यर्मिया 44:15-30
यर्मिया 44:15-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यस ठूलो समुदायमा उपस्थित भएका सबै मानिसहरूले, जसले जान्दथे कि तिनीहरूका पत्नीहरूले अन्य देवताहरूलाई धूप बाल्दैथिए, र त्यहाँ उपस्थित भएका सबै स्त्रीहरूले र तल्लो र माथिल्लो मिश्रमा बस्ने सबै यहूदीहरूले यर्मियालाई भने, ‘जो कुरा तिमीले हामीहरूलाई परमप्रभुको नाउँमा सुनाएका छौ, त्यो हामी सुन्नेछैनौं। तर हामीले भनेको हरेक काम हामी अवश्य पूरा गर्नेछौं। हामी र हाम्रा पिता-पुर्खाले र हाम्रा राजाहरू र अधिकारीहरूले यहूदाका नगरहरूमा र यरूशलेमका गल्लीहरूमा स्वर्गकी रानीको निम्ति धूप बालेझैँ र अर्घ-बलि चढ़ाएझैँ हामी पनि चढ़ाउनेछौं। त्यस बेला हामीले प्रशस्त खान पाउँथ्यौँ। हाम्रो फलिफाप भएको थियो, र हामीलाई कुनै किसिमको हानि भएको थिएन। तर स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन छोड़ेपछि हामीलाई सबै किसिमको अभाव हुँदैआएको छ, अनि तरवार र अनिकालद्वारा हाम्रो पतन हुँदैगएको छ।” अनि स्त्रीहरूले अझ थपे, “जब हामीले स्वर्गकी रानीको निम्ति धूप बाल्यौं र अर्घ-बलि चढ़ायौं, तब के हामीले आफ्ना पतिहरूको सहमतविना नै स्वर्गकी रानीको आकारजस्ताका फुरौला पोल्यौं र अर्घ-बलि चढ़ायौं र?” तब यर्मियाले तिनलाई जवाफ दिने पुरुष र स्त्री दुवैलाई जवाफ दिँदै भने, “तिमीहरू, तिमीहरूका पिता-पुर्खाहरू, तिमीहरूका राजाहरू, तिमीहरूका पदाधिकारीहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका गल्लीहरूमा धूप जलाएका विषयमा के परमप्रभुलाई स्मरण थिएन र? के उहाँले विचार गर्नुभएन र? जब परमप्रभुले तिमीहरूका दुष्ट चाल र तिमीहरूले गरेका घृणित कामहरू अझै अरू सहन सक्नुभएन, तब तिमीहरूको देश सरापको पात्र र बासिन्दाविना उजाड़ भएको थियो, जस्तो आज पनि छ। तिमीहरूले धूप जलाएका, तिमीहरूले परमप्रभुको विरुद्धमा पाप गरेका र उहाँको आज्ञापालन नगरेका, अथवा उहाँको व्यवस्था, विधि र नियमहरू पालन नगरेका हुनाले यो सर्वनाश, जो आज देखिन्छ, तिमीहरूमाथि आएको हो।” तब यर्मियाले ती सबै पुरुष र स्त्रीहरूलाई भने, “मिश्रदेशमा भएका हे सबै यहूदाका मानिस हो, परमप्रभुको वचन सुन। सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘स्वर्गकी रानीलाई धूप बाल्न र अर्घ-बलि चढ़ाउन हामीले गरेको भाकल हामी अवश्य पूरा गर्नेछौं’ भनी तिमीहरू र तिमीहरूका पत्नीहरूले आफूले प्रतिज्ञा गरेका कुरा आफ्नै कामद्वारा तिमीहरूले पूरा गरेका छौ। यसर्थ तिमीहरूका प्रतिज्ञाहरू पूरा गर। तिमीहरूका भाकलहरू पूरा गर। तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: ‘मेरो महान् नाउँमा म शपथ खाँदैछु, कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि “जीवित परमप्रभुको नाउँमा” भन्दै कहिल्यै मेरो नाउँमा शपथ खाने वा पुकारा गर्नेछैन’। किनकि म तिनीहरूलाई असलको निम्ति होइन तर खराबको निम्ति हेर्दैछु। मिश्रदेशमा हुने सबै यहूदीहरू नष्ट नहोउञ्जेल तरवार र अनिकालले मर्नेछन्। तरवारबाट बाँचेकाहरू मिश्रदेशदेखि यहूदा देशमा थोरै मात्र फर्केर जानेछन्। तब कसको वचनचाहिँ सत्य ठहर्दोरहेछ— मेरो कि तिनीहरूको भनी मिश्रदेशमा बस्न आएका यहूदाका बाँकी रहेकाहरू जम्मैले जान्नेछन्। “परमप्रभु भन्नुहुन्छ, ‘म तिमीहरूलाई यही ठाउँमा दण्ड दिनेछु भन्ने तिमीहरूलाई यो चिन्ह हुनेछ, र तिमीहरूले यो जान कि तिमीहरूका विरुद्ध जोखिम गर्ने मेरो धम्की निश्चय नै कायम रहनेछ’। परमप्रभु यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म मिश्रदेशको राजा फारो होप्रालाई पनि त्यसको ज्यान लिन खोज्ने त्यसका शत्रुको हातमा सुम्पिदिनेछु’।”
यर्मिया 44:15-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि आफ्ना पत्नीहरूले अरू देवताहरूलाई धूप बालेका थाहा पाउने मानिसहरू र त्यहाँ उपस्थित भएका अरू सबै स्त्रीहरू सहितको एउटा ठूलो जमात, तल्लो र माथिल्लो इजिप्टमा बस्ने सबै इस्राएलीहरूले यर्मियालाई भने, “तिमीले याहवेहको नाममा हामीसँग बोलेको सन्देश हामी सुन्नेछैनौँ! हामीले गर्छौँ भनेका सबै कुरा हामी अवश्य गर्नेछौँ: हामी र हाम्रा पितापुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अधिकारीहरूले यहूदाका सहरहरूमा र यरूशलेमका सडकहरूमा पहिले गरेझैँ, हामी स्वर्गकी रानीलाई धूप बाँल्नेछौँ र तिनलाई अर्घबलि चढाउनेछौँ। त्यस बेला हामीसँग प्रशस्त भोजन थियो र हामी सम्पन्न थियौँ; अनि हामीमाथि कुनै विपत्ति आएको थिएन। तर हामीले स्वर्गकी रानीलाई धूप बाल्न र तिनलाई अर्घबलि चढाउन छोडेदेखि उसो, हामीलाई चाहिने कुरा हामीसँग केही पनि रहेन; अनि हामी तरवार र अनिकालले नष्ट भइरहेका छौँ।” ती स्त्रीहरूले थप्दै यसो भने, “जब हामीले स्वर्गकी रानीलाई धूप बाल्दा र तिनलाई अर्घबलि चढाउँदा के हाम्रा पतीहरूले हामीले तिनको मूर्तिको आकारमा फुरौला बनाउँदैछौँ, र तिनलाई अर्घबलि चढाउँदैछौँ भन्ने कुरा जान्दैनथिए र?” तब यर्मियालाई जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई तिनले यसो भने, “तिमीहरू, तिमीहरूका पितापुर्खाहरू, तिमीहरूका राजाहरू र तिमीहरूका अधिकारीहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा जलाएको धूपको बारेमा के याहवेहले बिर्सनुभएको छ अनि के यो कुरा उहाँलाई थाहा छैन र? जब तिमीहरूले गरेका तिमीहरूका दुष्ट र घिनलाग्दा कामहरूलाई याहवेहले अझ सहन सक्नुभएन, तब तिमीहरूको देश श्रापित भयो र कुनै बासिन्दा नरहने गरी उजाड भयो, जुन आजको दिनसम्म त्यस्तै छ। तिमीहरूले धूप बालेर याहवेहको विरुद्धमा पाप गरेका छौ, उहाँका आज्ञापालन गरेका छैनौ, र उहाँको व्यवस्थाका आदेशहरू अथवा उहाँका सल्लाहहरू अथवा नियमहरू पालन गरेका छैनौँ। यसकारण यो ठूलो विपत्ति तिमीहरूमाथि आएको छ, जुन विपत्ति आज तिमीहरू देख्दैछौ।” त्यसपछि यर्मियाले सबै मानिसहरू र ती स्त्रीहरूलाई भने, “हे इजिप्टमा भएका सबै यहूदाका मानिसहरू हो, याहवेहको वचन सुन। सेनाहरूका याहवेह, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छौ भनी शपथ खाएका थियौ, ‘हामी स्वर्गकी रानीलाई धूप बाल्नेछौँ र अर्घबलि चढाउनेछौँ भनी हामीले खाएको शपथ हामी अवश्य पूरा गर्नेछौँ।’ “त्यसैले तिमीहरू अगि बढ, तिमीहरूले प्रतिज्ञा गरेको कुरा गर! आफ्नो भाकल पूरा गर! तर इजिप्टमा बस्ने हे सबै यहूदीहरू हो, तिमीहरूले याहवेहको वचन सुन: ‘म मेरो महान् नामको शपथ खान्छु,’ याहवेह भन्नुहुन्छ, ‘इजिप्टको कुनै पनि ठाउँमा बस्ने यहूदाबाटका मानिसहरू कसैलाई पनि मेरो नाममा, “जीवित प्रभु याहवेहको नाममा शपथ खान्छु” भनेर कहिल्यै पुकार्न दिनेछैन, अथवा शपथ खान दिनेछैन।’ किनकि मैले तिनीहरूमाथि भलाइको निम्ति होइन, तर खराबीको निम्ति हेर्दैछु; तिनीहरू सबै पूरै नाश नभएसम्म इजिप्टमा रहेका यहूदीहरू तरवार र अनिकालले नष्ट हुनेछन्। तरवारबाट उम्कने थोरै मानिसहरू मात्र इजिप्टबाट यहूदाको देशमा फर्कनेछन्। तब इजिप्टमा बसोबास गर्न आउने यहूदाका सबै बाँकी रहेका अवशेषहरूले कसको वचन अटल रहनेछ—मेरो वा तिनीहरूको भनी जान्नेछन्। “ ‘तिमीहरूका निम्ति चिन्ह यो हुनेछ, यस ठाउँमा म तिमीहरूलाई दण्ड दिनेछु;’ याहवेह घोषणा गर्नुहुन्छ, ‘ताकि तिमीहरूको विरुद्धमा खराबी गर्ने मेरो धम्की निश्चय नै पूरा हुनेछ।’ याहवेह यसो भन्नुहुन्छ: ‘जसरी मैले यहूदाका राजा सिदकियाह र उसलाई मार्न चाहने शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा सुम्पिदिएँ, त्यसरी नै म इजिप्टको राजा फारो होप्रालाई पनि त्यसलाई मार्न चाहने शत्रुहरूका हातमा सुम्पिदिनेछु।’ ”
यर्मिया 44:15-30 पवित्र बाइबल (NERV)
यहूदाका पत्नी मानिसहरू जो मिश्रमा बस्न फर्केका थिए तिनीहरूले अन्य देवताहरूलाई बलिदानहरू चढाउँथे अनि त्यो सत्य तिनीहरूका लोग्नेहरूले जान्दथे तर तिनीहरूले आफ्ना पत्नीहरूलाई त्यसो गर्न रोकेनन्। त्यहाँ यहूदाका एक ठूलो हुद्दा भेला हुन्थे। तिनीहरू दक्षिणी मिश्रमा बस्ने यहूदाका मानिसहरू थिए। ती अन्य देवताहरूलाई बलिदानहरू चढाउने स्त्रीहरूका पतिहरूले यर्मियाहलाई भने, “परमप्रभुबाट आएको सन्देश जो तिमीले हामीलाई सुनायौ त्यो हामी मान्दैनौं। हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउछौ भनी प्रतिज्ञा गरेका छौं र हामीले जे प्रतिज्ञा गरेका छौं त्यही गर्ने छौं। हामी बलिदानहरू चढाएउँछौ अनि उनको पूजामा हामी उनलाई अर्घबलि खन्याउँछौं। पहिले पनि हामीले यसै गरेका थियौं हाम्रा पिता-पुर्खाहरू, हाम्रा राजाहरू तथा हाम्रा अधिकारीहरूले विगतमा त्यसै गरे। यहूदा शहर र यरूशलेमको गल्लीहरूमा पनि हामीले त्यसै गर्यौं। त्यस समयमा हामीले स्वर्गकी रानीको पूजा गर्यौ र हामीसँग प्रशस्त भोजनहरू थियो। हामी सफल भयौं हामीलाई केही भएको थिएन्। तर त्यसपछि हामीले स्वर्गकी रानीलाई बलिदानहरू चढाउन छोड्यौं। उनमाथि हामीले अर्घबलि चढाउँन छाड्यौं। जब हामीले उनलाई त्यसरी पूज्न छाड्यौं प्रत्येक कुरोको अभाव हुन थाल्यो। हामी तरवार र अनिकालले मारियौ।” तब स्वास्नीमानिसहरूले यर्मियालाई भने, “हामीहरूले जे गर्दै थियौ र जब हामीले स्वर्गकी रानीलाई बलिहरू चढायौं अनि अर्घबलिहरू अपर्ण गर्यौ, हाम्रा पतिहरूले जान्देथे। पूजा गर्नु भनी जब हामीले स्वर्गकी रानीको निम्ति तिनको मूर्ति भएको केकहरू बनायौ हाम्रा पतिहरूले जान्दथे।” तब यर्मियाले जम्मै मानिसहरू पुरूषहरू, स्त्रीहरू र ज-जसले तिनलाई उत्तर दिएका थिए तिनीहरूलाई भने। यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले तिमीहरूका पिता-पुर्खाहरू, राजाहरू र भारद्वारहरू अनि यहूदाको शहर र यरूशलेमको गल्लीहरूको देशका मानिसहरूले गरेका अर्पणहरू विषयमा परमप्रभुले राम्ररी जान्नु हुन्छ। तिनीहरूले गरेका कुकर्महरू परमप्रभुले जुन घृणा गर्नुहुन्छ अब सहनुहुन्न। यही कारणले तिमीहरूको देशमा कोही पनि बस्दैन र आज जस्तो छ, त्यो श्रापित, उजाड र बाँझो भएको छ। सारा ती टुष्ट कुराहरू हुन गएको कारण तिमीहरूले झूटा देवताहरू प्रति गरेको बलिदानहरूले गर्दा हो। तिमीहरूले परमप्रभुको विरूद्ध पाप गर्यौ। तिमीहरूले परमप्रभुको आज्ञा पालन गरेनौ। तिमीहरूले उहाँले दिनु भएको विधि र व्यवस्था अनुशरण गरेनौ। यसकारण आज यो महासर्वनाश आइलाग्यो।” तब यर्मियाले ती स्वास्नीमानिसहरू सहित जम्मै पुरूष मानिसहरूलाई भने, “यहूदाका सारा मानिसहरू जो अहिले मिश्रमा छौ; परमप्रभुको सन्देश सुन, सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ ‘तिमीहरू र तिमीहरूका पत्नीहरूले जे गर्छु भनेका थियौ त्यही गर। “हामी हाम्रा प्रतिज्ञा पूरा गर्छौ, भेटीहरू र अर्घबलि स्वर्गकी रानीलाई चढाउँछौं।” यसर्थ तिमीहरूको काममा अघि बढ अनि तिमीहरूको प्रतिज्ञा पूरा गर। तिमीहरूको प्रतिज्ञा राख।’ तर, परमप्रभुको सन्देश सुन, मिश्रमा बसिरहेका यहूदाका मानिसहरू म परमप्रभु भन्छु कि: ‘म आफ्नो महान नाउँमा प्रतिज्ञा गर्छु कि आजदेखि उता मिश्रमा बस्ने यहूदाका मानिसहरू कसैले पनि निश्चित रूपमा “परमप्रभु हुनुहुन्छ।” भनी मेरो नाउँ लिने छैन। म ती मिश्रमा बासो-बास गर्ने यहूदाका मानिसहरूलाई नियाली रहेको छु। म तिनीहरूको रक्षाको लागि होइन तर नष्ट पार्नको लागि नियाली रहेको छु। मिश्रमा बस्ने यहूदाका मानिसहरू अनिकाल र तरवारद्वारा मारिनेछन्, जबसम्म तिनीहरू पूरा खतम हुँदैनन् तबसम्म लगातार मरि नै रहनेछन्। तरवारबाट बाँचेकाहरू थोरै मात्र यहूदामा फर्कन्छन् अनि जो यहूदामा बाँचेका छन् र मिश्रमा बस्नजान्छन् तिनीहरूले बुझ्नेछन् कि मेरो वचन कि तिनीहरूको वचन साँच्चो हुनेछ? तब म तिमीहरूलाई प्रमाण दिनेछु,’ यो परमप्रभुको सन्देश हो, ‘म मिश्रमा तिमीहरूलाई दण्ड दिनेछु अनि तिमीहरूले जान्नेछौ कि तिमीहरूलाई नोक्सान पुर्याउने मेरो वचन साँच्चो ठहरिनेछ।’ परमप्रभु भन्नुहुन्छ, ‘म जे भन्छु त्यो हुनेछ। मैले यहूदाका राजा सिदकियाह जो उसको शत्रु अनि जसले उसलाई मार्न खोजिरहेको थियो बाबेलको राजा नबूकदनेस्सरलाई दिएँ। मिश्रको राजा फिरऊन होप्रोलाई उसका शत्रुहरू जसले मार्न खाजिरहेका छन्, तिनीहरूलाई सुम्पिनेछु।’”
यर्मिया 44:15-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तब सबै मानिसहरू (जसले जान्दथे कि तिनीहरूका स्वास्नीहरूले अन्य देवताहरूलाई बलि चढाएका थिए) र त्यहाँ खडा भएका अरू सबै स्त्रीहरू साथै दक्षिणी मिश्रमा बास गर्ने इस्राएलीहरूको एउटा ठूलो भीडले मलाई भन्यो, “तपाईंले परमप्रभुको नाममा भनेका कुरा हामी मान्नेछैनौं। हामीले गर्छौं भनेका सबै थोक हामी गर्नेछौं। स्वर्गकी रानी हाम्री देवीलाई हामी त्यसरी नै बलि चढाउनेछौं र हाम्रो अर्धबलि पनि चढाउनेछौं, जसरी हामी र हाम्रा पुर्खा, राजा र अगुवाहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा चढाउने गर्थ्यौं। त्यति बेला हामीसित प्रसस्त खानेकुरा थियो, हाम्रो फलिफाप भएको थियो र हामीलाई दु:ख-कष्ट थिएन। तर हामीले स्वर्गकी रानी देवीलाई बलिदान र मद्यबलि चढाउन छोडेदेखि हामीले केही पाएका छैनौं तर हाम्रा मानिसहरू लडाइँ र अनिकालमा मरेका छन्।” कुरा थप्दै स्त्रीहरूले यसो भने, “जब हामी स्वर्गकी रानीको आकारमा फुरौला बनाउँथ्यौं र तिनलाई बलिदान र मद्यबलि चढाउँथ्यौं, तब हामीले गरेका सबै काममा आफ्ना लोग्नेको सहमति पाउँथ्यौं।” तब मलाई त्यसरी जवाफ दिने पुरुषहरू र स्त्रीहरू सबैलाई मैले भनें, “तिमीहरू, तिमीहरूका पुर्खाहरू, राजाहरू र अगुवाहरू र देशका मानिसहरूले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा बलिदानहरू चढाउँथे– तिनका बारेमा के तिमीहरू परमप्रभुलाई केही थाहा थिएन भन्ठान्छौ? आजको दिन तिमीहरूको देश ध्वस्त भएर पडिरहेको छ र कोही पनि त्यहाँ बास गर्दैन। त्यसको दशा डरलाग्दो छ। मानिसहरूले त्यसको नाम सरापको रूपमा प्रयोग गर्छन् किनभने परमप्रभुले तिमीहरूका दुष्ट र पापी कामहरू अरू बढी सहन सक्नुहुन्न। तिमीहरूले अन्य देवताहरूलाई बलिदान चढाएका र परमप्रभुको आज्ञापालन नगरी उहाँको विरुद्धमा पाप गरेका हुनाले यो अहिलेको विपत्ति तिमीहरूमाथि आएको हो।” सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वरले यहूदाबाट आएर मिश्रमा बसोबास गर्ने मानिसहरूलाई के भन्दै हुनुहुन्थ्यो, ती वचन मैले ती मानिसहरू र विशेषगरी ती स्त्रीहरूलाई सुनाएँ, “तिमीहरू र तिमीहरूका स्वास्नीहरूले स्वर्गको रानीसित गम्भीर प्रतिज्ञा गरेका छौ। तिमीहरूले उसलाई बलिदान र मद्यबलिहरू चढाउने प्रतिज्ञा गर्यौ र त्यो पूरा गर्दैआयौ। ठीकै छ, त्यसै गर! प्रतिज्ञा पूरा गर! तर मिश्रदेशमा बस्ने हे सबै यहूदी हो, परमप्रभुको वचन सुन। परमप्रभु भन्नुहुन्छ: मेरो महान् नाउँमा म शपथ खाँदै छु कि यहूदाबाट आएका सारा मिश्रदेशभरि नै भएका कुनै यहूदीले पनि ‘जीवित सार्वभौम परमप्रभु परमेश्वरलाई साक्षी राखी’ भनी शपथ खाँदै कहिल्यै मेरो नाउँमा पुकार गर्नेछैन। तिमीहरूको फलिफाप होइन तर नाश भएको म हेर्ने नै छु। तिमीहरू मिश्रमा भएका यहूदी सबै लडाइँ र रुढीले मर्नेछौ र एक जना पनि जिउँदो छोडिनेछैनौ। तर तिमीहरूमा थोरै मात्र मृत्युबाट उम्केर मिश्रबाट यहूदामा फर्कनेछौ। तब ती बाँचेर फर्कनेहरूले कसको कुरा– मेरो कि तिनीहरूको– साँचो रहेछ, त्यो बुझ्नेछन्। म तिमीहरूलाई यो देशमा दण्ड दिनेछु र तिमीहरूमाथि विनाश ल्याउनेछु, मेरो प्रतिज्ञा पूरा गर्छु भन्ने कुराको प्रमाण म परमप्रभुले तिमीहरूलाई दिनेछु। जसरी मैले यहूदाको राजा सिदकियाहलाई त्यसलाई मार्न खोज्ने त्यसको शत्रु बेबिलोनको राजा नबूकदनेसरको हातमा दिएको थिएँ, त्यसरी नै मिश्रको राजा होप्रालाई पनि म त्यसको ज्यान लिन खोज्ने त्यसकै शत्रुको हातमा दिनेछु।”