हिब्रू 10:22-25
हिब्रू 10:22-25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं। हामीले दृढ़ स्वीकार गरेको आशालाई दोधार नभईकन दह्रिलोसँग थामिराखौं, किनकि जसले प्रतिज्ञा गर्नुभयो, उहाँ विश्वासयोग्य हुनुहुन्छ। हामी एउटाले अर्कालाई प्रेम र असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ।
हिब्रू 10:22-25 नेपाली समकालीन संस्करण (NCV)
हामी विश्वासको निश्चयताले भरिएको निष्कपट हृदयहरू लिएर परमेश्वरको नजिक जाऔं। किनकि हाम्रो दोषी विवेकलाई शुद्ध पार्नका निम्ति येशूको रगतले छर्किएको छ र हाम्रो शरीरलाई शुद्ध पानीले धोइएको छ। प्रतिज्ञा गर्नुहुने परमेश्वर विश्वासयोग्य हुनुभएको हुनाले हामीले अपनाएको आशालाई दृढतासाथ पक्रिराखौं। अनि एउटाले अर्कोलाई प्रेम र असल कामको निम्ति उत्साहित गराउने कुरामा विचार गरौं। कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ सङ्गतिमा एकसाथ भेला हुन नछोडौं; तर प्रभुको पुनरागमन नजिक आइरहेकोले हामी एउटाले अर्कोलाई साहस दिइरहौं।
हिब्रू 10:22-25 पवित्र बाइबल (NERV)
शुद्ध जलले हाम्रा शरीर धोइएका छन्, हामी शुद्ध पारिएका छौं र अपराधबाट मुक्त बनाइएका छौं। यसकारण हामी चोखो ह्रदय लिएर आफ्ना विश्वासले ढुक्क भएर परमेश्वरको नजिक आउँछौ। हामीले आफूमा भएको आशालाई थाम्नुपर्छ र आफ्नो आशा बारे, मानिसहरूलाई बताउन छोडनु हुँदैन। आफूले वचन दिनुभएको कुरा परमेश्वरले गर्नुहुनेछ भन्ने कुरा हामी पत्याउनसक्छौं। हामीले एक अर्कालाई विचार गर्नुपर्छ अनि प्रेम देखाउन र राम्रो काम गर्न हामी एक-अर्कालाई कतिसम्म सक्रियतापूर्वक उत्साहित गर्न सक्छौं त्यो हेर्नुपर्छ। हामीसँग भेट हुनाबाट तर्किनु हुँदैन। कतिपय मानिसहरू त्यसै गर्दछन्। हामीले एक अर्कालाई भेट्नु र सघाउनु पर्छ, तिमीहरूले यसै गर्नुपर्छ किनकि दिन अझै नजिक-नजिक आउँदै छ।
हिब्रू 10:22-25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
खराब विवेकबाट हाम्रा मन चोख्याइएको छ र शुद्ध पानीले हाम्रो शरीरलाई धोइएको छ। यसकारण साँचो मन र पक्का विश्वासले निर्धक्क भएर हामी परमेश्वरकहाँ जाऔं। हामीले राखेका आशा बलियोसँग समातिराखौं किनभने आफूले गरेको प्रतिज्ञा परमेश्वरले पूरा गर्नु नै हुनेछ। हामी आपसमा एक-अर्कालाई प्रेम र भलाइ गर्ने कुरामा, उत्साह दिने कुरामा विचार गर्ने गरौं। कसै-कसैको संगतिमा नआउने बानी छ। त्यसो नगरौं। त्यसमा पनि बरु प्रभुको दिन आउन आँट्यो भन्ने जानेर एक-अर्कालाई अझ हौसला दिने गरौं।