हिब्रू 9:11-15
हिब्रू 9:11-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब ख्रीष्ट अघिबाटै आइसकेका असल कुराहरूका प्रधान पूजाहारी भएर आउनुभयो, उहाँ अझ महान् र सिद्ध पवित्र वासस्थानद्वारा जानुभयो, जो हातले बनेको होइन, अर्थात् यस सृष्टिको अङ्ग होइन। बोका र बाछाहरूको रगतले होइन, तर आफ्नै रगतद्वारा अनन्त उद्धार प्राप्त गरिदिएर सधैँको निम्ति एकै पल्ट महापवित्र स्थानभित्र उहाँ प्रवेश गर्नुभयो। बोका र साँढ़ेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमाथि छर्कदा तिनीहरूको शरीर शुद्ध हुन्छ भने, ख्रीष्टको रगतले त झन् कति बढ़ी गरी तिमीहरूका विवेकलाई मरेका कामहरूबाट शुद्ध पार्नेछ, ताकि तिमीहरू जीवित परमेश्वरको सेवा गर्न सक। किनकि उहाँले अनन्त आत्माद्वारा आफैलाई निष्खोट बलिको रूपमा परमेश्वरलाई अर्पण गर्नुभयो। यसैकारण उहाँ नयाँ करारका मध्यस्थ हुनुहुन्छ, यस हेतुले कि बोलावट भएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकार प्राप्त गरून्, किनकि एक जनाको मृत्युको मोल भइसकेको छ, जसद्वारा पहिलो करारको समयमा भएका अपराधहरूबाट उद्धार पाइन्छ।
हिब्रू 9:11-15 नेपाली समकालीन संस्करण (NCV)
यहाँ पहिलेदेखि नै स्थापना भएका असल व्यवस्थाहरूको प्रधान पूजाहारीको रूपमा जब ख्रीष्ट आउनुभयो, उहाँ अझ महान् र सिद्ध वासस्थानद्वारा जानुभयो, जुनचाहिँ मानिसले बनाएको होइन अर्थात् जुन यो सृष्टिको भाग होइन। उहाँ बोका र बाछाहरूको रगत लिएर प्रवेश गर्नुभएन, तर आफ्नै रगत लिएर सधैंको लागि एकैपल्ट महा पवित्रस्थानमा प्रवेश गर्नुभयो, र हाम्रो लागि अनन्त उद्धार प्राप्त गर्नुभयो। बोका, साँढेहरूको रगत र कोरलीको खरानी अशुद्ध मानिसहरूमा छर्किंदा तिनीहरू बाहिरी रूपमा शुद्ध हुन्छन् भने झन् आफूलाई परमेश्वरमा अनन्त आत्माद्वारा निष्खोट अर्पण गर्नुहुने ख्रीष्टको रगतले मृत्युमा लैजाने पाप कर्महरूदेखि हाम्रा विवेकलाई कति बढी शुद्ध पार्ला! ताकि हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं। यसकारण ख्रीष्ट नयाँ करारको मध्यस्थकर्ता हुनुहुन्छ, ताकि बोलाइएकाहरूले अनन्तको उत्तराधिकार पाऊन् अर्थात् मानिसहरूले पहिलो करार अन्तर्गत गरेका पापहरूबाट छुटकारा पाऊन् भनेर उहाँ छुटकाराको मोल भई मर्नुभएको छ।
हिब्रू 9:11-15 पवित्र बाइबल (NERV)
प्रधान पूजाहारीको रूपमा ख्रीष्ट राम्रा कुराहरूका निम्ति आउनुभएको छ जुन कुरा आज हामीसित छ। तर उहाँले अरू पूजाहारीहरूले गरे झे पालमा आराधना गर्नुहुन्न। उहँको आराधना स्थान पाल भन्दा राम्रो र पक्का छ जुन यस संसारमा छैन र मानिसद्वारा बनाइएको होइन। ख्रीष्ट महा-पवित्र स्थानमा सधैँको लागि एकै पल्ट पस्नुभयो उहाँ महा पवित्र स्थानमा आफ्नै रगत लिएर पस्नु भयो। बाख्रा र बहरहरूको रगत होइन। ख्रीष्ट त्यहाँ पस्नुभयो र सदाको निम्ति हामीलाई छुट्करा दिलाउनु भयो। अशुद्ध मानिसहरूलाई बाख्राको र बहरको रगत अनि कोरलीको खरानी छर्केर शुद्ध पारिन्थ्यो। तर रगत र खरानीले मानिस शारिरिक रूपले मात्र शुद्ध हुन्थ्यो। यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैंलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं। ख्रीष्टले परमेश्वरबाट आफ्ना मानिसहरूलाई एउटा नयाँ करार ल्याउनु हुन्छ, जसमा कि परमेश्वरले बोलाउनुभएका मानिसहरूले उहाँका वचन अनुसारका सबै कुरा पाउन सकुन। परमेश्वरका मानिसहरूले ती कुराहरू सधैँको लागि राख्न सक्छन्। पहिलो करारमा रहेर मानिसहरूले गरेको पापको मोचनको निम्ति ख्रीष्टले आफ्नो प्राण दिनुभयो र त्यसकारण परमेश्वरका मानिसहरूले अब ती कुराहरू पाउनसक्छन्। मानिसहरूलाई ती पापहरूबाट मुक्त गर्न, ख्रीष्टले आफ्नो प्राण दिनुभयो।
हिब्रू 9:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर ख्रीष्ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्दिरमा पूजाहारी हुनुहुन्छ। यो मानिसले बनाएको मन्दिर होइन र सृष्टि गरिएको यस संसारको कुरो पनि होइन। उहाँ सोझै यस मन्दिरको महापवित्र ठाउँमा सधैँको निम्ति एकैपल्ट पस्नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्नुभएन। तर आफ्नै बलि चढाएको रगत लिएर पस्नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो। बोका वा साँढेको रगत र होमेको कोरेली बाछोको खरानी अशुद्ध मानिसहरूमाथि छर्केर तिनीहरूलाई बाहिरी रूपले शुद्ध पारिन्छ। तर ख्रीष्टको रगतमा हामीलाई शुद्ध तुल्याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्वरका आत्माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसो हो भने हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं भनी व्यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्टको रगतले झन् कति ज्यादा गरी शुद्ध पार्न सक्छ। परमेश्वरले प्रतिज्ञा गर्नुभएको सधैँभरि रहिरहने आशिष्हरू उहाँद्वारा बोलाइएकाहरूले पाऊन् भनेर नै यो नयाँ करार मिलाउनुहुने ख्रीष्ट हुनुहुन्छ। पहिलो करारको बेलामा मानिसहरूले गरेका अपराधबाट अब छुटकारा पाइन्छ किनभने यही कामको लागि उहाँ मरिसक्नुभएको छ।