हबकूक 1:1-11
हबकूक 1:1-11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हबकूक अगमवक्ताले दर्शनमा पाएको ईश्वरवाणी। हे परमप्रभु, कहिलेसम्म सहायताको निम्ति मैले पुकार गर्ने, तर तपाईं सुन्नुहुन्न? अथवा “उपद्रव” भनी म तपाईंमा कहिलेसम्म पुकारा गर्ने, तर तपाईं बचाउनुहुन्न? तपाईं मलाई किन अन्याय हेर्न लाउनुहुन्छ? तपाईं किन अनुचित कुरा सहनुहुन्छ? नाश र उपद्रव मेरै सामु भइरहेका छन्। झगड़ा र विवाद चारैतिर छन्। यसैकारण व्यवस्था मन्द हुँदैजाँदैछ, र न्याय कहिल्यै प्रबल हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्, यसैले न्यायको दुरुपयोग हुन्छ। “जाति-जातिलाई नियालेर हेर्, तिनीहरूलाई हेरेर छक्क पर्, किनभने म तेरा दिनमा यस्तो काम गर्छु, जो तँलाई भने पनि तैंले विश्वास गर्नेछैनस्। म बेबिलोनीहरूलाई खड़ा गरिरहेछु, त्यो निष्ठुर र उग्र जाति, जो अर्काको वासस्थान खोस्न सारा पृथ्वीभरि नै बढ़ेर जान्छ। तिनीहरू डरलाग्दा र भयानक मानिसहरू छन्। तिनीहरू आफैमा आफ्नो व्यवस्था हुन् र आफ्नै मान-मर्यादा बढ़ाउँछन्। तिनीहरूका घोड़ाहरू चितुवाभन्दा चाँड़ो कुद्ने र बेलुकी निस्कने ब्वाँसाहरूभन्दा क्रूर छन्। तिनीहरूका घोड़चढ़ी सेना अधोमुख कुद्छ। तिनीहरूका घोड़चढ़ीहरू टाढ़ादेखि आउँछन्। तिनीहरू शिकार निल्नलाई वेग हानेर उड्ने गिद्धझैँ अगि बढ्छन्। तिनीहरू सबै उपद्रव गर्नलाई नै आउँछन्। तिनीहरूको सैन्य दल मरुभूमिको हुरीझैँ अगि बढ्छ र कैदीहरूलाई बालुवाजस्तै जम्मा गर्छ। तिनीहरूले राजाहरूलाई हँस्सीमा उड़ाउँछन् र शासकहरूको ठट्टा गर्छन्। किल्ला भएका सबै सहरलाई देखेर तिनीहरू हाँस्छन्, र माटोको ढिस्कुरो बनाएर तिनीहरूले ती कब्जा गर्छन्। तब तिनीहरू बतासझैँ वेगसित आउँछन् र जान्छन्। ती दोषी मानिसहरू हुन्, जसको सामर्थ्य नै तिनीहरूको देवता हो।”
हबकूक 1:1-11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हबकूक अगमवक्ताले पाएका भविष्यवाणी यही हो। हे याहवेह, मैले कहिलेसम्म सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? “हिंसा!” भनी मैले तपाईंलाई कहिलेसम्म पुकारूँ, तर तपाईंले सुन्नुहुन्न? किन तपाईं मलाई अन्याय हेर्न लगाउनुहुन्छ? किन तपाईं अत्याचार सहनुहुन्छ? मेरो सामु हिंसा र विनाश भइरहेका छन्; झैझगडा र वाद-विवाद चारैतिर भइरहेका छन्। यसकारण कानुन-व्यवस्था मन्द भएको छ; अनि न्यायाधीशहरूले कहिल्यै असल न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई घेर्छन्; यसकारण न्यायको दुरुपयोग हुन्छ। “राष्ट्रहरूलाई हेर्, विचार गर्, र आश्चर्यचकित हो; किनकि तिमीहरूको समयमा यस्तो एउटा काम गर्नेछु, जुन तिमीहरूलाई भनियो भने पनि तिमीहरूले विश्वास गर्नेछैनौ। म बेबिलोनीहरूलाई खडा गर्दैछु, जो निर्दयी र उग्र स्वभावका छन्; तिनीहरू अर्काको घरबारहरू कब्जा गर्नलाई सारा पृथ्वीभरि नै बढेर जान्छन्। तिनीहरू भयानक र डरलाग्दा मानिसहरू छन्; तिनीहरू आफैँमा, आफ्ना निम्ति कानुन हुन्, र तिनीहरू आफ्नो मनोमानी गर्छन्। तिनीहरूका घोडाहरू चितुवाभन्दा छिटो दगुर्छन्; तिनीहरू राति निस्कने ब्वाँसाहरूभन्दा हिंस्रक छन्। तिनीहरूका घोडचढी सेनाहरू एकोहोरो अगि बढ्छन्; तिनीहरूका घोडसवारहरू टाढाबाट आउँछन्। तिनीहरू शिकारलाई झम्टिन वेग हानेर उड्ने चीलझैँ आउँछन्; तिनीहरू सबै हिंसा मच्चाउन तम्सिन्छन्। तिनीहरूको सैन्यदल मरुभूमिको हुरीझैँ अगि बढ्छ, र कैदीहरूलाई बालुवाझैँ एक ठाउँमा जम्मा गर्छन्। तिनीहरूले राजाहरूको गिल्ला गर्छन्, र शासकहरूको खिल्ली उडाउँछन्। तिनीहरू बलियो किल्ला भएका सहरहरूलाई हाँसोमा उडाउँछन्; तिनीहरूले माटोको ढिस्को खडा गरेरै ती कब्जा गर्दछन्। त्यसपछि तिनीहरू जोडसँग हावा बहेझैँ हुँइकिन्छन् र अगि बढिरहन्छन्; तर ती दोषी मानिसहरू हुन्; किनकि तिनीहरूको आफ्नो शक्ति भनेको नै तिनीहरूको देवता हो।”
हबकूक 1:1-11 पवित्र बाइबल (NERV)
यो यही वचन हो जुन हबकूक अगमवक्तालाई दिईएको थियो। हे परमप्रभु, म निरन्तर तपाईंसँग सहायता मागी रहेकोछु। तपाईंले मेरो निम्ति कहिले सुन्नुहुन्छ? म यो उपद्रोको कारण तपाईंसँग पुकारा गरिरहेछु, तर तपाईंले यस बिषयमा केहि पनि गर्नु भएन? मानिसहरूले सामानहरू लुट्छन् अनि अरू मानिसहरूलाई चोट पुर्याउँछन्। मानिसहरू लडाईं अनि झगडा़ गरिरहेकाछन्। किन तपाईंले मलाई यस्तो भयानक कुराहरू देखाउनु हुँदैछ। व्यावस्थाका कानूनहरू ब्यार्थ भईसकेकोछ अनि मानिसहरूले न्याय गर्दैनन्। दुष्टहरूले धर्मीहरूलाई लडाईंमा जितिरहेछन्। यसकारण न्याय निष्पक्ष छैन। न्यायले जित्दैन। परमप्रभुले उत्तर दिनुभयो, “अन्य जातिहरूलाई हेर, तिनीहरूलाई देखेर छक्कपर्नेछौ! म तिम्रो जीवन कालमा यस्तो गर्नेछु त्यसले तिमीलाई छक्क पर्नेछ। तिमीले यसलाई हेर्नु पर्छ अनि विश्वास गर्नुपर्छ। यदि तिमीलाई यस बिषयमा बताए ता पनि तिमीले विश्वास गर्ने छैनौ। म बाबेलका मानिसहरूलाई शक्तिशाली बनाउँनेछु। तिनीहरू नीच अनि एकदमै शक्तिशाली लडाकुहरू छन्। तिनीहरू पृथ्वीका सबै ठाउँहरूमा छरिनेछन्। अनि अघि बढिरहनेछन्। तिनीहरूले त्यो घरहरू अनि शहरहरूमा दखल गर्नेछन् जुन तिनीहरूका होइनन्। कल्दी मानिसहरूले अन्य जातिहरूलाई भयभित पार्नेछन्। कल्दी मानिसहरू आफू जे सोच्दछन् त्यही गर्नेछन्, अनि जहाँ जान ईच्छा लाग्छ त्यहीं जानेछन्। तिनीहरूका घोडाहरू चितुवाहरू भन्दा पनि छिटो दौडने हुन्छन्। अनि सूर्य अस्ताएपछि निस्केका ब्वाँसाहरू भन्दा पनि डर लाग्दा हुन्छन्। उनीहरूका घोडसवार सैनिक सुदूर स्थानबाट आउँछन्। तिनीहरूले तिनीहरूको शत्रुहरूमाथि यस्तो आक्रमण गर्छन् जस्तो कि आकाशबाट चील शिकारमाथि हानिन्छ। तिनीहरू सबै लडाईं गर्न उत्सुक छन्। तिनीहरूका सैन्य मरुभूमिको हुरी जस्तै छिटो अघि बढ्छन्। बाबेलका सेनाहरूले धेरै कैदीहरूलाई, जो बालुवाको कण जस्तै गनी नसकने संख्यामा टाढा लैजाने छन्। “तिनीहरूका सैनिकहरूले अन्य देशका राजाहरूको हाँसो उडाउँनेछन्। अन्य देशका राजाहरू उनीहरूका निम्ति तमाशा बन्नेछन्। तिनीहरूको सैनिकहरू अग्लो किल्ला भएको शहरमा गएर हाँस्नेछन् किनकि ती सैनिकहरूले माटोको दल-दल परेको बाटो बनाएर तिनीहरूलाई सजिलै हराउँनेछन्। फेरि उनिहरू अर्को स्थानमा युद्धका निम्ति पहिलो स्थान छोडेर आउँनेछन् जसरी आँधी आउँछ अनि अगाडी बढेर जान्छ, कल्दी मानिसहरू आफ्नो शक्तिको पूजा गर्छन्।”
हबकूक 1:1-11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
हबकूक अगमवक्ताले पाएको अगमवाणी यही हो। हे परमप्रभु! कहिलेसम्म मैले तपाईंलाई सहायताको निम्ति पुकारा गर्नुपर्ने हो र तपाईंले मेरो बिन्ती सुन्नुहुन्छ? र कहिले हामीलाई हिँसाबाट बचाउनुहुन्छ? किन तपाईंले मलाई यस्ता अन्याय हेर्न लगाउनुहुन्छ? यस्ता दुष्कर्म सहेर कसरी तपाईं हेरिरहन सक्नुहुन्छ? मेरा चारैपट्टि विनाश र हिँसा छन् र जहींतहीं लडाइँ र झगडा भइरहेका छन्। कानुन कमजोर र बेकामको भएको छ र कहिल्यै न्याय हुँदैन। दुष्टहरूले धर्मीहरूलाई घेर्छन् र यसरी न्याय भ्रष्ट हुँदछ। अनि परमप्रभुले आफ्ना प्रजालाई भन्नुभयो, “चारैपट्टिका जातिहरूलाई हेरिरहो र जे-जे देख्नेछौ, त्यसमा तिमीहरू छक्कपर्नेछौ। तिमीहरूकै पालोमा म यस्तो काम गर्नेछु कि सुनेर पनि तिमीहरूलाई विश्वास हुनेछैन। म बेबिलोनीहरूका हातमा राज्य-शक्ति दिनेछु। तिनीहरू डरलाग्दा र अधीर मानिसहरू छन्, अर्काका देशहरू विजय गर्न भनी तिनीहरू अघि बढिरहेका छन् र पृथ्वीको पल्लो छेउसम्म पुग्नेछन्। तिनीहरूले डर र आतङ्क फैलाउँदैजान्छन्। आफ्ना घमण्डले फुलेर तिनीहरू मनपरि गर्छन्। “तिनीहरूका घोडाहरू चितुवाहरूभन्दा चाँडो दगुर्छन् र भोकाएका ब्वाँसाहरूभन्दा पनि भयानक छन्। तिनीहरूका घोड-चढीहरू टाढा-टाढाबाट घोडामा चढेर अघि बढ्छन्। चिलले शिकारलाई झम्टेझैँ तिनीहरू बडो वेगले हानिएर आउँछन्। “उनका सेनाहरूले हिँसा गरी हमला गर्दै अघि बढ्छन्। बालुवा जतिकै अनगिन्ती कैदीहरू तिनीहरूले बनाउँछन्। तिनीहरूले राजाहरूलाई खिसी गर्छन् र भारदारहरूको हाँसो उडाउँछन्। कुनै किल्लाले तिनीहरूलाई रोक्न सक्दैन। माटोको ढिस्कुरो बनाई त्यसबाट किल्लामा चढी तिनीहरूले त्यो किल्ला कब्जा गर्छन्। तब अचानक तिनीहरू बतासझैँ जोडले बहेर लोप हुन्छ। तिनीहरू दोषी मानिसहरू हुन्, जसले आफ्नै शक्तिलाई आफ्नो देवता मानेका छन्।”