YouVersion लोगो
खोज आइकन

यशैया 1:1-17

यशैया 1:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यहूदाका राजाहरू, उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा यहूदा र यरूशलेमको विषयमा आमोजका छोरा यशैयाले देखेका दर्शन। हे आकाश, सुन्‌! हे पृथ्‍वी, कान थाप्‌! किनकि परमप्रभुले भन्‍नुभएको छ, “मैले छोराछोरीहरूलाई पालनपोषण गरेर हुर्काएँ, तर तिनीहरू मेरो विरुद्धमा अटेरी भएका छन्‌। गोरुले आफ्‍नो मालिक चिन्‍छ, र गधाले आफ्‍नो स्‍वामीको डूँड़ चिन्‍छ, तर इस्राएलले चिन्‍दैन, मेरा मानिसहरूले बुझ्‍दैनन्‌।” हाय, पापी जाति, दोषले लादिएका मानिसहरू, दुष्‍ट काम गर्नेहरूका बच्‍चा, भ्रष्‍टाचार गर्नेहरूका सन्‍तान। तिनीहरूले परमप्रभुलाई त्‍यागेका छन्, तिनीहरूले इस्राएलका परमपवित्रलाई हेला गरेका छन्, र उहाँतिर आफ्‍नो पिठिउँ फर्काएका छन्‌। तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्‍छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ। पैतालादेखि टुपीसम्‍मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्‍ला घाउहरू मात्र छन्‌। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्‌। तिमीहरूको देश उजाड़ छ। तिमीहरूका सहरहरू आगोले डढ़ाइएका छन्‌। तिमीहरूको जमिन तिमीहरूकै सामुन्‍ने विदेशीहरूले नाङ्गो पारिरहेछन्, परदेशीहरूले नाश पारेझैँ त्‍यो उजाड़ पारिएको छ। सियोनकी छोरीचाहिँ दाखबारीको छाप्रोजस्‍तै, खरबूजाको मचानजस्‍तै र घेरिएको सहरजस्‍तै भएकी छ। यदि सर्वशक्तिमान्‌ परमप्रभुले हाम्रा निम्‍ति केही बाँचेकाहरू नछोड्‌नुभएको भए त हामी सदोमजस्‍तै हुनेथियौं, हामी गमोराजस्‍तै हुनेथियौं। हे सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन! हे गमोराका मानिस हो, हाम्रा परमेश्‍वरको कानून ध्‍यान दिएर सुन! परमप्रभु भन्‍नुहुन्‍छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्‍ति के काम लाग्‍छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्‍न हुन्‍नँ। जब तिमीहरू मसँग भेट्‌नलाई आउँछौ, तिमीहरूले चढ़ाएका यी थोकहरू कसले चाहन्‍छ र? मेरा आँगनहरू खुट्टाले कुल्‍चीमिल्‍ची गर्न कसले तिमीहरूलाई भनेको छ र? व्‍यर्थका बलिहरू नल्‍याओ। तिमीहरूको धूप त मेरो निम्‍ति घिनलाग्‍दो छ। औंसी, शबाथ, र सभाहरूका साथसाथै तिमीहरूका दुष्‍ट जमघटहरू म सहन सक्‍दिनँ। तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु। तिमीहरूले प्रार्थनामा आफ्‍ना हात पसार्दा, म मेरा आँखा तिमीहरूदेखि छोप्‍नेछु। तिमीहरूले ज्‍यादै प्रार्थना गर्दा पनि म सुन्‍नेछैनँ। तिमीहरूका हात रगतले भरिएका छन्‌। आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्‍ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्

यशैया 1:1-17 पवित्र बाइबल (NERV)

यो अमोसको छोरो यशैयाको दर्शन हो। जुन कुराहरू यहूदा र यरूशलेममा हुन आउने थिए। परमेश्वरले ती कुराहरू यशैयालाई देखाउनु भयो। यशैयाले ती दर्शनहरू उज्जियाह योतम, आहाज अनि हिजकियाह यहूदाका राजाहरू भएका समयमा देखे। हे, आकाश र पृथ्वी, परमप्रभुको कुरालाई ध्यान लगाएर सुन! परमप्रभु यो भन्नु हुन्छ: “मैले मेरा नानीहरूलाई पालन-पोषण गरें, मैले तिनीहरूलाई हुर्काएँ, बढाएँ तर तिनीहरू नै मेरो विरोधी भए। गोरूले आफ्नो मालिकलाई चिन्छ, अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड कहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।” इस्राएल राष्ट्र नै दोष पूर्णछ। यो दोष मानिसहरूले बोक्नु पर्ने गह्रौं भारी जस्तो छ। ती मानिसहरू पापी परिवारहरूबाट जन्मिएका दुष्ट नानीहरू हुन्। तिनीहरूले परमप्रभुलाई छाडे। तिनीहरूले इस्राएलका पवित्र परमप्रभुको अपमान गरे। तिनीहरूले उहाँलाई त्यागे र उहाँलाई विदेशी जस्तो व्यवहार गरे। परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ। तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।” तिमीहरूको देश विध्वंश भएको छ। तिमीहरूका शहरहरू आगोले जलिसकेका छन्। तिम्रा शत्रुहरूले तिमीहरूको जग्गा-जमीन लगिसकेको छ। तिमीहरूको जग्गा-जमीन सेनाहरूद्वारा नष्ट पारिएको एउटा देश जस्तो छ। सियोनकी छोरी अहिले दाख बारीहरूमा छोडिएको रित्तो पाल जस्तै भएकी छे। ऊ काँक्रा बारीहरूमा छाडिएकी एक पुरानो छाप्रो जस्तो छे। शत्रुहरूद्वारा परास्त भएको शहर जस्तो छे। यो सत्य हो सेनाहरूका परमप्रभुले हाम्रा निम्ति केही मानिसहरूलाई अझ बाँच्ने अनुमति दिनु पर्छ। हामी सोदोम र गमोरा शहरहरू जस्तै पूर्ण रूपमा नष्ट भएका छैनौं। हे सोदोमका शासकहरू परमप्रभुको सन्देश ध्यान दिएर सुन! गमोराका मानिसहरू परमेश्वरका उपदेशहरू ध्यान दिएर सुन! परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेंडा़को बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिँदिनँ। जब तिमीहरू मसँग भेट्न आयौ, तिमीहरूले मेरो आँगनको सबै चीजहरू कुल्चँदै आयौ। तिमीहरूलाई त्यसो गर्न कसले भन्यो? “व्यर्थको बलिहरू अब मकहाँ नल्याओ। जुन धूप तिमीहरू मलाई चढाउँछौ, त्यो म घृणा गर्छु। औंसी, विश्रामको दिन र पवित्र दिनहरूमा भएको तिमीहरूका समारोह म सहन सक्तिनँ। तिमीहरूले पवित्र सभामा गरिरहेका दुष्ट कामहरू म घृणा गर्छु। मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु। “तिमीहरू मलाई प्रार्थना गर्न आफ्ना हातहरू उचाल्ने छौ, तर म तिमीहरू तर्फ हेर्न पनि अस्वीकार गर्नेछु। तिमीहरू धेरै भन्दा धेरै प्रार्थनाहरू गर्नेछौ, तर म सुन्नलाई अस्वीकार गर्नेछु। किनभने तिमीहरूका हातहरू रगतले मुछिएका छन्। “आफू स्वयंलाई धोई-पखाल। आफू स्वयंलाई शुद्ध बनाऊ। आफूले गरिरहेको नराम्रा कामहरूलाई रोक म त्यस्ता नराम्रा कामहरू हेर्न चाहँदिन गल्ती काम नगर! राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्

यशैया 1:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

यहूदाका राजाहरू उज्‍जियाह, योताम, आहाज र हिजकियाका शासनकालमा आमोजका छोरा यशैयालाई यहूदा र यरूशलेमबारे परमेश्‍वरले दर्शनमा दिनुभएको सन्‍देश यस पुस्‍तकमा छ। परमप्रभुले भन्‍नुभयो, “हे पृथ्‍वी र आकाश, मेरा कुरा सुन! मैले हुर्काएका छोरा-छोरीहरूले मेरा विरुद्धमा विद्रोह गरेका छन्। गोरुले आफ्‍नो मालिक चिन्‍दछ र गधाले आफ्‍नो मालिकले खुवाउने डुँड चिन्‍दछ। यी पशुहरूको ज्ञान र मेरा प्रजा इस्राएलीहरूको भन्दा बढी छ। मेरा प्रजाले केही बुझ्‍दैनन्।” तिमी पापी जाति, दुष्‍ट र भ्रष्‍ट मानिसहरूका झुण्‍ड, तिमीहरू विनाश हुनेछौ। तिमीहरूका पापले तिमीहरूलाई तल घिसार्दछ! तिमीहरूले परमप्रभु, इस्राएलका पवित्र परमेश्‍वरलाई इन्‍कार गरेका छौ र उहाँलाई आफ्‍ना पिठ्युँ फर्काएका छौ। तिमीहरू किन विद्रोह गरिरहन्‍छौ? के तिमीहरूले अझ धेरै दण्‍ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ। तेरो शरीरमा शिरदेखि पैतालासम्‍म रोग नलागेको कुनै ठाउँ छैन। चोट, घाउ, खटिरा र ठूला घाउहरूले तँ बिटुलिएको छस्। तेरा घाउ कसैले धोएर मलम-पट्टी लगाइदिएको छैन। तिमीहरूका देश विध्‍वंस पारिएको छ र तिमीहरूका सहरहरू आगोले भस्‍म पारिएका छन्। तिमीहरूकै सामुन्‍ने विदेशीहरूले तिम्रा जमिन हात पार्छन् र सबै थोक नष्‍ट गरिदिन्‍छन्। खालि यरूशलेम बाँचेको छ तर त्‍यो पनि घेरामा परेको छ। त्‍यो दाखबारीमा पालेले डेरा वा काँक्राघारीमा एउटा छाप्रोझैँ असुरक्षित छ। सर्वशक्तिमान् परमप्रभुले केही मानिसहरूलाई बचाएर नराख्‍नुभएको भए सदोम र गमोराजस्‍तै यरूशलेम पनि पूरा नाश भएर जानेथियो। हे यरूशलेम, तेरा शासकवर्ग र मानिसहरू सदोम र गमोराका जस्‍तै छन्। परमप्रभुले तँलाई के भन्‍दै हुनुहुन्‍छ, त्यो सुन्‌! हाम्रा परमेश्‍वरले तँलाई के सिकाउँदै हुनुहुन्‍छ, त्‍यसमा ध्‍यान दे। उहाँ भन्‍नुहुन्‍छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्‍छु भनी तिमीहरू सोच्‍दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्‍यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्‍क लागिसक्‍यो। मलाई पुज्‍न आउँदा यी सबै कुरा ल्‍याउनुपर्छ भनी कसले तिमीहरूलाई भन्‍यो? कसले मेरो मन्‍दिरमा तिमीहरूलाई खुट्टाले कुल्‍ची-मिल्‍ची गर्न लगायो? तिमीहरूका भेटीहरू ल्‍याउनु व्‍यर्थ छ। तिमीहरूले बालेका धूपसित म विरक्त भइसकें। तिमीहरूका औंसीका चाड, विश्रामको दिन पालन र धार्मिक सभाहरू मैले सहन नसक्‍ने भएका छन्। तिमीहरूका पापले गर्दा ती भ्रष्‍ट भएका छन्। म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्‍न नसक्‍ने भार भएका छन्। “तिमीहरूले प्रार्थनामा हात उचाल्‍दा म आफ्‍नो मुख अर्कोतिर फर्काउनेछु। तिमीहरूले जति धेरै प्रार्थना गरे पनि म ती सुन्‍नेछैनँ किनभने तिमीहरूका हातमा हत्‍या गरेका रगत लागेको छ। आफैंलाई धोएर चोखो पार। जुन दुष्‍कर्म तिमीहरूले गरेको म देख्‍दछु, ती बन्‍द गर। हो, दुष्‍कर्म छोड र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्‍याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”

शेयर गर्नुहोस्
यशैया 1 पढ्नुहोस्