YouVersion लोगो
खोज आइकन

याकूब 4:1-12

याकूब 4:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूका बीचमा लड़ाइँ र झगड़ाहरू कुन कुराले ल्‍याउँछ? के यी सब तिम्रो शरीरका अङ्गहरूमा सङ्घर्ष गर्ने अभिलाषाहरूबाट आएका होइनन्‌ र? तिमीहरू इच्‍छा त गर्दछौ, तर तिमीहरू पाउँदैनौ। तिमीहरू हत्‍या गर्दछौ र लोभ गर्छौ, तर पाउन सक्‍दैनौ। तिमीहरू झगड़ा गर्दछौ र लड़ाइँ गर्छौ। तिमीहरूसित हुँदैन, किनभने तिमीहरू परमेश्‍वरसँग माग्‍दैनौ। तिमीहरू माग्‍छौ तर पाउँदैनौ, किनकि आफ्‍ना अभिलाषा पूरा गर्नलाई बेठीकसित माग्‍छौ। व्‍यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्‍वरसँगको शत्रुता हो भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्‍छ त्‍यसले आफैलाई परमेश्‍वरको शत्रु बनाउँछ। के तिमीहरू यो सम्‍झन्‍छौ, कि पवित्र-धर्मशास्‍त्रले व्‍यर्थमा यसो भन्‍दछ, हामीमा परमेश्‍वरले राख्‍नुभएका आत्‍माको निम्‍ति उहाँ तीव्र डाह राख्‍नुहुन्‍छ, तर उहाँले अझ बढ़ी अनुग्रह दिनुहुन्‍छ? यसैकारण पवित्र-धर्मशास्‍त्र यसो भन्‍दछ, “परमेश्‍वरले अभिमानीहरूको विरोध गर्नुहुन्‍छ, तर नम्रहरूलाई अनुग्रह गर्नुहुन्‍छ।” यसकारण आफैलाई परमेश्‍वरको अधीनमा राख। दियाबलसको विरोध गर, र त्‍यो तिमीहरूबाट भाग्‍नेछ। परमेश्‍वरको नजिक आओ, र उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। पापी हो! तिमीहरूका हात चोखा पार। दोमनका मानिस हो! तिमीहरूका हृदय शुद्ध पार। दुःखी होओ, शोक गर, र रोओ। तिमीहरूको हाँसो शोकमा, र तिमीहरूको आनन्‍द खिन्‍नतामा परिणत होस्‌। प्रभुको सामने आफूलाई विनम्र तुल्‍याओ, र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। भाइ हो, एउटाले अर्काको विरुद्धमा खराब कुरा नगर। जसले आफ्‍नो भाइको विरुद्धमा खराब बोल्‍छ, अथवा आफ्‍नो भाइलाई दोष लाउँछ, त्‍यो व्‍यवस्‍थाको विरुद्धमा बोल्‍छ, र त्‍यसले व्‍यवस्‍थाको दोष देखाउँछ। तर यदि तिमीले व्‍यवस्‍थाको दोष देखाउँछौ भने त तिमी व्‍यवस्‍थाबमोजिम चल्‍ने भएनौ, तर व्‍यवस्‍थाको न्‍यायकर्ता पो भयौ। व्‍यवस्‍था दिने र न्‍यायकर्ता त एउटै हुनुहुन्‍छ, जसले बचाउन र नाश गर्न पनि सक्‍नुहुन्‍छ। तर आफ्‍नो छिमेकीलाई दोष लाउने तिमीहरू को हौ?

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-12 पवित्र बाइबल (NERV)

के तिमीहरूलाई तिमीहरूको झगड़ा र लडाँईँको श्रोत थाहा छ? तिमीहरूका झगड़ा अनि बहसहरू स्वार्थपूर्ण इच्छाहरूबाट आउँछ जसले अन्तमा द्वन्द्व मच्चाउँछ, तिमीहरू चाहन्छौ तर पाउँदैनौ जे तिमीहरू चाहन्छौ। यसर्थ तिमीहरू हत्या गर्छौ अनि अन्य मानिसहरू प्रति इर्ष्या गर्ने हुन्छौ। तैपनि जे इच्छा गर्छौ तिमीहरूले पाउँदैनौ। तिमीहरू झन बहस गर्छौ अनि जुझ्छौ। तिमीहरूले इच्छा गरेको बस्तुहरू पाउँदैनौ किनभने तिमीहरूले परमेश्वरसित माँग्दैनौ। अथवा, जब तिमीहरू माग्छौ तिमीहरूले पाउँदैनौ। किनभने तिमीहरूको माँग्ने तरिका गलत छ। तिमीहरू वस्तु चाहन्छौ केवल आफ्नै आनन्दको निम्ति। अविश्वासनीय मानिस तिमीहरू यो संसारलाई माया गर्नु परमेश्वरलाई घृणा गर्नु जस्तै हो। यसर्थ यदि कोही मानिस संसारको मित्र हुन चाहन्छ भने उसले आफैंलाई परमेश्वरको शत्रु तुल्याउँछ। के तिमीहरू धर्मशास्त्रलाई वेकामे ठान्छौ? यसले भन्छ, “हामीमा परमेश्वरले राख्नु भएका आत्माको निम्ति उहाँ तिव्र डाह राख्नु हुन्छ।” तर परमेश्वरको दया जो हामीलाई दिइएको छ, त्यो महान छ। धर्म शास्त्रले भनेको जस्तै, “घमण्डी मानिसहरूको विरूद्ध परमेश्वर हुनुहुन्छ, तर उहाँले ती मानिसहरूलाई दया प्रदान गर्नु हुन्छ जो विनम्र छन्।” यसर्थ तिमीहरू स्वयंलाई परमेश्वरमा अर्पण गर। शैतानको विरोध गर, अनि तिमीहरूदेखि शैतान भाग्नेछ। परमेश्वरको नजिक आऊ अनि परमेश्वर तिमीहरूको नजिक आउनु हुनेछ। तिमीहरू पापी हौ। यसर्थ तिमीहरूको जीवनदेखि पाप धोउ। जब तिमीहरू दुवै परमेश्वरको अनि संसारको सेवा गर्छौ तिमीहरूको दुइवटा मन छ। यसर्थ तिमीहरूको विचार शुद्ध तुल्याऊ। उदास बन, दुःखी बन अनि विलाप गर। तिमीहरूको हाँसोलाई रोदनमा परिणत गर। तिमीहरूको खुशीलाई अफसोसमा परिवर्त्तन गर। परमप्रभुको सामुन्ने विनम्र बन अनि उहाँले तिमीहरूलाई उच्च पार्नु हुनेछ। भाइ अनि बहिनीहरू, एक अर्काको विरूद्ध केही पनि नभन। जब तिमीहरू ख्रीष्टमा विश्वासी भाइलाई जाँच्छौ, तब तिमीहरू उनले अनुशरण गरेको नियम जाँच गरिरहेछौ। अनि जब तिमीहरू नियमको जाँच गरिरहेका हुन्छौ, तिमीहरू नियम अनुशरण गर्ने हुँदैनौ। तर तिमीहरू व्यवस्थाको न्यायकर्त्ता भयौ। परमेश्वरले मात्र नियमहरू बनाउनु हुन्छ। उहाँमात्र न्यायधीश हुनुहुन्छ। केवल परमेश्वरमात्र हुनुहुन्छ जसले बचाउँन अनि नाश गर्नसक्नु हुन्छ। यसर्थ अन्य व्यक्तिको न्याय गर्नु तिमीहरूका निम्ति उचित हुँदैन।

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-12 नेपाली समकालीन संस्करण (NCV)

तिमीहरूमा झगडा र लडाइँ के कुराबाट आउँछ? के ती तिमीहरूभित्र संघर्ष गर्ने स्वार्थी इच्छाहरूबाट आउँदैनन् र? तिमीहरू इच्छा गर्दछौ, तर पाउँदैनौ; त्यसैले तिमीहरू हत्या गर्दछौ। तिमीहरू लालच गर्दछौ, तर तिमीहरूले चाहेका कुराहरू पाउँदैनौ; त्यसैले तिमीहरू झगडा र लडाइँ गर्दछौ; तर पनि तिमीहरूले पाउँदैनौ, किनकि तिमीहरू परमेश्‍वरसित माग्दैनौ। तिमीहरू माग्दछौ, तर पाउँदैनौ; किनकि तिमीहरूले पाएका कुराहरू आफ्नो सुख-विलासमा खर्च गर्नलाई गलत उद्देश्य राखेर माग्दछौ। तिमी व्यभिचारी मानिसहरू, के संसारसितको मित्रता परमेश्‍वरतर्फको शत्रुता हो भनेर जान्दैनौ? जो संसारसित मित्र हुन चाहन्छ, ऊ परमेश्‍वरको शत्रु बन्छ। अथवा उहाँले हामीभित्र रहनदिनुभएको आत्माले धेरै डाहा गर्नुहुन्छ भनेर पवित्र धर्मशास्त्रले व्यर्थैमा भनेको हो भनी तिमीहरू ठान्छौ? तर उहाँले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ। यसकारण पवित्र धर्मशास्त्रमा लेखिएको छ: “परमेश्‍वरले अहङ्कारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई अनुग्रह दिनुहुन्छ।” यसकारण आफूलाई परमेश्‍वरकहाँ सुम्पिदेओ। शैतानको विरोध गर, अनि त्यो तिमीहरूदेखि भाग्नेछ। परमेश्‍वरको नजिक आओ र उहाँ तिमीहरूको नजिक आउनुहुनेछ। हे पापीहरूहो, आफ्ना हातहरू शुद्ध पार! हे दोमनकाहो, आफ्ना हृदय शुद्ध पार! दुःखित होओ, शोकित होओ र रोओ! तिमीहरूका हाँसो शोकमा र तिमीहरूका आनन्द दुःखमा परिणत होस्। प्रभुको सामुन्‍ने आफूलाई नम्र तुल्याओ र उहाँले तिमीहरूलाई उच्‍च पार्नुहुनेछ। हे दाजुभाइ-दिदीबहिनीहरूहो, एक-अर्काको निन्दा नगर। जसले आफ्ना दाजुभाइ-दिदीबहिनीको विरुद्धमा बोल्छ वा उसलाई न्याय गर्दछ, उसले व्यवस्थाको विरुद्धमा बोल्दछ; र त्यसको न्याय गर्छ। जब तिमीहरूले व्यवस्थाको न्याय गर्छौ भने, तिमीहरूले त्यो पालन गरेका हुँदैनौ, तर न्यायकर्ता बनेर त्यसमाथि बसेका हुन्छौ। व्यवस्था दिने र न्यायकर्ता त एउटै मात्र हुनुहुन्छ, परमेश्‍वर जसले बचाउन र नाश गर्न पनि सक्नुहुन्छ; तर आफ्नो छिमेकीको न्याय गर्ने तिमीहरू को हौ?

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्

याकूब 4:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

तिमीहरूका बीचमा लडाइँ र झैझगडा कहाँबाट आउँछन्? मोजमज्‍जा गर्ने चाहनाले होइन र? जुनचाहिँ तिमीहरूका मनभित्र तँछाड र मछाड गरिरहेका हुन्‍छन्। आफूले चाहना गरेको कुरा नभेट्दा नै मारकाट चल्‍छ। तिमीहरूलाई कुनै कुरा नभई हुँदैन अनि त्‍यो पाउन नसक्‍दा लडाइँ र झैझगडा गर्छौ। परमेश्‍वरसँग नमागेकोले तिमीहरूले खोजेको कुरा पाउँदैनौ। माग्‍यौ भने पनि तिमीहरू मोज-मज्‍जा गर्ने दुष्‍ट विचारले माग्‍छौ र पाउँदैनौ। अविश्‍वासी मानिसहरू हो! संसारलाई माया गर्ने परमेश्‍वरको शत्रु हुन्‍छ भनी तिमीहरूलाई थाहा छैन? संसारलाई मित्र बनाउन खोज्‍नेले परमेश्‍वरलाई आफ्‍नो शत्रु बनाउँछ। “परमेश्‍वरले हामीभित्र राखिदिनुभएको आत्‍माचाहिँ तृष्‍णाले भरिएको हुन्‍छ,” भन्‍ने धर्मशास्‍त्रमा लेखिएको कुरा व्‍यर्थको नठान। तर उहाँले गर्नुभएको अनुग्रह अझ बलियो छ। धर्मशास्‍त्रमा लेखिएको छ, “परमेश्‍वरले घमण्‍डीहरूको विरोध गर्नुहुन्‍छ तर नम्रहरूमाथि अनुग्रह खन्‍याउनुहुन्‍छ।” यसैकारण परमेश्‍वरको अधीनमा बस। शैतानको विरोध गर र त्‍यो तिमीहरूदेखि भाग्‍नेछ। तिमीहरू परमेश्‍वरको नजिक आओ र परमेश्‍वर पनि तिमीहरूको नजिक आउनुहुनेछ। पापीहरू हो, आफ्‍ना हात धोई सफा गर। कपटीहरू हो, आफ्‍नो मन शुद्ध पार। तिमीहरू रोओ, चिच्‍याओ र विलाप गर। तिमीहरूका हाँसोको खित्‍का रुवाइमा बदल। तिमीहरूका आनन्‍द दु:खमा बदलिओस्‌। प्रभुको अघि नम्र बन र उहाँले तिमीहरूलाई उचाल्‍नुहुनेछ। दाजुभाइहरू, कसैको विरुद्ध नराम्रो नभन। आफ्‍ना विश्‍वासी दाजु वा भाइको विरुद्ध नराम्रो भन्‍ने र दोष लगाउने व्‍यक्ति व्यवस्थाकै विरोधमा बोल्‍छ र व्यवस्थालाई दोष लगाउँछ। तिमीले व्यवस्थाको न्‍याय गर्‍यौ भने तिमी यसको पालना गर्ने होइन तर न्‍याय गर्ने बन्‍छौ। परमेश्‍वर मात्र व्यवस्था दिने र न्‍याय गर्ने हुनुहुन्‍छ। बचाउने र नाश गर्न सक्‍ने उहाँ मात्र हुनुहुन्‍छ। आफैंलाई के सम्‍झन्‍छौ र आफ्‍नो छिमेकीहरूलाई दोष लगाउँछौ?

शेयर गर्नुहोस्
याकूब 4 पढ्नुहोस्