न्यायकर्ताहरू 13:20-24
न्यायकर्ताहरू 13:20-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब त्यस वेदीबाट स्वर्गतिर एउटा ज्वाला उठ्यो, तब ज्वालासँगै परमप्रभुका दूत मास्तिर गए। यो देखेर मानोह र तिनकी पत्नी घोप्टो परे। त्यसपछि परमप्रभुका ती दूत मानोह र तिनकी पत्नीकहाँ फेरि देखा परेनन्, र मानोहले ती त परमप्रभुका दूत रहेछन् भनी थाहा पाए। तर तिनले आफ्नी पत्नीलाई भने, “हामी त निश्चय नै मर्नेछौं, किनभने हामीले परमेश्वरलाई देखेका छौं।” तर तिनकी पत्नीले जवाफ दिइन्, “परमप्रभुले हामीलाई मार्ने नै इच्छा गर्नुभएको भए उहाँले हाम्रा हातका होमबलि र अन्नबलि ग्रहण गर्नुहुनेथिएन र यी सबै कुरा देखाउनुहुनेथिएन वा भन्नुहुनेथिएन।” ती स्त्रीले एउटा छोरो जन्माइन् र तिनको नाउँ शिमशोन राखिन्। त्यो बालक बढ्न लाग्यो, र परमप्रभुले त्यसलाई आशिष् दिनुभयो।
न्यायकर्ताहरू 13:20-24 पवित्र बाइबल (NERV)
मानोह अनि उसकी पत्नीले जे भइरहेछ त्यो हेरि रहे। वेदी देखि आगोको ज्वाला आकाश तिर उठ्दै जाँदा परमप्रभुका स्वर्गदूत आगोमा माथि स्वर्गतिर जानुभयो। जब मानोह अनि तिनकी पत्नीले त्यो देखे, तिनीहरूले आफ्नो अनुहार भूँइतिर पारेर शिर झुकाए। मानोहले आखिरमा त्यस व्यक्ति परमप्रभुका स्वर्गदूत थिए भनी बुझे। परमप्रभुका स्वर्गदूत फेरि मानोहसित देखा पर्नु भएन। मानोहले आफ्नी पत्नीलाई भने, “हामीले परमेश्वरको दर्शन गर्यौं। यसले गर्दा निश्चयनै हाम्रो मृत्यु हुनेछ।” तर तिनकी पत्नीले तिनलाई भनिन्, “परमप्रभुले हामीलाई मार्न चाहनुहुन्न। यदि परमप्रभुले हामीलाई मार्न चाहनु भएको भए हामीले अर्पण गरेका होमबलि अनि अन्नबलि उहाँले स्वीकार गर्नुहुने थिएन। उहाँले यी सबै कुराहरू हामीलाई देखाउनु हुने थिएन। अनि हामीलाई यी कुराहरू उहाँले भन्नुहुने थिएन।” यसरी त्यस स्त्रीको एउटा छोरो जन्मियो। तिनले उसको नाउँ शिमशोन राखिन्। शिमशोन हुर्किए अनि परमप्रभुले तिनलाई आशिष दिनुभयो।
न्यायकर्ताहरू 13:20-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
वेदीबाट एउटा आगोको ज्वाला निस्क्यो र त्यस बेला परमेश्वरका दूत ज्वालासँगै स्वर्गतिर गएको मानोह र उसकी स्वास्नीले देखे। तब मानोहले थाहा पायो कि ती मानिस परमप्रभुका दूत रहेछन् र ऊ आफ्नी स्वास्नीसँग भूइँमा घोप्टो पर्यो। फेरि तिनीहरूले परमेश्वरको दूतलाई कहिल्यै पनि देखेनन्। मानोहले आफ्नी स्वास्नीलाई भन्यो, “हामी निश्चय मर्नेछौं, कारण हामीले परमेश्वरलाई देखेका छौं।” तर त्यसकी स्वास्नीले भनी, “यदि परमप्रभुले हामीलाई मार्ने इच्छा गर्नुभएको हुँदो हो त उहाँले हाम्रा बलिदान ग्रहण गर्नुहुने थिएन। यी सबै कुरा हामीलाई देखाउनुहुने थिएन अनि ती सबै कुरा हामीलाई त्यस बेला सुनाउनु पनि हुनेथिएन।” त्यस स्त्रीले एउटा छोरो जन्माई। उसको नाम शिमशोन राखी। बालक बढ्दैगयो र परमप्रभुले उसलाई आशिष् दिनुभयो।