हिब्रू 11:9-16
हिब्रू 11:9-16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
विश्वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्तै तम्बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए। किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। यसैकारण मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्य र समुद्रका किनारका अनगिन्ती बालुवाका कण जत्तिकै सन्तान उत्पन्न भए। प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ।
हिब्रू 11:9-16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
विश्वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए। किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ। साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्। यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए। यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो। यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो। यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ।
हिब्रू 11:9-16 पवित्र बाइबल (NERV)
परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए। अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ। अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे। यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो।
हिब्रू 11:9-16 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वासकै भरमा परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्यसै गरी परमेश्वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्यसै गरी बसे। अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए। विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए। यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ। आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे। तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ।