यशैया 54:14-17
यशैया 54:14-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
धार्मिकतामा तँ स्थापित हुनेछस्। अत्याचारबाट तँ टाढ़ा रहनेछस्, तँलाई कसैको डर हुनेछैन। त्रासदेखि तँ टाढ़ा रहनेछस्, त्यो तेरो नजिक आउनेछैन। कसैले तँलाई आक्रमण गरे तापनि त्यो मबाट हुनेछैन। जसले तँलाई आक्रमण गर्छ, त्यसले आफूलाई तँकहाँ नै समर्पण गर्नेछ। “हेर, आगोको भुङ्ग्रो फुक्ने, र आफ्नो कामको निम्ति हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरें। र उत्पात गरेर नष्ट गर्नेलाई पनि मैले नै सृष्टि गरेको हुँ। तेरो विरुद्धमा बनाइएको जुनसुकै हतियारले पनि तँलाई जित्न सक्नेछैन, र तँलाई दोषी ठहराउने हरेक जिब्रोलाई तैंले नै दोषी ठहराउनेछस्। योचाहिँ परमप्रभुका दासहरूको पैतृकसम्पत्तिको हक हो, र मबाट तिनीहरूको दोषरहितको प्रमाण यही हो,” परमप्रभु घोषणा गर्नुहुन्छ।
यशैया 54:14-17 पवित्र बाइबल (NERV)
तिमी धार्मिकतामाथि निर्माण हुनेछौ। यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन्। तिमी डराई रहनु पर्नेछैन्। मेरा कुनै पनि सैन्यले तिम्रो विरूद्धमा लडाइँ गर्ने छैन। यदि कुनै सैनिकले आक्रमण गर्यो भने तिमीले त्यस सैन्यलाई पराजित गर्नेछौ। “हेर, मैले लोहारलाई बनाएँ। उसले आगो फुक्छ र फलामलाई तातो बनाउँछ। त्यसपछि उसले तातो फलाम लिएर जस्तो चाहन्छ त्यस्तै हतियार बनाउँदछ। यस्तै प्रकारले मैले ‘नाश गर्नेवाला’ जसले धेरै थोकहरू नष्ट पार्दछ उसलाई पनि मैले नै सृजना गरेको हुँ। “मानिसहरूले तिम्रो विरूद्ध लडाइँ गर्न हतियारहरू बनाउँनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरूद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरूद्ध कुरा गर्छन् आफैं दोषी रहेको प्रमाणित गर्नेछन्।” परमप्रभु भन्नुहुन्छ, “परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट क्षमा पाउँनेछन्।
यशैया 54:14-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
न्याय र धर्मले तँ बलियो बन्नेछस्, अत्याचार र डरबाट तँ निडर रहनेछस्। कोही तँमाथि आइलाग्यो भने त्यो मैले गराएको हुनेछैनँ, तेरो विरुद्धमा लडाइँ गर्ने तँसित हार्नेछ। “आगोको भुङ्ग्रो बनाएर हतियार तयार गर्ने लोहारलाई मैले सृष्टि गरेको हुँ र ती हतियार चलाउने सिपाहीलाई पनि मैले सृष्टि गरेको हुँ। तर कुनै हतियारले तँलाई चोट लगाउन सक्नेछैन। तँलाई दोष लाउनेहरूको मुखमा बुजो लाग्नेछ। म मेरा सेवकहरूको बचाउ गर्नेछु र तिनीहरूलाई विजय दिनेछु।” परमप्रभु बोल्नुभएको छ।