YouVersion लोगो
खोज आइकन

होशे 6:1-11

होशे 6:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“आओ, हामी परमप्रभुतिर फर्कौं। उहाँले हामीलाई टुक्रा-टुक्रा पार्नुभएको छ, तर उहाँले हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नुभएको छ, तर उहाँले हाम्रा चोटहरूमा मलहमपट्टी लाउनुहुनेछ। दुई दिनपछि उहाँले हामीलाई पुनर्जीवित पार्नुहुनेछ, तेस्रो दिन उहाँले हामीलाई पुन: खड़ा गर्नुहुनेछ, र हामी उहाँकै सामने जीवित रहनेछौं। आओ, हामी परमप्रभुलाई मानौं, हामी परमप्रभुलाई मान्‍नका निम्‍ति प्रयत्‍न गरिरहौं। उहाँको आगमन सूर्योदयझैँ निश्‍चित छ। उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने आखिरी वर्षाझैँ आउनुहुनेछ।” “ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो प्रेम बिहानको कुइरोजस्‍तै र सखारैको बितिजाने शीतजस्‍तै छ। यसैकारण मैले तिमीहरूलाई मेरा अगमवक्ताहरूद्वारा टुक्रा-टुक्रा पारेको छु। मैले तिमीहरूलाई मेरा मुखको वचनद्वारा घात गरेको छु। मेरो न्‍याय तिमीहरूमाथि बिजुलीजस्‍तै चम्‍किएको छ। किनभने म बलिदान होइन, दया चाहन्‍छु, र होमबलिभन्‍दा परमेश्‍वरको मान्‍यता अझ बढ़ी चाहन्‍छु। तिनीहरूले त आदमले झैँ करार भङ्ग गरेका छन्‌। त्‍यहाँ तिनीहरूले मेरो विरुद्धमा विश्‍वासघातको व्‍यवहार गरे। गिलाद दुष्‍ट मानिसहरूको सहर हो। त्‍यो रगतका पाइलाहरूले भरिएको छ। जसरी लूटपीट गरिहिँड्‌नेहरू मानिसलाई ढुकिबस्‍छन्, त्‍यसरी नै पूजाहारीहरूले गट्ठा बाँधेका छन्‌। तिनीहरूले शकेम जाने बाटोमा हत्‍या गर्दछन्‌। तिनीहरूले निर्लज्‍ज अपराध गर्दछन्‌। इस्राएलको घरानामा मैले एक घिनलाग्‍दो कुरो देखेको छु। एफ्राइमलाई वेश्‍यावृत्ति दिइएको छ र इस्राएल दूषित पारिएको छ। ए यहूदा, तेरो निम्‍ति पनि कटनी तोकिएको छ।”

शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्

होशे 6:1-11 पवित्र बाइबल (NERV)

“आऊ, हामी परमप्रभुतिर फर्कौ किनभने उहाँले हामीलाई घायल पार्नु भएकोछ, र उहाँले नै हामीलाई निको पार्नुहुनेछ। उहाँले चोट पार्नु भएकोछ, र उहाँले नै हामीलाई मलम पट्टी बाँध्नु हुनेछ। दुइ दिनपछि उहाँले हामीलाई पुनःर्जीवित पार्नु हुनेछ अनि तेस्रो दिन उहाँले हामीलाई माथि उठाउँनु हुनेछ। हामी उहाँकै अघि जिउँदो हुनेछौं। आऊ, हामी परमप्रभुलाई चिनौं, हामी परमप्रभुलाई चिन्ने प्रयन्त गरिरहौं। हामीलाई थाह छ उहाँ आउनुहुनेछ। उहाँको आगमन प्रभात झैं निश्चय छ। उहाँ हामीकहाँ जमीनलाई भिजाउने, आखिरी बर्षा झैं आउनु हुनेछ।” “ए एप्रैम, म तिमीलाई के गरूँ? ए यहूदा म तिमीलाई के गरूँ? किनकि तेरो प्रेम बिहानको कुइरो जस्तै, र बिलिने शीत जस्तै छ। यसैकारण मैले तिनीहरूमाथि अगमवक्ताद्वारा बञ्चरो चलाएकोछु। मैले तिनीहरूलाई मेरो मुखको वचनद्वारा घात गरेकोछु। मेरो न्यायहरू ज्योति झैं प्रकट हुनेछन। किनभने म अमर प्रेम चाहन्छु बलिदान होइनँ। अनि मानिसहरूले बल्दै गरेको बलि ल्याउनु भन्दा, परमेश्वरलाई बेशी जानेको म चाहन्छु। तर तिनीहरूले ता आदमले जस्तै करार भङ्ग गरे। त्यसैमा तिनीहरूले मेरो विरूद्धमा विश्वासघात व्यवहार देखाए। गिलाद अधर्मीहरूको शहर हो। त्यो रगतले भरिएको छ। जसरी डाँकूहरूले मानिसलाई ढुकिबस्छन्, त्यसरीनै पूजाहरीहरूले गट्ठा बाँधेका छन्। तिनीहरूले शकेम जाने बाटोमा हत्या गर्दछन्। निश्चय तिनीहरूले महा-अपराध गरेकाछन्। इस्राएलको कुलमा मैले घिनलाग्दो कुरो देखेको छु, एप्रैमको वेश्यावृत्ति त्यहाँ छ। इस्राएल अशुद्ध भएको छ। ए यहूदा तिम्रा निम्ति पनि कटनीको समय तोकिएको छ। त्यो हुनेछ जब म मेरो प्रजाको सुदिन फर्काउनेछु।”

शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्

होशे 6:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

मानिसहरू भन्‍दछन्, “हामी परमप्रभुकहाँ फर्कौं! उहाँले हामीलाई चोट पार्नुभयो, उहाँले नै हामीलाई निश्‍चय निको पार्नुहुनेछ। उहाँले हामीलाई घाइते बनाउनुभयो, उहाँले हाम्रा घाउमा मलम-पट्टी लगाइदिनुहुनेछ, होइन र? दुई तीन दिनमा उहाँले हामीलाई फेरि जगाउनुहुनेछ र हामी उहाँका सामुन्‍नेमा जिउनेछौं। हामीहरू परमप्रभुलाई चिन्‍ने चेष्‍टा गरौं। जसरी बिहान उज्‍यालो हुन्‍छ वा जमिन भिजाउने बसन्‍त ऋतुको झरी निश्‍चय आउनेछ, त्‍यसरी नै उहाँ हामीकहाँ अवश्‍यै आउनुहुनेछ।” तर परमप्रभु भन्‍नुहुन्‍छ, “हे इस्राएल र यहूदा, म तिमीहरूलाई के गरूँ? मप्रति तिमीहरूको प्रेम बिहानको कुइरोझैँ छिट्टै हराउँछ। त्‍यो त बिहानै बिलाउने शीतजस्‍तो छ। त्‍यही कारण मैले आफ्‍नो न्‍याय र विनाशको खबर दिन तिमीहरूकहाँ मेरा अगमवक्ताहरू पठाएको छु। म तिमीहरूबाट जे चाहन्‍छु, त्‍यो सरल र सफा छ। म तिमीहरूका पशु बलिहरू होइन तर निरन्‍तर प्रेम चाहन्‍छु। मेरा प्रजाले मलाई होमबलिहरू चढाएको भन्दा बरु तिनीहरूले मलाई चिनेको म चाहन्‍छु। “तर आदमले जस्‍तै मैले तिनीहरूसित गरेको मेरो करार तिनीहरूले भङ्ग गरे। गिलाद दुष्‍टहरू र हत्‍याराहरूले भरिएको सहर हो। पूजाहारीहरू चाहिँ मानिसलाई बाटो ढुकेर बस्‍ने डाँकुहरूका दलझैँ छन्। शेकेमका पवित्रस्‍थानमा जाने बाटोमा पनि तिनीहरूले हत्‍या गर्छन्। तिनीहरूले जानी-जानी यी दुष्‍ट काम गर्छन्। इस्राएलमा मैले एउटा डरलाग्‍दो कुरो देखेको छु, मूर्तिपूजा गरेर मेरा प्रजाले, आफैंलाई बिटुल्‍याएका छन्। “अनि हे यहूदाका बासिन्‍दाहरू हो, तिमीहरूलाई पनि आ-आफ्‍ना कामअनुसार दण्‍ड दिने समय मैले तोकेको छु।

शेयर गर्नुहोस्
होशे 6 पढ्नुहोस्