YouVersion लोगो
खोज आइकन

हाग्‍गै 1:1-8

हाग्‍गै 1:1-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

दारा राजाको दोस्रो वर्षको छैटौँ महिनाको पहिलो दिन परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा शालतिएलका छोरा यहूदाका राज्‍यपाल यरुबाबेलकहाँ र यहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूकहाँ आयो। सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “यी मानिसहरू भन्‍छन्, ‘परमप्रभुको मन्‍दिर निर्माण गर्ने समय अझ आएको छैन’।” तब परमप्रभुको यो वचन हाग्‍गै अगमवक्ताद्वारा आयो: “यो मन्‍दिर भग्‍नावशेष भइरहेको देखेर पनि के तिमीहरू आफूचाहिँ बुट्टादार काठले सजाइएका घरहरूमा बस्‍ने समय यो हो र?” अब सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरू आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। तिमीहरूले छर्न त धेरै नै छरेका छौ, तर थोरै मात्र कटनी गरेका छौ। तिमीहरू खान त खान्‍छौ, तर अघाउँदैनौ। तिमीहरू पिउन त पिउँछौ, तर तिमीहरूको तिर्खा मर्दैन। तिमीहरू लुगा त लगाउँछौ, तर न्‍याना हुँदैनौ। तिमीहरू काम गरेर ज्‍याला कमाउँछौ, तर प्‍वाल परेको थैलीमा राख्‍छौ।” सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ, “तिमीहरूका आ-आफ्‍ना चालको होशियारीसाथ विचार गर। डाँड़ा-डाँड़ा उक्‍लेर काठपात ल्‍याओ र भवन बनाओ, र म त्‍यसमा खुशी हुन सकूँ र मेरो मान होस्,” परमप्रभु भन्‍नुहुन्‍छ।

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्

हाग्‍गै 1:1-8 पवित्र बाइबल (NERV)

फारसको राजा दाराको दोस्रो बर्षको छैटौं महिनाको पहिलो दिन हाग्गैलाई परमप्रभुबाट एउटा वचन प्राप्त भयो। यो वचन यरूबाबेल, शालतीएलका छोरा अनि यहोशू यहोसदाकका छोराका निम्ति थियो। शालतीएल यहूदाको राज्यपाल थिए अनि यहोशू प्रधान पूजाहारी थिए। वचन यस प्रकार थियो। सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “मानिसहरू भन्छन्, परमप्रभुको मन्दिर निर्माण गर्ने यो सही समय होइन।” फेरी परमप्रभुको वचन अगमवक्ता हाग्गैबाट आयो, जसमा भनिएको थियो, तिमीहरू सोच्छौ तिम्रो सही समय आइ सक्यो। “परमप्रभुको मन्दिर नष्ट भएको समयमा के तिनीहरू काठको घर निर्माण गरेर बस्ने सही समय आएकोछ भनी सम्झन्छौ? यसकारण सर्वशक्तिमान परमप्रभु भन्नु हुन्छ, ‘जुन कुरा तिमी माथि घटिरहेछ, त्यसको विषयमा सोच्न छोड। तिमीहरूले रोप्न त धेरै रोप्छौ, तर कटनी चाँहि कम्ती गर्दछौ। तिमीहरूले खाना त खान्छौ तर भोकै हुन्छौ। तिमीहरूले मद्यपान पनि गर्छौ तर नशा लाग्दैन्, तिमीहरू लुगा पनि लगाउँछौ तर सम्पूर्ण रूपमा तिमीहरूलाई तातो हुँदैन, तिमीहरू काम गरेर ज्याला कमाउँछौ, तिमीहरूलाई थाहा हुँदैन त्यो कहाँ खर्च हुन्छ, तिमीलाई लाग्छ कि गोजीमा छेंड परेकोछ।’” सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “जे जति तिमीहरूमाथि घटिरहेछ त्यसको बारेमा सोच! पहाडमा चढ, काठ ल्याऊ अनि मन्दिर बनाऊ। त्यस समय म मन्दिरबाट प्रसन्न हुन्छु र सम्मानित हुन्छु।” परमप्रभुले यी सबै कुराहरू भन्नुहुन्छ।

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्

हाग्‍गै 1:1-8 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

फारस देशका महाराजा भई दाराले राज्‍य गरेको दोस्रो वर्षको छैटौं महिनाको पहिलो दिन परमप्रभुले हाग्‍गै अगमवक्ताद्वारा आफ्‍नो वचन बोल्‍नुभयो। त्‍यो सन्‍देश शालतिएलका छोरा यहूदाका बडा-हाकिम यरुबाबेल र यहोसादाकका छोरा मुख्‍य पूजाहारी यहोशूको लागि थियो। सर्वशक्तिमान् परमप्रभुले हाग्‍गैलाई भन्‍नुभयो, “यी मानिसहरू भन्‍दछन् कि फेरि मन्‍दिर निर्माण गर्न यो समय ठीक छैन।” त्‍यसपछि परमप्रभुले हाग्‍गै अगमवक्ताको मुखबाट यो सन्‍देश मानिसहरूलाई दिनुभयो, “हे मेरा मानिसहरू हो! मेरो मन्‍दिर जीर्ण भएको छ र तिमीहरूचाहिँ कसरी असल घरहरूमा बास गर्दछौ? तिमीहरूलाई के भइरहेछ, के तिमीहरूले देख्‍दैनौ? तिमीहरूले धेरै रोपेका छौ; तर थोरै मात्र बटुलेका छौ। खानलाई तिमीहरूसित भोजन त छ; तर अघाउने गरी खान पाउँदैनौ। पिउनलाई तिमीहरूसित दाखमद्य त छ; तर तृप्‍त हुने गरी पिउन पाउँदैनौ। तिमीहरूका लुगा-फाटाहरू त छन्; तर त्‍यतिले तिमीहरूलाई न्‍यानो पार्दैन। कमाइ गर्नेले कमाएको धन चुहुने थैलीमा हालेको जत्तिकै छ। तिमीहरूले आफ्‍ना चाल राम्ररी विचार गर। अब डाँडा-डाँडामा जाओ, काठ-पात ल्‍याओ र फेरि मन्‍दिर नयाँ गरी निर्माण गर। तब म प्रसन्‍न हुनेछु र मेरो आराधना उचित रीतिले हुनेछ।

शेयर गर्नुहोस्
हाग्‍गै 1 पढ्नुहोस्