YouVersion लोगो
खोज आइकन

यशैया 53:2-12

यशैया 53:2-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

ऊ उहाँको सामु कलिलो बोटजस्‍तो र सुक्‍खा जमिनबाट निस्‍केको जरोजस्‍तो बढ़्यो। ऊसित हामीलाई आकर्षण गर्ने न केही सुन्‍दरता न त महत्त्व नै थियो। उसको अनुहारमा हामीलाई मन पर्ने केही थिएन। ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं। निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ। ऊ थिचोमिचोमा पर्‍यो, र उसलाई कष्‍ट पर्‍यो, तापनि उसले आफ्‍नो मुख खोलेन। मारिनलाई लगेको थुमाजस्‍तै ऊ डोर्‍याएर लगियो। आफ्‍नो ऊन कत्रनेको सामु भेड़ा मौन भएझैँ उसले पनि आफ्‍नो मुख खोलेन। अत्‍याचार र इन्‍साफद्वारा ऊ लगियो। उसका सन्‍तानका बारेमा कसले विचार गर्न सक्‍छ? किनकि ऊ जीवितहरूको देशबाट अलग गरियो, र मेरो प्रजाका अपराधको निम्‍ति उसमाथि कुटाइ पर्‍यो। उसको चिहान दुष्‍टहरूसित बनाइयो, र मृत्‍युमा धनीहरू उसको साथमा थिए, यद्यपि उसले केही उपद्रव गरेको थिएन न त उसको मुखमा केही छल थियो। तापनि उसलाई चकनाचूर र कष्‍टमा पार्न परमप्रभुको इच्‍छा थियो, र परमप्रभुले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्‍ना छोराछोरीलाई देख्‍नेछ र आफ्‍नो दिन बढ़ाउनेछ र परमप्रभुको इच्‍छा उसकै हातमा उन्‍नत हुनेछ। उसका प्राणको वेदनापछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ, र उसले तिनीहरूका अधर्म बोक्‍नेछ। यसैकारण महान्‌हरूसँगै उसलाई पनि म एक भाग दिनेछु, र उसले लूटको माल सामर्थीहरूसित बाँड्‌नेछ। किनभने उसले आफ्‍नो जीवन मृत्‍युमा खन्‍यायो, र ऊ अपराधीहरूको गन्‍तीमा गनियो। किनकि उसले धेरैको पाप बोक्‍यो र उसले अपराधीहरूका निम्‍ति मध्‍यस्‍थता गर्‍यो।

शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्

यशैया 53:2-12 पवित्र बाइबल (NERV)

ऊ एक सानो पालुवा जस्तो परमप्रभुको अगाडी हुर्कियो। ऊ सुख्खा भूइँमा उम्रिरहेको एउटा जरा जस्तै थियो। उसमा त्यस्तो खास गौरव थिएन। उसमा विशेष कुरा देखिँदैन थियो। यदि हामीहरूले उसलाई हेर्यौं भने हामी त्यस्तो केही खास कुरा देख्ने छैनौ जसले ऊ प्रति हामी आकृष्ट नै हुने कारणै देखिन्दैन। मानिसहरूले उसलाई हाँसोको पात्र बनाए अनि आफ्नो साथीहरूले उसलाई छाडिदिए। ऊ पीडा नै पीडाले भरिएको मानिस थियो। ऊ राम्रो प्रकारले निको हुनेछ भनेर जान्दथे। मानिसहरूले उसलाई हेर्न दिएनन्। हामीले उसलाई ध्यानै दिएनौं। तर उसले हाम्रा कष्टहरू आफ्नै ठान्यो। उसले हाम्रा यातनाहरूको भारी उठायो अनि हामीले सोच्यौं उसलाई परमेश्वरले दण्ड दिनुभयो। हामीले सोच्यौ उसले गरेको दुष्टकर्मको लागि परमेश्वरले दण्ड दिनुभयो। तर हामीले गरेको भूल कामहरूका लागि उसलाई पीडा सहन बाध्य गराइयो। उसलाई हाम्रो दोषकोलागि श्राप दिइयो। हाम्रो ऋणको निम्ति उसलाई सजाय दिइयो। उसको पीडाले नै हामीलाई क्षमा गरियो। हामी सबै भेंडा़ जस्तै लक्ष्यविहीन घुमिरह्यौं। हामी सबै आ-आफ्ना बाटो तिर लाग्यौ। परमप्रभुले हाम्रो दोषहरू माफ गरिदिनु भयो अनि हामीले आफ्ना सबै दोष उहाँमाथि थुपार्यौ। उसलाई चोट पुर्याएर दण्ड दिइयो। तर उसले कहिल्यै विरोध गरेन्। मार्नलाई लगेको भेंडा जस्तै उसले केही पनि भनेन। ऊ ऊन काट्दा पनि चुपचाप रहने भेंडाको पाठो जस्तो भयो। उसले आफ्नै बचाउको लागि कहिल्यै मुख खोलेन। मानिसहरूले जबरजस्ती गरेर उसलाई लगे। अनि तिनीहरूले उसलाई निष्पक्ष प्रकारले न्याय गरेनन्। कसैले पनि उसको परिवारको बारेमा केही भन्न सकेनन, किनभने बाँचिरहेका मानिसहरूका ठाउँबाट उसलाई लगेर गयो। मेरा मानिसहरूका पापहरूका खातिर उसलाई दण्ड दिइयो। ऊ मर्यो र उसलाई धनीहरूको चिहानसँगै गाडियो। उसलाई दुष्ट मानिसहरूसँग गाडियो। उसले केही नराम्रो काम गरेन। उसले कहिल्यै झूटो बोलेन तर यस्ता दुर्घटनाहरू उमाथि भए। परमप्रभुले उसलाई श्राप दिने निर्णय गर्नु भयो। परमप्रभुले ऊ पीडित हुनै पर्छ भनेर निर्णय गर्नुभयो। यसकारण दासले स्वयंलाई मर्नको लागि समर्पण गरे। तर उसले लामो समय सम्म नयाँ जीवन बाँचे। उसले आफ्ना मानिसहरूलाई देख्नेछन्। परमप्रभुले उसबाट चाहे जस्तै उसले ती कुराहरू पूर्णगर्ने छ। मनमा ऊ कैयौं कुराहरूबाट पीडित हुनेछ तर उसले हुने असल कुराहरू देख्नेछ। उसले सिकेका कुराहरूबाट ऊ सन्तुष्ट हुनेछ। परमप्रभु भन्नु हुन्छ, “मेरो धर्मी दासले धेरैलाई दोषी बनाउनेछैन, उसले तिनीहरूका दोष बोकी लानेछ। यसकारण मैले उसलाई मेरो मानिसहरू मध्ये पुरस्कार दिएँ। उसले ती सबै चीजहरू बलिया मानिसहरूसँग बाँड्नेछ। म उसैको लागि यो कुरा गरिरहेछु किनभने उसले मानिसहरूको लागि आफ्नो जीवन अर्पण गर्यो अनि मर्यो। मानिसहरूले भने ऊ एक अपराधी थियो। तर वास्तवमा के थियो भने उसले अन्य सबैका पापहरू स्वयंले बोक्यो। अनि जोसँग पापहरू छन् ती मानिसहरूकै लागि बोल्यो।”

शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्

यशैया 53:2-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

उहाँको अघि सुख्‍खा जमिनमा एउटा बिरूवाले, जरा हालेझैँ ऊ बढ्यो। उसमा केही मान-मर्यादा वा सुन्‍दरता थिएन, उसमाथि हाम्रो आँखा परेन पनि। उसको बारेमा कुनै आकर्षित कुरा थिएन, उसका कुनै कुराले हाम्रो मन खिच्‍न सकेन। हामीले उसलाई तुच्‍छ ठान्‍यौं र अस्‍वीकार गर्‍यौं, उसले दु:ख र कष्‍ट सह्यो। कसैले पनि ऊतिर हेरेन, हामीले उसलाई केही नठानी ध्‍यानै दिएनौं। “निश्‍चय नै उसले हाम्रा कष्‍टहरू सह्यो, हाम्रो दु:ख भोग्‍यो। तर उसले दु:ख-कष्‍ट भोगेको त उसमाथि परमेश्‍वरको दण्‍ड परेको हो भनी हामीले ठान्‍यौं। तर हाम्रा पापका कारणले ऊ घाइते भयो, हाम्रा अधर्मका कारणले उसले चुटाइ खायो। उसले दण्‍ड भोगेको कारणले हामीले सुख-शान्‍ति पायौं, उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै बाटो बिराएका भेडाहरूझैँ थियौं, हामी बरालिएर आफ्‍नै सुरमा हिँड्थ्‍यौं, तर हामी सबैमाथि पर्नुपर्ने दण्‍ड परमप्रभुले उसमाथि पारिदिनुभयो। “ऊसित रूखो व्‍यवहार गरियो तर त्‍यो उसले नम्र भएर सह्यो, उसले मुखबाट एउटा शब्‍द पनि निकालेन। काटिन आँटेको थुमाझैँ, ऊन कत्रन लागेका भेडाझैँ उसले आफ्‍नो मुख खोलेन। उसमाथि अत्‍याचार भयो र दण्‍ड दिई मार्न लगियो र उसका सन्‍तानबारे कसले बोल्‍ला? कारण उसलाई जीवितहरूको देशबाट हटाइयो, मेरा मानिसहरूका पापको लागि उसमाथि कुटाइ पर्‍यो दुष्‍टहरूसित ऊ चिहानमा राखियो, धनीहरूसित गाडियो, तथापि उसले कहिल्‍यै कुनै अपराध गरेको थिएन, कहिले झूट बोलेको थिएन। “तरै पनि उसलाई चोट दिनु र कष्‍ट सहन लाउनु परमप्रभुको इच्‍छा थियो। परमप्रभुले उसको जीवनलाई पाप काट्‍ने बलिदान बनाउनुभएको भए पनि उसले आफ्‍ना सन्‍तान देख्‍नेछ र परमेश्‍वरको योजना ऊद्वारा सफल हुनेछ। कष्‍टको जीवन भोगेपछि उसले जीवनको ज्‍योति देख्‍नेछ र सन्‍तुष्‍ट हुनेछ। आफ्‍नो ज्ञानद्वारा मेरो धर्मी सेवकले धेरैको पापको दण्‍ड बोक्‍नेछ र उसले तिनीहरूलाई क्षमा गर्नेछ। यसैकारण म उसलाई एउटा इज्‍जतको स्‍थान दिनेछु र सामर्थीहरूसँग उसले जितेको माल बन्‍डा लाउनेछ। उसले राजी-खुसीका साथ आफ्‍नै प्राण दियो र दुष्‍टहरूका साथमा गनियो। उसले धेरै पापीहरूको सट्टामा आफ्‍नो प्राण दियो र तिनीहरूले क्षमा पाऊन् भनी बिन्‍ती गर्‍यो।”

शेयर गर्नुहोस्
यशैया 53 पढ्नुहोस्