हाग्गै 2:11-23
हाग्गै 2:11-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, ‘पूजाहारीहरूलाई व्यवस्थाले के भन्छ सोध्। यदि कुनै मानिसले आफ्नो लुगाको पोल्टोमा पवित्र पारेको मासु पोको पारेर त्यस किनारले केही रोटी, सुरुवा, दाखमद्य, तेल वा अरू कुनै खानेकुरा छोयो भने के त्यो पवित्र हुन्छ र’?” पूजाहारीहरूले जवाफ दिएर भने, “हुँदैन।” तब हाग्गैले भने, “मुर्दा छोएको दूषित मानिसले यस्तो कुनै एउटा कुरा छोयो भने के त्यो दूषित हुन्छ?” ती पूजाहारीहरूले जवाफ दिएर भने, “त्यो दूषित हुन्छ।” तब हाग्गैले भने, “‘मेरो दृष्टिमा यो प्रजा र यो जाति त्यस्तै छ,’ भनी परमप्रभु भन्नुहुन्छ। ‘यिनीहरू जे गर्छन् र जे चढ़ाउँछन्, त्यो दूषित हुन्छ। “‘विचार गर, आज उप्रान्त यस कुरामाथि राम्ररी विचार गर। परमप्रभुको मन्दिर बनाउँदा ढुङ्गामाथि ढुङ्गा लगाउन अघि स्थिति कस्तो थियो? विचार गर। ती दिनमा बीस मुरी लिन आउनेले दशै मुरी मात्र पाउँदथ्यो। दाखमद्यको कोलबाट पचास लिटर निकाल्न आउनेले बीस लिटर मात्र पाउँदथ्यो। मैले तिमीहरूकै हातका सारा कामलाई नाशक रोग, ढुसी र असिनाले हानें, तैपनि तिमीहरू मतिर फर्केनौ’ भनी परमप्रभु भन्नुहुन्छ। ‘आजको दिन उसो, जुन दिन परमप्रभुका मन्दिरको जग बसालिएको थियो, अर्थात् नवौँ महिनाको चौबीसौँ दिनलाई राम्ररी विचार गर। के धनसारमा बीउ अझ बाँकी छ? दाखको लहरा, नेभाराको बोट, अनार र जैतून बोटले अहिलेसम्म फल फलाएको छैन। आजको दिनदेखि म तिमीहरूलाई आशिष् दिनेछु’।” अनि त्यही नवौँ महिनाको चौबीसौँ दिनमा दोस्रो चोटि परमप्रभुको वचन हाग्गैकहाँ आयो: “यहूदाको राज्यपाल यरुबाबेललाई भन्, कि म आकाश र पृथ्वीलाई हल्लाउनेछु। म राजकीय सिंहासनहरूलाई पल्टाउनेछु, र विदेशी राज्यहरूको शक्तिलाई म चूर्ण पार्नेछु। म रथहरू र तिनमा सवार हुनेहरूलाई पल्टाइदिनेछु। घोड़ा र घोड़चढ़ीहरू आफ्ना-आफ्नै दाजुभाइहरूको तरवारबाट काटिनेछन्।’ “सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, ‘त्यस दिन, हे, शालतिएलको छोरा मेरो दास यरुबाबेल, म तँलाई मेरै छाप-औँठीजस्तै तुल्याउनेछु, किनभने मैले तँलाई रोजेको छु,’ सर्वशक्तिमान् परमप्रभु यही घोषणा गर्नुहुन्छ।”
हाग्गै 2:11-23 पवित्र बाइबल (NERV)
सर्वशक्तिमान परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुहुन्छ, पूजाहारीहरूलाई सोध, व्यावस्थाले यस विषयमा के भन्छ। “मानिलेऊ, एउटा मानिसले उसको लपेटामा पवित्र मासु लिएर गयो, यो मासु बलिको भाग हो, यसकारण यो संभव छ जसको लपेटामा पवित्र मासु छ, के यदि ती लुगाले रोटी या पाकेको भोजन, दाखरस, तेल अथवा कुनै अन्य भोजनलाई छुयो भने, ती चीजहरू पवित्र हुन्छ?” पूजाहारीले उत्तर दियो, “अँहँ।” त्यसबेला हाग्गैले भने, “यदि एउटा मानिसले मुर्दालाई छोयो भने के त्यो अशुद्ध हुन्छ?” अनि ती पूजाहारीहरूले उत्तर दिए, “त्यो अशुद्ध हुनेछ।” तब हाग्गैले भने, “परमप्रभु परमेश्वर भन्नुहुन्छ, ‘मेरो सामने यी मानिसहरू प्रति अनि यो राष्ट्र प्रति त्यही नियम छ। तिनीहरूले जे गर्छन अनि आफ्नो हातले जे दिन्छन् त्यो अशुद्ध हो। “‘तर अब राम्ररी विचार गर्नुहोस्, परमप्रभुको मन्दिरमा अघि एउटा ढुङ्गा माथि अर्को ढुङ्गा राखिएको थियो? त्यस समय बीस मुरी लिन आउने मानिसले दश मुरी मात्र पाउँथ्यो। दाखरसको कोलबाट पचास पाथी झिक्न आउनेले बीस पाथी मात्र पाउँथ्यो। मैले तिमीहरूका उद्भिदहरूमा ल्याएँ तिमीहरूको हातले बनाएको चीजहरू नष्ट पार्न असिना पठाएँ, तरै पनि तिमीहरू म तिर फर्केनौ।’ परमप्रभुले यसो भन्नु भयो।” परमप्रभु भन्नुहुन्छ, “अबदेखि उसो विचार गर अर्थात नवौं महिनाको चौबिसौं दिन देखि जुन दिन मन्दिरको जग बसालेको थियो सोच। के बीऊहरू अब भकारीमा छन्? के दाखको बोट, नेभाराको बोट, दारिम र भद्राक्षको बोटले अहिले सम्म फल दिएको छैन? अँहँ, छैन। तर आजदेखि म तिमीलाई आशिष दिनेछु।” अनि त्यही महिनाको चौबिसौं दिनमा हाग्गैलाई दोस्रो पल्ट परमप्रभुको वचन प्राप्त भयो। वचनमा भनिएको थियो: “यहूदाका राज्यपाल यरूबाबेललाई भन, म आकाश अनि पृथ्वीलाई हल्लाउनेछु। अनि म राज्यहरू र सिंहासन उठाएर फ्याँकि दिनेछु। म राजधानीहरूको शक्ति ध्वंश पार्नेछु अनि रथहरू र सारथीहरूलाई पल्टाइदिनेछु। घोडा अनि त्यसको घोडसवार पनि लड्नेछन्, अनि दाज्यू-भाइमा दुश्मनी हुनेछ। तिनीहरू एक अर्कामा तरवारहरूले मारिनेछन्।” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, म त्यस दिन शालतीएलका छोरा, आफ्नो सेवक यरूबाबेललाई लिन्छु। परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “अनि म तिमीलाई छाप लगाउने औंठी बनाउने छु। किनभमे मैले तिमीलाई रोजेकोछु।” सर्वशक्तिमान परमप्रभुले यी सबै कुरा भन्नु भयो।
हाग्गै 2:11-23 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
उहाँले भन्नुभयो, “यससम्बन्धी व्यवस्थाले के भन्छ, सो पूजाहारीहरूलाई सोध, कसैले बलि चढाएको र अर्पण गरिएको मासुको टुक्रा लिएर आफ्ना लुगामा बाँधी बोक्यो र त्यस लुगाको छेउले कुनै रोटी वा पकाएको खानेकुरा वा दाखमद्य वा जैतुनको तेल वा अरू कुनै प्रकारको भोजन छोयो भने के त्यो छोएको कुरा पनि पवित्र ठहरिन्छ?” पूजाहारीहरूले उत्तर दिए, “अँहँ ठहरिन्न।” त्यसपछि हाग्गैले सोधे, “लाश छोएर अशुद्ध भएको मानिसले यिनै खानेकुराहरूमध्ये कुनै थोक छोयो भने त्यो कुरो अशुद्ध हुन्छ कि हुँदैन?” पूजाहारीहरूले जवाफ दिए, “हो, त्यो अशुद्ध हुनेछ।” त्यसपछि हाग्गैले भने, “परमप्रभु भन्नुहुन्छ कि यही कुरो यस जातिका मानिसहरू र तिनीहरूले बनाएका हरेक थोकमाथि लागू हुन्छ र तिनीहरूले वेदीमाथि चढाएका सबै कुरा अशुद्ध छन्।” परमप्रभु भन्नुहुन्छ, “तिमीहरूलाई के भएको छ, सो तिमीहरू देख्दैनौ? तिमीहरूले फेरि मन्दिर निर्माण गर्न थाल्नुअघि तिमीहरू दुई सय किलोग्राम पाउने आशा गरी अन्नको थुप्रो हेर्न जान्थ्यौ; तर एक सय किलोग्राम मात्र पाउँथ्यौ। कुण्डबाट सय लिटर दाखमद्य झिक्न जान्थ्यौ; तर चालीस लिटर मात्र पाउँथ्यौ। तिमीहरूले खेती लगाएका हरेक थोक नाश पार्न मैले तातो हावा र असिना पठाउँथें र पनि तिमीहरूले पश्चात्ताप गरेनौ। आज नवौं महिनाको चौबीसौं दिन हो। आज मन्दिरको जग बसाल्ने काम समाप्त भएको छ। अब उसो के हुने हो, सो देख्नेछौ। भकारीमा केही अन्न नउब्रेको भए पनि र दाखको लहरा, नेभारा, अनार र जैतुनका रूखहरूले अहिलेसम्म फल नदिएको भए तापनि अब उसो म तिनीहरूलाई आशीर्वाद दिनेछु।” त्यही दिन वा महिनाको चौबीसौं दिन परमप्रभुले हाग्गैलाई यहूदाका बडा-हाकिम यरुबाबेलको निम्ति दोस्रोपल्ट सन्देश दिनुभयो, “मैले आकाश र पृथ्वी हल्लाउन आँटेको छु अनि अरू राज्यका गद्दीहरू पल्टाएर तिनीहरूको शक्तिको अन्त गराउन लागेको छु। म रथहरू र तिनका सारथीहरूलाई पल्टाइ दिनेछु। घोडाहरू मर्नेछन् र तिनका सवारहरूले आपसमा काटमार गर्नेछन्। त्यस दिन तँ मेरो सेवक यरुबाबेललाई म राख्नेछु र मेरो नाममा शासन गर्न नियुक्त गर्नेछु। मैले रोजेको मानिस तँ नै होस्।” सर्वशक्तिमान् परमप्रभु बोल्नुभएको छ।