो, “तिमीले उसलाई कहाँ राखेकाछौ।” तिनीहरूले भने, “प्रभु, आउनु होस् अनि हेर्नुहोस्।” येशू रुनुभयो। अनि यहूदीहरूले भने, “हेर! येशूले लाजरसलाई खुबै माया गर्नु हुन्थ्यो।”

शेयर गर्नुहोस्
यूहन्‍ना 11 पढ्नुहोस्

यूहन्‍ना 11:30-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यति बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन। उहाँ मार्थाले भेटेको ठाउँमा नै हुनुहुन्‍थ्‍यो। भाइ मरेको शोकमा सान्‍त्‍वना दिन आएका मानिसहरूले मरियमलाई हतारिएर गएकी देखे। भाइको चिहानमा रुन गएकी हुन् कि भन्‍ने सम्‍झेर तिनीहरू उनको पछि-पछि लागे। येशू भएको ठाउँमा पुग्‍दाखेरि मरियमले उहाँको पाउमा परेर भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो त मेरो भाइ मर्ने थिएन।” मरियम रोइरहेकी थिइन् र तिनीसँग आएका मानिसहरू पनि रोइरहेका थिए। यो देखेर येशू हृदयदेखि नै दु:खी हुनुभयो र सोध्‍नुभयो, “तिमीहरूले लाजरसलाई कुन चिहानमा राख्‍यौ?” तिनीहरूले भने, “प्रभु, आएर हेर्नुहोस्।” त्‍यति बेला येशू पनि रुनुभयो। यो देखेर भेला भएका मानिसहरूले एक-अर्कासँग भने, “हेर, उहाँले लाजरसलाई कति धेरै माया गर्नुहुन्‍थ्‍यो!”

शेयर गर्नुहोस्
यूहन्‍ना 11 पढ्नुहोस्