याकूब 1:21-24
याकूब 1:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसैकारण सबै फोहोर कुरा र समस्त दुष्टतालाई हटाओ, र तिमीहरूका हृदयमा रोपिराखेको वचन नम्रतापूर्वक धारण गर, जसले तिमीहरूका प्राणलाई उद्धार गर्न सक्छ। तर वचन पालन गर्ने होओ, र सुन्ने मात्र भएर आफैलाई धोका नदेओ। कुनै मानिसले वचन सुन्छ तर पालन गर्दैन भने, त्यो एउटा यस्तो मानिसजस्तो हुन्छ, जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ, र त्यो आफै कस्तो थियो, त्यो तुरुन्तै बिर्सिहाल्छ।
याकूब 1:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यसकारण तिमीहरूमा भएका सबै अनैतिक फोहोर र दुष्टतालाई त्याग; अनि तिमीहरूमा रोपिएको वचनलाई स्वीकार गर, जसले तिमीहरूलाई बचाउन सक्छ। वचन सुनेर मात्र आफूलाई धोका नदेओ; यसले के भन्छ, सो गर। जसले वचन सुन्छ, तर यसले के भन्छ, सो गर्दैन, त्यो एउटा यस्तो मानिस हो, जसले आफ्नो अनुहार ऐनामा हेर्छ; अनि आफूलाई हेरिसकेपछि ऊ गइहाल्छ; तब ऊ कस्तो देखिन्छ, सो झट्टै बिर्सिहाल्छ।
याकूब 1:21-24 पवित्र बाइबल (NERV)
यसर्थ तिमीहरूको जीवनबाट हरेक दुष्ट कुरा अनि दुष्ट कर्म बाहिर फ्याँकिदेऊ। विनम्र बन अनि परमेश्वरको वचन स्वीकार जो परमेश्वरले तिमीहरूको ह्रदयमा रोपिदिनु भएको छ। यो उपदेशले तिम्रो जीवनलाई बचाउँनेछ। परमेश्वरको शिक्षा अनुशरण गर। खाली सुन्ने काम मात्र नगर। किनभने जब तिमी बस्छौ अनि केवल सुन्छौ, तिमीले स्वयंलाई मूर्ख तुल्याउँछौ। यदि एकजना व्यक्तिले परमेश्वरको वचन सुन्छ अनि अनुशरण गर्दैन भने ऊ यस्तो हुन्छ ऊ त्यो मान्छे जस्तै हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ। यो मान्छेले ऊ आफैंलाई देख्छ, त्यस पछि जान्छ अनि ऊ कस्तो देखिएको थियो सो झट्टै बिर्सिहाल्छ।
याकूब 1:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसकारण सबै यस्ता नराम्रा स्वभाव र घिनलाग्दा बानीबाट अलग होओ। नम्र भएर तिमीहरूका हृदयमा राखिएका परमेश्वरका वचनलाई आफ्नो पार किनभने तिमीहरूलाई जोगाउने त त्यसैले हो। तर यो वचन पालन गर्ने होओ, आफूलाई धोखा दिंदै सुन्ने मात्र होइन। वचन सुन्ने तर पालना नगर्नेचाहिँ ऐनामा आफ्नो अनुहार हेर्ने मान्छेजस्तै हो। उसले ऐनामा हेरुञ्जेल आफ्नो अनुहार देख्छ, हेर्न छोडेपछि आफू कस्तो थिएँ भन्ने झट्टै बिर्सिहाल्छ।

