YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू 9:22-57

न्यायकर्ताहरू 9:22-57 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अबीमेलेक इस्राएलमाथि तीन वर्षसम्‍म शासक भएपछि परमेश्‍वरले अबीमेलेक र शकेमका नगरवासीहरूका बीचमा फाटो पार्नलाई एउटा दुष्‍टात्‍मा पठाउनुभयो, र शकेमका नगरवासीहरूले तिनलाई धोका दिए। यरूब-बालका सत्तरी जना छोराहरूलाई अत्‍याचारसित मारेको अपराधको बदला तिनीहरूको हत्‍या गर्ने आफ्‍ना भाइ अबीमेलेकसित र तिनलाई सुर्‍याउने शकेमका नगरवासीहरूसित लिइओस्‌ भन्‍ने अभिप्रायले यो परमेश्‍वरले गर्नुभएको थियो। तिनको विरुद्धमा शकेमवासीहरूले डाँड़ाका टुप्‍पातिर बाटो हिँड्‌ने प्रत्‍येकलाई ढुक्‍न र डाँका मार्न मानिसहरूलाई राखे, र यो खबर अबीमेलेककहाँ पुर्‍याइयो। अब एबेदका छोरा गाल आफ्‍ना भाइबन्‍धुहरूसँग शकेममा आए, र शकेमका नगरवासीहरूले आफ्‍नो राजभक्ति अब उनीतिर लगाए। तिनीहरू आफ्‍ना दाखबारीहरूमा गए, पाकेका अंगूरहरू टिपे, र कोलमा पेले। त्‍यसपछि तिनीहरू आफ्‍नो देवताको मन्‍दिरमा चाड़ मनाउन गए। त्‍यहाँ तिनीहरूले खानपान गरेर अबीमेलेकलाई सरापे। तब एबेदका छोरा गालले भने, “अबीमेलेक को हो? र शकेम को हो, र हामी त्‍यसको प्रजा हुने? के त्‍यो यरूब-बालको छोरो होइन? र त्‍यसको सहायकचाहिँ जबूल होइन? शकेमका पिता हमोरका मानिसहरूको सेवा हामीले किन गर्ने? हामीले किन अबीमेलेकको सेवा गर्ने? यदि यी मानिसहरू मेरो अधीनमा मात्र भएका भएता अबीमेलेकलाई मैले पन्‍साउनेथिएँ। म त्‍यसलाई भन्‍नेथिएँ, ‘तेरा सबै सेनालाई बोला, र लड़ाइँ गर्‌’।” जब सहरका राज्‍यपाल जबूलले एबेदका छोरा गालले भनेका कुरा सुने तब तिनी साह्रै रिसाए। तिनले गुप्‍तमा अबीमेलेककहाँ यसो भनेर दूतहरू पठाए, “एबेदको छोरो गाल र त्‍यसका भाइबन्‍धुहरू शकेममा आएर सहरका मानिसहरूलाई तपाईंको विरुद्धमा सुर्‍याउँदैछन्‌। यसकारण राती नै उठेर तपाईं र तपाईंसँग भएका मानिसहरू सहरबाहिर ढुकिबस्‍नुहोस्‌। त्‍यसपछि बिहान घाम झुल्‍कने बित्तिकै सहरलाई आक्रमण गर्नुहोस्, र जब त्‍यो र त्‍यसका मानिसहरू बाहिर आउँछन्‌ तब के गर्नुपर्छ सो गर्नुहोस्‌।” यसैले अबीमेलेक र तिनका मानिसहरू राती नै उठे, र चार दल भएर शकेममा आक्रमण गर्नलाई ढुकिबसे। अब एबेदका छोरा गाल बाहिर गएर सहरको मूल ढोकाको पस्‍ने ठाउँमा उभिरहेका थिए, जत्ति खेर अबीमेलेक र तिनका मानिसहरू आफूहरू लुकेको ठाउँबाट बाहिर आए। गालले तिनीहरूलाई देखे, र जबूललाई भने, “मानिसहरू डाँड़ाका टाकुराहरूबाट तल झर्दैछन्‌।” जबूलले जवाफ दिए, “तिमीले देखेका त डाँड़ाहरूका छाया हुन्, जो मानिसहरूजस्‍तै देखिँदैछन्‌।” तर फेरि गालले भने, “डाँड़ाहरूका बीचको जग्‍गाबाट मानिसहरू तल झरिरहेका छन्, र एक दलचाहिँ जोखना हेर्नेको रूखबाट भएर आइरहेको छ।” तब जबूलले उनलाई भने, “अब खोइ तिम्रा साहसी कुराहरू? तिमी भन्‍थ्‍यौ, ‘अबीमेलेक को हो र हामी त्‍यसको प्रजा हुने?’ के यी तिनै मानिसहरू होइनन्, जुनलाई तिमी तुच्‍छ ठान्‍थ्‍यौ? जाऊ, गएर तिनीसँग लड़ाइँ गर।” यसकारण गालले शकेमका नगरवासीहरूलाई लिएर अबीमेलेकमाथि आक्रमण गर्‍यो, तर अबीमेलेकले उनलाई परास्‍त गरे, र उनी भागे। मूल ढोकाको पस्‍ने ठाउँसम्‍मै बाटैभरि लाशहरू छरिएका थिए। अबीमेलेक गएर अरूमाह भन्‍ने ठाउँमा आफैलाई बसाले, र जबूलले गाल र त्‍यसका भाइबन्‍धुहरूलाई शकेमबाट धपाए। भोलिपल्‍ट शकेमका मानिसहरू बाहिर खुला ठाउँमा गए, र यो कुरो अबीमेलेकलाई सुनाइयो। यसैले तिनले चाहिँ आफ्‍ना मानिसहरूलाई ल्‍याएर तिनीहरूका तीन दल बनाए, र सहरबाहिर खुला ठाउँमा ढुकिबसे। जब तिनले मानिसहरूलाई सहरबाट निस्‍कँदैआएका देखे, तब उठेर तिनले तिनीहरूमाथि आक्रमण गरे। अबीमेलेक र तिनीसँग भएको दल चाँड़ो गरी अगाड़ि बढ़े र सहरको मूल ढोकाको पस्‍ने ठाउँमा लड्‌नलाई तयारी भए। तब अरू दुई दलचाहिँ आएर खुला ठाउँमा भएकाहरूमाथि जाइलागे, र तिनीहरूलाई मारे। अबीमेलेकले दिनभरि त्‍यस सहरमाथि आक्रमण गरे, र त्‍यसलाई कब्‍जा गरे। तिनले त्‍यहाँका मानिसहरूलाई मारे, सहर जलाइदिए, र त्‍यस ठाउँमा नून छरिदिए। जब शकेमको किल्‍लामा बस्‍नेहरूले यो कुरा सुने, तब तिनीहरू एलबरीतका मन्‍दिरको तहखानामा गए। तिनीहरू त्‍यहाँ एकसाथ भेला भएका छन्‌ भन्‍ने कुरा अबीमेलेकलाई सुनाइयो। यसैले तिनी र तिनीसित भएका मानिसहरू सल्‍मोन डाँड़ामा उक्‍ले। तिनले बन्‍चरो लिएर हाँगा काटे, र आफ्‍नो काँधमाथि ती हाले। तिनले आफ्‍ना मानिसहरूलाई भने, “म के गरिरहेछु हेर, र चाँड़ो गरेर तिमीहरू पनि त्‍यसै गर।” यसकारण हरेक मानिसले हाँगा काट्यो। तब तिनीहरूले अबीमेलेकलाई पछ्याए, र हाँगाहरू तहखानाको चारैतिर थुपारेर तिनलाई आगो लगाइदिए। अनि शकेमको किल्‍लाका सबै मानिसहरू मरे, जो प्राय: एक हजार पुरुष र स्‍त्रीहरू थिए। त्‍यसपछि अबीमेलेक तेबेसमा गए, र त्‍यसलाई घेरेर कब्‍जा गरे। त्‍यस सहरको बीचमा एउटा बलियो किल्‍ला थियो, र सबै नगरवासीहरू, पुरुष र स्‍त्रीहरू, त्‍यहाँ शरण लिएर बसेका थिए। तिनीहरू किल्‍ला बन्‍द गरेर त्‍यसको छतमा गएका थिए। अबीमेलेक किल्‍लामा गएर त्‍यसलाई आक्रमण गरे। जब त्‍यस किल्‍लामा आगो लगाइदिन भनी त्‍यसको ढोकामा तिनी आइपुगेका थिए, तब एउटी स्‍त्रीले तिनको टाउकोमा जाँतो खसाइदिई, र तिनको खप्‍पर फोरिदिई। अबीमेलेकले तुरुन्‍तै आफ्‍नो हतियार बोक्‍ने जवानलाई बोलाएर भने, “झट्टै आफ्‍नो तरवार थुतेर मलाई खतम गर्, नत्रता एउटी स्‍त्रीले तिनलाई मारी भनेर मानिसहरूले भन्‍लान्‌।” यसैले त्‍यस जवानले तरवारले तिनलाई रोपिदियो, र तिनी मरे। जब इस्राएलीहरूले अबीमेलेक मरेका देखे, तब तिनीहरू सबै आ-आफ्‍नो घरमा फर्के। यसरी नै अबीमेलेकले आफ्‍ना सत्तरी जना दाजुभाइहरूलाई मारेर आफ्‍ना पिताको विरुद्धमा गरेको अपराधको बदला परमेश्‍वरले तिनीसँग लिनुभयो, र शकेमका मानिसहरूले गरेका सबै दुष्‍टता तिनीहरूकै शिरमाथि खन्‍याइदिनुभयो। यरूब-बालका छोरा योतामको सराप तिनीहरूमाथि साँच्‍ची नै पर्‍यो।

न्यायकर्ताहरू 9:22-57 पवित्र बाइबल (NERV)

अबीमेलेकले इस्राएलका मानिसहरू माथि तीन बर्षसम्म शासन गरे। अबीमेलेकले यरूब्बालका सत्तरी जना छोराहरूलाई मारे अनि तिनीहरू अबीमेलेकका आफ्नै भाइहरू थिए। शकेमका अगुवाहरूले यो नराम्रो काम गर्नमा तिनलाई सहयोग गरेका थिए। यसकारण यरूब्बालका सत्तरी जना छोराहरू मारेको बद्ला लिनलाई परमप्रभुले अबीमेलेक अनि शकेमको अगुवाहरूको विषयमा झगड़ा उत्पन्न गराइ दिनुभयो। शकेमका अगुवाहरूले अबीमेलेकलाई अपमान गरे। ती मानिसहरूले त्यो बाटो भएर यात्रा गर्नेहरूलाई आक्रमण गर्न अनि लुट्नका निम्ति मानिसहरूलाई पहाडको टापूमा राखे। अबीमेलेकले ती आक्रमणहरूको बारेमा थाहा पाए। गाल नाउँ गरिएको एउटा मानिस, जो एबेदको छोरा हुन उसको भाइ-बन्धुहरूसँग शकेम शहरमा बसाँईं सरे। शकेमका अगुवाहरूले गाललाई भरोसा गर्न अनि उसलाई अनुशरण गर्ने निर्णय गरे। एकदिन शकेमका मानिसहरू दाख टिप्न खेततिर गए। मानिसहरूले दाखरस तयार गर्नलाई अंगुरहरू निचारे। त्यसपछि तिनीहरूले आफ्ना देवताको मन्दिरमा चाड मनाउन गए। मानिसहरूले खाए पिए अनि अबीमेलेको बारेमा नराम्रा कुराहरू भने। तब एबेदका छोरा गालले भने, “हामी शकेमका मानिसहरू हौं। हामीले किन अबीमेलेकको आज्ञा पालन गर्नु? तिनले आफूलाई को हो भन्ने ठान्छन्? अबीमेलेक यरूब्बालका एक छोरा हुन्, ठीक हो? अनि अबीमेलेकले जबूललाई आफ्ना अधिकारी बनाए, सही हो? हामीले अबीमेलेकको आज्ञा पालन गर्नु हुँदैन। हामीले हाम्रै मानिसहरू हमोरका मानिसहरूको अनुशरण गर्नुपर्छ। (हमोर शकेमका पिता थिए।) यदि तिमीहरूले मलाई यी मानिसहरूका सेनापति बनायौ भने म अबीमेलेकलाई नष्ट गर्नेछु। म तिनलाई भन्नेछु, ‘तिम्रा सेनालाई तयार पार अनि युद्धमा आऊ।’” जबूल शकेम शहरका राज्यपाल थिए। जबूलले सुने जो एबेदका छोरा गालले भने अनि जबूल अत्यन्त क्रोधित भए। जबूलले अरूमाह शहरमा अबीमेलेक कहाँ समाचार वाहकहरू पठाए। सन्देश यो होः “एबेदका छोरा गाल अनि उसका भाइहरू शकेम शहरमा आएका छन्। तिनीहरूले तिम्रा निम्ति कष्ट उब्जाउँदैछन्। गालले सम्पूर्ण शहरलाई तिम्रो विरूद्ध फर्काइरहेछ। यसर्थ अब तिमी अनि तिम्रा मानिसहरू आज राती आउनुपर्छ अनि शहर बाहिरको खेतमा लुक्नुपर्छ। त्यसपछि जब बिहान सूर्योदय हुन्छ तब शहरमाथि आक्रमण गर्नुपर्छ। गाल अनि तिनका मानिसहरू तिमीसित लड्नका निम्ति शहर बाहिर आउनेछन्। जब ती मानिसहरू लड्नका निम्ति बाहिर आउँछन् तिनीहरूप्रति तिमी जे गर्न सक्छौ गर।” यसर्थ अबीमेलेक अनि तिनका सबै सैनिकहरू राती उठे अनि शहर तिर गए। ती सैनिकहरू चार समूहमा छुट्टिए। तिनीहरू शकेम शहरको छेउमा लुके। एबेदका छोरा गाल बाहिर गए अनि शकेम शहरको द्वारको प्रवेश स्थानमा उभिएका थिए। गाल त्यहाँ उभिरहेको बेला अबीमेलेक अनि उसका सैनिकहरू आफ्ना लुकेका ठाउँबाट निस्किए। गालले सैनिकहरूलाई देखे। गालले जबूललाई भने, “हेर, त्यहाँ मानिसहरू पर्वतबाट तलतिर आइरहेछन्।” तर जबूलले भने, “तिमीले मात्र पर्वतका छायाँ देख्दै छौ। ती छायाँहरू मानिसहरू जस्तै देखिन्छन्।” तर गालले फेरि भने, “हेर, त्यहाँ केही मानिसहरू नावेलको भूमिबाट ओरालो आइरहेका छन्। अनि त्यहाँ कसैको शिर मैले तंन्त्र-मंन्त्र गर्ने रूखमा देखें।” जबूलले गाललाई भने, “तिमी अहिले किन धाक नलाएको? तिमी, ‘अबीमेलेक को हो? हामीले किन तिनको आज्ञा पालन गर्नुं’ भन्यौ। तिमीले ती मानिसहरूको खिल्ली उडायौ। अब जाऊ, अनि तिनीहरूसित युद्ध गर।” यसर्थ गाल शकेमका अगुवाहरू लिएर अबीमेलेकसित युद्ध गर्न गए। अबीमेलेक अनि उसका मानिसहरूले गाल अनि तिनका मानिसहरूलाई खेदे। गालका मानिसहरू शकेम शहरको फाटक तर्फ फर्केर दगुरे। गालका धेरै मानिसहरू फाटक पुग्नु अघि नै मारिए। तब अबीमेलेक अरूमाह शहर तिर फर्किए। जबूलले गाल अनि उसका भाइहरूलाई शकेम शहर छोड्न वाध्य तुल्याए। भोलिपल्ट शकेमका मानिसहरू खेततिर काम गर्न गए। अबीमेलेकले त्यस बारे थाहा पाए। यसर्थ अबीमेलेकले आफ्ना मानिसहरूलाई तीन समूहमा छुट्याए। तिनीले शकेमका मानिसहरूलाई अचानक आक्रमण गर्न चाहन्थे। यसर्थ तिनले आफ्ना मानिसहरूलाई खेतमा लुकाए। जब उसले मानिसहरूलाई शहर बाहिर निस्केको देखे तिनले उफ्रिएर तिनीहरू माथि आक्रमण गरे। अबीमेलेक अनि उसका समूह शकेमको फाटक नजिकको स्थान तिर दगुरे। अन्य दुइ समूहहरू खेतमा भएका मानिसहरू तिर दगुरे अनि तिनीहरूलाई मारिदिए। अबीमेलेक अनि तिनका मानिसहरूले त्यो दिनभरि शकेम शहरको विरूद्ध युद्धगरे। अबीमेलेक अनि तिनका मानिसहरूले शकेम शहर कब्जा गरे अनि त्यस शहरका मानिसहरूलाई मारिदिए। त्यसपछि अबीमेलेकले त्यो शहरलाई भत्काए अनि त्यसको ध्वंशावशेषमा नून छरिदिए। त्यहाँ केही मानिसहरू थिए जो शकेमको किल्लामा बस्थे। जब त्यहाँका मानिसहरूले शकेममा भएको घट्ना सुने तिनीहरू एल बरीत देवताका मन्दिरको सुरक्षित कोठामा एकत्रित भए। अबीमेलेकले शकेम किल्लामा सबै अगुवाहरू एक साथ भेला भएका छन् भन्ने कुरा सुने। यसर्थ अबीमेलेक अनि तिनका मानिसहरू सल्मोन डाँडा सम्म गए। अबीमेलेकले एउटा बन्चरो लिए अनि केही हाँगाहरू काटे। उसले ती हाँगाहरू आफ्ना काँधमा बोके। तब, अबीमेलेकले आफूसित भएका मानिसहरूलाई भने, “छिट्टो! मैले जे गरेकोछु त्यसै गर।” यसर्थ ती सबै मानिसहरूले हाँगाहरू काटे अनि अबीमेलेकको अनुशरणगरे। तिनीहरूले ती हाँगाहरू एल बरीत देवताको मन्दिरको सुरक्षित कोठाको भित्तामा थुपारे। तब तिनीहरूले ती हाँगामा आगो लगाए अनि कोठामा भएका मानिसहरूलाई जलाई दिए। यसरी शकेमको किल्ला नजिक बस्ने प्रायः 1,000 पुरूष अनि स्त्रीहरूको मृत्यु भयो। त्यसपछि अबीमेलेक अनि उसका मानिसहरू तेबेस शहर तिर गए। अबीमेलेक अनि उसका मानिसहरूले त्यो शहरलाई अधिकारमा लिए। तर शहरभित्र एउटा सुदृढ किल्ला थियो। त्यस शहरका सबै अगुवाहरू, अन्य पुरूष अनि स्त्रीहरू त्यस किल्लातिर दगुरे। जब मानिसहरू किल्ला भित्र थिए तिनीहरूले पछि बाट ढोकाबन्द गरिदिए। तब तिनीहरू किल्लाको छतमा चढे। अबीमेलेक अनि उसका मानिसहरू आक्रमण गर्न किल्लामा आए। अबीमेलेक किल्लाको ढोका सम्म गए। तिनीले किल्लालाई जलाउन चाहन्थे। तर, अब अबीमेलेक किल्लाको ढोकामा उभिएका थिए, छतमा भएकी एउटी स्त्रीले उसको शिरमाथि एउटा जाँतो झारिदिइन्। त्यो जाँतोले अबीमेलेकको टाउको किच्चाइदिईन। अबीमेलेकले तुरन्तै आफ्ना हतियार बोक्ने सेवकलाई भने, “तेरो तरवार निकाल अनि मलाई मार। तैंले मलाई मारेको म चाहन्छु किनकि, ‘अबीमेलेकलाई एउटी स्त्रीले मारिन् भनेर।’” मानिसहरूले भन्लान। यसर्थ त्यो सेवकले अबीमेलेकलाई आफ्नो तरवारले रोपिदियो, अनि अबीमेलेकको मृत्यु भयो। इस्राएलका मानिसहरूले अबीमेलेकको मृत्यु भएको देखे। यसर्थ तिनीहरू सबै घर फर्किए। त्यस प्रकार उसले गरेका समस्त दुष्टकर्मको निम्ति परमेश्वरले अबीमेलेकलाई दण्ड दिनु भयो। अबीमेलेकले आफ्ना सत्तरी जना दाज्यू-भाइहरूलाई मारेर आफ्नो पिताको विरूद्धमा पाप गरे। परमेश्वरले शकेमका मानिसहरूलाई पनि तिनीहरूले गरेका नराम्रा कुराहरूका निम्ति दण्ड दिनुभयो। यसर्थ योतामले भनेका कुराहरू सत्य भए। (योताम यरूब्बालका कान्छा छोरा थिए। यरूब्बाल गिदोन थिए।)

न्यायकर्ताहरू 9:22-57 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अबीमेलेकले इस्राएलमाथि तीन वर्षसम्‍म राज्‍य गरे। तब परमेश्‍वरले अबीमेलेक र शकेमबासीहरूका बीच आपसमा दुश्‍मनी गराउनुभयो र तिनीहरू अबीमेलेकका विरुद्धमा खडा भए। त्‍यसो भएर अबीमेलेक र शकेमबासी, जसले उनलाई गिदोनका सत्तरी जना छोराहरूलाई मार्नलाई सुर्‍याएका थिए, तिनीहरूले आफ्‍ना अपराधका फल पाए। शकेमबासीहरूले अबीमेलेकका विरुद्धमा डाँडा-काँडामा मानिसहरूलाई ढुक्‍न लाएका थिए। त्‍यसबाट हिँड्‍नेहरू सबैलाई ती मानिसहरूले लुट्थे। यो खबर अबीमेलेकले पाए। तब एबेदको छोरो गाल आफ्‍ना भाइ-बन्‍धुहरूसँग शकेममा आयो। शकेमबासीहरूले गाललाई विश्‍वास गरे र उसमाथि भर परे। तिनीहरू सबै जना दाखबारीमा गए, दाख बटुले र दाखमद्य बनाए र उत्‍सव मनाउन लागे। तिनीहरू आफ्‍ना देवताको मन्‍दिरमा गए, त्‍यहाँ खाए, पिए अनि अबीमेलेकको हाँसो उडाउन लागे। गालले भन्‍यो, “हामी शकेमका बासिन्‍दाहरू कस्‍ता मानिसहरू हौं? हामी किन अबीमेलेकको चाकरी गर्दछौं? ऊ को हो र? गिदोनको छोरा हो? सहरका शासक जबूलले उसको आज्ञापालन गर्छ। तर हामीले चाहिँ किन उसको सेवा गर्नुपर्छ? हाम्रो वंश खडा गर्ने हाम्रो पुर्खा हमोरलाई तिमीहरू आफ्‍ना राजभक्ति देओ। यदि म यस देशको अगुवा हुँदो हुँ त कस्‍तो हुन्‍थ्‍यो! म अबीमेलेकलाई धपाउने थिएँ। म उसलाई भन्‍नेथिएँ, ‘आफ्‍ना सेना जम्‍मा गरेर आइज र लडाइँ गर्‌।” यस्‍तो कुरा सुनेर सहरका शासक जबूल औधी रिसायो। उसले मानिसहरू पठाएर अरूमाहको अबीमेलेकलाई खबर दियो, “एबेदका छोरा गाल र उसका भाइ-बन्‍धुहरू शकेममा आएर बसेका छन् अनि अब तिमीहरूलाई सहर पस्‍न दिनेछैनन्। तिमी आफ्‍ना मानिसहरूसँग राती निस्‍केर आई खेतबारीहरूमा लुकी बस। भोलि बिहान घाम झुल्‍कँदा अचानक सहरमाथि आक्रमण गर र गाल आफ्‍ना मानिसहरूसँग तिम्रा विरुद्ध लड्‍न निस्‍किआउँदा आफ्‍नो पूरा शक्तिले तिनीहरूमाथि तिमीले आक्रमण गरिहाल!” अबीमेलेक र उसका मानिसहरू राती आएर शकेमको बाहिर चार दल भएर लुकेर बसे। जब अबीमेलेक र उनका मानिसहरूले गाललाई आएर सहरको मूल-ढोकामा उभेको देखे, तिनीहरू आफू लुकेका ठाउँदेखि निस्‍के। गालले तिनीहरूलाई देख्‍यो र जबूललाई भन्‍यो, “हेर, मानिसहरू पहाडदेखि झरेर आउँदै छन्!” जबूलले उत्तर दियो, “तिनीहरू मानिसहरू होइनन्, खालि पहाडका छाया हुन्।” गालले फेरि भन्‍यो, “हेर, पहाडका चेपदेखि मानिसहरू आउँदै छन् अनि एक दल जोखना हेर्नेको रूखदेखि आउने बाटोमा आउँदैछन्!” तब जबूलले उसलाई भन्‍यो, “तिम्रा ठूला-ठूला कुरा खोई? तिमीले सोध्‍दै थियौ, किन हामीले यी अबीमेलेकको चाकरी गर्नु? तिमी यी मानिसहरूको हाँसो उडाउँदै थियौ। अब गएर तिनीहरूसँग लडाइँ गर।” गालले शकेमका मानिसहरू लिएर गयो र अबीमेलेकसँग लड्‍न लाग्‍यो। गाल भाग्‍यो र अबीमेलेकले त्‍यसलाई परास्‍त गरे। सहरको मूल-ढोकानिर पनि धेरै जना घाइते भए। अबीमेलेक अरूमाहमा बसिरहे। जबूलले गाल र त्‍यसका भाइ-बन्‍धुहरूलाई शकेमदेखि धपायो। तिनीहरू त्‍यहाँ बस्‍न सकेनन्। भोलिपल्‍ट शकेमबासीहरू सहरदेखि निस्‍केर खेतबारीतिर जान तयार भएका अबीमेलेकले देखे। उनले आफ्‍ना मानिसहरूलाई तीन दलमा बाँडे र खेतबारीमा गई लुकेर तिनीहरूलाई पर्खिरहे। मानिसहरू सहरबाट निस्‍केर आएको देखेर उनी आफू लुकेको ठाउँबाट निस्‍केर तिनीहरूलाई मार्न अघि बढे। अबीमेलेक र उनको दल सहरको मूल-ढोकातिर बढे र त्‍यहाँ पहरा दिन लागे। अरू दुई दलले ती मानिसहरूमाथि आक्रमण गरे र तिनीहरूलाई संहार गरे। लडाइँ दिनभरि चलिरह्यो। अबीमेलेकले सहर कब्‍जा गरे, सहरका मानिसहरूलाई मारेर त्‍यसको नाश गरे र त्‍यहाँका जमिनमा नुन छरेर भरिदिए। जब शकेम सहरका किल्‍लामा भएका ठूला-ठालुहरूले यो कुरा सुने, तिनीहरूले करारको बाल-बरीतको मन्‍दिरमा भित्री किल्‍लामा आश्रय लिए। यो कुराको खबर अबीमेलेकलाई भयो। यसकारण आफ्‍ना मानिसहरूसँग उनी सल्‍मोन डाँडामा गए। त्‍यहाँ उनले बन्‍चरोले एउटा रूखको हाँगो काटे र हाँगो काँधमा बोके। आफ्‍ना मानिसहरूलाई पनि चाँडो-चाँडो त्‍यसै गर्न लाए। प्रत्‍येकले एकएक वटा हाँगो काटे र बोकेर अबीमेलेकको पछि लागे। तिनीहरूले मन्‍दिरको भित्री किल्‍लामा हाँगा थाक पारेर थुपारे र त्‍यसमा आगो लगाइदिए। किल्‍लाभित्र भएका सबै त्‍यहीँ डढी मरे। यसरी प्राय: एक हजार नर-नारी त्‍यहाँ स्‍वाहा भए। त्‍यसपछि अबीमेलेक तेबेस सहरमा गए र त्‍यसलाई घेरा हालेर आफ्‍नो कब्‍जामा लिए। त्‍यहाँ एउटा बलियो किल्‍ला थियो र सबै नर-नारी र अगुवाहरू त्‍यहाँ आश्रय लिन गए। किल्‍ला भित्रबाट बन्‍द गरेर तिनीहरू छतमा गई बसे। किल्‍ला आक्रमण गर्न आइपुग्‍दा अबीमेलेकले त्‍यसको दैलोमा गई किल्‍लामा आगो लगाउने तरखर गर्न लागे। तर एउटी स्‍त्रीले एउटा जाँतो उनको टाउकोमा फ्‍याँकेर खप्‍पर फुटाइदिई। तब अबीमेलेकले आफ्‍नो हातहतियार बोक्‍ने केटोलाई हतार-हतार बोलाएर भने, “तेरो तरवार थुतेर मलाई मार्‌। एउटी स्‍त्रीले मलाई मारी भन्‍ने कुरा फैलेको म चाहँदिनँ।” त्‍यस युवकले आफ्‍नो तरवार उनको शरीरमा रोपिदियो र उनी त्‍यहीँ मरे। अबीमेलेक यसरी मरेको देखी इस्राएलीहरू आफ्‍ना घर फर्के। आफ्‍ना सत्तरी जना दाजु-भाइहरूलाई मारी बुबासँग गरेको अन्‍यायको बदलामा परमेश्‍वरले अबीमेलेकलाई यस प्रकारले फल दिनुभयो। गिदोनका छोरा योतामले सराप दिँदाखेरि भनेअनुसार शकेमबासीहरूलाई पनि तिनीहरूका कुकर्मका लागि परमेश्‍वरले यसरी कष्‍ट दिनुभयो।