यशैया 14:28-32
यशैया 14:28-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
आहाज राजा मरेको वर्षमा यो ईश्वरवाणी आयो: “हे सारा पलिश्तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्यही साँपको वंशबाट विषालु सर्प निस्कनेछ। त्यसको फल अति विषालु सर्प हुनेछ। गरीबभन्दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्कसित ढल्कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्यसले मार्नेछ। ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्कार गर! ए पलिश्तीहरू, तिमीहरू सबै पग्लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्यसको सेनाको पङ्क्तिमा एउटै पनि धरमराउने हुँदैन। तब त्यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्यसमा शरण पाउनेछन्।”
यशैया 14:28-32 पवित्र बाइबल (NERV)
आहाज राजा मरेकै बर्षमा यस्तो दुःखको सन्देश प्राप्त भयो। हे पलिश्तीहरूको देश तिमीहरूलाई हिर्काउने राजा मर्यो, त्यसैले तिमीहरू खुशी छौ। तर तिमीहरू धेरै खुशी नहोऊ। यो सत्य हो कि शासनको अन्त भयो। तर राजाको छोरो आएर शासन गर्नेछ। अनि यो एउटा सर्पले अन्य थुप्रै डरलाग्दा सर्पहरू जन्माए जस्तै हो। यो नयाँ राजा एकदम चतुर र डर लाग्दो सर्प सरह हुनेछन्। तर मेरा गरीब मानिसहरू सुरक्षित भएर खाने छन्। तिनीहरूका छोरा-छोरीहरू सुरक्षित हुनेछन्। मेरा गरीब मानिसहरू आरामसित सुरक्षाको अनुभव गर्न सक्ने छन्। तर म तिमीहरूका नानीहरूलाई भोकै मार्नेछु। अनि बाँचेका तिम्रा मानिसहरू रोगले मर्नेछन्। तिमी मानिसहरू आफ्नो शहरको प्रवेशद्वारमा रोऊ! शहरका मानिसहरू विलाप गर। पलिश्तीमा तिम्रा सबै मानिसहरू भयभीत हुनेछन्। तिम्रो आँट मोमबत्ती जस्तै पग्लिनेछ। उत्तरतिर हेर, त्यहाँ बादलको रूपमा धूलो छ। अश्शूरबाट सेनाहरू आउँदैछन्। त्यस सेनाका सबै मानिसहरू बलिया छन्। त्यस सेनाले सन्देशवाहकहरूलाई तिनीहरूका देशमा पठाउनेछ, ती सन्देश-वाहकहरूले तिनीहरूका मानिसहरूलाई भन्ने छन, “पलिश्ती पराजित भयो, तर परमप्रभुले सियोनलाई बलियो बनाउनु भयो, अनि उहाँका गरीब मानिसहरू त्यहाँ सुरक्षाकोलागि गए।”
यशैया 14:28-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
आहाज राजा मरेको वर्ष यो अगमवाणी भयो: “हे पलिश्ती देश तँलाई हिर्काउने लौरो भाँचियो तर तैँले रमाउने केही कारण छैन। जब एउटा साँप मर्छ, अर्को अझ खतरनाक साँप त्यसको ठाउँमा आउँछ। साँपका फुलबाट उड्ने विषालु सर्प निस्कन्छन्, परमप्रभु आफ्ना गरीब प्रजाको गोठालो हुनुहुनेछ र तिनीहरूलाई कुशलसित बास गर्न दिनुहुनेछ। तर तँ पलिश्ती देशमा उहाँले एउटा डरलाग्दो अनिकाल पठाउनुहुनेछ र तेरा कसैलाई जिउँदो छोड्नेछैन। “हे पलिश्तीका सहरहरू हो, ठूलो सोरले रोओ। तिमीहरू सबैले डर मान! उत्तरबाट धुवाँको बादल आइरहेको छ, त्यो एउटा सेना हो, जसमा एक जना पनि काँतर छैन।” पलिश्तीबाट खबर लिएर आउने मानिसहरूलाई हामीले कस्तो उत्तर दिनु? हामी तिनीहरूलाई परमप्रभुले सियोनलाई दरिलो बनाउनुभएको छ र उहाँका कष्ट पाएका प्रजा अब त्यहाँ कुशलसाथ रहनेछन् भनी भन्नेछौं।