हिब्रू 11:1-31
हिब्रू 11:1-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो। किनकि यसै विश्वासद्वारा प्राचीन मानिसहरूलाई परमेश्वरले ग्रहण गर्नुभयो। विश्वासद्वारा हामी बुझ्दछौं कि सारा विश्व परमेश्वरको वचनद्वारा सृष्टि भयो, र जो दृश्य छ त्यो अदृश्य कुराबाट बन्यो। विश्वासद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा अझ ग्रहणयोग्य बलि चढ़ाए, र त्यसद्वारा नै हाबिल धर्मी ठहरिए। तिनको बलि स्वीकार गरेर परमेश्वरले आफ्नो सम्मति जनाउनुभयो। तिनी मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्। विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइलगिए, र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानुभएको थियो। तिनी उठाइलगिनुभन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको थियो। विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ। विश्वासद्वारा नोआले त्यति बेलासम्म अदेख रहेका घटनाका बारेमा परमेश्वरबाट चेताउनी पाएर भक्तिसाथ आफ्नो घरानालाई बचाउन एउटा जहाज बनाए। यसरी संसारलाई दोषी ठहराएर विश्वासद्वारा उनी आउने धार्मिकताका उत्तराधिकारी भए। विश्वासद्वारा अब्राहामले आज्ञापालन गरे, र जाऊ भनेको ठाउँतिर गए, जुन ठाउँ उत्तराधिकारको रूपमा उनले पछि पाउनेथिए, यद्यपि उनी कतातिर गइरहेका थिए, त्यो उनलाई थाहा थिएन। विश्वासैद्वारा उनी एक परदेशीझैँ प्रतिज्ञाको देशमा इसहाक र याकूबजस्तै तम्बूहरूमा बसोबास गरे। उनीहरू अब्राहामसँगसँगै उही प्रतिज्ञाका हकदार थिए। किनकि उनले एउटा जग भएको सहरको प्रतीक्षा गर्थे, जसलाई बनाउनुहुने र निर्माण गर्नुहुने परमेश्वर नै हुनुहुन्छ। विश्वासैद्वारा साराले पनि आफ्नो उमेर ढल्किसकेपछि गर्भधारण गर्ने शक्ति प्राप्त गरिन्। किनभने प्रतिज्ञा गर्नुहुनेलाई तिनले विश्वासयोग्य ठानेकी थिइन्। यसैकारण मरेतुल्य शरीर भइसकेको एउटै मानिसबाट आकाशका तारा जत्तिकै असंख्य र समुद्रका किनारका अनगिन्ती बालुवाका कण जत्तिकै सन्तान उत्पन्न भए। प्रतिज्ञा गरिएको कुरा प्राप्त नगरी यिनीहरू सबै विश्वासैमा मरे, तर टाढ़ैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए, कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। यस्ता कुरा भन्ने मानिसहरूले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। तर तिनीहरू अझ उत्तम देश, अर्थात् एक स्वर्गीय देशको इच्छा गर्छन्। यसैकारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनभने उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार पारिदिनुभएको छ। विश्वासद्वारा आफ्नो परीक्षा हुँदा अब्राहामले इसहाकलाई बलि चढ़ाए। उनले प्रतिज्ञाहरू पाएका थिए, तापनि आफ्नो एउटै छोराको बलि चढ़ाउन उनी तयार भए। यिनकै विषयमा यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ।” परमेश्वरले मानिसहरूलाई मरेकोबाट पनि फेरि जीवित पार्न सक्नुहुन्छ भन्ने कुरा अब्राहामले सोचे, र भनौं भने, उनले इसहाकलाई फिर्ता पाए। विश्वासद्वारा इसहाकले याकूब र एसावलाई तिनीहरूका भविष्यको बारेमा आशीर्वाद दिए। विश्वासद्वारा मर्ने बेलामा याकूबले आफ्नो लहुरोको टुप्पामा घोप्टो परेर परमेश्वरको आराधना गरे, र योसेफको प्रत्येक छोरालाई आशीर्वाद दिए। विश्वासद्वारा योसेफले आफ्नो जीवनको अन्त्यतिर इस्राएलीहरूका प्रस्थानको विषयमा उल्लेख गरे, र उनका अस्थिको विषयमा आदेश दिए। मोशा जन्मँदा तिनका आमा-बुबाले तिनलाई सुन्दर देखे, र विश्वासद्वारा तीन महिनासम्म तिनलाई लुकाइराखे, र राजाका हुकुमको तिनीहरूले डरै मानेनन्। जवान भएपछि विश्वासद्वारा मोशाले फारोकी छोरीका छोरा कहलाइन इन्कार गरे। पापको क्षणिक सुख भोग्नुभन्दा बरु परमेश्वरका मानिसहरूसँग थिचोमिचोमा पर्न तिनले रोजे। मिश्रदेशको धन-सम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले मूल्यवान् सम्पत्ति ठाने। किनभने तिनले आफ्नो दृष्टि इनामतिर लाएका थिए। राजाको क्रोधसँग नडराएर विश्वासद्वारा तिनले मिश्रदेश छोड़े। किनकि अदृश्य हुनुहुनेलाई देखेझैँ गरी तिनी स्थिर रहे। ज्येष्ठलाई नाश गर्नेले तिनीहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार-चाड़को विधि पालन गरे र रगत छर्के। विश्वासद्वारा ओबानो भूमिमाझैँ गरी हिँड़ेर तिनीहरूले लाल समुद्र पार गरे, जुन कुरो मिश्रीहरूले प्रयत्न गर्दा डुबेर मरे। सात दिनसम्म परिक्रमा गरेपछि विश्वासैबाट यरीहोका पर्खालहरू ढले। जासूसहरूलाई राम्रो स्वागत गरेकी हुनाले अनाज्ञाकारीहरूका साथमा राहाब वेश्या नाश भइनन्।
हिब्रू 11:1-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब विश्वासचाहिँ हामीले गरेको आशाको निश्चयता र हामीले नदेखेका कुराको दृढ भरोसा हो। यही विश्वासद्वारा प्राचीन कालका मानिसहरूको प्रशंसा भएको थियो। विश्वासैद्वारा हामी बुझ्दछौँ, कि परमेश्वरको वचनले विश्व बनियो, र देखिने कुराहरू नदेखिने थोकहरूबाट बनिए। विश्वासैद्वारा हाबिलले परमेश्वरलाई कयिनले भन्दा उत्तम बलिदान चढाए। परमेश्वरले तिनको भेटीको विषयमा असल कुरा भन्नुहुँदा विश्वासैबाट तिनले धर्मी मानिस हुन् भन्ने प्रशंसा पाए। तिनी मरेर गए, तापनि तिनी विश्वासैद्वारा अझ बोलिरहेका छन्। विश्वासद्वारा नै हनोकले मृत्युको अनुभव नगरी उठाइए: “अनि तिनी फेला परेनन्; किनकि परमेश्वरले नै तिनलाई उठाइलैजानुभयो;” किनकि तिनी उठाइनुअगि नै तिनले परमेश्वरलाई खुशी पार्ने व्यक्तिको रूपमा प्रशंसा पाएका थिए। विश्वासविना परमेश्वरलाई खुशी पार्न असम्भव छ; किनकि जो परमेश्वरकहाँ आउँछन्, तिनले उहाँ हुनुहुन्छ अनि उहाँलाई खोज्नेहरूलाई पुरस्कार दिनुहुन्छ भनी विश्वास गर्नुपर्छ। विश्वासैद्वारा नोआले नदेखेका कुराहरूको विषयमा चेतावनी पाउँदा आफ्नो परिवारलाई बचाउनको लागि आदरको भयमा एउटा जहाज बनाए। आफ्नो विश्वासद्वारा तिनले संसारलाई दोषी ठहराए, र विश्वासैद्वारा धार्मिकताका उत्तराधिकारी भए। विश्वासैद्वारा अब्राहामले उनलाई जानू भनेको ठाउँमा आज्ञाकारी भएर गए, जुन ठाउँ पछिबाट मात्रै उत्तराधिकारको रूपमा प्राप्त हुनेवाला थियो। यद्यपि तिनी कहाँ जानुपर्ने हो, सो थाहा थिएन। विश्वासैद्वारा परदेशीझैँ भएर तिनी प्रतिज्ञाको देशमा रहे, तिनी इसहाक र याकोबसँग पालमा बसे; जो तिनीजस्तै त्यही प्रतिज्ञाका उत्तराधिकारीहरू थिए। किनकि तिनले स्थायी जग भएको सहरलाई हेरिरहेका थिए, जसको रचनाकार र निर्माता परमेश्वर नै हुनुहुन्छ। साराको गर्भधारण गर्ने उमेर गइसकेको भए तापनि विश्वासैद्वारा तिनले गर्भधारण गर्ने क्षमता प्राप्त गरिन्; किनकि प्रतिज्ञा दिनुहुने विश्वासयोग्य हुनुहुन्छ भनी तिनले विश्वास गरिन्। यसरी नै यी एक जना मानिस, जो मरेतुल्य भए तापनि यिनैबाट आकाशका अनगन्ती ताराहरू र समुद्रका किनारका बालुवाझैँ असंख्य सन्तान भए। यी सबै मानिसहरू मृत्युसम्म विश्वासमै बाँचेका थिए। तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू पाएनन्, तर (विश्वासद्वारा) तिनीहरूले टाढैबाट देखेर स्वागत गरे; किनकि तिनीहरू यस संसारमा बिराना र परदेशी हुन् भनी तिनीहरूले मानिलिए। यस्ता कुराहरू गर्ने मानिसहरूले यो देखाउँछन्, कि तिनीहरूले त्यो देशको खोजी गरिरहेका छन्, जो तिनीहरूको आफ्नै थियो। यदि तिनीहरूले आफूले छोडेर आएको देश नै सम्झिरहेको भए, तिनीहरूलाई फर्किजाने मौका मिल्नेथियो। यसको सट्टामा तिनीहरूले त अझ उत्तम देश अर्थात् स्वर्गीय देशको प्रतीक्षा गरिरहेका थिए। यसकारण परमेश्वर तिनीहरूका परमेश्वर हुँ भन्न शर्माउनुभएन; किनकि उहाँले तिनीहरूका निम्ति एउटा सहर तयार गरिदिनुभएको छ। विश्वासैद्वारा अब्राहामले, तिनको परमेश्वरद्वारा जाँच हुँदा इसहाकलाई बलिदानको रूपमा चढाइहालेका थिए। अब्राहाम, जसले प्रतिज्ञालाई अँगालेका थिए, तिनैले आफ्नो एउटै पुत्रलाई बलिदान चढाउन तयार भएका थिए; यद्यपि परमेश्वरले तिनलाई भन्नुभएको थियो, “इसहाकबाट नै तेरो वंशको नाम रहनेछ।” परमेश्वरले मरेकाहरूलाई पनि जीवित पार्न सक्नुहुन्छ भनी अब्राहामले तर्क गरेर सोचे, र एक अर्थमा इसहाकलाई मृत्युबाट फिर्ता पाए। विश्वासैद्वारा इसहाकले याकोब र एसावलाई तिनीहरूका भविष्यबारे आशिष् दिए। विश्वासैद्वारा याकोबले आफू मर्ने बेलामा र आफ्नो लहुरोको टुप्पोमा अडेस लागेर योसेफका दुवै छोरालाई आशीर्वाद दिए। विश्वासैद्वारा योसेफले पनि आफ्नो अन्त्य नजिक आइपुग्दा इस्राएलीहरू इजिप्टबाट निस्केर आउने कुरा गरे, र आफ्ना हड्डीहरू गाड्ने विषयमा निर्देशन दिए। विश्वासैद्वारा मोशाका आमाबुबाले तिनी जन्मेपछि तीन महिनासम्म लुकाइ राखे; किनकि तिनीहरूले बालक असाधारण भएको देखे, र तिनीहरूले राजाको हुकुमदेखि डर मानेनन्। विश्वासैद्वारा मोशाले, जवान भएपछि फारोकी छोरीको छोरा कहलाइन अस्वीकार गरे। पापको सुख केही समयसम्म भोग्नुभन्दा परमेश्वरका जनहरूसित थिचोमिचोमा पर्नु तिनी राजी भए। इजिप्टको धनसम्पत्तिभन्दा ख्रीष्टको निम्ति निन्दित हुन तिनले बढ्ता मूल्यको सम्झे; किनकि तिनले आफ्नो दृष्टिलाई पछि प्राप्त हुने प्रतिफलतिर लगाएका थिए। विश्वासैद्वारा तिनले राजाको रिसको डरै नमानी इजिप्ट देशलाई त्यागे; किनकि अदृश्य हुनुहुने परमेश्वरलाई देखेर तिनी स्थिर रहिरहे। पहिले जन्मेकोलाई नाश गर्नेले इस्राएलका पहिले जन्मेकाहरूलाई छुन नपाऊन् भनेर तिनले विश्वासद्वारा निस्तार चाडको विधि पालन गरे र रगतको प्रयोग गरे। विश्वासैद्वारा मानिसहरूले लाल समुद्र सुक्खा जमिनझैँ तरे; तर जब इजिप्टियनहरूले त्यसै गर्न खोज्दा, तिनीहरू डुबेर मरे। सात दिनसम्म सेनाहरूले यरीहोको परिक्रमा गरेपछि विश्वासैद्वारा पर्खालहरू ढले। विश्वासैद्वारा राहाब वेश्या ती अनाज्ञाकारीहरूसित मारिइनन्; किनकि तिनले ती जासुसहरूलाई स्वागत गरेकी थिइन्।
हिब्रू 11:1-31 पवित्र बाइबल (NERV)
विश्वासको अर्थ हो, हामीले आशा गरेका कुराहरूको निश्चित छ। अनि विश्वासको अर्थ हुन्छ हामीले कुनै कुरालाई नदेखेता पनि त्यो वास्तविक छ भन्ने जान्नु। प्राचीन कालका मानिसहरूसित परमेश्वर प्रसन्न हुनुहुन्थो; किनकि तिनीहरूमा यस्तै विश्वास थियो। विश्वासद्वारा हामी बुझ्दछौं कि परमेश्वरले आफ्नो आदेशद्वारा यो संसारको सृष्टि गर्नुभयो। यसले हामी बुझ्दछौ जो दृश्य छ त्यो कुनै अदृश्यद्वारा बनाइएको थियो। कयिन र हाबिल दुवैले परमेश्वरलाई भेटीहरू चढाए। तर हाबिलको विश्वास थियो, त्यसैले उनले परमेश्वरलाई असल भेटिहरू चढाए। परमेश्वर हाबिलको भेटीहरूले प्रसन्न हुनुभयो। अनि उनको विश्वासको कारणले, उनी असल मानिस कहलाइए। हाबिल मरे तर उनको विश्वास अझै ज्यूँदै छ। हनोकलाई यस संसारबाट माथि उठाइयो। उनी मरेनन्। धर्मशास्त्रले भन्छ, उनी माथि लगिनु भन्दा अघि उनले साँच्चोसित परमेश्वरलाई प्रसन्न पारे। पछि मानिसहरूले हनोकलाई देखेनन्, कारण परमेश्वरले उनलाई आफूसित रहन उठाइसकेका थिए। हनोकको विश्वासकै कारणले यस्तो भएको थियो। विश्वास बिना कसैले परमेश्वरलाई खुशी बनाउन सक्दैन। जो परमेश्वरमा आउँछ उसले परमेश्वर सत्य हुनुहुन्छ भन्ने जान्नुपर्छ र जसले साँच्चोसित उहाँलाई पाउन चाहन्छ ती मानिसहरूलाई परमेश्वरले पुरस्कृत गर्नुहुन्छ भन्ने विश्वास गर्नुपर्छ। नूहले त्यसबेला सम्म जुन देखेकै थिएनन् त्यसको लागि उनलाई परमेश्वरले चेतावनी दिनुभयो, परमेश्वर प्रति नूहको विश्वास र श्रद्धा थियो। यसर्थ उनले आफ्नो परिवारलाई बचाउन एउटा ठूलो जहाज बनाए। आफ्नो विश्वासले संसार गल्ती छ भन्ने उनले देखाए अनि विश्वासद्वारा परमेश्वरका धर्मी बनिने ती मानिसहरूमध्ये उनी एकजना भए। परमेश्वरले अब्राहामलाई अर्कै ठाउँको यात्रा गर्न अह्राउनु भयो जुन उहाँले उनलाई दिने वचन दिनुभएको थियो। त्यो अर्को ठाउँ कुन हो र कहाँ छ, त्यसको ज्ञान अब्राहामलाई थिएन। तर परमेश्वरको आज्ञा मानेर उनले यात्रा शुरू गरे किनकि उनको विश्वास थियो। परमेश्वरले उनलाई दिन्छु भनी वचन दिएको देशमा गएर उनी बसे। अब्राहाम त्यस देशमा एउटा परदेशी जस्तो भएर बसे किनकि उनी त्यहाँका थिएनन्। उनले यसै गरे किनभने उनको विश्वास थियो। उनी त्यस देशमा गए अनि इसहाक र याकूबसित पालमा बसे। इसहाक र याकूबले पनि परमेश्वरबाट यस्तै वचन पाएका थिए। अब्राहाम एउटा बलियो जग भएको नगरको प्रतीक्षामा थिए, जसलाई बनाउने र सृष्टि गर्ने परमेश्वर नै हुनुहुन्छ। अब्राहाम नानीहरू जन्माउन नसक्ने बूढा थिए र सारा पनि बाँझी थिइन। तर परमेश्वरमा विश्वासकै कारणले उनी बाबु भए। उहाँले वचन पूरा गर्नुहुन्छ भनी अब्राहामले परमेश्वरलाई पत्यार गरे। उनी यति बूढा थिए कि उनी प्राय मृत नै थिए। बाँच्न आशा समेत कमै थियो। तर त्यस्ता मानिसबाट संसारमा ताराहरू जत्ति कै असंख्य र बगरमा बालुवाको कणहरू जत्तिकै अनगन्ती सन्तानहरू जन्मे। यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफू त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे। जब मानिसहरूले यसलाई त्यसरी नै स्वीकार गर्दछन्, तिनले देखाउँछन् कि तिनीहरू यो भन्दा एउटा आफ्नै देशको प्रतीक्षामा छन्। तिनीहरूले आफूले छोडेको देशको याद गर्दा हुन् त फर्केर जाने अवसर तिनीहरूले पाउन सक्ने थिए। तर तिनीहरू एउटा उत्तम देश, एउटा स्वर्गीय देशको प्रतीक्षामा थिए। यसर्थ परमेश्वरले तिनीहरूका परमेश्वर ठहरिनुमा लज्जित हुनुहुन्न, किनभने परमेश्वरले तिनीहरूका निम्ति एउटा नगर बसाइदिनुभएको थियो। अब्राहामको विश्वासको परीक्षा लिन परमेश्वरले उनलाई इसहाकको बलि दिन भन्नुभयो। अब्राहामले विश्वासले त्यसो गरे। उनलाई परमेश्वरले प्रतीज्ञा गराउनुभएको थियो। परमेश्वरले अब्राहामलाई पहिल्यै भन्नुभएको थियो “इसहाकबाटै तिम्रा सन्तान बढ़ने छन्।” तर, अब्राहाम आफ्नो एक मात्र छोरोको बलि दिन तयार थिए। उनले विश्वासले यसो गरे। अब्राहामलाई विश्वास थियो कि परमेश्वरले मानिसलाई मृत्युबाट समेत उठाउन सक्नुहुन्छ। अनि साँच्चै जब परमेश्वरले इसहाकलाई मृत्युदेखि बचाउनुभयो, अब्राहामले इसहाकलाई मृत्युबाट फिर्ता पाए। इसहाकको पनि विश्वास थियो त्यसैले उनले याकूब र एसावलाई तिनीहरूका भविष्यको लागि आशीर्वाद दिए। अनि उनले आफ्नो मृत्यु-शैंय्यामा आफ्नो लौरोको टुप्पामा अडिई परमेश्वरको उपासना गर्दै, यूसुफका प्रत्येक छोराहरूलाई आशिष दिए। किनकि याकूबको विश्वास थियो। अनि उहाँको मृत्युकालमा यूसुफले इस्राएलीहरूले मिश्रदेश छोड़ने भविष्यवाणी गरे। विश्वासकै कारणले उनले आफ्नो दफनबारे आदेश दिए। विश्वासकै कारणले, मोशाका माता-पिताले तिनलाई तीन महीना सम्म लुकाएर राखे। मोशा सुन्दर बालक थिए। तिनीहरू राजाको आदेश अस्वीकार गर्न डराएनन्। मोशा बढेर ठूला भए। आफ्नो विश्वासको कारणले उनले आफूलाई फिरऊनकी छोरीको छोरा कहलाउन चाहेनन्। उनले पापको आनन्द मनाउन चाहेनन्। यी आनन्द क्षणिक हुन्छन्। बरू परमेश्वरका मानिसहरूसित रही कष्ट भोग्नु रूचाए। उनले यो विश्वासको कारणले गरे। मोशाले मिश्रदेशको भण्डार भन्दा ख्रीष्टको लागि भोगेको दु:ख अझ ठूलो सम्पत्ति हो भन्ने विचार गरे। मोशाले परमेश्वरबाट पुरस्कार पर्खिरहेथे। विश्वासकै कारणले उनले मिश्रदेश छोडे। उनी राजाको रिसदेखि डराएनन्। उनी डटिरहे, जस्तो कि अदृश्य परमेश्वरलाई उनी देख्नसक्छन्। उनले निस्तार-चाडको भोज तयार गरे अनि मृत्यु दूतलाई यहूदीहरूका जेठा छोराहरू मार्नबाट रोक्न उनले दैलामाथि रगत छर्के। यो उनले विश्वासले गरे। अनि मोशाले डोर्याएका सबै मानिसहरूले सूख्खा जमीनमाथि जस्तो लाल समुद्र हिडेर तरे। तिनीहरूले यो विश्वासले गरे। तर मिश्रदेशवासीहरू त्यसरी नै तर्न खोज्दा डुबे। परमेश्वरका मानिसहरूको विश्वासको कारणले, यरीहोको पर्खाल ढल्यो। उनीहरू पर्खालका वरिवरि सात दिनसम्म घुमेपछि त्यो ढल्यो। राहाब भन्ने एउटी वेश्याले इस्राएली जासूसहरूलाई साथीहरूलाई झैं स्वागत र सहायता गरी। अनि उसको विश्वासको कारणले आज्ञा नमान्ने अरू मानिसहरूसित ऊ चाँहि नाश भइनन्।
हिब्रू 11:1-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
विश्वास गर्नु भनेको आशा गरेको कुरामा ढुक्क हुनु र नदेखेको कुरामा पक्का भरोसा गर्नु हो। तिनीहरूको विश्वासद्वारा नै उहिलेका मानिसहरूलाई परमेश्वरले मन पराउनुभयो। परमेश्वरकै वचनले संसारको सृष्टि भयो र नदेखिने कुरा देखिने भयो भनी हामी विश्वासले नै बुझ्न सक्छौं। विश्वासको भरमा नै हाबिलले परमेश्वरलाई कयिनले भन्दा राम्रो बलिदान चढाए। विश्वासकै भरमा उनी परमेश्वरका सामु धर्मी ठहरिए र उनले चढाएको बलि परमेश्वरलाई मन पर्यो। हाबिल मरिसकेका भए पनि विश्वासले गर्दा उनले अझै हामीलाई शिक्षा दिन्छन्। विश्वास गरेकोले नै हनोकले मृत्यु चाखेनन् तर उनी परमेश्वरकहाँ उठाई लगिए र कसैले उनलाई भेट्टाएन। धर्मशास्त्रले भन्छ, “उनी विश्वासले नै परमेश्वरका मन पर्दा भएका थिए र उहाँकहाँ लगिए।” विश्वास नगरीकन कसैले पनि परमेश्वरलाई खुसी बनाउन सक्दैन किनभने परमेश्वरकहाँ आउनेहरूमा त विश्वास हुनैपर्दछ। परमेश्वर हुनुहुन्छ र उहाँको खोजी गर्नेहरूलाई उहाँले इनाम दिनुहुन्छ भनेर विश्वास गर्नुपर्दछ। विश्वास गरेर नै नोआले परमेश्वरको चेतावनीलाई सुने। देख्दै नदेखिएको तर पछि हुने कुराको बारेमा परमेश्वरले उनलाई भन्नुभएको थियो। उनले परमेश्वरले अह्राउनुभएको कुरालाई मानेर एउटा ठूलो काठको जहाज बनाए अनि त्यसमा पसेर आफ्ना परिवारलाई बचाए। यसरी विश्वास गरेर उनले संसारको भुल देखाइदिए। आफूचाहिँ परमेश्वरका धर्मी जन ठहरिए। विश्वास गरेर नै अब्राहामले परमेश्वरले भन्नुभएको माने। परमेश्वरले उनलाई बोलाएर आफूले प्रतिज्ञा गर्नुभएको देशमा जानू भनेर अह्राउनुभयो। कहाँ जाने थाहै नभई उनी आफ्नो देश छोडेर हिंडे। विश्वासकै भरमा परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको बिरानो देशमा अब्राहाम गए अनि परदेशीझैँ पाल टाँगेर बसे। त्यसै गरी परमेश्वरले इसहाक र इसहाकका छोरा याकूबलाई पनि प्रतिज्ञा गर्नुभयो र उनीहरू पनि त्यसै गरी बसे। अब्राहामले त परमेश्वर आफैंले योजना गरेर सधैँभरि रहने जगमा बनाउनुभएको सहरलाई पो पर्खिरहेका थिए। विश्वासकै भरमा अब्राहाम धेरै बुढो भएर पनि बुबा बन्न सके। सारा पनि सन्तान हुनै नसक्ने गरी बुढी भइसकेकी थिइन्। तैपनि अब्राहामले परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुहुन्छ भनेर विश्वास गरे। बुढो भएर मर्न लागेको एक जना मानिसबाट आकाशका ताराझैँ धेरै अनि समुद्रका बालुवाझैँ गन्नै नसकिने गरी सन्तान भए। यी सबै मानिसहरू विश्वास गरेर मरे। परमेश्वरले दिन्छु भनेर प्रतिज्ञा गर्नुभएको कुरा तिनीहरूले पाएनन्। तैपनि परमेश्वरले गर्नुभएको प्रतिज्ञालाई तिनीहरूले टाढैबाट देखे अनि स्वागत गरे। तिनीहरूले आफूलाई यस पृथ्वीमा बाटो हिंड्ने परदेशी र शरणार्थी सम्झे। यसो भन्नेहरूले त आफ्नै एउटा देश खोजिरहेका छन् भनी बुझिन्छ। आफूले छोडेर आएकै पहिलेको देशलाई तिनीहरूले सम्झिरहेनन्। त्यही देशलाई सम्झेका भए त फेरि तिनीहरू त्यहीं जान सक्थे। तर तिनीहरूले त यसभन्दा पनि राम्रो स्वर्गको देशको चाहना गरेका थिए। यसकारण तिनीहरूका परमेश्वर हुँ भन्न पनि परमेश्वर लजाउनुभएन किनभने उहाँले त तिनीहरूलाई दिने सहर तयार पारिदिनुभएको छ। परमेश्वरले अब्राहामको जाँच गर्नुहुँदा विश्वासकै भरमा अब्राहाम आफ्ना छोरा इसहाकलाई बलिदान गर्न तयार भए। परमेश्वरले अब्राहामलाई नै प्रतिज्ञा गर्नुभएको थियो, तर पनि अब्राहाम आफ्नो एउटै छोरालाई बलिदान चढाउन राजी भए। परमेश्वरले उनलाई प्रतिज्ञा गर्नुभएको थियो, “इसहाकबाट नै तेरो वंश बढ्नेछ।” इसहाक मरे पनि परमेश्वरले बिउँताउन सक्नुहुन्छ भनेर अब्राहामले विश्वास गरे अनि साँच्चै एक किसिमले इसहाकलाई मृत्युबाट बिउँतेको जस्तै नै फेरि पाए। विश्वासको भरमा इसहाकले याकूब र एसावलाई पछि हुने कुराका लागि आशीर्वाद दिए। विश्वासकै भरले मर्ने बेलामा याकूबले योसेफका दुई छोराहरूलाई आशीर्वाद दिए अनि लौरोमा अडिएर परमेश्वरलाई भक्ति चढ़ाए। विश्वासकै भरले योसेफले आफू मर्ने बेलामा इस्राएलीहरूले मिश्रदेश छोड्ने विषयमा भनेका थिए। उनले तिनीहरूलाई आफ्नो मृत देहलाई के गर्नुपर्ने हो, त्यो पनि भनेका थिए। विश्वासकै भरमा मोशाका आमा-बुबाले मोशालाई जन्मेको तीन महिनासम्म लुकाइराखे। आफ्नो बालकलाई राम्रो देखेर तिनीहरूले राजाको हुकुमको डरसमेत मानेनन्। विश्वासकै भरमा मोशा ठूलो भएपछि राजाको छोरा हुँ भनी चिनिन मानेनन्। पापमा एक छिनको सुख भोग्नुभन्दा परमेश्वरकै भक्तहरूसँग दु:ख भोग्न उनले मन पराए। मिश्रदेशका सारा सम्पत्तिभन्दा बरु मुक्ति दिने ख्रीष्टको लागि निन्दा सहनु नै उनले ठूलो कुरा सम्झे किनभने उनले त परमेश्वरले दिनुहुने इनामको बाटो हेरिरहेका थिए। विश्वासकै भरमा राजाको रिसको पनि वास्तै नराखेर मोशाले मिश्रदेश छोडेर हिंडे अनि देख्न नसकिने परमेश्वरलाई देखेझैँ गरी उनी पटक्कै पछि फर्केनन्। विश्वासकै भरमा उनले मुक्ति दिवस मनाए, ढोकामा बलिको रगत छर्के। जेठाहरू मार्ने मृत्युदूतले इस्राएलीहरूका जेठाहरूलाई नछोओस् भनी उनले यसो गरेका थिए। विश्वासकै भरमा इस्राएलीहरूले सुख्खा भूइँबाट हिंडेझैँ लाल समुद्रमा हिंड़ेर पार गरे। तर मिश्रदेशका मानिसहरूचाहिँ त्यसै गरी समुद्र तर्न खोज्दा डुबेर मरे। विश्वासकै भरमा इस्राएलीहरू सात दिनसम्म यरीहो सहरको वरिपरि घुम्दा यरीहोका पर्खालहरू पनि भत्किएर लडे। वेश्या भएर पनि राहाबले विश्वासकै भरमा परमेश्वरका कुरा नमान्नेहरूका साथमा मर्नुपरेन किनभने तिनले त्यहाँ सुराक लिन गएका इस्राएलीहरूलाई स्वागत गरेकी थिइन्।