यर्मिया 38:14-28
यर्मिया 38:14-28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब सिदकियाह राजाले यर्मिया अगमवक्तालाई बोलाइपठाए, र परमप्रभुका मन्दिरको तेस्रो मूल ढोकामा तिनलाई ल्याउन लगाए। राजाले यर्मियालाई भने, “म तिमीसित केही कुरा सोध्नेछु। मदेखि केही कुरा पनि नलुकाऊ।” यर्मियाले सिदकियाहलाई भने, “मैले तपाईंलाई जवाफ दिएँ भने, के तपाईंले मलाई मार्नुहुन्न? मैले तपाईंलाई सल्लाह दिएँ भने पनि तपाईंले त्यो सुन्नुहुन्न।” तर सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई सास दिनुभयो, उहाँकै नाउँमा शपथ खाएर भन्दैछु, म तिमीलाई मार्नेछैनँ, न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।” तब यर्मियाले सिदकियाहलाई भने, “सर्वशक्तिमान् परमप्रभु, इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: ‘यदि बेबिलोनको राजाका अधिकृतहरूका हातमा तैंले आफैलाई सुम्पिदिइस् भने तेरो प्राण बाँच्नेछ, अनि यो सहर जलाइनेछैन, र तेरो घरानासहित तँ बाँच्नेछस्। तर तैंले आफूलाई बेबिलोनको राजाका अधिकृतहरूका हातमा सुम्पिदिइनस् भनेता यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ, र उनीहरूले यसलाई जलाइदिनेछन्, र तँ उनीहरूका हातबाट उम्कनेछैनस्’।” तब सिदकियाह राजाले यर्मियालाई भने, “बेबिलोनीहरूकहाँ भागेर गएका यहूदीहरूसित मलाई डर लाग्दैछ। किनकि बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदिए भनेता तिनीहरूले मसँग दुर्व्यवहार गर्नेछन्।” यर्मियाले जवाफ दिए, “उनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिनेछैनन्। मैले तपाईंलाई भनेका परमप्रभुको वचन पालन गर्नुहोस् र तपाईंको भलो हुनेछ, र तपाईंको प्राण बाँच्नेछ। तर सुम्पिनलाई तपाईंले इन्कार गर्नुभयो भनेता परमप्रभुले मलाई देखाउनुभएको दर्शन यही हो: यहूदाका राजाको महलमा छोड़िएका सबै स्त्रीहरू बेबिलोनका राजाका अधिकारीहरूकहाँ लगिनेछन्, र ती स्त्रीहरूले तपाईंलाई भन्नेछन्: ‘तपाईंले भरोसा गर्नुभएका तपाईंका मित्रहरूले तपाईंलाई भ्रममा पारे। अब तपाईंका खुट्टा हिलोमा भासिएका छन्। तपाईंका मित्रहरूले तपाईंलाई त्यागेका छन्।’ तपाईंका सबै पत्नीहरू र छोराछोरीहरू बेबिलोनीहरूकहाँ पुर्याइनेछन्। तपाईं आफै पनि उनीहरूका हातबाट उम्कन पाउनुहुनेछैन, तर बेबिलोनका राजाले तपाईंलाई पक्रनेछन्, र यो सहरचाहिँ जलाइनेछ।” तब सिदकियाहले यर्मियालाई भने, “यो बातचीतको बारेमा कसैले थाहा नपाओस्, नत्रता तिमी मारिऔला। यदि तिमीसित मैले कुरा गरेको अधिकारीहरूले सुनेछन्, र तिमीकहाँ आएर ‘तिमीले राजालाई के भन्यौ, र राजाले तिमीलाई के भन्नुभयो? हामीबाट केही कुरा नलुकाऊ, नत्रता हामी तिमीलाई मार्नेछौं,” भनी तिमीलाई सोधेछन् भने, तिमीले तिनीहरूलाई भन्नू, ‘मलाई मर्नलाई जोनाथनको घरमा नपठाइदिनुहोस् भनी मैले राजालाई एउटा नम्र-निवेदन मात्र गरिरहेको थिएँ’।” सबै अधिकारीहरू भारदारहरू यर्मियाकहाँ आएर तिनलाई प्रश्न गरे। तिनले राजाले हुकुम गरेअनुसार तिनीहरूलाई भने। यसैले तिनीहरूले तिनीसित अरू केही सोधेनन्, किनभने राजा र यर्मियाका बीचको बातचीत कसैले सुनेको थिएन। यरूशलेम लिने दिनसम्मै यर्मिया गारदको चोकमा नै रहे।
यर्मिया 38:14-28 पवित्र बाइबल (NERV)
तब राजा सिदकियाहले यर्मियालाई ल्याउनु कसैलाई पठाए। त्यो मानिसले परमप्रभुको मन्दिरको तेस्रो द्वारमा यर्मियालाई ल्यायो। तब राजाले भने, “यर्मिया, म तिमीलाई केही प्रश्नहरू सोध्नेछु। मबाट केही पनि नलुकाऊ।” यर्मियाले सिदकियाहलाई भने, “यदि मैले उत्तर दिए भने तपाईंले मलाई मार्नु हुन्छ होला। अनि यदि मैले तपाईंलाई परामर्श दिएँ भने पनि सुन्नु हुने छैन।” तर राजा सिदकियाहले गुप्त रूपमा यर्मियासित कसम खाए र भने, “म परमप्रभु जसले हामीलाई सृष्टि गर्नु भयो अनि हामीलाई जीवन दिनुभयो, जस्तो जीवित हुनुहुन्छ त्यस्तै कसम खान्छु, म तिमीलाई न त मार्नेछु न तिमीलाई ज-जसले मार्न खोजिरहेका छन् तिनीहरूलाई नै सुम्पिन्छु।” तब यर्मियाले राजा सिदकियाहलाई भने, “सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्वर भन्नुहुन्छ, ‘यदि तिमीले बाबेलका राजाको अधिकारीहरू अघि आत्मा समर्पण गर्यौ भने, तिमी र तिम्रो परिवार सुरक्षित रहनेछन् अनि यरूशलेम जलेर भस्म हुनेछैन। तर यदि तिमीले आत्मा समर्पण गर्न अस्वीकार गर्यौ भने यरूशलेम बेबीलियोनका सेनालाई सुम्पिइने छ। तिनीहरूले यरूशलेमलाई जलाएर भस्म पार्ने छन्, अनि तिमी पनि तिनीहरूबाट जोगिने छैनौ।’” तर राजा सिदकियाहले यर्मियालाई भने, “तर म यहूदाका मानिसहरूसँग डराउँछु जसले अघिबाटै बाबेलका सेनाको पक्ष लिइसकेकाछन्। म डराउँछु कारण तिनीहरूले मलाई यहूदाका मानिसहरूलाई सुम्पनेछन् अनि तिनीहरूलाई मसित अति निम्न प्रकारले व्यवहार गर्ने अनुमति दिन्छन्।” तर यर्मियाले जवाफ दिए, “सिपाहीहरूले तिमीलाई ती यहूदाका मानिसहरूलाई दिने छैनन्। राजा सिदकियाह, परमप्रभुको आज्ञा पालन गर, मैले भनेको कुराहरू मान। तब सबै कुराहरू तिम्रा निम्ति राम्रै हुनेछ, अनि तिम्रो जीवन सुरक्षित रहनेछ। तर यदि तिमीले बाबेलका सेना समक्ष आत्मासमर्पण गर्न अस्वीकार गर्यौ भने, यो जो परमप्रभुले मलाई देखाउनु भएकोछ त्यो हुनेनैछ। सारा स्त्रीहरू जो यहूदाको राजाको दरबारमा छोडिएका थिए तिनीहरूलाई बाबेलको राजाका मुख्य अधिकारीहरूकहाँ ल्याइने छ। ती स्त्रीहरूले भन्ने छन्,: ‘तिम्रा साथीहरू तिमी भन्दा बलिया छन्, तिम्रा मित्र जातिहरूले तिमीलाई धोका दिए, अनि तिमीलाई जितेकाछन्। तिम्रो खुट्टा हिलोमा भास्सियो, अनि तिमीलाई तिनीहरूले एक्लै छोडेर गए।’ “तिम्रा सबै पत्नी र छोरा-छोरीहरू बाहिर ल्याइए अनि बाबेलका सेनालाई सुम्पिइयो। तिमी स्वयं पनि बाबेल सेनाबाट उम्कन पाउने छैनौ। तिमी बाबेलका राजाद्वारा लगिनेछौ अनि यरूशलेम जलेर भस्म हुनेछ।” तब सिदकियाहले यर्मियालाई भने, “हाम्रो बातचीच कसैले थाहा नपाउँन नत्र तिमी मर्नेछौ। ती अधिकारीहरूले मैले तिमीसँग गरेको कुरा थाहापाउने छन्। तब तिनीहरू तिमीकहाँ आएर सोध्नेछन्, ‘यर्मिया, हामीलाई बताऊ राजा सिदकियाहले तिमीलाई के भन्यो। अनि तिमीले राजालाई के भन्यौ सबै नै हामीलाई भन। ईमान्दारी साथ सारा कुरा हामीलाई भन नत्र तिमीलाई हामी मार्ने छौ।’ यदि तिनीहरूले त्यसो भने, तिनीहरूलाई भन ‘मैले राजालाई नम्र निवेदन गरेको छु कि मलाई जोनाथनको घरमा नपठाइयोस् यदि मलाई त्यहाँ पठाउनु भयो भने, म मर्नेछु।’” तब यस्तो भयो कि ती शाही अधिकारीहरू आए अनि यर्मियालाई प्रश्न गरे। यसकारण यर्मियाले तिनीहरूलाई राजाले दिएको आज्ञा अनुसार सबै कुराहरू भने। तब ती अधिकारीहरूले यर्मियालाई एक्लै छाडेर गए किनभने कसैले पनि यर्मिया र राजा माझ भएको कुराहरू चाल पाएका थिएनन्। यसकारण यरूशलेमलाई अधीनमा लिनेदिन सम्मै यर्मिया प्रहारीहरूको चोकमानै बसे।
यर्मिया 38:14-28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
एक दिन सिदकियाह राजाले मलाई मन्दिरको तेस्रो ढोकामा बोलाउन पठाए र त्यहाँ मलाई भेटेर भने, “म तिमीलाई एउटा कुरा सोध्छु, मबाट केही कुरा नलुकाऊ।” यर्मियाले सिदकियालाई भने, “मैले तपाईंलाई साँचो कुरा बताएँ भने तपाईंले मेरो ज्यान लिनुहुनेछ अनि मैले केही सर-सल्लाह दिएँ भने पनि तपाईंले सुन्नुहुनेछैन।” सिदकियाह राजाले गुप्तमा यर्मियासित यसो भनेर शपथ खाए, “जीवित परमप्रभु, जसले हामीलाई जीवन दिनुभयो, उहाँलाई साक्षी राखी म वचन दिंदछु, म तिमीलाई मार्नेछैनँ न त तिम्रो ज्यान लिन खोज्ने मानिसहरूका हातमा तिमीलाई सुम्पनेछु।” तब मैले सिदकियाहलाई सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरका यी वचन सुनाएँ, “तैँले बेबिलोनका राजा भारदारहरूको शरण लिइस् भने तेरो प्राण बाँच्नेछ र यो सहर जलेर भस्म हुनेछैन। तँ र तेरा परिवार बाँच्नेछन्। तर तैँले उसको अघि आफूलाई समर्पण गरिनस् भने यो सहर बेबिलोनीहरूका हातमा दिइनेछ र तिनीहरूले यसलाई आगोले भस्म पार्नेछन् र तँ तिनीहरूका हातबाट भाग्न पाउनेछैनस्।” तर राजाले जवाफ दिए, “हामीलाई त्यागेर बेबिलोनीहरूतर्फ लाग्ने हाम्रा देशका मानिसहरूसित मलाई डर लाग्छ। बेबिलोनीहरूले मलाई तिनीहरूका हातमा सुम्पिदेलान् र तिनीहरूले मलाई सताउलान्।” मैले भनें, “बेबिलोनीहरूले तपाईंलाई तिनीहरूका हातमा सुम्पिदिनेछैनन्। बिन्ती छ, तपाईंले परमप्रभुको सन्देश मान्नुहोस्, त्यसो भए तपाईंको भलाइ हुनेछ र प्राण बाँच्नेछ। तर तपाईंले तिनीहरूको शरण नलिए के हुनेछ, त्यो परमप्रभुले मलाई दर्शनमा देखाउनुभएको छ। मैले दर्शनमा देखें कि यहूदाका राजदरबारमा छोडिएका सबै स्त्रीहरू बेबिलोनका राजाका भारदारहरूकहाँ लगिंदै थिए। ती स्त्रीहरूले यसरी लगिंदा के भन्दै थिए, त्यो पनि सुन्नुहोस्: ‘राजाले भरोसा गरेका मित्रहरूले उनलाई धोका दिए, तिनीहरूले उनका कुरा काटिदिए। अब उनका खुट्टा हिलोमा भासिएका बेला ती मित्रहरूले उनलाई त्यागे’।” त्यसपछि मैले भनें, “तपाईंका सबै स्वास्नीहरू र छोरा-छोरीहरू बेबिलोनीहरूकहाँ लगिनेछन् र तपाईं आफैं पनि तिनीहरूका हातबाट उम्कनुहुनेछैन। बेबिलोनका राजाले तपाईंलाई कैदी बनाई लैजानेछन्। यस सहरलाई जलाएर खरानी पारिदिनेछन्।” सिदकियाहले उत्तर दिए, “हामी दुईको यस कुराकानीबारे कसैलाई नभन्नू र तिम्रो प्राणलाई केही डर हुनेछैन। मैले तिमीसित कुरा गरेको भारदारहरूले थाहा पाए भने तिनीहरू आएर हामीले के-के कुरा गर्यौं, त्यो तिमीलाई सोध्नेछन्। सबै कुरा हामीलाई सुनाऊ र हामी तिमीलाई मार्नेछैनौं भनी तिनीहरूले तिमीसँग प्रतिज्ञा गर्नेछन्। यसर्थ तिमीले मर्नलाई झ्यालखानमा फेरि नपठाइन राजासित बिन्ती मात्र गर्दै थिएँ भनी तिनीहरूलाई भन्नू।” त्यसपछि सबै भारदारहरू आएर मलाई प्रश्न गरे र मैले राजाले भनेअनुसार नै तिनीहरूलाई जवाफ दिएँ। तिनीहरूले अरू केही गर्न सकेनन् किनभने हाम्रो कुराकानी कसैले सुनेका थिएनन्। अनि यरूशलेम शत्रुका हातमा परेको दिनसम्म मलाई तिनीहरूले राजमहलको चोकमा राखे।