न्यायकर्ताहरू 1:5-30
न्यायकर्ताहरू 1:5-30 पवित्र बाइबल (NERV)
बेजेक शहरमा यहूदाका मानिसहरूले बेजेकका शासकलाई भेट्टाए अनि तिनीहरूसित लडे। यहूदाका मानिसहरूले कनानी अनि परिज्जीहरूलाई पराजित गरे। बेजेकका राज्यपाल उम्कने कोशिश गरे। तर यहूदाका मानिसहरूले तिनलाई खेदे र समाते। जब तिनीहरूले उसलाई समाते, तिनीहरूले तिनका बूढी-औंलाहरू काटिदिए। तब बेजेकका शासकले भने, “मैले सत्तरी जना राजाहरूको हात र खुट्टाका बूढी-औंलाहरू काटिदिएँ। अनि ती राजाहरूले मेरो मेचबाट झरेका खानेकुराका टुक्राहरू खानु पर्यो। मैले ती राजाहरू प्रति गरेका कुराहरू अहिले म माथि परमेश्वरले फर्काउनु भयो।” यहूदाका मानिसहरूले बेजेकका शासकलाई यरूशलेममा लगे अनि त्यहाँ उसको मृत्यु भयो। यहूदाका मानिसहरू यरूशलेमको विरूद्ध लडे अनि त्यसलाई कब्जा गरे। यहूदाका मानिसहरूले यरूशलेमका मानिसहरूलाई मार्न आफ्ना तरवारहरू प्रयोग गरे। त्यसपछि तिनीहरूले त्यस शहरलाई जलाइदिए। पछि यहूदाका मानिसहरू धेरै कनानीहरूसँग युद्ध गर्ने उँधोतिर आए जो नेगेवको पहाडी देश अनि पश्चिमी मैदानतिर बस्थे। तब यहूदाका मानिसहरू कनानी मानिसहरूको विरूद्ध युद्ध गर्न गए जो हेब्रोनमा बस्थे। (हेब्रोनको अर्को नाउँ किर्यात-अर्बा थियो) यहूदाका मानिसहरूले शेशै, अहीमन अनि तल्मै नाउँका मानिसहरूलाई पराजित गरे। यहूदाका मानिसहरूले त्यो स्थानलाई छोडे। तिनीहरू त्यहाँका मानिसहरू विरूद्ध लडनको निम्ति दबीर शहर तर्फ गए। (बितेको समयमा दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो) तर यहूदाका मानिसहरूले युद्ध शुरूगर्नु अघि कालेबले मानिसहरूलाई शपथ गराए। कालेबले भने, “म किर्यत-सेपेर माथि लडाइँ गर्न चाहन्छु। म मेरी छोरी अक्सालाई त्यस मानिससित विवाह गर्न दिनेछु जसले त्यो शहरमाथि आक्रमण गर्छ अनि त्यसलाई कब्जा गर्छ। म त्यस मानिसलाई मेरो छोरीसित विवाह गरि दिनेछु।” कालेबको कनज नाउँको कान्छो भाइ थियो। कनजको ओत्निएल नाउँको एउटा छोरो थियो। ओत्निएलले किर्यत-सेपेर शहरमालाई कब्जा गरे। यसर्थ कालेबले आफ्नी छोरी अक्सालाई उसको पत्नी हुन दिए। अक्सा ओत्निएलसित बस्नगइन्। ओत्निएलले अक्सालाई आफ्ना पितासित केही भूमि माग्नु भने। अक्सा पिता कहाँ गइन्। जब तिनी आफ्नो गधाबाट ओर्लिन् कालेबले तिनलाई भने, “के गल्ती भयो?” अक्साले कालेबलाई उत्तर दिइन्, “मलाई एक आशीर्वाद दिनुहोस्। तपाईंले मलाई नेगेबमा एक टुक्रा जमीन दिनुभयो। कृपया मलाई त्यसमा पानीको व्यवस्था गरिदिनु होस्।” यसर्थ कालेबले अक्सालाई तिनले चाहेको कुरा दिए। कालेबले अक्सालाई त्यस भूमिका माथिल्लो अनि तल्लो पानीको मूलहरू दिए। मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरू खजूरका रूखहरूको शहरबाट आराद नजीक नेगेवमा भएको यहूदाको मरुभूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। केही कनानी मानिसहरू सपत शहरमा बस्थे। यसर्थ यहूदा अनि शिमोनका कुल समूहका मानिसहरूले ती कनानी मानिसहरू माथि आक्रमण गरे। तिनीहरूले पूर्णरूपले शहरलाई नाश पारे। यसर्थ तिनीहरूले त्यो शहरको नाउँ होर्मा राखे। यहूदाका मानिसहरूले गाजा शहर अनि त्यसका वरिपरिका स-साना शहरहरूलाई पनि अधिकारमा लिए। यहूदाका मानिसहरूले अश्कलोन, एक्रोन शहरहरू अनि ती वरिपरिका सबै स-साना शहरहरूलाई पनि कब्जा गरे। यहूदाका मानिसहरूले जब युद्ध गरे परमप्रभु तिनीहरूका पक्षमा हुनुहुन्थ्यो। तिनहरूले पहाडी देशको भूमि लिए। तर यहूदाका मानिसहरूले बेंसीको भूमि लिन असफल भए, किनभने त्यहाँ बस्ने मानिसहरूसित फलामका रथहरू थिए। मोशाले कालेबलाई हेब्रोन दिएका थिए। यसर्थ त्यो भूमि कालेबका कुललाई दिए। कालेबका मानिसहरूले अनाकका तीनजना छोराहरूलाई त्यो स्थान छोड्न वाध्य तुल्याए। बिन्यामीन कुल समूहले यबूसी मानिसहरूलाई यरूशलेम छोड्न वाध्य तुल्याउन सकेनन्। यसकारण आज पनि, यरूशलेममा यबूसी मानिसहरू बिन्यामीन कुल समूहसित बस्छन्। यूसुफका कुल समूहका मानिसहरू बेथेल विरूद्ध लँडाईं गर्न गए। (अतीतमा बेथेललाई लूज भनिन्थ्यो।) परमप्रभु यूसुफका कुल समूहका मानिसहरूका पक्षमा हुनुहुन्थ्यो। यूसुफका कुल समूहका मानिसहरूले बेथेल शहरमा केही जासूसहरू पठाए। ती मानिसहरू बेथेल शहरलाई पराजित गर्ने मौका खोजीरहेका थिए। जब ती जासूसहरूले बेथेल शहरलाई हेर्दैथे तिनीहरूले एकजना मानिसलाई शहर बाहिर आइरहेको देखे र जासूसहरूले त्यस मानिसलाई भने, “हामीलाई शहर भित्र प्रवेश गर्ने एउटा गुप्त मार्ग देखाऊ। हामी शहर माथि आक्रमण गर्नेछौं। तर यदि तिमीले हामीलाई सहायता गर्यौ भने हामी तिमीलाई नोक्सान पुर्याउने छैनौं।” त्यो मानिसले जासूसहरूलाई शहर भित्र पस्ने गुप्त मार्ग देखाइ दियो। यूसुफका मानिसहरूले बेतेलका मानिसहरूलाई मार्न तिनीहरूका तरवारहरू प्रयोग गरे। तर त्यो मानिस अनि उसको सबै परिवारका सदस्यहरूलाई तिनीहरूले शहर कब्जा गर्न सहायता गरेको कारणले स्वतन्त्र साथ शहर जान दिए। त्यो मानिस त्यसपछि त्यस देशमा गयो जहाँ हित्ती मानिसहरू बस्थे र शहर निर्माण गर्यो। उसले त्यो शहरलाई लूज नाउँ दियो। अनि त्यो शहरलाई आजसम्म पनि लूज नै भनिन्छ। कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे। पछि इस्राएलका मानिसहरू शक्तिशाली भए अनि कनानी मानिसहरूलाई तिनीहरूका दासको रूपमा कार्य गर्न बाध्य तुल्याए। तर इस्राएलका मानिसहरूले समस्त कनानी मानिसहरूलाई तिनीहरूका भूमि छोड्न बाध्य तुल्याउन सकेनन्। एप्रैम कुल समूहका मानिसहरूसित पनि त्यस्तै (घट्ना) भयो तिनीहरूले कनानी मानिसहरूलाई गेजेर देखि भगाउन सकेनन्। यसर्थ कनानी मानिसहरू एप्रैम गेजेरका मानिसहरूसित बसिरहे। जबूलूनका कुल समूहका मानिसहरूसित पनि त्यस्तै भयो। जबूलूनका मानिसहरूले कनानी मानिसहरूलाई कित्रोन र नहलोल शहरहरूबाट बाहिर निकालेनन् ती कनानी मानिसहरू त्यहाँ रहेर जबूलूनका मानिसहरूसित बसे। तर जबूलूनका मानिसहरूले ती मानिसहरूलाई तिनीहरूका निम्ति दासको रूपमा काम गर्न लगाए।
न्यायकर्ताहरू 1:5-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेटे र ऊसँग लडाइँ गरे। ऊ भाग्यो तर पछिपछि खेदेर तिनीहरूले उसलाई पक्रे। उसका हात र खुट्टाका बुढी औँलाहरू काटिदिए। अदोनी-बेजेकले भन्यो, “हात र खुट्टाका बुढी-औँलाहरू काटिएका सत्तरी जना राजाहरू मेरा टेबिलमुनि खानाका टुक्रा-टाक्री टिपी खान्थे। मैले तिनीहरूलाई जसो गरेको थिएँ, परमेश्वरले मसँग त्यसै गर्नुभएको छ।” उसलाई यरूशलेम लगे र त्यहाँ ऊ मर्यो। यहूदाका मानिसहरूले यरूशलेममाथि हमला गरेर कब्जा गरे। त्यहाँका मानिसहरूलाई मारी तिनीहरूले सहरमा आगो लगाइदिए। त्यसपछि पहाडी देशमा, नेगेवमा र दक्षिण तराईको सुक्खा प्रान्तमा बस्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। हेब्रोन सहरमा बास गर्ने कनानीहरूमाथि तिनीहरूले आक्रमण गरे। त्यस बेला हेब्रोनलाई किर्यत-अर्बा भनिन्थ्यो। त्यहाँ तिनीहरूले शेशै, अहीमन र तल्मैका कुललाई हराए। त्यसपछि यहूदाका मानिसहरूले दबीर सहरमाथिहरू आक्रमण गरे। त्यस समय दबीरलाई किर्यत-सेपेर भनिन्थ्यो। तीमध्ये कालेब नाम गरेको एक जनाले भने, “जुन मानिसले किर्यत-सेपेर कब्जा गर्छ, उसैलाई म मेरी छोरी अक्सालाई विवाह गर्न दिनेछु।” कालेबको भाइ कनजको छोरा ओत्निएलले सो सहर कब्जा गरे र कालेबले उसलाई आफ्नी छोरी अक्सासँग विवाह गर्न दिए। विवाहको दिनमा ओत्निएलले अक्सालाई आफ्ना बुबासँग जमिन माग्न लाए। तिनी आफू चढेको गधाबाट उत्रिन्। बुबाले चाहिँ तिनलाई “अब के चाहियो?” भनी सोधे। तिनले भनिन्, “तपाईंले मलाई सुक्खा मुलुक दिनुभएको नेगेवमा मलाई केही पानीका मुहानहरू चाहिन्छ।” कालेबले तिनलाई माथिल्लो र तल्लो पानीका मुहानहरू दिए। यरीहोदेखि यहूदावंशीहरूसँग मोशाका ससुराका शाखा सन्तान केनीहरू आरादको दक्षिणतर्फ यहूदाको उजाड-भूमिमा गए। यरीहोलाई खजूरका रूखहरूको सहर भनिन्थ्यो। तिनीहरू यहूदामा अमालेकीहरूका बीच बास गर्न थाले। यहूदावंशी र शिमियोनवंशीहरू मिलेर गई सपत सहरमा बस्ने कनानीहरूलाई जिते। तिनीहरूले त्यस सहरलाई सरापे र भस्म गरे र त्यसको नाम होर्मा राखे। परमप्रभुले यहूदाका मानिसहरूलाई मद्दत गर्नुभयो र तिनीहरूले पहाडी देश अधिकार गरे। तर गाजा, अश्कलोन, एक्रोन र तिनका वरिपरिका ठाउँ भने तिनीहरूले कब्जा गरेनन्। यी मानिसहरू समुद्रका किनारमा बास गर्थे र तिनका फलामका रथहरू थिए। यसकारण यहूदी मानिसहरूले तिनीहरूलाई धपाउनै सकेनन्। मोशाले आज्ञा गरेअनुसार कालेबले हेब्रोन पाए। सो सहरदेखि अनाकका तीन कुललाई कालेबले धपाए। बेन्यामीनी कुलका मानिसहरूले यरूशलेममा बस्ने यबूसीहरूलाई धपाएनन्। यसैले यरूशलेममा आजसम्म यबूसीहरू बेन्यामीनीहरूसँग बसेका छन्। एफ्राइम र मनश्शे कुलहरूले बेथेल सहरमाथि आक्रमण गरे। त्यस समय बेथेललाई लूज भनिन्थ्यो। परमप्रभुले तिनीहरूलाई मद्दत गर्नुभयो। तिनीहरूले सहरमा जासूसहरू पठाए। जासूसहरूले एउटा मानिसलाई सहरदेखि निस्कँदैगरेको देखे र भने, “यस सहरमा कसरी पस्न सकिन्छ, हामीलाई पनि भन, हामी तिम्रो केही हानि गर्नेछैनौं।” त्यस मानिसले बाटो देखाइदियो। त्यो मानिस र उसको परिवार छोडी सहरका अरू सबै मानिसहरूलाई एफ्राइम र मनश्शेका मानिसहरूले मारे। पछिबाट त्यो मानिस हित्तीहरूको देशमा गयो र त्यहाँ एउटा सहर बसाल्यो। उसले त्यसको नाम लूज राख्यो अनि आजसम्म त्यस सहरको नाम त्यही कायम छ। बेथ-शान, तानाक, डोर, यिबलाम, मगिद्दो र तिनका वरिपरिका सहरमा बस्ने मानिसहरूलाई मनश्शे कुलले धपाएनन् र त्यहाँ कनानीहरू बसिरहे। इस्राएलीहरू झन् बलिया भएपछि तिनीहरूले कनानीहरूलाई आफ्ना काम गर्न कर लाए तर तिनीहरू सबैलाई धपाएनन्। गेजेर सहरमा बस्ने कनानीहरूलाई एफ्राइम कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरिरहे। कित्रोन र नहलोल सहरका बासिन्दाहरूलाई जबूलून कुलले धपाएनन्, कनानीहरू तिनीहरूसित त्यहाँ बसोबास गरेरहे र इस्राएलीहरूले तिनीहरूलाई आफ्ना लागि काम गर्न कर लगाए।
न्यायकर्ताहरू 1:5-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यहाँ तिनीहरूले अदोनी-बेजेकलाई भेट्टाए र तिनीहरूले लड़ाइँ गरे, र कनानीहरू र परिज्जीहरूलाई तिनीहरूले परास्त गरे। अदोनी-बेजेकचाहिँ भागे, तर तिनीहरूले उनलाई खेदेर पक्रे, र उनका हात र खुट्टाका बूढ़ी-औँला काटिदिए। अदोनी-बेजेकले भने, “हात र खुट्टाका बूढ़ी-औँला काटिएका सत्तरी जना राजाहरू मेरो टेबिलमुनि जूठाहरू टिप्ने गर्थे। मैले उनीहरूलाई जस्तो गरेको थिएँ परमेश्वरले मलाई त्यस्तै गर्नुभएको छ।” तब तिनीहरूले उनलाई यरूशलेममा ल्याए र उनी त्यहीँ मरे। यहूदाका मानिसहरूले यरूशलेममाथि चढ़ाइ गरेर त्यसलाई कब्जा गरे। तिनीहरूले त्यसका मानिसहरूलाई तरवारले मारे, र त्यस सहरमा आगो लगाइदिए। त्यसपछि यहूदाका मानिसहरू दक्षिणतिर लागेर पहाड़ी देशमा, नेगेवमा र तराईमा भएका कनानीहरूसँग लड़ाइँ गर्नलाई उँधोतिर झरे। तिनीहरूले हेब्रोनका कनानीहरूलाई आक्रमण गरे, र शेशै, अहीमन र तल्मैलाई परास्त गरे। (हेब्रोनको पहिलेको नाउँ किर्यत-अर्बा थियो।) त्यहाँबाट तिनीहरू दबीरका बासिन्दाहरूका विरुद्धमा जाइलागे। (दबीरको पहिलेको नाउँ किर्यत-सेपेर थियो।) अनि कालेबले भने, “जसले किर्यत-सेपेरलाई आक्रमण गरेर त्यो लिन्छ, त्यससँग म मेरी छोरी अक्सालाई विवाह गरिदिनेछु।” तब कालेबका भाइ कनजका छोरा ओत्निएलले त्यो लिए। र कालेबले आफ्नी छोरी अक्सालाई उनीसँग विवाह गरिदिए। एक दिन जब अक्सा ओत्निएलकहाँ आइन् तब उनले तिनलाई आफ्ना पितासित एक टुक्रा जमिन माग्नलाई सुर्याए। जब तिनी आफ्नो गधाबाट ओर्लिन् तब कालेबले तिनलाई सोधे, “तँलाई के चाहियो?” तिनले भनिन्, “मलाई एउटा दाइजो दिनुहोस्। तपाईंले मलाई नेगेवमा जग्गा दिनुभएको कारणले, अब मलाई पानीका मूलहरू पनि दिनुहोस्।” यसैले कालेबले तिनलाई माथिल्लो र तल्लो दुवै पानीका मूलहरू दिए। मोशाका ससुराका सन्तान, केनीहरू यहूदाका मानिसहरूसँग खजूरका रूखहरूको सहरबाट आराद नजिकको नेगेवमा भएको यहूदाको उजाड़-भूमिमा गए, र त्यहाँका मानिसहरूसँग बसोबास गर्न लागे। त्यसपछि यहूदाका मानिसहरूले आफ्ना दाजुभाइ शिमियोनहरूसँग गएर सपतमा बस्ने कनानीहरूलाई आक्रमण गरेर त्यस सहरलाई पूर्ण रूपले नाश गरे। यसकारण त्यस सहरको नाउँ होर्मा राखियो। यहूदाले गाजा, अश्कलोन र एक्रोन सहरहरू र तिनका वरिपरिका जग्गाहरू पनि लिए। परमप्रभु यहूदासँग हुनुहुन्थ्यो, र तिनीहरूले पहाड़ी देशमाथि अधिकार गरे। तर बेँसीका बासिन्दाहरूलाई तिनीहरूले धपाउन सकेनन्, किनभने उनीहरूका फलामका रथहरू थिए। तब मोशाले खटाएअनुसार कालेबलाई हेब्रोन दिइयो, र तिनले अनाकका तीन भाइ छोराहरूलाई धपाए। तर बेन्यामीनीहरूले यरूशलेमका यबूसीहरूलाई धपाएनन्। यसैले यबूसीहरू आजको दिनसम्म बेन्यामीनीहरूसँग यरूशलेममा बसेका छन्। योसेफका कुलले बेथेल आक्रमण गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो। तिनीहरूले बेथेलमा गुप्तचरहरू पठाए। (पहिले बेथेलको नाउँ लूज थियो।) यी गुप्तचरहरूले एक जना मानिसलाई सहरबाट बाहिर आइरहेको देखेर त्यसलाई भने, “सहरभित्र कसरी पस्ने हो हामीलाई बताइदेऊ, र हामी तिम्रो केही नोक्सानी हुन दिनेछैनौं।” यसैले त्यसले तिनीहरूलाई सहरमा कसरी पस्ने हो सो बताइदियो, र तिनीहरूले सहरका मानिसलाई तरवारले मारे, तर त्यस मानिस र त्यसका सारा परिवारलाई छोड़िदिए। त्यो मानिस हित्तीहरूको देशमा गयो, र त्यसले त्यहाँ एउटा सहर बनायो, र त्यसको नाउँ लूज राख्यो। त्यस सहरको नाउँ आजसम्म यही छ। तर मनश्शेले बेथ-शान, तानाक, डोर, यिबलाम र मगिद्दो र तिनका बस्तीहरूका बासिन्दाहरूलाई धपाएनन्। किनकि कनानीहरू ती ठाउँहरूमा बसिरहन मन गरे। पछि जब इस्राएलीहरू शक्तिशाली भए तब तिनीहरूले उनीहरूलाई बेगार काममा लगाए, तर तिनीहरूले कहिल्यै जम्मैलाई धपाएनन्। न त एफ्राइमले गेजेरमा बस्ने कनानीहरूलाई धपाए, तर कनानीहरू गेजेरमा तिनीहरूसँग बसिरहे। जबूलूनले कित्रोन र नहलोलका कनानीहरूलाई धपाएनन्, तर तिनीहरू उनीहरूसँग बसे, र तिनीहरूले उनीहरूलाई बेगार काम गर्ने तुल्याए।