यर्मिया 23:1-24
यर्मिया 23:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभु घोषणा गर्नुहुन्छ, “मेरो खर्कका भेड़ाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूलाई धिक्कार!” यसैकारण आफ्नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपष्ट पार्यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्ट कामको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ। “मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन्, र संख्यामा तिनीहरूको वृद्धि हुनेछ। म तिनीहरूमाथि गोठालाहरू खटाउनेछु, जसले तिनीहरूलाई चराउनेछन्, र तिनीहरू न त डराउनेछन्, न तर्सनेछन्, न तिनीहरूमध्ये कुनै हराउनेछ,” परमप्रभु भन्नुहुन्छ। परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।” परमप्रभु भन्नुहुन्छ, “यसैले यस्ता दिन आइरहेछन्, जब मानिसहरूले कहिल्यै यस्तो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्यसपछि तिनीहरू आफ्नै देशमा बस्नेछन्।” अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्दछन्। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्तै। देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्। “अगमवक्ता र पूजाहारी दुवै ईश्वरहीन भएका छन्। मेरै मन्दिरमा पनि तिनीहरूको दुष्टता म भेट्टाउँछु,” परमप्रभु भन्नुहुन्छ। “यसैकारण तिनीहरूको बाटो चिप्लो हुन्छ, अन्धकारमा तिनीहरू निर्वासित गराइनेछन् र तिनीहरू त्यसैमा लोट्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्याउनेछु,” परमप्रभु भन्नुहुन्छ। “सामरियाका अगमवक्ताहरूमा मैले यो घृणित कुरा देखें। तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी कहे, र मेरो प्रजा इस्राएललाई भर्माए। यरूशलेमका अगमवक्ताहरूमा चाहिँ मैले केही अति घिनलाग्दो कुरा देखेको छु। तिनीहरू व्यभिचार गर्दछन्, र झूटो चालमा चल्छन्। खराब गर्नेहरूका हात यिनीहरू बलिया पार्दछन्। यसैले कोही पनि आफ्नो दुष्टतादेखि फर्कंदैन। तिनीहरू सबै मेरो निम्ति सदोमझैँ, यरूशलेमका मानिसहरूचाहिँ गमोराझैँ छन्।” यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्वरहीनता फैलिएको छ!” सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “अगमवक्ताहरूका कुरा तिमीहरू नसुन, तिनीहरू झूटा आशाले तिमीहरूलाई भरिपूर्ण पार्छन्। तिनीहरू परमप्रभुको मुखबाट होइन, तर आफ्नै मनबाट दर्शनहरू बताउँछन्। मलाई अवहेलना गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘परमप्रभु भन्नुहुन्छ, तिमीहरूलाई शान्ति हुनेछ’। र अटेरी गरी आफ्नै मनको हठीपनमा हिँड्नेहरूलाई तिनीहरू भन्छन्, ‘तिमीहरूमाथि कुनै नोक्सानी हुनेछैन’। तर तिनीहरूमध्ये को उहाँको वचन सुन्न र बुझ्न भनी परमप्रभुको सभामा बसेको छ र? कसले उहाँको वचन ध्यान दिएर सुनेको छ? हेर, क्रोधमा परमप्रभुको आँधी उठ्नेछ, दुष्टहरूका टाउकोमा भुमरीको झोक्का बजारिनेछ। आफ्नो मनका उद्देश्यहरू सिद्ध नहोउञ्जेल, परमप्रभुको रीस मर्नेछैन। आउने दिनहरूमा तिमीहरूले यो राम्ररी बुझ्नेछौ। यी अगमवक्ताहरूलाई मैले पठाइनँ, तापनि तिनीहरू आफ्ना सन्देश लिएर कुदेर गए। तिनीहरूसित म बोलिनँ, तापनि तिनीहरूले अगमवाणी कहे। तर तिनीहरू मेरो सभामा बसेका भए तिनीहरूले मेरा प्रजालाई मेरो वचन घोषणा गर्नेथिए, र तिनीहरूलाई आफ्ना खराब चाल र खराब कामहरूदेखि फर्काउनेथिए।” परमप्रभु भन्नुहुन्छ, “के म नजिक मात्र रहने परमेश्वर हुँ र, टाढ़ाको चाहिँ परमेश्वर होइनँ? के कोही मानिस गुप्त ठाउँहरूमा लुक्न सक्छ र म त्यसलाई देख्न सक्दिनँ?” परमप्रभु भन्नुहुन्छ। “के स्वर्ग र पृथ्वी दुवैलाई म ढाक्दिनँ र?” परमप्रभु भन्नुहुन्छ।
यर्मिया 23:1-24 पवित्र बाइबल (NERV)
“त्यो भेंडा़ गोठालाहरूलाई धिक्कार जसले मेरा भेंडा़हरूलाई ध्वंस र तितर-बितर पार्छ।” यो परमप्रभुबाट आएको सन्देश हो। ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाईदियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने खर्कमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने खर्कमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ। म मेरा बगालको लागि नयाँ गोठाहरूलाई राख्नेछु। तिनीहरूले मेरो बगालको हेरचाह गर्नेछन्। अनि मेरा बगाल डराउने अथवा भयमीत हुने छैन। मेरो कुनै पनि बगाल हराउँने छैन।” यो परमप्रभुबाट आएको सन्देश हो। यो सन्देश परमप्रभुबाट आएको हो; “हेर अब त्यो समय आइरहेछ, कि म दाऊदको कुलमा एउटा धार्मिक ‘शाखा’ स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ, र धर्म र न्याय गर्नेछ। त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ, ‘परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ’। “यसकारण ती दिनहरू आइरहेछन्,” यो सन्देश परमप्रभुबाट आएको हो, “जब मानिसहरूले भन्नेछैनन्, ‘जसरी परमप्रभु जीवित हुनुहुन्छ अनि यो उहाँ नै हुनहुन्छ, जसले इस्राएलका मानिसहरूलाई मिश्र भूमिबाट बाहिर ल्याउनु भयो।’ तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन् जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।” अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु। यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो। अनि खर्क मरुभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्। “अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याईं मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो। यसकारण, म तिनीहरूलाई मेरो सन्देश दिन रोक्नेछु। तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो। “मैले सामरियामा अगमवक्ताहरूलाई अगमवाणी दिएर नराम्रो काम गरिरहेकोछु। बाल देवताको नाउँमा तिमीहरूले इस्राएलका मानिसहरूलाई पथभ्रष्ट गराए। मैले यहूदाका अगमवक्ताहरू डरलाग्दो कामहरू गरिरहेको देखेकोछु। तिनीहरूलाई व्यभिचारपूर्ण कर्ममा लिप्त छन्। तिनीहरू झूटो बोल्छन् अनि दुष्ट मानिसहरूलाई सहयोग दिन्छन्। त्यही कारणले मानिसहरूले दुष्ट काम गर्न रोकिदैनन्। तिनीहरू सदोमका मानिसहरू जस्ता छन्। अब यरूशलेम मेरो निम्ति गोमोरा जस्तै भएकोछ।” यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।” सेनाहरूका परमप्रभु भन्नुहुन्छ “ती अगमवक्ताहरूका कुरामा ध्यान नदेऊ ती अगमवक्ताहरूले तिमीहरूलाई मूर्ख बनाउने कोशिश गरिरहेकाछन्। ती अगमवक्ताहरूले जुन दर्शनहरू बताइरहेका छन् ती सब तिनीहरूको आफ्नै सृष्टिहरू हुन्। तिनीहरूले ती दर्शनहरू परमप्रभुबाट प्राप्त गरेका होइनन्। कतिपय मानिसहरूले परमेश्वरबाट आएको सन्देशलाई उपेक्षा गर्दछन्। अत ती अगमवक्ताहरूले ती मानिसहरूलाई बेग्ला बेग्लै सन्देश दिन्छन्। तिनीहरूले मलाई जसले निन्दा गर्छन् तिनीहरूलाई भन्छन्, परमप्रभुले भन्नुहुन्छ, ‘तिमीले शान्ति पाउँछौ।’ तिनीहरूले ज-जसको हृदय कठोर छ तिनीहरूलाई भन्छन्, ‘तिमीहरूमाथि अनिष्ट हुने छैन्।’ तर ती मध्ये कुनै पनि अगमवक्ताहरू दैवीय महासभामा उभिने होइन। ती मध्ये कसैले पनि परमप्रभुको संदेश न देखेको छन्, सुनेको नै छ। अब परमप्रभुबाट हुने दण्ड तूफान जस्तो आउने छ। परमप्रभुको क्रोध आँधी-तूफान जस्तो हुनेछ। यो ती दुष्ट मानिसहरूका टाउकोहरूमाथि भुमरीको झोक्का ठोकिनेछ। आफ्ना मनले चिताएको योजनाहरू सिद्ध नहोउन्जेल परमप्रभुको रीस थामिने छैन। आउने दिनहरूमा तिमीहरूले त्यो छर्लङ्ग बुझ्नेछौ। मैले ती अगमवक्ताहरूलाई पठाएको होइन। तर तिनीहरू भागेर गए। तिनीहरूसँग बोलेको छैन। तर तिनीहरूले अगमवाणी दिए। तर यदि तिनीहरू मेरो महासभामा बसेका भए, तिनीहरूले मेरो यहूदाका मानिसहरूलाई मेरो सन्देशहरू भन्ने थिए। तिनीहरूले ती मानिसहरूलाई नराम्रो कामहरू गर्न देखि रोक्न सक्थे।” “म परमेश्वर हुँ, जो नजिक छु,” परमप्रभु भन्नुहुन्छ, “म त्यो परमेश्वर होइन जो टाढोमा छ। मैले देख्न सक्तिन भन्ने विचारमा एउटा मानिसले आफैंलाई लुकाउनँ सक्ला। तर यो मूर्खता हो। के म स्वर्ग र पृथ्वी भर्दिनँ र?”
यर्मिया 23:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँका खर्कका भेडाहरूलाई नष्ट गर्ने र छरपष्ट पार्ने गोठालाहरूमाथि परमप्रभुको डरलाग्दो दण्डाज्ञा पर्नेछ, परमप्रभु भन्नुहुन्छ। परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजाको हेरचाह गर्ने गोठालाहरूबारे यसो भन्नुहुन्छ, “तिमीहरूले मेरा प्रजाको हेरचाह गरेनौ, तिमीहरूले तिनीहरूलाई छरपष्ट पारेर धपायौ। अब तिमीहरूका दुष्ट कर्महरूको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु। मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्याउनेछु र तिनीहरूको आफ्नो देशमा फर्काई ल्याउनेछु। तिनीहरूका धेरै सन्तानहरू हुनेछन् र सङ्ख्या बढ्नेछ। तिनीहरूको हेरविचार गर्न म गोठालाहरू खटाउनेछु। मेरो प्रजा कहिले पनि डराउनेछैन न त भयभीत हुनेछ। म फेरि तिनीहरूलाई दण्ड दिनेछैनँ। म परमप्रभु बोलेको छु।” परमप्रभु भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदै छन्, जब म दाऊदको एउटा न्यायी सन्तान खडा गर्नेछु। त्यो राजा हुनेछ र बुद्धिसित राज्य गर्नेछ र देशमा न्याय र ठीक काम गर्नेछ, त्यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।” यसैले यस्ता दिनहरू आउँदै छन्, परमप्रभु भन्नुहुन्छ, “जब मानिसहरूले शपथ खाँदा कहिल्यै ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछैनन्। तर तिनीहरूले ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्नेछन्। तब तिनीहरू आफ्नै देशमा बास गर्नेछन्।” अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्दैछु किनभने परमेश्वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्तै भएको छु। व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्। परमप्रभु भन्नुहुन्छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्वर नमान्ने भएका छन्, मेरो मन्दिरमा तिनीहरूले दुष्कर्म गर्दैगरेको मैले भेट्टाएको छु। तिनीहरू हिंडेको बाटो अँध्यारो र चिप्लो हुनेछ। तिनीहरूलाई ठेस खाएर लड्न लाउनेछु। म तिनीहरूमाथि विपत्ति ल्याउनेछु। तिनीहरूले दण्ड पाउने समय आउँदै छ। म परमप्रभु बोलेको छु। सामरियाका अगमवक्ताहरूका घिनलाग्दा पाप मैले देखेको छु। तिनीहरूले बाल देवताको नाममा भविष्यवाणी गरे र मेरा प्रजालाई खराब बाटोमा लगे। तर यरूशलेमका अगमवक्ताहरूले चाहिँ अझ घिनलाग्दा काम गरेको मैले देखेको छु। तिनीहरूले व्यभिचार गर्दछन् र देखावटी जीवन बिताउँछन्, दुष्कर्म गर्ने मानिसहरूलाई मद्दत गर्दछन् र यसैले कसैले पनि दुष्कर्म गर्न छोड्दैन। मेरो निम्ति तिनीहरू सबै सदोम र गमोराका मानिसहरूझैँ दुष्ट भएका छन्। “यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्याएका छन्।” सर्वशक्तिमान् परमप्रभुले यरूशलेमका मानिसहरूलाई भन्नुभयो, “तिमीहरूले अगमवक्ताहरूका कुरा नसुन, तिनीहरूले तिमीहरूलाई झूटा आशा दिंदै छन्। मैले भनेको होइनँ तर आफ्ना कल्पनाका कुरा तिनीहरूले तिमीहरूलाई बताउँछन्। मेरा कुरा सुन्न इन्कार गर्नेहरूलाई तिनीहरू निरन्तर भन्छन्, ‘तिमीहरूलाई शान्ति हुनेछ; अट्टेर गरी आफ्नै मनको हठमा हिंड्नेहरूलाई तिनीहरू भन्छन्, तिमीहरूमाथि कुनै विपत्ति आउनेछैन।” मैले भनें, “यी अगमवक्ताहरूमध्ये कसैले पनि परमप्रभुको फैसला सुन्न कहिल्यै उहाँकहाँ गएको छैन। तिनीहरूमध्ये कसैले उहाँका वचन कहिल्यै सुनेका वा बुझेका छैनन् अथवा तिनमा ध्यान दिएका छैनन्। उहाँको क्रोध एउटा आँधी नै हो, दुष्टहरूका टाउकामा बजारिने एउटा बतासको भुमरी हो अनि उहाँले इच्छा गरेका कुराहरू पूरा नभएसम्म त्यो थामिनेछैन। आउँदा दिनहरूमा उहाँका प्रजाले यो कुरा राम्ररी बुझ्नेछन्।” परमप्रभुले भन्नुभयो, “मैले यी अगमवक्ताहरूलाई पठाइनँ तर पनि तिनीहरू कुदेर गए। मैले तिनीहरूलाई केही वचन दिइनँ, तापनि तिनीहरूले मेरा नाममा भविष्यवाणी बोले। तर तिनीहरूले मेरा फैसला जानेका भए मेरा प्रजालाई मेरा वचन सुनाउनेथिए र तिनीहरूका दुष्ट चाल र खराब कामहरूबाट फर्काउनेथिए। “म एकै ठाउँमा मात्र होइन तर सर्वत्र उपस्थित हुने परमेश्वर हुँ। कोही मानिस मैले देख्न नसक्ने ठाउँमा लुक्न सक्दैन। के तिमीहरू जान्दैनौ, म स्वर्ग र पृथ्वीको हरेक ठाउँमा उपस्थित छु?