YouVersion लोगो
खोज आइकन

यशैया 35:5-10

यशैया 35:5-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब अन्‍धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्‌। तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्‍तुति गर्नेछ। उजाड़-स्‍थानमा पानी फुटेर निस्‍कनेछ र मरुभूमिमा खोलाहरू बग्‍नेछन्‌। गर्मीले डढ़ेको बालुवा दह हुनेछ, र सुक्‍खा भूमिमा पानीका मूल फुट्‌नेछन्‌। स्‍यालहरू बस्‍ने ठाउँमा घाँस, काँस र कुश उम्रनेछन्‌। त्‍यहाँ एउटा मूलबाटो हुनेछ, त्‍योचाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्‍यसबाट भएर जानेछैन। तर त्‍यस मार्गमा हिँड्‌नेहरूका निम्‍ति मात्र त्‍यो हुनेछ। दुष्‍ट मूर्खहरू त्‍यसबाट जान पाउनेछैनन्‌। त्‍यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्‍यहाँबाट भएर जानेछ। ती त्‍यहाँ पाइनेछैनन्‌। तर उद्धार पाएकाहरू मात्र त्‍यहाँ हिँड्‌नेछन्, अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।

शेयर गर्नुहोस्
यशैया 35 पढ्नुहोस्

यशैया 35:5-10 पवित्र बाइबल (NERV)

तब अन्धा मानिसहरूले फेरि पनि देख्न सक्नेछन्। तिनीहरूका आखाँहरू खोलिने छन्। तब बहिराले पनि सुन्न सक्ने छन्। तिनीहरूका कानहरू खोलिने छ। लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरुभूमिमा बर्षिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ। बल्दै गरेको तातो भूमिमा पानीको धाराहरू हुनेछ। सुखा ठाउँहरूमा इनारहरू हुनेछन्। भूईंबाट पानी बग्नेछ। त्यहाँ अग्ला जलीय रूखहरू उम्रिनेछन् जहाँ एक समय पशुहरूले शासन गरेका थिए। त्यसबेला, त्यहाँ एउटा मुलबाटो बनिनेछ र त्यसलाई “पवित्र मार्ग” भनिनेछ। दुष्ट मानिसहरूलाई त्यहाँ हिंड्ने अनुमति दिइने छैन्। कुनै मूर्ख त्यस बाटोबाट हिंड्न पाउने छैन्। खाली असल मानिसहरू त्यस मार्ग भएर हिँड्ने छन्। त्यस बाटोमा कुनै प्रकारको खतरा हुने छैन्। त्यहाँ मानिसहरूलाई घात पार्ने कुनै सिंहहरू हुने छैन्। त्यस बाटोमा कुनै प्रकारको हिंस्रक पशुहरू हुने छैन्। परमेश्वरले मानिसहरूको लागि त्यो बाटो जोगाई राख्नु भएको हो। परमेश्वरले आफ्ना मानिसहरूलाई स्वतन्त्र पारिदिनु हुनेछ। अनि ती मानिसहरू उहाँकहाँ फर्केर आउनेछन्। मानिसहरू खुशी हुने छन् जब उनीहरू सियोनभित्र आउने छन्। मानिसहरू सदा-सर्वदाको लागि खुशी हुनेछन्। तिनीहरूको खुशी उनीहरूको शिरको मुकुट हुनेछ। तिनीहरूको रमाहट र आनन्दले तिनीहरूलाई भरिपूर्ण पार्नेछ। शोक र उदासीनताको दिनहरू टाढा-टाढा भाग्नेछन्।

शेयर गर्नुहोस्
यशैया 35 पढ्नुहोस्

यशैया 35:5-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

अन्‍धाका आँखा खोलिनेछन्, बहिराका कान खोलिनेछन्। लङ्गडाहरू मृगझैँ उफ्रनेछन् र नाच्‍नेछन्। गुँगाहरू आनन्‍दले चिच्‍च्‍याउनेछन्। मरुभूमिका बीचबाट खोलाहरू बग्‍नेछन्। जल्‍दो बालुवा ठूलो पोखरी बन्‍नेछ र ओबानो भूमि खोला-नालाले भरिनेछ। स्‍याल बस्‍ने गरेका ठाउँमा घाँस र कूश उम्रनेछन्। त्‍यहाँ एउटा राजमार्ग हुनेछ, त्‍यसको नाम ‘पवित्र राजमार्ग’ राखिनेछ। कुनै पापी त्‍यहाँबाट कहिल्‍यै हिँड्‍न पाउनेछैन, त्‍यहाँबाट जानेलाई कुनै मूर्खले भुलाउन सक्‍नेछैन। त्‍यहाँ सिंहहरू हुनेछैनन्, डरलाग्‍दा जनावर त्‍यहाँबाट जानेछैन। जसलाई परमप्रभुले उद्धार गर्नुभएको छ, तिनीहरू त्‍यस राजमार्गबाट घर जानेछन्। तिनीहरू आनन्‍दसाथ यरूशलेम पुग्‍नेछन्, गीत गाउँदै, आनन्‍दले चिच्‍च्‍याउँदै, त्‍यहाँ पुग्‍नेछन्, सदासर्वदा तिनीहरू आनन्‍दित हुनेछन्, सदाकालको निम्‍ति शोक र सन्‍तापबाट मुक्त हुनेछन्।

शेयर गर्नुहोस्
यशैया 35 पढ्नुहोस्