हिब्रू 10:1-10
हिब्रू 10:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुनेथिएन। तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछन्। किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ। होमबलि र पापबलिहरूमा तपाईं प्रसन्न हुनुहुन्न। तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्वर, पुस्तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्तै तपाईंकै इच्छा पूरा गर्न म आएको छु’।” पहिले उहाँले भन्नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्न हुनुभएन।” (यी त व्यवस्थाबमोजिम चढ़ाइन्छन्।) अनि पछिबाट भन्नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्छ। त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं।
हिब्रू 10:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
व्यवस्था केवल आउने असल कुराहरूको छाया मात्र हो; यो आफैँमा वास्तविकता होइन। यसैकारण यसले एकै किसिमको बलिदान अन्त्य नहुने गरी हरेक वर्ष दोहोर्याइएकोले आराधनाको नजिक आउनेहरूलाई सिद्ध तुल्याउन सक्दैन। यदि सक्ने भए के ती चढाइन रोकिने थिएनन् र? किनकि आराधना गर्नेहरू सधैँको निम्ति शुद्ध भइसक्नेथिए, र फेरि कहिल्यै तिनीहरूका पापहरूको लागि दोषी ठहरिने थिएनन्। तर ती बलिदानहरू पापका वार्षिक सम्झना मात्र हुन्; किनकि बोका र साँढेहरूको रगतले पाप हटाउन असम्भव छ। यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो: “बलिदान र भेटी तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर चढाउनको लागि तयार पारिदिनुभयो। होमबलिहरू र पाप शुद्धीकरणको बलिहरूमा तपाईं प्रसन्न हुनुभएन। तब मैले भनेँ, ‘म यहाँ छु, यो कुरा पवित्र शास्त्रमा लेखिएको छ। हे परमेश्वर, म तपाईंको इच्छा पूरा गर्न आएको छु।’ ” पहिला उहाँले भन्नुभयो, “बलिदान र भेटी, होमबलि र पाप शुद्धीकरणको बलिहरू तपाईंले चाहनुभएन; न त तपाईं तिनीहरूदेखि प्रसन्न हुनुभयो”, यद्यपि ती व्यवस्थाले चढाउन भन्दछ। तब उहाँले भन्नुभयो, “म यहाँ छु, म तपाईंकै इच्छा पूरा गर्न आएको छु।” पहिलोलाई खारेज गर्न उहाँले दोस्रोलाई स्थापित गर्नुभयो। अनि उहाँको इच्छाद्वारा येशू ख्रीष्टको शरीरको एक पल्टको बलिदानद्वारा हामी सधैँको लागि पापबाट पवित्र पारिएका छौँ।
हिब्रू 10:1-10 पवित्र बाइबल (NERV)
व्यवस्थाले त हामीलाई भविष्यमा आउने असल वास्तविकताको धमिलो चित्र मात्र देखायो। व्यवस्था वास्तविकताको साँच्चो रूप होइन। त्यस व्यवस्थाले त मानिसहरूलाई हरेक साल त्यही बली चढ़ाउन सिकाउँछ। परमेश्वरलाई पुज्न आउनेहरूले त्यही बलि चढ़ाउन छोड्दैनन्। तर व्यवस्थाले ती मानिसहरूलाई कहिल्यै पूर्णतातिर डोर्याउन सकेन। व्यवस्थाले तिनीहरूलाई पूर्णतातिर डोर्याउन सक्ने भए बलिहरू धैरै अघि नै शेष भइसकेका हुने थिए। ती मानिसहरू आफ्ना पापहरूबाट पहिल्यै शुद्ध भइसकने थिए। अनि आफ्ना पापहरूको लागि तिनीहरूले आफूलाई अपराधी अनुभव गर्ने थिएनन्। तर व्यवस्थाले त्यो गर्न सक्दैन। यी बलिहरूले त प्रत्येक वर्ष मानिसहरूलाई आफ्ना पापहरू सम्झाउने काम मात्र गर्छ। किनकि बहर र बाख्राहरूको रगतले पापहरू पखाल्न सक्दैन। तसर्थ जब येशू पृथ्वीमा आउनुभयो उहाँले भन्नुभयो, “तपाईं बलि र भेटीहरू चाहनुहुन्न, तर तपाईंले मेरा निम्ति एउटा शरीर तयार गर्नुभयो। बलि चढाइएका र डढाइएका पशुहरूले तपाईं प्रसन्न हुनुहुन्न। पापहरू पन्छाउन चढाइएका बलिले तपाईं प्रसन्न हुनुहुन्न। तब मैले भने, ‘परमेश्वर म यहाँ छु, व्यवस्थाको किताबमा मेरो बारे लेखिएको छ। तपाईले चाहेको काम गर्न म आएको छु।’” उहाँ पहिले भन्नहुन्छ, “तपाईं भोग र अर्पण, होम-बलि र पाप-बलिहरू तपाईं चाहनु हुन्न र तिनीहरूले तपाईं प्रसन्न पनि हुनुहुन्न।” यी बलिहरू चढाइन्छ किनभने यिनीहरू व्यवस्थाले चाहान्छ। त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म यहाँ छु। तपाईंले चाहनुहुने काम पूरा गर्न म आएको छु।” यसरी परमेश्वरले बलि चढाउने पहिलेको चलनलाई समाप्त गर्नुहुन्छ र आफ्नो नयाँ तरिका शुरू गर्नुहुन्छ। येशू ख्रीष्टले परमेश्वरले चाहनु भएको काम गर्नुभयो। त्यसै कारणले ख्रीष्टको शरीरको बलिदानले हामी पवित्र तुल्याइएका छौं। ख्रीष्टले सदालाई एकैपल्ट आफूलाई बलिदान गरि दिनुभयो।
हिब्रू 10:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
इस्राएली व्यवस्था हुन आउने खास साँचो कुराहरूको नमुना होइन, तर आउने असल कुराहरूको छाया मात्र हो। यसैले वर्षेनी चढाएका त्यही बलिदानहरूले परमेश्वरकहाँ ती बलिदान चढाउने मान्छेहरूलाई पूरै शुद्ध पार्न सक्दैन। पशु बलिले पूरै शुद्ध पार्न सक्ने भए किन घरीघरी बलि चढाउनुपर्थ्यो? यदि त्यसले बलि चढाउनेहरू शुद्ध हुने भए त सधैँको लागि एकै चोटि शुद्ध हुनेथियो अनि पूरै शुद्ध भई तिनीहरूका विवेकमा पाप रहनेथिएन। तर यी बलिदानहरूले मानिसलाई वर्षेनी आफ्ना पापहरूको सम्झना मात्र गराउँछ किनभने साँढे र बोकाहरूको रगतले पाप मेटाउन सक्दैसक्दैन। यसैकारण संसारमा आउन लाग्नुहुँदा ख्रीष्टले परमेश्वरलाई यसो भन्नुभएको थियो, “तपाईंलाई भेटी र बलिदानहरू चाहिँ दैन, तर तपाईंले मेरो लागि एउटा शरीर तयार गरिदिनुभएको छ। तपाईंले होमबलि र पापबलि चाहनुहुन्न।” त्यसो हुँदा मैले भनें, “हे परमेश्वर, म हाजिर छु। धर्मशास्त्रमा लेखिएझैँ, म तपाईंको इच्छा पूरा गर्न तयार छु।” पहिल्यै उहाँले भन्नुभयो, “तपाईंले भेटी र बलिदानहरू चाहनुहुन्न। तपाईं होमबलि र पापबलिसँग खुसी हुनुहुन्न।” व्यवस्थाले भनेझैँ यी बलिदान चढाउँदा-चढाउँदै पनि उहाँले यसो भन्नुभयो। त्यसपछि उहाँले भन्नुभयो, “हे परमेश्वर, म हाजिर छु! म तपाईंको इच्छा पूरा गर्न तयार छु।” यसकारण परमेश्वरले पहिलेका बलिदानहरूलाई खारेज गर्नुहुन्छ। ख्रीष्टको र यसको साटोमा बलिदान राखिदिनुहुन्छ किनभने येशू ख्रीष्टले परमेश्वरको इच्छा पूरा गर्नुभयो। यसैले सधैँभरि हुने गरी एकै चोटि आफ्नै शरीरलाई बलि दिएर उहाँले हामी सबैलाई पापबाट शुद्ध पार्नुभएको छ।