यर्मिया 7:1-8
यर्मिया 7:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो: “परमप्रभुका भवनको मूल ढोकामा उभिएर यो सन्देश घोषणा गर्: ‘परमप्रभुको आराधना गर्नलाई यी मूल ढोकाहरूबाट पस्ने हे यहूदाका सबै मानिस हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरूका चाल र तिमीहरूका कामहरू सुधार गर, र म तिमीहरूलाई यस ठाउँमा रहन दिउँला। छली कुरामा भरोसा गरी यो नभन, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर हो!” यदि तिमीहरूले आफ्ना चाल र कामहरू साँच्ची नै सुधार्यौ, र तिमीहरू एउटाले अर्कासित न्यायसङ्गत व्यवहार गर्यौ भने, यदि तिमीहरूले विदेशी, टुहुरा-टुहुरी र विधवाहरूमाथि अत्याचार गरेनौ भने, अथवा यस ठाउँमा निर्दोषको रगत बगाएनौ भने, र यदि तिमीहरूको आफ्नै हानिको निम्ति अरू देवताहरूका पछि लागेनौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु, यसै देशमा, जो मैले तिमीहरूका पिता-पुर्खालाई युग-युगसम्म रहनलाई दिएको थिएँ। तर हेर, तिमीहरू छली कुरामा भरोसा राख्तछौ, जो व्यर्थैका छन्।
यर्मिया 7:1-8 पवित्र बाइबल (NERV)
यो यर्मियालाई परमप्रभुको सन्देश हो: “यर्मिया, परमेश्वरको मन्दिरको प्रवेश द्वारमा उभ। यो सन्देश प्रवेश द्वारमा प्रचार गर: “‘हे यहूदाका मानिसहरू! परमप्रभुको वचन सुन। परमप्रभुको पूजा गर्न जो पनि यी फाटकहरूबाट आउँछ; यो वचन सुन, सेनाहरूका परमप्रभु इस्राएलका परमेश्वरले यही भन्नुहुन्छ, “तिमीहरू आफ्नो जीवन शैली परिवर्तन गर अनि राम्रा कर्महरू गर। म तिमीहरूलाई यस भूमिमा बस्न दिनेछु।” कतिपय मानिसहरूले झूटो कुराहरू गर्छन् त्यो विश्वास नगर। तिनीहरू भन्छन्, “यो परमप्रभुको मन्दिर हो, परमप्रभुको मन्दिर, परमप्रभुको मन्दिर हो।” यदि तिमीहरूले आफ्ना जीवन परिवर्तन गरेर असल कर्महरू गर्यौ भने, म तिनीहरूलाई यस ठाउँमा बस्न दिनेछु। तिमीहरू परस्परमा ईमान्दार हुन पर्छ। तिमीहरू परदेशीहरूसँग ईमान्दार हुनु पर्छ। तिमीहरूले विधवाहरू एवं टुहुरा-टुहुरीहरूसित ठीक कुराहरू गर्नु पर्छ। निर्दोष मानिसहरूलाई नमार। अन्य देवताहरूका अनुवायी नबन्। किनभने तिनीहरूले तिमीहरूका जीवन नष्ट पारिदिने छन्। यदि तिमीहरूले मेरो आज्ञा-पालन गर्यौ भने, म तिमीहरूलाई यस ठाउँमा बस्न दिने छु। म यो भूमि सधैँ भरि तिमीहरूका पिता-पुर्खाहरूलाई दिनेछु। “‘हेर, तिमीहरू झूटो कुराहरूमाथि भरोसा गरिरहेका छौ जुन अनर्थका छन्।
यर्मिया 7:1-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यर्मियाकहाँ आएको याहवेहको वचन यही हो: “याहवेहको भवनको मूलढोकामा उभिएर त्यहाँ यो सन्देश घोषणा गर्: “ ‘याहवेहलाई आराधना गर्न यी मूलढोकाहरूबाट भित्र प्रवेश गर्ने हे यहूदाका सबै मानिसहरू हो, याहवेहको वचन सुन! इस्राएलका परमेश्वर, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: तिमीहरूका जीवनशैली र कामहरू सुधार; अनि म तिमीहरूलाई यस ठाउँमा बस्न दिनेछु। छली कुराहरूमा विश्वास गरेर यसो नभन, “यो याहवेहको भवन हो, याहवेहको भवन हो, याहवेहको भवन हो!” यदि तिमीहरूले आफ्ना जीवनशैलीहरू र आफ्ना कामहरू साँच्चै परिवर्तन गर्यौ र एक-आपसमा न्यायसङ्गत व्यवहार गर्यौ भने, यदि तिमीहरूले यस ठाउँमा विदेशीहरूमाथि, टुहुरा-टुहुरीहरूमाथि, र विधवाहरूमाथि अत्याचार गरेनौ भने वा निर्दोषहरूको रगत बगाएनौ भने, र आफ्नै खराबीका निम्ति अरू देवी-देवताहरूका पछि लागेनौ भने, तब म तिमीहरूलाई यस देशमा बस्न दिनेछु, जुन देश मैले तिमीहरूका पितापुर्खाहरूलाई सदाका निम्ति दिएको थिएँ। हेर, तिमीहरू व्यर्थका झूटा वचनहरूमा भरोसा गर्दैछौ।
यर्मिया 7:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यर्मियालाई परमप्रभुबाट यस्तो वाणी भयो, “मन्दिरको ढोकामा उभी र यसरी घोषणा गर्, परमप्रभुलाई आराधना गर्न यो ढोकाबाट आउने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, तिमीहरू आफ्ना जीवनका चाला-माला र काम सुधार र म तिमीहरूलाई यस देशमा बास गरिरहन दिउँला। ‘यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, यो परमप्रभुको मन्दिर हो, हामी सुरक्षित छौं’ भन्ने छलका कुरामा विश्वास नगर। “तिमीहरूका जीवनका चालामाला फेर, अहिले गरिरहेका कामहरू बन्द गर। एक-अर्कासित न्यायसाथ व्यवहार गर। परदेशी, टुहुरा-टुहुरीहरू र विधवाहरूबाट अनुचित लाभ नउठाओ। यो देशमा निर्दोष रगत नबगाओ। बिराना देवताहरूको पूजा गर्न छोड, तिनीहरूले तिमीहरूको नाश मात्र पार्नेछन्। तिमीहरू सुध्रियौ भने तिमीहरूका पिता-पुर्खालाई मैले सदाकालको निम्ति दिएको यस देशमा म तिमीहरूलाई बास गरिरहन दिनेछु। “हेर, तिमीहरू छलका कुरामा भरोसा राख्दछौ।