हिब्रू 7:24-26
हिब्रू 7:24-26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूचाहिँ अनन्त हुनुभएकोले उहाँको पूजाहारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ। किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढ़ाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एक जना प्रधान पूजाहारी हुनुपर्दछ, जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ।
हिब्रू 7:24-26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर येशूचाहिँ सधैँ बाँचिरहनुहुने हुनाले उहाँको पुजारीपन अनन्तको लागि नै छ। यसकारण जति जना उहाँद्वारा परमेश्वरमा आउँछन्, तिनीहरूलाई सदासर्वदा पूर्णतया बचाउन सक्नुहुन्छ; किनकि तिनीहरूको मध्यस्थता गर्न उहाँ सधैँ जिउनुहुन्छ। यस्ता प्रधान पुजारीले नै हाम्रा खाँचोहरू पूरा गर्नुहुन्छ। जो पवित्र, दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिएका स्वर्गहरूभन्दा माथि उच्च पारिनुभएको छ।
हिब्रू 7:24-26 पवित्र बाइबल (NERV)
तर येशू सदा जीवित हुनुहुन्छ र आफ्नो पूजाहारीपन छोड्नु हुन्न। यसैले जो पनि उहाँको मार्फत परमेश्वरकहाँ आउँछन् ख्रीष्टले तिनीहरूलाई बचाउनु हुन्छ। ख्रीष्टले यो सदाकाल गर्नसक्नु हुन्छ, किनभने जो परमेश्वरकहाँ आउँछ त्यसको सहायताको निम्ति उहाँ सधैँ बाँच्नुहुन्छ। यसर्थ उहाँ हामीलाई चाहिएको जस्तै प्रकारको प्रधान पूजाहारी हुनुहुन्छ। उहाँ पवित्र र निर्दोष हुनुहुन्छ। उहाँ शुद्ध र पापीहरूका प्रभावदेखि टाढा हुनुहुन्छ। अनि उहाँ स्वर्गभन्दा पनि माथि उठेको हुनुहुन्छ।
हिब्रू 7:24-26 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ। यसैकारण येशूमा विश्वास गरेर परमेश्वरकहाँ आउनेहरूलाई उहाँले अहिले र सधैँभरिका लागि बचाउन सक्नुहुन्छ किनभने तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गर्न उहाँ सधैँभरि रहनुहुन्छ। हामीलाई चाहिएको प्रधान पूजाहारी पनि यस्तै नै हो। उहाँ पवित्र, निर्दोष, शुद्ध हुनुहुन्छ र परमेश्वरले उहाँलाई पापी मानिसहरूबाट छुटाएर सबैभन्दा माथि स्वर्गमा बसाल्नुभयो।