न्यायकर्ताहरू 13:13-16
न्यायकर्ताहरू 13:13-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुका दूतले जवाफ दिएर भने, “मैले जे भनेको छु सो कुरा तिम्री पत्नीले होशियारसँग पालन गर्नुपर्छ। दाखको बोटबाट निस्केको केही पनि तिनले चाख्नुहुँदैन। तिनले दाखमद्य वा अरू मत्ताएको मद्य पिउनुहुँदैन। कुनै पनि अशुद्ध खानेकुरा तिनले खानुहुँदैन। मैले जे भनेको छु त्यो सबै तिनले गर्नुपर्छ।” मानोहले परमप्रभुका दूतलाई भने, “कृपा गरी पर्खनुहोस्, र हामी तपाईंको निम्ति एउटा पाठो तयार गर्नेछौं।” परमप्रभुका दूतले जवाफ दिए, “तिमीहरूले मलाई रोक्यौ भने पनि म तिमीहरूले चढ़ाएको भोजन खान्नँ। तर तिमीहरूको इच्छा छ भने होमबलि तयार गर र त्यो परमप्रभुमा चढ़ाओ।” मानोहले तिनलाई परमप्रभुका दूत हुन् भनी चिनेनन्।
न्यायकर्ताहरू 13:13-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभुका दूतले उत्तर दिए, “मैले भनेका सबै कुरा तेरी स्वास्नीले पालन गर्नुपर्नेछ। दाखका बोटबाट आएको कुनै कुरा त्यसले खानुहुँदैन। दाखमद्य वा कुनै प्रकारको मादक पदार्थ पिउनुहुँदैन। कुनै मनाही गरिएको भोजन खानुहुँदैन। मैले भनेका हरेक कुरा त्यसले मान्नुपर्नेछ।” ती मानिस परमप्रभुका दूत हुन् भनी मानोहले चिनेन र भन्यो, “कृपा गरी कतै नजानुहोस्। हामी एउटा पाठो काटेर तपाईंको निम्ति केही भोजन तयार पार्नेछौं।” परमेश्वरको दूतले भने, “म बसें भने पनि तिम्रो खाना खानेछैनँ। तर खाना तयार पार्नेछौ नै भने पाठोलाई बरु परमेश्वरकहाँ होमबलि चढाओ।”
न्यायकर्ताहरू 13:13-16 पवित्र बाइबल (NERV)
परमप्रभुका दूतले मानोहलाई भने, “मैले तिम्री पत्नीलाई भनेका हरेक कुरा गर्नुपर्छ। दाखको बोटमा फलेका कुनै फलपनि उसले खानु हुँदैन। उसले कुनै दाखरस वा कडा पिउने पदार्थ पिउनु हुँदैन। उसले कुनै यस्तो भोजन खानु हुँदैन जुन अशुद्ध छ। मैले उसलाई गर्नु भनी आदेश गरेका हरेक कुरा गर्नुपर्छ।” तब मानोहले परमप्रभुका दूतलाई भने, “हामी, तपाईं यहाँ एक क्षण बस्नु भएको चाहन्छौं। हामी तपाईंलाई भोजन गराउनका निम्ति एउटा बाख्राको पाठो पकाउन चाहन्छौं।” परमप्रभुका दूतले मानोहलाई भने, “मलाई जानबाट तिमीले रोके पनि म तिम्रो भोजन लिने छैन। तर तिमी केही तयार गर्न चाहन्छौ भने परमप्रभुलाई एक होमबलि अर्पण गर।” (मानोहले त्यो व्यक्ति वास्तवमा परमप्रभुका स्वर्गदूत हुन भनी बुझेनन्।)