हिब्रू 5:12-14
हिब्रू 5:12-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यतिको समयसम्म त तिमीहरू शिक्षक भइसक्नुपर्दथियो, तर अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका वचनको आधारभूत शिक्षाहरू सिकाउनुपरेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूध चाहिन्छ। दूध मात्र खाएर बाँच्ने मानिसचाहिँ धार्मिकताको वचनमा निपुण हुँदैन, किनकि त्यो बालकै हुन्छ। खँदिलो भोजन त परिपक्व मानिसहरूका निम्ति हो। यिनीहरूको मानसिक शक्ति निरन्तर अभ्यासद्वारा असल र खराब छुट्ट्याउन सक्ने भएको हुन्छ।
हिब्रू 5:12-14 नेपाली समकालीन संस्करण (NCV)
वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्नेथियो, तर तिमीहरूलाई त कसैले परमेश्वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! दूध पिएर बाँच्ने जोसुकै पनि बालक भएको हुनाले, धार्मिकता विषयको शिक्षामा अनभिज्ञ हुन्छ। तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले ती निरन्तर प्रयोग गर्छन्, आफूलाई दुष्टताबाट असल चिन्ने कुरामा तालिम दिएका हुन्छन्।
हिब्रू 5:12-14 पवित्र बाइबल (NERV)
वास्तवमा यस बेला सम्म ता तिमीहरू शिक्षा दिने बनिसक्नुपर्ने थियो। अझै पनि तिमीहरूलाई कसैले परमेश्वरका शिक्षाको पहिलो पाठ सिकाउनु आवश्यक भएको छ। तिमीहरूलाई त अझै दुध नै चाहिएको छ, ठोस आहार होइन। दूध खाने अझै पनि नानी नै हुन्छ अनि त्यसले उचित शिक्षाबरे केही जान्दैन। तर ठोस आहार त परिपक्कहरूकोलागि हो। जसले आफ्ना आत्मिक इन्द्रियहरूलाई असल र खराब बीचको भिन्नता छुट्टयाउन निरन्तर अभ्यास गेरकाछन्।
हिब्रू 5:12-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अहिलेसम्म त तिमीहरू अरूलाई सिकाउने भइसक्नुपर्थ्यो, तर अझै परमेश्वरको शिक्षाको बारेमा प्राथमिक कुरा पनि थाहा नभएर अरू कसैले सिकाउनुपर्लाजस्तो छ। अलिक खँदिलो खानेकुराको सट्टा अझै तिमीहरू आमाको दूध चुस्ने बालकजस्तै छौ। आमाको दूध मात्र चुस्छ भने त त्यो अझै बालकै छ। असल र खराबको ज्ञान त्यसले पाएको छैन। तर खँदिलो खानेकुराचाहिँ हुर्किसकेको मान्छेको लागि हो। उसले त असल र खराब कुरा छुट्टयाउन सक्ने तालिम पाइसकेको हुन्छ।