यूहन्ना 1:4-12
यूहन्ना 1:4-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँमा जीवन थियो, र त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्कन्छ, र अन्धकार त्यसमाथि विजयी भएको छैन। परमेश्वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्ना थियो। उनीद्वारा सबैले विश्वास गरून् भनेर त्यस ज्योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्यो ज्योति थिएनन्, तर त्यस ज्योतिको गवाही दिन आए। हरेक मानिसलाई ज्ञान प्रदान गर्ने साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, संसार उहाँद्वारा बनियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर उहाँका आफ्ना मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।
यूहन्ना 1:4-12 नेपाली समकालीन संस्करण (NCV)
उहाँमा जीवन थियो, अनि त्यो जीवन मानिसहरूको ज्योति थियो। ज्योति अन्धकारमा चम्कन्छ, तर अन्धकारले त्यसलाई चिनेन। परमेश्वरबाट पठाइएका एकजना मानिस आए, तिनको नाउँ यूहन्ना थियो। तिनीद्वारा सबै मानिसहरूले विश्वास गरून् भनेर तिनी त्यस ज्योतिको बारेमा साक्षी दिन भनी गवाही बनेर आएका थिए। तिनी आफै नै त्यो ज्योति थिएनन्, तर तिनी केवल त्यो ज्योतिको लागि गवाही दिन भनी पठाइए। हरेक मानिसलाई ज्योति दिन, त्यो साँचो ज्योति संसारमा आउँदैहुनुहुन्थ्यो। उहाँ संसारमा हुनुहुन्थ्यो, अनि संसार उहाँद्वारा नै बनिएको थियो, तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नैहरूकहाँ आउनुभयो, तर उहाँका आफ्नैहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे, र उहाँको नाउँमाथि विश्वास गरे, तिनीहरू सबैलाई उहाँले परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो
यूहन्ना 1:4-12 पवित्र बाइबल (NERV)
उहाँ स्वयं जीवन हुनुहुन्थयो। त्यो जीवन मानिसहरूको निम्ति ज्योति थियो। त्यो ज्योति अँध्यारोमा चम्कन्छ। अनि अन्धकारले ज्योतिलाई जित्न सक्दैन। परमेश्वरद्वारा पठाइएको यूहन्ना नाउँका एकजना मानिस थिए। यूहन्ना त्यही ज्योतिको विषयमा साक्षी दिन आएका थिए। उनकै माध्यमद्वारा मानिसहरूले ज्योति र विश्वासबारे जान्न-सुन्न पाए। यूहन्ना ज्योति थिएनन्, तर उनी ज्योतिको बारेमा साक्षी दिन आएका थिए। सत्य-ज्योति संसारमा आइरहकाछन् भनेर उनले बताई दिए। त्यो ज्योतिले सम्पूर्ण मानिसहरूलाई ज्योति दिनेछ। उहाँ संसारका हुनुहुन्थ्यो, संसार उहाँद्वारा हुन आयो, तर संसारले उहाँलाई चिनेन। उहाँ स्वयंले सृजना गरेको संसारमा आउनु भयो तर उहाँको आफ्नो मानिसहरूले उहाँलाई स्वीकार गरेनन्। केही मानिसहरूले मात्र उहाँलाई स्वीकार गरे। ज-जसले उहाँलाई स्वीकार गरे उनीहरूलाई मात्र परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।
यूहन्ना 1:4-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँमा जीवन थियो र त्यही जीवन नै मानिसहरूको उज्यालो थियो। त्यो उज्यालो अन्धकारमा चम्कन्छ। अन्धकारले कहिल्यै पनि उज्यालोलाई निभाउन सकेन। परमेश्वरले यूहन्ना नाउँ गरेका एक जना मानिसलाई पठाउनुभयो। उनी साक्षीको रूपमा आए। सबै मानिसहरूले उज्यालोलाई चिनेर विश्वास गर्न सकून् भनी परमेश्वरले उनलाई पठाइदिनुभएको थियो। यूहन्ना आफैंचाहिँ त्यो उज्यालो थिएनन्, उनी उज्यालोलाई चिनाउन आएका थिए। त्यो उज्यालोचाहिँ संसारमा आई सबै मानिसलाई प्रकाश दिने साँचो उज्यालो हुनुहुन्छ। उहाँ संसारमा हुनुहुन्थ्यो। संसार उहाँद्वारा नै बनिएको थियो तापनि संसारले उहाँलाई चिनेन। उहाँ आफ्नै मानिसहरूकहाँ आउनुभयो, तर ती मानिसहरूले उहाँलाई ग्रहण गरेनन्। तर जतिले उहाँलाई ग्रहण गरे र उहाँमाथि विश्वास गरे, तिनीहरूलाई उहाँले परमेश्वरको सन्तान हुने हक दिनुभयो।