YouVersion लोगो
खोज आइकन

हाग्‍गै 1:2-11

हाग्‍गै 1:2-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू भन्‍छन्, ‘परमप्रभुको मन्‍दिर निर्माण गर्ने समय अझ आएको छैन’।” तब परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो: “यो मन्‍दिर भग्‍नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्‍ने समय यो हो र?” अब सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्‍छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्‍याना हुँदैनौ। तिमीहरू काम गरेर ज्‍याला कमाउँछौ, तर प्‍वाल परेको थैलीमा राख्‍छौ।” सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ। “तिमीहरूले धेरै आशा गर्‍यौ, तर हेर, थोरै मात्र हुन आयो। तिमीहरूले घरमा जे ल्‍यायौ, त्‍यो मैले फुकेर उड़ाइदिएँ। किन त?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ। “किनभने मेरो भवनचाहिँ भग्‍नावशेष भएको छ, तर तिमीहरू भने हरेक आफ्‍नो घरमा व्‍यस्‍त छौ। यसकारण आकाशले शीत पर्न र पृथ्‍वीले अन्‍न उब्‍जन रोकिदिएको छ। मैले खेतहरू र डाँड़ाहरू, अन्‍न र नयाँ दाखमद्य, तेल र जमिनले उब्‍जाउने जति सबैमा, मानिसहरूमा, पाल्‍तुपशुहरूमा र तिमीहरूका हातका सबै परिश्रमहरूमा अनिकाललाई बोलाएको छु।”

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्

हाग्‍गै 1:2-11 पवित्र बाइबल (NERV)

सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।” फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “तिमीहरूले धैरे-बाली पाउने आशा गर्छौ, तर थोरै मात्र प्राप्त गर्नेछौ। जे जत्ति तिमीहरूले कमाउँछौ अनि घरमा राख्छौ, त्यसलाई म उडाई दिनेछु। किनकि मेरो मन्दिर नष्ट भएकोछ, तर तिमीहरूलाई आफ्नो-आफ्नो घरको मात्र चिन्ता छ। यसकराण, आकाशबाट शीत झर्न बन्द भएकोछ, र यही कारण भूमिले अन्न उब्जाउन बन्द गरेकोछ, यी सबै तिमीहरूको कारणले भएको हो।” परमप्रभु भन्नुहुन्छ, “मैले पृथ्वी, पहाडहरू, अन्न, नयाँ दाखरस, भद्राक्षको तेल, अनि सबै ती चिजहरू जुन पृथ्वीमा उम्रन्छन् मानिसहरूका र परिश्रममाथि खडेरी पर्न आदेश दिएको छु।”

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्

हाग्‍गै 1:2-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सर्वशक्तिमान् परमप्रभुले हाग्‍गैलाई भन्‍नुभयो, “यी मानिसहरू भन्‍दछन् कि फेरि मन्‍दिर निर्माण गर्न यो समय ठीक छैन।” त्‍यसपछि परमप्रभुले हाग्‍गै अगमवक्ताको मुखबाट यो सन्‍देश मानिसहरूलाई दिनुभयो, “हे मेरा मानिसहरू हो! मेरो मन्‍दिर जीर्ण भएको छ र तिमीहरूचाहिँ कसरी असल घरहरूमा बास गर्दछौ? तिमीहरूलाई के भइरहेछ, के तिमीहरूले देख्‍दैनौ? तिमीहरूले धेरै रोपेका छौ; तर थोरै मात्र बटुलेका छौ। खानलाई तिमीहरूसित भोजन त छ; तर अघाउने गरी खान पाउँदैनौ। पिउनलाई तिमीहरूसित दाखमद्य त छ; तर तृप्‍त हुने गरी पिउन पाउँदैनौ। तिमीहरूका लुगा-फाटाहरू त छन्; तर त्‍यतिले तिमीहरूलाई न्‍यानो पार्दैन। कमाइ गर्नेले कमाएको धन चुहुने थैलीमा हालेको जत्तिकै छ। तिमीहरूले आफ्‍ना चाल राम्ररी विचार गर। अब डाँडा-डाँडामा जाओ, काठ-पात ल्‍याओ र फेरि मन्‍दिर नयाँ गरी निर्माण गर। तब म प्रसन्‍न हुनेछु र मेरो आराधना उचित रीतिले हुनेछ। “तिमीहरूले धेरै फसल उठाउने आशा गरेका थियौ; तर थोरै मात्र बटुल्‍यौ। जब तिमीहरूले घरमा फसल पुर्‍यायौ, मैले त्‍यो बतासले उडाइदिएँ। किन मैले त्‍यसो गरें त? किनभने मेरो मन्‍दिर जीर्ण छ र तिमीहरूचाहिँ आ-आफ्‍ना घर बनाउन व्‍यस्‍त छौ। त्‍यही कारणले पानी परेको छैन र केही अन्‍न-पात उम्रन सक्‍दैन। देशमा मैले खडेरी ल्‍याएको छु; डाँडाहरू, अन्‍न-बारीहरू, दाखबारीहरू र जैतुनका बारीहरूमा साथै जमिनले उमार्ने हरेक बालीमा, मानिसहरू र पशुहरूका बीच तिमीहरूले रोपेका हरेक थोकमा खडेरी ल्‍याएको छु।”

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्