होशे 2:2-13

होशे 2:2-13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“आफ्‍नी आमालाई हप्‍काओ, त्‍यसलाई हप्‍काओ, किनकि त्‍यो मेरी पत्‍नी होइन, र म त्‍यसको पति होइनँ। त्‍यसले आफ्‍नो अनुहारबाट व्‍यभिचारीको रूप र आफ्‍नो स्‍तनहरूका बीचबाट विश्‍वासघातलाई हटाओस्, नत्रता म त्‍यसका लुगाहरू उतारेर त्‍यो जन्‍मेको दिनमा जस्‍तै त्‍यसलाई नाङ्गै पार्नेछु, र खड़ेरी परेको मरुभूमिजस्‍तै बनाइदिनेछु र तिर्खाले मार्नेछु। त्‍यसका छोराछोरीहरूमाथि पनि म टिठ्याउनेछैनँ, किनकि तिनीहरू व्‍यभिचारका सन्‍तान हुन्‌। तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छ र तिनीहरूलाई अपमानमा गर्भधारण गरेकी छ। त्‍यसले भनी, ‘मेरा प्रेमीहरूका पछि म लाग्‍नेछु, जसले मलाई मेरो अन्‍नपानी, ऊन, सूती कपड़ा, तेल र दाखमद्य दिन्‍छन्‌।’ यसकारण काँढ़े झाँगले त्‍यसको बाटो म रोकिदिनेछु, र त्‍यसलाई पर्खालभित्र थुनिदिनेछु र त्‍यसले बाटो पाउनेछैन। त्‍यो आफ्‍ना प्रेमीहरूका पछिपछि कुद्‌नेछ, तर त्‍यसले तिनीहरूलाई भेट्टाउनेछैन। त्‍यसले तिनीहरूलाई खोज्‍नेछ, तर तिनीहरूलाई पाउनेछैन। तब त्‍यसले भन्‍नेछे, ‘म मेरा पहिलेकै पतिकहाँ फर्केर जानेछु, किनकि त्‍यस बेला मेरो अवस्‍था अहिलेको भन्‍दा असल थियो’। मैले नै त्‍यसलाई अन्‍न, नयाँ दाखमद्य र तेल दिएको थिएँ, र मैले नै त्‍यसमाथि सुन र चाँदी खन्‍याएको थिएँ भन्‍ने कुरा त्‍यसले मानिलिइन— जुन तिनीहरूले बाल देवताको निम्‍ति प्रयोग गरे। “यसकारण अन्‍न पाक्‍दा मेरो अन्‍न, र नयाँ दाखमद्य तयार हुँदा मेरो दाखमद्य म लगिहाल्‍नेछु। अनि त्‍यसको नग्‍नतालाई ढाक्‍ने मेरो ऊन र सूती कपड़ा खोसेर लैजानेछु। अब म त्‍यसकै प्रेमीहरूका नजरको सामु त्‍यसको छाड़ापन उघार्नेछु, र कसैले त्‍यसलाई मेरो हातबाट छुटाउनेछैन। म त्‍यसका सबै उत्‍सवहरू, त्‍यसका औंसीका चाड़हरू, त्‍यसका सबै शबाथ-दिनहरू र त्‍यसका सबै ठहराएका भोजनहरू रोकिदिनेछु। म त्‍यसका दाखका बोट र त्‍यसका अञ्‍जीरका रूखहरू उजाड़ पारिदिनेछु। तिनका विषयमा त्‍यसले भनेकी छ, ‘यी मेरा प्रेमीहरूले दिएका मेरा ज्‍याला हुन्‌।’ म ती बोटहरूलाई एउटा झाड़ी तुल्‍याइदिनेछु, र वनजन्‍तुहरूले ती खाइहाल्‍नेछन्‌। बाल देवताहरूका निम्‍ति धूप हालेकी हुनाले म त्‍यसलाई दण्‍ड दिनेछु। त्‍यस बेला त्‍यो गरगहना पहिरेर आफ्‍ना प्रेमीका पछिपछि गई, र मलाई बिर्सेकी थिई,” परमप्रभु घोषणा गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्

होशे 2:2-13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“आफ्नी आमालाई हप्काओ, त्यसलाई हप्काओ; किनकि त्यो मेरी पत्नी होइनँ, र म पनि त्यसको पति होइनँ। त्यसले आफ्नो अनुहारबाट व्यभिचारको रूप र आफ्नो स्तनको बीचबाट विश्‍वासघातलाई हटाओस्। नत्रता म त्यसलाई वस्त्रहीन पार्नेछु, र त्यसलाई जन्मेको दिनमा जस्तै नाङ्गै पार्नेछु; म त्यसलाई मरुभूमिजस्तै बनाइदिनेछु; त्यसलाई सुक्खा भूमिमा परिणत गरिदिनेछु, र त्यसलाई तिर्खाले मार्नेछु। म त्यसका कुनै छोराछोरीहरूलाई दया देखाउनेछैनँ; किनकि तिनीहरू व्यभिचारबाट जन्मिएका सन्तान हुन्। तिनीहरूकी आमाले विश्‍वासघात गरेकी छे, र तिनीहरूलाई कलङ्कित अवस्थामा गर्भधारण गरेकी छे। त्यसले भनी, ‘म मेरा प्रेमीहरूको पछि जानेछु, जसले मलाई मेरो भोजन, पानी, ऊन, सुती कपडा, तेल र दाखरस दिन्छन्।’ यसकारण म त्यसको बाटो काँडाघारीले बन्द गरिदिनेछु; त्यसले कुनै पनि बाटो नपाओस् भनेर म त्यसलाई पर्खालले बन्द गरिदिनेछु। त्यो आफ्ना प्रेमीहरूलाई पछ्याउँदै जानेछे, तर त्यसले तिनीहरूलाई भेट्टाउन सक्दिन; त्यसले प्रेमीहरूलाई खोज्नेछे, तर तिनीहरूलाई भेट्टाउनेछैन। तब त्यसले भन्‍नेछे, “म पहिलेझैँ मेरो पतिकहाँ फर्केर जानेछु; किनकि अहिलेभन्दा त पहिलाको अवस्था नै राम्रो थियो।” त्यसले बुझेकै छैन, त्यसलाई अन्‍न, नयाँ दाखरस र जैतुन तेल दिने म नै हुँ; मैले त्यसलाई प्रशस्त सुन र चाँदी दिएँ, तर त्यसले त्यो बाल-देवताको निम्ति प्रयोग गरी। “यसकारण जब मेरो अन्‍न पाक्छ, र मेरो नयाँ दाखरस तयार हुन्छ, तब म लैजानेछु। त्यसको नग्नता ढाक्नलाई तयार गरिएको मेरो ऊन र मेरो सुती कपडा म खोसेर लैजानेछु। यसकारण अब म त्यसका प्रेमीहरूका आँखाको सामु त्यसलाई नाङ्गो पारिदिनेछु; कसैले त्यसलाई मेरो हातबाट छुटाउन सक्नेछैन। म त्यसका सबै उत्सवहरू: त्यसका वार्षिक चाडहरू, त्यसका औँसीहरू, त्यसका शब्बाथहरू; अनि त्यसका सबै तोकिएका चाडहरूको अन्त गर्नेछु। म त्यसका दाखहरू र नेभाराका बोटहरू नष्‍ट गरिदिनेछु, जुन त्यसले आफ्ना प्रेमीहरूको सेवा गरेर मैले ज्याला पाएकी हुँ भनेकी छे; म तिनीहरूलाई बाक्लो झाडी बनाइदिनेछु, र जङ्गली जनावरहरूले ती खानेछन्। बाल-देवताहरूका निम्ति धूप बालेका हुनाले म त्यसलाई दण्ड दिनेछु; त्यसले आफूलाई गरगहनाहरूले सिँगारी, र आफ्ना प्रेमीहरूको पछि लागी, तर त्यसले मलाई बिर्सी, याहवेह घोषणा गर्नुहुन्छ।

शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्

होशे 2:2-13 पवित्र बाइबल (NERV)

“तिम्री आमासित तर्क गर, किनभने तिनी मेरी पत्नी होइनन् अनि म तिनको लोग्ने होइन। तिनलाई भन, वेश्या जस्तो हुन छाड। उसलाई आफ्नो स्तनहरू प्रेमीहरूदेखी टाडा राख्नु भन। यदि यस्तो कुकर्म गर्न छाडिन भने म तिनलाई नाङ्गो बनाउँनेछु। म तिनीलाई तिनी जन्मेको क्षणको अवस्थामा पुर्याई छोडिदिनेछु। म तिनका मानिसहरूलाई खोस्नेछु र तिनलाई रित्तो मरुभूमि जस्तै बनाउँनेछु। म तिनलाई तिर्खाले मारिदिनेछु। म उसका नानीहरूलाई कुनै दया देखाउँने छैन, कारण तिनीहरू सबै वेश्यावृतिबाट जन्मिएका नानीहरू हुन्। तिनकी आमाले वेश्यागमन देखाई। आफ्ना कुकर्ममा तिनीहरूकी आमाले शरम मान्नुपर्छ। तिनले भनिन्, ‘म मेरा प्रेमीहरू कहाँ जान्छु। मेरा प्रेमीहरूले खाना पिउन दिन्छन्। तिनीहरूले मलाई ऊनी कपडाहरू दिन्छन्। तिनीहरूले दाखमध भद्राक्षको तेल दिन्छन।’ “यसकारण, म तिम्रो बाटो काँडाले बन्द गरिदिने छु। म पर्खाल पनि खडा गर्नेछु तब तिनले तिनको बाटो पाउन सक्ने छैनन्। तिनी आफ्ना प्रेमीहरूको पछि लाग्ने छिन्, तर तिनले उनीहरूलाई भेट्टाउने छैनन्। तिनले उनीहरूलाई खोजी गर्ने छिन् तर तिनले भेट्ने छैनन्। तब तिनले भन्नेछिन्, ‘अब म मेरो पहिलो लोग्नेकहाँ फर्किनेछु। जब म उसित थिएँ मेरो जीवन असल थियो। अहिलेको जीवन भन्दा असल थियो।’ “त्यो तिनीहरूलाई थाहा छैन म नै अन्न दाखरस र तेल दिने हुँ। मैले तिनलाई धेरै सुन र चाँदीहरू दिइरहें। तर इस्राएलीहरूले मैले दिएकै सुन र चाँदीबाट बालका मूर्तिहरू बनाउँन थाले। यसकारण म फेरि फर्केर आउँछु अन्न पाक्ने समयमा र म सबै लान्छु। अङ्गुर पाक्ने समयमा म दाखरस फिर्ता लान्छु। म ऊनी र कपास लान्छु। मैले तिनीहरूलाई आफ्नो नाङ्गोपन ढाक्नेछन भनेर ती सब दिएको थिएँ। अब म तिनलाई नाङ्गो बनाउँनेछु। तिनी सर्बङ्ग नाङ्गो हुन्छिन, र तिनका प्रेमीहरूले देख्नेछन्। मेरो शक्तिको अघि कसैले तिनलाई बचाउनँ सक्नेछैन। म परमेश्वर, तिनको जम्मै आनन्द र खुशीहरू खोस्नेछु। म तिनको विश्रामका दिनहरू, पूर्णिमाका उत्सव र पार्थिव चाडहरू बन्द गरिदिनेछु। दाख र नेभाराका रूखहरू नष्ट गरिदिनेछु। तिनले भन्थिन, ‘मेरो प्रेमीहरूले यी सब दिन्छन्।’ तर म तिनको उद्यान जङ्गलमा परिणत गरिदिनेछु। जङ्गली पशुहरू आएर त्यस जङ्गलमा चर्नेछन्। “तिनले बालको देवताहरूको सेवा गर्छिन। यसैले म तिनलाई सजाय दिनेछु। तिनले बाल देवताको अघि धूप जलाउँछिन्। गर गहना लगाएर तिनले चिटिक्क पर्दै आफ्ना प्रेमीहरूसँग जाँदा मलाई भुल्थिन। परमप्रभुले यसो भन्नुभयो।

शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्

होशे 2:2-13 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

ए मेरा छोरा-छोरीहरू हो, आफ्‍नी आमासित बहस गर, हुन त ऊ अब मेरी स्‍वास्‍नी होइन, न त म उसको लोग्‍ने हुँ। उसित बहस गरेर भन कि उसले आफ्‍नो व्‍यभिचार र वेश्‍यावृत्ति छोडोस्। होइन भने उसको जन्‍म-दिनमा झैँ म उसलाई नाङ्गो पार्नेछु। म उसलाई मरुभूमिजस्‍तै उजाड र सुखा पार्नेछु र ऊ तिर्खाले मर्नेछ। उसका छोरा-छोरीहरूमाथि म दया देखाउनेछैनँ। तिनीहरू लाज पचेकी एक वेश्‍याका सन्‍तान हुन्। ऊ आफैंले यसो भनी, “म मेरा प्रेमीहरूकहाँ जानेछु, जसले मलाई खानपान, ऊनी र नरम सुती कपडा, जैतुनको तेल र दाखमद्य दिनेछन्।” यसकारण काँडाको बार लाएर म त्‍यसलाई थुन्‍नेछु र एउटा पर्खाल खडा गरेर त्‍यसको बाटो छेक्‍नेछु। त्‍यसले आफ्‍ना प्रेमीहरूलाई खेदी हिँड्छे तर भेट्दिन। त्‍यसले तिनीहरूलाई खोज्‍छे तर पाउँदिन। तब त्‍यसले यसो भन्‍छे, “म आफ्‍नो पहिलेकै लोग्‍नेकहाँ फर्केर जानेछु किनकि मेरो पहिलेको अवस्‍था अहिलेको भन्दा असल थियो।” अन्‍न, दाखमद्य, जैतुनको तेल, सुन र चाँदी दिने म नै हुँ भनी त्‍यसले कहिल्‍यै मानेकी छैन जुन कुराहरू त्‍यसले बाल-देवताको पूजामा चढाएकी थिई। यसकारण मैले त्‍यसलाई दिएका अन्‍न र दाखमद्य अनि पहिरन दिएका ऊन र मिहिन सुतीका वस्‍त्रहरू कटनीको समयमा खोस्‍नेछु। त्‍यसका प्रेमीहरूका अघि म त्‍यसको लुगा फुकालेर नाङ्गो पार्नेछु र कसैले त्‍यसलाई मेरो हातबाट बचाउन सक्‍नेछैन। त्‍यसका सबै उत्‍सवहरू-औंसीको वार्षिक चाड-पर्व र विश्राम-दिनका खुसीयाली र धार्मिक सभाहरू म बन्‍द गरिदिनेछु। त्‍यसका दाखबारी र नेभाराघारीहरू, जुन आफ्‍ना प्रेमीहरूको सेवा गरेर मैले पाएको हुँ भनी त्‍यसले भन्‍छे, म नाश पारिदिनेछु। म त्‍यसका दाखबारीहरू र फलका बगैँचाहरू उजाड पारिदिनेछु, जङ्गली जनावरहरूले ती नाश पार्नेछन्। जुन समयमा त्‍यसले बाल-देवतालाई धूप चढाएकी थिई र गरगहनाले सजिएर आफ्‍नो प्रेमीहरूका पछि लागी र मलाई बिर्सी, त्‍यसको निम्‍ति म त्‍यसलाई दण्‍ड दिनेछु। परमप्रभु बोल्‍नुभएको छ।

शेयर गर्नुहोस्
होशे 2 पढ्नुहोस्