YouVersion लोगो
खोज आइकन

हबकूक 1:1-17

हबकूक 1:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्‍वरवाणी। हे परमप्रभु, कहिलेसम्‍म सहायताको निम्‍ति मैले पुकार गर्ने, तर तपाईं सुन्‍नुहुन्‍न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्‍म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्‍न? तपाईं मलाई किन अन्‍याय हेर्न लाउनुहुन्‍छ? तपाईं किन अनुचित कुरा सहनुहुन्‍छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्‌। झगड़ा र विवाद चारैतिर छन्‌। यसैकारण व्‍यवस्‍था मन्‍द हुँदैजाँदैछ, र न्‍याय कहिल्‍यै प्रबल हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्‍यायको दुरुपयोग हुन्‍छ। “जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्‍क पर्, किनभने म तेरा दिनमा यस्‍तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्‍वास गर्नेछैनस्‌। म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्‍यो निष्‍ठुर र उग्र जाति, जो अर्काको वासस्‍थान खोस्‍न सारा पृथ्‍वीभरि नै बढ़ेर जान्‍छ। तिनीहरू डरलाग्‍दा र भयानक मानिसहरू छन्‌। तिनीहरू आफैमा आफ्‍नो व्‍यवस्‍था हुन्‌ र आफ्‍नै मान-मर्यादा बढ़ाउँछन्‌। तिनीहरूका घोड़ाहरू चितुवाभन्‍दा चाँड़ो कुद्‌ने र बेलुकी निस्‍कने ब्‍वाँसाहरूभन्‍दा क्रूर छन्‌। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्‌छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्‌। तिनीहरू शिकार निल्‍नलाई वेग हानेर उड्‌ने गिद्धझैँ अगि बढ्‌छन्‌। तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्‌। तिनीहरूको सैन्‍य दल मरुभूमिको हुरीझैँ अगि बढ्‌छ र कैदीहरूलाई बालुवाजस्‍तै जम्‍मा गर्छ। तिनीहरूले राजाहरूलाई हँस्‍सीमा उड़ाउँछन्‌ र शासकहरूको ठट्टा गर्छन्‌। किल्‍ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्‍छन्, र माटोको ढिस्‍कुरो बनाएर तिनीहरूले ती कब्‍जा गर्छन्‌। तब तिनीहरू बतासझैँ वेगसित आउँछन्‌ र जान्‍छन्‌। ती दोषी मानिसहरू हुन्, जसको सामर्थ्‍य नै तिनीहरूको देवता हो।” हे परमप्रभु, के तपाईं सनातनदेखि नै हुनुहुन्‍न र? हे मेरा परमेश्‍वर, मेरा परमपवित्र, हामी मर्नेछैनौं। हे परमप्रभु, तपाईंले तिनीहरूलाई न्‍यायको निम्‍ति नियुक्त गर्नुभएको छ। हे चट्टान, सजाय दिनलाई तपाईंले तिनीहरूलाई अभिषेक गर्नुभएको छ। तपाईंको दृष्‍टि यति शुद्ध छ, कि तपाईं दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न, खराबी देखेर तपाईं सहन सक्‍नुहुन्‍न। त्‍यसो भए छल गर्ने मानिसहरूलाई किन तपाईं सहनुहुन्‍छ? आफूभन्‍दा धर्मी मानिसहरूलाई दुष्‍टहरूले निल्‍दा तपाईं किन चूप लाग्‍नुहुन्‍छ? तपाईंले मानिसहरूलाई समुद्रका माछा र शासकविनाका घस्रने जन्‍तुहरूतुल्‍य बनाउनुभएको छ। दुष्‍ट शत्रुले ती सबैलाई बल्‍छीले उठाइलान्‍छ, र तिनलाई जालमा पक्रन्‍छ। त्‍यसले तिनीहरूलाई महाजालमा थुपार्छ। यसकारण त्‍यो रमाउँछ र खुशी हुन्‍छ। यसैकारण त्‍यसले आफ्‍नो जाललाई बलि चढ़ाउँछ, र महाजालको लागि धूप बाल्‍छ, किनकि तीद्वारै त्‍यो सुख-चैनमा बस्‍छ र उत्तम भोजनको मजा लिन्‍छ। के त्‍यसले आफ्‍नो जाल रित्त्याउँदैजाने, र जाति-जातिहरूलाई निर्दयतापूर्वक सर्वनाश गरिरहने?

शेयर गर्नुहोस्
हबकूक 1 पढ्नुहोस्

हबकूक 1:1-17 पवित्र बाइबल (NERV)

यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो। हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन। परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ। म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउँनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरूले त्यो घरहरू अनि शहरहरूमा दखल गर्नेछन् जुन तिनीहरूका होइनन्। कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयभित पार्नेछन्। कल्दी मानिसहरू आफू जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्। तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ। तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्। “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउँनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बन्नेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउँनेछन्। फेरि उनिहरू अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अगाडी बढेर जान्छ, कल्दी मानिसहरू आफ्नो शक्तिको पूजा गर्छन्।” हबकूकले फेरि भने, “हे परमप्रभु तपाईं, अनन्त सम्म जीवित हुनुहुन्छ, परमप्रभु तपाईं मेरो परम-पवित्र परमेश्वर हुनुहुन्छ, जो कहिल्यै मर्नु हुँदैन। हे परमप्रभु! तपाईंले बाबेलका मानिसहरूलाई न्याय गराउन सृष्टी गर्नुभयो। हे हाम्रो चट्टान! तपाईले अरू राष्ट्रहरूलाई सजाय दिन, तिनीहरूलाई नियुक्त गर्नुभयो। तपाईंका आँखाले दुष्ट कुरा हेर्न सक्तैनन्। तपाईंले ती मानिसहरूले पाप गरिरहेको हेर्न सक्नु हुन्न। यसकारण तपाईले ती पापीहरूको बिजय कसरी हेर्नु हुन्छ? दुष्टले धर्मी मानिसलाई जितेको देख्दा, तपाईं किन प्रतिक्रिया गर्नुहुन्न? “तपाईंले मानिसहरूलाई समुद्रको अनगन्ती माछाहरू जस्तै बनाउनु भयो, तिनीहरू समुद्रको जीव-जन्तु जस्तै छन्, जसको कुनै शासक छैन। शत्रुहरूले तिनीहरूलाई बल्छी, अनि जाल लगाएर पक्रिन्छन्। तिनीहरूले तिनीहरूलाई जालमा पक्रिन्छन्, अनि शत्रु त्यसरी पक्रिएकोमा एकदमै खुशी हुन्छन्। बल्छी अनि जालले माछा मार्छ, त्यसको कमाईले उसलाई मिठो खान, र धनी हुन सहायता गर्छ। यसकारण ती शत्रुहरूले जालको पूजा गर्छन्। तिनीहरूले जालका निम्ति बलिदान चढाउँछन् अनि ती चिजहरूको सम्मानमा धूप जलाउँछन्। के यसरी तिनीहरू आफ्ना जालहरूले धन कमाई रहेछन्? के तिनीहरू लगातार कुनै दया नदेखाई, मानिसहरूलाई नष्ट पारिरहने छन्?

शेयर गर्नुहोस्
हबकूक 1 पढ्नुहोस्

हबकूक 1:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हबकूक अगमवक्ताले पाएको अगमवाणी यही हो। हे परमप्रभु! कहिलेसम्‍म मैले तपाईंलाई सहायताको निम्‍ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्‍ती सुन्‍नुहुन्‍छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्‍छ? किन तपाईंले मलाई यस्‍ता अन्‍याय हेर्न लगाउनुहुन्‍छ? यस्‍ता दुष्‍कर्म सहेर कसरी तपाईं हेरिरहन सक्‍नुहुन्‍छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्। कानुन कमजोर र बेकामको भएको छ र कहिल्‍यै न्‍याय हुँदैन। दुष्‍टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्‍याय भ्रष्‍ट हुँदछ। अनि परमप्रभुले आफ्‍ना प्रजालाई भन्‍नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्‍नेछौ, त्‍यसमा तिमीहरू छक्‍कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्‍तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्‍वास हुनेछैन। म बेबिलोनीहरूका हातमा राज्‍य-शक्ति दिनेछु। तिनीहरू डरलाग्‍दा र अधीर मानिसहरू छन्, अर्काका देशहरू विजय गर्न भनी तिनीहरू अघि बढिरहेका छन् र पृथ्‍वीको पल्‍लो छेउसम्‍म पुग्‍नेछन्। तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्‍छन्। आफ्‍ना घमण्‍डले फुलेर तिनीहरू मनपरि गर्छन्। “तिनीहरूका घोडाहरू चितुवाहरूभन्दा चाँडो दगुर्छन् र भोकाएका ब्‍वाँसाहरूभन्दा पनि भयानक छन्। तिनीहरूका घोड-चढीहरू टाढा-टाढाबाट घोडामा चढेर अघि बढ्छन्। चिलले शिकारलाई झम्‍टेझैँ तिनीहरू बडो वेगले हानिएर आउँछन्। “उनका सेनाहरूले हिँसा गरी हमला गर्दै अघि बढ्छन्। बालुवा जतिकै अनगिन्‍ती कैदीहरू तिनीहरूले बनाउँछन्। तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्‍लाले तिनीहरूलाई रोक्‍न सक्‍दैन। माटोको ढिस्‍कुरो बनाई त्‍यसबाट किल्‍लामा चढी तिनीहरूले त्‍यो किल्‍ला कब्‍जा गर्छन्। तब अचानक तिनीहरू बतासझैँ जोडले बहेर लोप हुन्‍छ। तिनीहरू दोषी मानिसहरू हुन्, जसले आफ्‍नै शक्तिलाई आफ्‍नो देवता मानेका छन्।” हे परमप्रभु! तपाईं आदिदेखि नै परमेश्‍वर हुनुहुन्‍छ। तपाईं मेरा पवित्र र अनन्‍तका परमेश्‍वर हुनुहुन्‍छ। हे परमप्रभु, मेरा रक्षक र परमेश्‍वर! बेबिलोनीहरूले हामीलाई दण्‍ड देऊन् भनी तपाईंले तिनीहरूलाई छान्‍नुभयो र शक्तिशाली बनाउनुभयो। तर कसरी तपाईं यी धोखेबाज र दुष्‍ट मानिसहरूलाई हेरिरहन सक्‍नुहुन्‍छ? तपाईंको दृष्‍टि अति पवित्र छ र तपाईंले दुष्‍ट कुरा हेर्न सक्‍नुहुन्‍न। तपाईंले मानिसहरूको खराबी गरेको दृश्य पनि हेर्न सक्‍नुहुन्‍न। तब तिनीहरूले आफूभन्दा धर्मी मानिसहरूलाई नाश गर्दा तपाईं किन चुप लागेर बस्‍नुहुन्‍छ? तपाईंले कसरी मानिसहरूलाई शासकबिनाको माछा वा किरा फटेङ्‌ग्राका बथानजस्‍तो बनाउनुहुन्‍छ? माछा पक्रेझैँ बेबिलोनीहरूले मानिसहरूलाई बल्‍छीले पक्रन्‍छन्। जालमा पक्री तिनीहरूले मानिसहरूलाई उठाई लैजान्‍छन् र रमाउँदै कराउँछन् तिनीहरूले आफ्‍ना जालहरूलाई पनि पुज्‍छन् र तिनीहरूलाई बलि चढाउँछन् किनभने ती जालहरूद्वारा नै तिनीहरूले असलभन्दा असल थोकहरू र भोजन पाउँदछन्। के बेबिलोनीहरूले सधैँभरि जाति-जातिका मानिसहरूलाई जालमा पक्रेर दया नदेखाई मारिरहने छन् त?

शेयर गर्नुहोस्
हबकूक 1 पढ्नुहोस्