यशैया 65:17-25
यशैया 65:17-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन्। तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु। म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्यै सुनिनेछैन। “थोरै दिनसम्म बाँच्ने बालक वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन। सय वर्षसम्म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्म नबाँच्नेचाहिँ श्रापित मानिनेछ। तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्। तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन। किनकि रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्। तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्ति बालकहरू जन्माउनेछैनन्। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष् पाएका प्रजा हुनेछन्। तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु। ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”
यशैया 65:17-25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। बितेका कुराहरू स्मरण गरिनेछैनन्, न त तिनीहरू मनमा नै आउनेछन्। तर म जे सृष्टि गर्नेछु, त्यसमा सधैँ खुशी होओ र हर्ष मनाओ; किनकि म यरूशलेमलाई हर्षोल्लास र त्यसका मानिसहरूलाई आनन्दित तुल्याउनेछु। म यरूशलेमसँग खुशी हुनेछु, र मेरा प्रजामा हर्षित हुनेछु; यरूशलेममा रोएको र कराएको सोर फेरि कहिल्यै सुनिनेछैन। “थोरै दिनसम्म बाँच्ने बालक, वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन; सय वर्ष बाँच्ने मानिस जवान मानिनेछ; र सय वर्षसम्म नबाँच्ने मानिसचाहिँ श्रापित मानिनेछ। तिनीहरूले घर बनाउनेछन्, र त्यसमा बस्नेछन्; तिनीहरूले दाखबारी लगाउनेछन्, र त्यसका फल खानेछन्। तिनीहरूले बनाएका घरहरूमा अरूहरू नै आएर बस्नेछैनन्, वा तिनीहरूले लगाएका दाखबारीको फल फेरि कहिल्यै अरूहरूले खानेछैनन्। किनकि रूखको आयु जति लामो हुन्छ, त्यति नै धेरै आयु मेरा प्रजाको हुनेछ; मेरा चुनिएका प्रजाले आफ्ना हातका काम लामो समयसम्म उपभोग गर्नेछन्। तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त तिनीहरूले विपत्तिको निम्ति छोराछोरीहरू जन्माउनेछन्; किनकि तिनीहरू र तिनीहरूका सन्तानहरूसमेत याहवेहद्वारा आशिष् पाएका मानिसहरू हुनेछन्। तिनीहरूले पुकार गर्नुभन्दा अगाडि म जवाफ दिनेछु; तिनीहरूले बोल्दाबोल्दै म सुन्नेछु। ब्वाँसो र थुमाले एउटै ठाउँमा एकैसाथ खानेछन्, सिंहले गोरुले झैँ पराल खानेछ; अनि सर्पको आहारा धुलो हुनेछ। तिनीहरूले मेरा सबै पवित्र पर्वतहरूमा न त हानि गर्नेछन्, न त नाश गर्नेछन्,” याहवेह भन्नुहुन्छ।
यशैया 65:17-25 पवित्र बाइबल (NERV)
“म नयाँ आकाश र पृथ्वी बनाउनेछु। मानिसहरूले विगतका कुराहरू सम्झने छैनन्। तिनीहरूले ती कुनै पनि कुरा सम्झने छैन। मेरा मानिसहरू खुशी हुनेछन्। तिनीहरू सदा-सर्वदा आनन्दित हुनेछन्। किनभने म नै बनाउनेछु, म यरूशलेमलाई आनन्दले भरिपूर्ण बनाउने छु, अनि म तिनीहरूलाई आनन्दित मानिसहरू बनाउनेछु। “तब म यरूशलेमसँग आनन्दित हुनेछु। म मेरा मानिसहरूसँग खुशी हुनेछु। त्यहाँ फेरि कहिल्यै पनि कोलाहल, र कष्ट हुनेछैन्। त्यहाँ त्यस शहरमा कुनै पनि यस्तो नानी हुने छैन, जुन जन्मेर केही दिन मात्र बाँच्दछ। त्यस शहरमा छोटो आयु लिएर बाँच्ने कुनै मानिस हुनेछैन। प्रत्येक बालक लामो आयु लिएर बाँच्दछ, अनि प्रत्येक मानिस धेरै लामो समयसम्म बाँच्नेछ। सय बर्ष सम्म बाँच्ने मानिसलाई जवान नै ठानिने छ। अनि जुन मानिस सय बर्ष सम्म पनि बाँच्दैन, उसलाई श्रापित भएको ठानिन्छ। “त्यस शहरमा यदि कसैले घर बनाउँछ भने, त्यो मानिस त्यहीं बस्नेछ। यदि कसैले दाखहरूका बोट बगैंचामा रोप्दछ भने, त्यस मानिसले त्यही बगैंचाबाट दाख फलहरू खानेछ। कहिल्यै पनि एकजनाले घर बनाउने छैन, अनि अर्को मानिस त्यसमा बस्ने छैन्। कहिल्यै पनि एकजनाले बगैंचा लगाउने छैन अनि अर्को मानिसले बगैंचाको फलफूल खाने छैन्। मेरा मानिसहरू रूखहरू बाँचुन्जेल सम्म बाँच्नेछन्। मैले रोजेका मानिसहरू आफूले बनाएका चीजहरू प्रसन्न भएर लिनेछन्। स्त्रीहरू मरेका नानी जन्माउँनका लागि कहिल्ये पनि फेरि कष्ट गर्ने छैनन्। स्त्रीहरू नानी जन्माउने बेलामा के कस्तो घटना होला भनेर डराउने छैनन्। मेरा सारा मानिसहरू र उनीहरूका बालकहरू परमप्रभुकै आशिष परेका हुनेछन्। तिनीहरूले भन्नु अघि नै म तिनीहरूको खाँचो के छ जान्दछु। अनि तिनीहरूले आफ्नो दावी राख्न अघि नै म तिनीहरूलाई सहायता गर्नेछु। ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्। सिंहहरू र गोरूहरूसँगै पराल खानेछन्। मेरो पवित्र पर्वतमा कसैले कसैलाई डर देखाउने अनि चोट पुर्याउनेछैन्।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।
यशैया 65:17-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
परमप्रभु भन्नुहुन्छ, “म नयाँ पृथ्वी र नयाँ आकाश बनाउनेछु। बितेका दिनका कुराहरूको बिलकुलै सम्झना गरिनेछैन। म जे सृजना गर्छु, त्यसमा सधैँ आनन्द गर र रमाओ। मैले सृजना गरेको नयाँ यरूशलेम आनन्दले भरिभराउ हुनेछ र त्यहाँका बासिन्दाहरू खुसी रहनेछन्। यरूशलेम र त्यसका बासिन्दाहरूका कारणले म आफैं पनि खुसी हुनेछु। त्यहाँ रोएका वा सहायता मागेका सोर सुनिनेछैन। “बच्चाहरू सानैमा मर्नेछैनन्, सबै मानिसहरूले पूरा आयु पाउनेछन्। सय वर्ष पुग्नेहरू जवान ठानिनेछन्। त्योभन्दा अघि मर्नुचाहिँ मेरो दण्डको चिनो हुनेछ। मानिसहरू घर बनाएर आफैं बास गर्नेछन्, तिनीहरूलाई धपाएर त्यहाँ अरू कोही बास गर्न पाउनेछैन। तिनीहरूले दाखबारी लाउनेछन् तर दाखमद्य आफैं पिउनेछन्, त्यो अरूले पिउन पाउनेछैन। मेरा मानिसहरू, रूखझैँ धेरै दिन बाँच्नेछन्। आफ्ना मेहनतका फलको तिनीहरूले पूरा आनन्द लिनेछन्। तिनीहरूले हात हालेका काममा तिनीहरू सफल हुनेछन् र तिनीहरूका छोरा-छोरीहरू विपत्तिमा पर्नेछैनन्। तिनीहरू र तिनीहरूका सन्तानलाई म आउँदा दिनमा सदासर्वदा आशिष् दिनेछु। तिनीहरूले मलाई प्रार्थना गर्नु अघि नै म तिनीहरूको प्रार्थनाको उत्तर दिनेछु। ब्वाँसाहरू र थुमाहरूले एकसाथ खानेछन्। सिंहहरूले गाई-गोरुहरूले झैँ पराल खानेछन् र सर्पहरूले धुलो खानेछन् र तिनीहरूले केही हानि गर्नेछैनन्। हे सियोन, मेरो पवित्र डाँडामा केही दुष्ट वा हानि गर्ने कुरा रहनेछैन।”