न्यायकर्ताहरू 4:1-24

न्यायकर्ताहरू 4:1-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

एहूदको मृत्‍युपछि इस्राएलीहरूले परमप्रभुको दृष्‍टिमा जुन कुरा खराब थियो फेरि त्‍यही गरे। यसकारण परमप्रभुले तिनीहरूलाई हासोरमा शासन गर्ने कनानी राजा याबीनको हातमा बेचिदिनुभयो। उनका सेनापति सीसरा थिए, जो हरोशेत हग्‍गोयिममा बस्‍थे। इस्राएलीहरूले सहायताको निम्‍ति परमप्रभुलाई पुकारे, किनभने सीसराका फलामका नौ सय रथहरू थिए, र उनले इस्राएलीहरूलाई बीस वर्षसम्‍म क्रूरतापूर्वक सताए। त्‍यस बेला लप्‍पीदोतकी पत्‍नी दबोरा न्यायकर्ता थिइन्‌। तिनी एक अगमवादिनी थिइन्‌। तिनी एफ्राइमको पहाड़ी देशमा रामा र बेथेलको बीचमा भएको दबोराका खजूरको रूखमुनि बस्‍ने गर्दथिन्, र इस्राएलीहरू तिनीकहाँ इन्‍साफको निम्‍ति आउँथे। तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन्, र तिनलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वरको आज्ञा यो हो: ‘गएर नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई चुनेर तिनीहरूलाई तिमीसँगै तबोर डाँड़ामा ल्‍याऊ’। म याबीनको सेनापति सीसरालाई कीशोन खोलामा त्‍यसका रथहरू र त्‍यसका सबै फौजसमेत निकाली ल्‍याएर उनीहरूलाई तिम्रो हातमा सुम्‍पिदिनेछु।” बाराकले जवाफ दिए, “तपाईं मसँग जानुभयो भने म जानेछु, तर तपाईं जानुभएन भनेता म पनि जानेछैनँ।” दबोराले भनिन्, “निश्‍चय नै म तिमीसँग जानेछु, तर यस वीरताका कामको श्रेय तिमीलाई हुनेछैन, किनभने परमप्रभुले सीसरालाई एउटी स्‍त्रीको हातमा सुम्‍पिदिनुहुनेछ।” तब दबोरा उठिन्‌ र बाराकसँग केदेशमा गइन्‌। बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए, र दश हजार मानिसहरूका साथमा तिनी हिँड़े, र दबोरा पनि तिनीसँग गइन्‌। अब केनी हेबेरले केनीहरू, अर्थात्‌ मोशाका साला होबाबका सन्‍तानहरूदेखि अलग भएर केदेशनेर सानन्‍नीममा भएको ठूलो रूख नजिक आफ्‍नो पाल टाँगेका थिए। अबीनोअमका छोरा बाराक तबोर डाँड़ामा गएका छन्‌ भन्‍ने खबर सीसराकहाँ पुर्‍याइयो। तब उनले आफ्‍ना नौ सय फलामका रथहरू र आफ्‍ना फौजहरूलाई हरोशेत हग्‍गोयिमबाट कीशोन खोलामा भेला गराए। तब दबोराले बाराकलाई भनिन्, “उठ, आजको दिन परमप्रभुले सीसरालाई तिम्रो हातमा दिनुभएको छ। परमप्रभु तिम्रो अगि जानुभएको छ।” यसकारण बाराक तबोर डाँड़ाबाट आक्रमण गर्दै तल झरे, र दश हजार मानिसहरू तिनको पछिपछि लागे। परमप्रभुले सीसरालाई, उनका सबै रथहरू र फौजसमेत, बाराकका आक्रमणको सामु पराजित गराउनुभयो। सीसरा आफ्‍नो रथबाट ओर्लेर पैदलै भागे। बाराकले रथहरू र फौजलाई हरोशेत हग्‍गोयिमसम्‍मै खेदे, र सारा सेनालाई तरवारले नाश गरे। एक जना पनि बाँचेन। यता सीसराचाहिँ पैदलै भाग्‍दै केनी हेबेरका पत्‍नी याएलको पालमा पसे, किनभने हासोरका राजा याबीन र केनी हेबेरको घरानाको बीचमा मित्रता थियो। याएल सीसरालाई भेट गर्नलाई निस्‍किन्, र उनलाई भनिन्, “हजूर, भित्रै आउनुहोस्, भित्रै आउनुहोस्‌। नडराउनुहोस्‌।” यसैले सीसरा पालभित्र पसे, र तिनले उनलाई एउटा कम्‍बल ओढ़ाइदिइन्‌। सीसराले तिनलाई भने, “मलाई अलिकता पानी पिउन देऊ। मलाई साह्रै तिर्खा लागेको छ।” तब तिनले दूधले भरेको एउटा मशक खोलेर उनलाई पिउन दिइन्, र फेरि उनलाई कम्‍बल ओढ़ाइदिइन्‌। सीसराले तिनलाई भने, “पालको ढोकामै उभिरह, र कसैले आएर ‘यहाँ कोही छ कि?’ भनेर सोध्‍यो भने ‘छैन’ भनिदेऊ।” तर हेबेरकी पत्‍नी याएलले पालको एउटा कीला र मुङ्‌ग्रो लिएर सीसरा थकित भई मस्‍त निदाएको बेलामा उनको छेउमा गइन्‌। याएलले सीसराको कन्‍चट छिचोलेर भूइँ भेट्‌ने गरी कीला ठोकिदिइन्‌ र उनी मरे। बाराक सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट गर्न आएर तिनलाई भनिन्, “आउनुहोस्, तपाईंले खोज्‍नुभएको मानिसलाई म देखाउनेछु।” बाराक तिनीसँग भित्र पसे, र सीसरालाई कन्‍चटमा कीला गाड़िएर मरिरहेका भेटाए। त्‍यस दिन परमेश्‍वरले कनानका राजा याबीनमाथि इस्राएलीहरूलाई विजयी बनाइदिनुभयो। उनलाई खतम नपारुञ्‍जेल कनानी राजा याबीनको विरुद्ध इस्राएलीहरूको शक्ति बढ्‌दैगयो।

न्यायकर्ताहरू 4:1-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

एहूद मरेपछि इस्राएलीहरूले फेरि याहवेहको दृष्‍टिमा दुष्‍टता गरे। यसकारण याहवेहले तिनीहरूलाई हासोरमा राज गर्ने कनानका राजा याबीनका हातमा बेचिदिनुभयो। तिनको फौजको सेनापतिचाहिँ हेरोशेत-हग्गोयिममा बस्‍ने सीसरा थियो। तिनीसित फलामका नौ सय वटा रथहरू थिए। अनि तिनले इस्राएलीहरूलाई निर्दयतासाथ बीस वर्षसम्म सताए; तब तिनीहरूले सहायताको निम्ति याहवेहलाई पुकारे। त्यस बेला इस्राएलको नेतृत्व लप्पीदोतकी पत्नी अगमवादिनी दबोराले गरिरहेकी थिइन्। दबोरा एफ्राइमको पहाडी मुलुक रामा र बेथेलको बीचमा खजूरको फेदमा बस्‍ने गर्दथिन्। इस्राएलीहरू आफ्ना झगडा मिलाउन तिनीकहाँ आउँथे। तब तिनले नप्‍तालीको केदेशबाट अबीनोअमका छोरा बाराकलाई बोलाइपठाइन् र भनिन्, “याहवेह इस्राएलका परमेश्‍वर तिमीलाई यसो भनी आज्ञा दिनुहुन्छ: ‘तँसित नप्‍ताली र जबूलूनका दश हजार मानिसहरूलाई तबोर डाँडामा लैजा। म याबीनका फौजको सेनापति सीसरालाई उसका रथहरू र फौजसहित कीशोन नदीमा ल्याउनेछु। अनि त्यसलाई तेरो हातमा सुम्पिदिनेछु।’ ” बाराकले तिनलाई भने, “यदि तपाईं मसित जानुभयो भने म जानेछु; तर तपाईं मसित जानुभएन भने म जानेछैनँ।” दबोराले भनिन्, “निश्‍चय नै म तिमीसँग जानेछु। तर तिम्रो यस्तो व्यवहारले गर्दा तिम्रो सम्मानचाहिँ हुनेछैन। किनकि याहवेहले सीसरालाई एउटी स्त्रीको हातमा दिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशमा गइन्। तब बाराकले जबूलून र नप्‍तालीलाई केदेशमा बोलाए। अनि दश हजार मानिसहरू तिनका पछि लागे, र दबोरा पनि तिनीसँगै माथि गइन्। अब केनी हेबेरले अरू केनीहरू, अर्थात् मोशाका साला होबाबका सन्तानहरूलाई छाडेर केदेशको छेउमा सानन्‍नीममा भएको ठूलो रूखनिर आफ्नो पाल टाँगेका थिए। जब तिनले सीसरालाई अबीनोअमका छोरा बाराक तबोर डाँडामा उक्लेर गएको कुरा भनिदिए, तब सीसराले आफ्ना फलामका नौ सय रथहरू र सबै मानिसहरू एकसाथ भेला गराए। अनि तिनीहरू हेरोशेत-हग्गोयिमबाट कीशोन खोलामा गए। तब दबोराले बाराकलाई भनिन्, “जाऊ! आजको दिन याहवेहले सीसरालाई तिम्रो हातमा सुम्पिदिनुभएको छ। के याहवेह तिम्रो अगि जानुभएको छैन र?” यसकारण बाराक तबोरबाट ओर्लिए; र दश हजार मानिसहरू तिनका पछि-पछि लागे। बाराक अगि बढ्दै जाँदा याहवेहले सीसरा र त्यसका सबै रथहरू अनि सेनासमेत तरवारले परास्त गर्नुभयो। सीसरा आफ्नो रथबाट ओर्लेर पैदलै भागे। तर बाराकले ती रथहरू र सेनालाई हेरोशेत-हग्गोयिमसम्म खेदेर गए। सीसराका सबै फौज तरवारद्वारा मारिए; र एउटै मानिस पनि जीवित रहेन। तरै पनि सीसराचाहिँ पैदलै भागेर केनी हेबेरकी पत्नी याएलको पालमा गए, किनकि हासोरका राजा याबीन र केनी हेबेरका परिवारको बीचमा शान्ति थियो। याएलले सीसरालाई भेट्न गएर तिनलाई भनिन्, “मेरा मालिक, भित्रै आउनुहोस्, नडराउनुहोस्!” यसकारण तिनी उनको पालभित्र पसे। अनि उनले तिनीमाथि एउटा ओढ्ने ओढाइदिइन्। तिनले भने, “मलाई अलिकति पानी पिउन देऊ। म तिर्खाएको छु।” तिनले उनलाई दूधको भाँडो खोलेर दूध पिउन दिइन्, र ओढ्ने ओढाइदिइन्। सीसराले तिनलाई भने, “पालको ढोकामा उभिरहनू। यदि कोही आएर तिमीलाई यहाँ कोही छ? भनी सोध्यो भने, तिमीले ‘छैन’ भनिदेऊ।” तर हेबेरकी पत्नी याएलले पालको कीला र एउटा मुङ्ग्रो लिइन्। अनि सीसरा थाकेर भुसुक्‍क निदाएको बेला तिनीकहाँ बिस्तारै गइन्। तिनले सीसराको कन्चट छिचोलेर भुइँसम्मै पुग्ने गरी त्यो किला ठोकिदिइन् र तिनी मरे। बाराकले सीसरालाई खेद्‌दै आउँदा याएल तिनलाई भेट्न बाहिर गइन्। अनि तिनले भनिन्, “आउनुहोस्, तपाईंले खोज्नुभएको मानिसलाई म देखाउनेछु।” यसकारण तिनी उनीसित भित्र पसे; तब सीसरालाई आफ्नो कन्चटमा किला गाडिएर मरिरहेका भेट्टाए। त्यो दिन परमेश्‍वरले इस्राएलीहरूका सामु कनानी राजा याबीनलाई हराउनुभयो। इस्राएलीहरूले याबीनलाई नष्‍ट नपारेसम्म तिनीहरूका हात उनीमाथि झन्-झन् बलियो हुँदैगए।

न्यायकर्ताहरू 4:1-24 पवित्र बाइबल (NERV)

एहूदको मृत्युपछि मानिसहरूले फेरि परमप्रभुसित तिनीहरूको करार भङ्ग गरे। यसर्थ परमप्रभुले कनानका राजा इस्राएलका मानिसहरूलाई पराजित गर्न याबीनलाई दिनु भयो। याबीनले हासोर नाउँ गरेको शहरमा शासन गर्थे। राजा याबीन सेनाका सेनापति सीसरा नाउँका व्यक्ति थिए। सीसरा हरोशेत हग्गोयिम नाउँको शहरमा बस्थे। सीसरासित 900 फलामका रथहरू थिए। अनि बीस बर्षसम्म तिनी इस्राएलका मानिसहरू प्रति अत्यन्त निष्ठूर भए। यसर्थ तिनीहरूले परमप्रभुसित सहायताको निम्ति विलाप गरे। त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्ता थिइन्। दबोरा, दबोराको खूजरको रूख मुनि बस्ने गर्थिन्। अनि इस्राएलका मानिसहरू सीसराको विषयमा वकालत गर्न तिनीकहाँ आए। दबोराको खजूरको रूख रामा अनि बेतेल शहरहरूको माझमा, एप्रैमको पहाडी देशमा थियो। दबोराले बराक नाउँ भएको मानिसलाई एउटा सन्देश पठाइन्। बाराक अबीनोअम नाउँका मानिसका छोरा थिए। बाराक केदेश शहरमा बस्थे जो नप्तालीको इलाकामा थियो। दबोराले बाराकलाई भनिन्, “परमप्रभु इस्राएलको परमेश्वरले तिम्रो निम्ति यो आज्ञा दिनु भएको छ, ‘जाऊ अनि नप्ताली अनि जबूलूनका कुल समूहहरूबाट 10,000 मानिसहरूलाई भेला गर। ती मानिसहरूलाई लगेर ताबोर पर्वतमा जाऊ। म राजा याबीनका सेनापति सीसरालाई तिमीहरूकहाँ आउन उत्तेजित पार्नेछु। म सीसरालाई तिनका रथहरू, अनि सेनाहरू लिएर किशोन नदीमा आउन लाउनेछु। तब म तिमीहरूलाई त्यहाँ सीसरालाई पराजित गर्नमा सहायता गर्नेछु।’” तब बाराकले दबोरालाई भने, “यदि तपाईं मसित जानुहुन्छ भने म जानेछु अनि यसो गर्नेछु। तर यदि तपाईं मसित जानुहुन्न भने म जाने छैन।” दबोराले उत्तर दिइन्, “निश्चयनै म तिमीसित जानेछु, तर तिम्रो मनोबृत्तिको कारणले जब सीसरालाई पराजित गरिन्छ तिमीलाई सम्मान गरिने छैन। परमप्रभुले एउटी स्त्रीलाई सीसरामाथि पराजित पार्न दिनुहुनेछ।” यसर्थ दबोरा बाराकसित केदेश शहरमा गइन्। केदेश शहरमा, बाराकले जबूलून अनि नप्ताली कुल समूहहरूलाई बोलाए। बाराकले ती कुल समूहहरूबाट तिनको अनुशरण गर्नलाई 10,000 मानिसहरू भेला गरे। दबोरा पनि बाराकसित गइन्। अहिले, त्यहाँ हेबेर नाउँ गरेका एकजना मानिस थिए जो केनी मानिसहरूबाट आएका थिए। हेबेरले अन्य केनी मानिसहरूको साथ छोडेका थिए। (केनी मानिसहरू होबाबका सन्तान थिए। होबाब मोशाका ससुरा थिए।) हेबेरले सानन्नीम नामक ठाउँमा बज्राँकाठको रूखद्वारा आफ्नो घर निर्माण गरेका थिए। सानन्नीम केदेश शहरको नजिकमा थियो। कसैले सीसरालाई भने कि अबीनोअमका छोरा बाराक तबोर पर्वतमा थियो। यसर्थ सीसराले आफ्ना 900 फलामका रथहरू भेला गरे। सीसराले सबै मानिसहरूलाई पनि आफूसित एकत्रित गरे। तिनीहरू हरोशेत हग्गोयिम शहरदेखि कीशोन नदी तर्फ हिंडे। तब दबोराले बाराकलाई भनिन्, “आज परमप्रभुले सीसरालाई पराजित गर्न तिमीहरूलाई सहायता प्रदान गर्नुहुनेछ। तिमीहरू निश्चयनै त्यो जान्दछौ कि परमप्रभुले तिमीहरूलाई युद्ध गर्नको निम्ति डोर्याउनु हुनेछ।” यसकारण बाराकले 10,000 मानिसहरूलाई ताबोर पर्वतबाट तल झारे। बाराक अनि तिनका मानिसहरूले सीसरालाई आक्रमण गरे। युद्ध भइरहेको समयमा परमप्रभुले सीसरा अनि तिनका रथ अनि मानिसहरूलाई अल्मलाई दिनुभयो। के गर्नु पर्ने तिनीहरूले जानेनन्। यसर्थ बाराक अनि तिनका मानिसहरूले सीसरालाई पराजित गरे। तर सीसराले आफ्नो रथ छोडिदिए अनि पैदलनै भागे। बाराक अनि तिनका मानिसहरू सीसराका सेनासित युद्ध गरिरहे। बाराक अनि तिनका मानिसहरूले सीसराका रथहरू र सेनालाई हरोशेत हग्गोयिमसम्म खेदेर लगे। बाराक अनि तिनका मानिसहरूले सीसराका मानिसहरूलाई मार्न तिनीहरूका निम्ति तरवार प्रयोग गरे। सीसराका कुनै पनि मानिसलाई जीवित छोडेनन्। तर सीसरा भागे। तिनी त्यो पालमा आए जहाँ याएल नाउँकी स्त्री बस्थिन्। याएल हेबेर नाउँका मानिसकी पत्नी थिइन्। तिनी केनी मानिसहरू मध्ये एक थिइन्। हेबेरका परिवार हसोरका राजा याबीन साथ शान्तिसित थिए। यसर्थ सीसरा याएलको पालतिर भागे। याएलले सीसरालाई आउँदै गरेको देखिन्, यसर्थ उसलाई भेट्न तिनी बाहिर गइन्। याएलले सीसरालाई भनिन्, “महाशय मेरो पालमा आउनु होस्। भित्र आउनु होस्। भयभीत नहुनुहोस्।” यसर्थ सीसरा याएलको पालमा गए, अनि तिनले उसलाई एउटा गलैंचाले ढाकिदिइन्। सीसराले याएललाई भने, “म तिर्खाएको छु। कृपया मलाई केही पानी पिउन देऊ।” याएलसित पशुको छालाद्वारा बनाएका एउटा थैलो थियो। तिनले त्यस थैलोमा दूध राखेकी थिइन्। याएलले सीसरालाई दूध पिउन दिइन्। त्यसपछि सीसरालाई गलैंचाले छोपिदिइन्। तब सीसराले याएललाई भने, “जाऊ, पालको प्रवेश स्थानमा उभिरहु। यदि कोही आएर तिमीलाई, ‘यहाँ भित्र कोही छ?’ भनेर सोध्यो भने, ‘छैन भनेर त्यसलाई भनिदिनु।’” तर याएलले एक कीला र मार्तोल खोजिन्। याएल चूपचाप सीसरा कहाँ गइन्। सीसरा अत्यन्त थकित थिए, यसर्थ तिनी निदाइरहेका थिए। याएलले त्यो पालको किला सीसराका शिर तिर राखिन् अनि त्यसलाई मार्तोलले हिर्काइन्। त्यो पालको कीला सीसराको शिरको छेउ भएर भूइँमा गाडियो अनि सीसराको मृत्यु भयो। त्यति नै बेला याएलको पालको छेउमा बाराक, सीसरालाई खोज्दै आए। याएल बाराकलाई भेट्न बाहिर आइन् अनि भनिन्, “भित्रै आउनु होस्, अनि म तपाईंले खोजीरहनु भएको मानिस तपाईंलाई देखाउँने छु।” यसर्थ बाराक याएलसँग पालभित्र पसे। त्यहाँ बाराकले सीसरालाई तिनको शिरको छेउबाट पार गएको पालको कीला सहित भूइँमा मरिरहेको भेट्टाए। त्यसदिन परमेश्वरले इस्राएली मानिसहरूका निम्ति कनानका राजा याबीनलाई पराजित गर्न दिनुभयो। यसरी इस्राएली मानिसहरूले कनानका राजा याबीनलाई पराजित नपारून्जेल झन्-झन् शक्तिशाली हुँदै गए। इस्राएलका मानिसहरूले अन्तमा कनानका राजा याबीनलाई नष्ट पारे।

न्यायकर्ताहरू 4:1-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एहूदको मृत्‍युपछि इस्राएलका मानिसहरूले फेरि पाप गरे। यसकारण परमप्रभुले हासोर सहरमा राज गर्ने कनानी राजा याबीनको हातमा तिनीहरूको हार हुन दिनुभयो। याबीनको सेनापति सीसरा थियो। ऊ अन्‍यजातिहरू बास गर्ने हरोशेतमा बस्‍दथ्‍यो। याबीनका नौ सय फलामका रथहरू थिए। उसले क्रूरतापूर्वक बीस वर्षसम्‍म इस्राएलीहरूमाथि राज गर्‍यो। तब इस्राएलीहरूले परमप्रभुलाई मद्दत मागेर पुकारे। त्‍यस बेला लप्‍पीदोतकी स्‍वास्‍नी दबोरा नाम गरेकी एउटी अगमवादिनी इस्राएलीहरूका न्‍यायकर्ता थिइन्। एफ्राइमको पहाडी देशमा रामा र बेथेलबीचको एउटा खजुरको रूखमुनि तिनी बस्‍दथिइन्। इस्राएलीहरू तिनीकहाँ निसाफ खोज्‍न आउँथे र तिनको फैसला सुन्‍थे। एक दिन अबीनोअमका छोरा बाराकलाई नप्‍तालीको केदेश सहरबाट बोलाउन पठाएर तिनले भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई यो आज्ञा दिनुभएको छ– ‘नप्‍ताली र जबूलून कुलदेखि दश हजार मानिसहरू लिएर तँ तबोर पहाडमा जा। कीशोन नदीछेउ तँसँग युद्ध गर्नलाई याबीनका सेनापति सीसरालाई म ल्‍याउनेछु। ऊसँग उसका रथ र सेना रहनेछन् तर म तँलाई तिनीहरूमाथि विजय गरिदिनेछु।” बाराकले दबोरालाई उत्तर दिए, “तपाईं मसँग जानुहुन्‍छ भने म जानेछु तर जानुहुन्‍न भने म पनि जानेछैनँ।” उनले भनिन्, “हुन्‍छ, म तिमीसँग जाउँला तर तिमीले केही नाम पाउनेछैनौ, कारण परमेश्‍वरले सीसरालाई एउटी स्‍त्रीको हातमा पारिदिनुहुनेछ।” यसरी दबोरा बाराकसित केदेशतिर लागिन्। बाराकले नप्‍ताली र जबूलून कुलदेखि मानिसहरूलाई बोलाए र दश हजार उनका पछि लागे। दबोरा ऊसँग गइन्। त्‍यति बेला केदेशको केनी सानन्‍नीममा एउटा ठूलो फलाँट वा बज्राँठको रूखको छेउमा आफ्‍नो पाल हालेर केना-वंशको हेबेर बसेको थियो। ऊ अरू केनीहरूबाट छुट्टिएको थियो। केनीहरू मोशाका साला होबाबका सन्‍तान थिए। बाराक तबोर पहाडमा गएको कुरा सीसराले सुन्‍यो। उसले नौ सय रथ र सारा सेनालाई बोलायो र तिनीहरूलाई अन्‍यजातिहरूको हरोशेतदेखि कीशोन नदीमा पठायो। तब दबोराले बाराकलाई भनिन्, “जाऊ, परमप्रभु तिम्रा अघि-अघि हुनुहुन्‍छ। उहाँले आज तिमीलाई सीसरामाथि विजय दिनुहुनेछ।” दश हजार मानिसहरू लिएर बाराक तबोर पहाडबाट तल झरे। आफ्‍ना सेनासँग उनले आक्रमण गरे। परमप्रभुले सीसरा र उसका सेना र रथहरूलाई छरपष्‍ट पारिदिनुभयो। सीसरा रथबाट उत्रेर पैदलै भाग्‍यो। सीसराका सेना र रथहरूलाई अन्‍यजाति बास गर्ने– हरोशेतसम्‍म बाराकले खेदे र सारा सेना मारिदिए। एक जना पनि बाँचेन। सीसरा भागेर केनी हेबेरकी स्‍वास्‍नी याएलको पालमा पुग्‍यो। हासोरका राजा याबीन र केनी हेबेरका घरानामा मेल थियो। याएल आएर सीसरालाई भेटी र भनी, “आउनुहोस्‌, महाशय, मेरो पालमा आउनुहोस्‌। डर नमान्‍नुहोस्‌।” ऊ भित्र पस्‍यो र याएलले उसलाई एउटा पर्दाको पछि लुकाई। उसले भन्‍यो, “मलाई पानी पिउन दिनुहोस्। मलाई तिर्खा लागेको छ।” दूधले भरेको एउटा छालाको मशक खोलेर याएलले उसलाई पिउन दिई र फेरि उसलाई लुकाइदिई। सीसराले याएललाई भन्‍यो, “पालको ढोकामा उभिनुहोस्, कसैले यहाँ कोही छ कि भनी सोधे ‘कोही छैन’ भनिदिनुहोस्।” सीसरा औधी थाकेको थियो र भुसुक्‍क निदायो। तब एउटा मुङ्ग्रो र पालको कीला लिएर याएल आई। त्यो बिस्‍तारै सीसराको छेउमा गई र कीला कन्‍चटमा ठोकेर वारपार गरी भूइँमा गाडिदिई। यसरी त्यसले सीसरालाई मारी। सीसरालाई खोज्‍दै बाराक त्‍यहाँ आइपुग्‍यो। याएलले उसलाई भेटी र भनी “यहाँ आऊ, तिमीले खोजेको मानिस म देखाइदिनेछु।” ऊ याएलसँग पालमा पस्‍यो र त्‍यहाँ सीसरालाई किला टाउकोमा वारपार भएर मरेको र लडिरहेको भेट्टायो। त्‍यो दिन परमेश्‍वरले कनानी राजा याबीनमाथि इस्राएलीहरूलाई विजय गराउनुभयो। तिनीहरूले उसलाई चेप्‍दै-चेप्‍दै लगेर अन्‍तमा मारिछोडे।